ad ad

छापा खबर


प्रधानमन्त्री ओलीलाई पेटको फराकिलो क्षेत्रमा संक्रमण

प्रधानमन्त्री ओलीलाई पेटको फराकिलो क्षेत्रमा संक्रमण

नेपालखबर
मंसिर ११, २०७६ बुधबार ०:६,

प्रारम्भिक परीक्षणमा प्रधानमन्त्री केपी ओलीलाई एपेन्डिसाइटिस भएको अनुमान गरिएको थियो।

रगत र पिसाब जाँच तथा एक्से र भिडियो एक्सरे परीक्षणपछि डाक्रटहरु निष्कर्षमा पुगे–प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस होइन्, पेरिटोनाइटिस भएको हो।

प्रधानमन्त्रीको उपचारमा संलग्न एक डाक्टरको भनाई उद्धृत गर्दै आजको नयाँ पत्रिका दैनिकमा वीरेन्द्र ओलीले यो समाचार लेखेका छन्।

‘एपेन्डिक्समा संक्रमण भएमा एपेन्डिसाइटिस भनिन्छ, तर एपेन्डिक्स मात्र होइन, त्यो वरिवरीको भाग र आन्द्रामासमेत सक्रमण फैलिएमा पेरिटोनाइटिस भनिन्छ। यो भनेको निश्चित अंग मात्र नभएर पेटको फराकिलो क्षेत्रमा संक्रमण फैलिएको हो,’ उपचारमा संलग्न एक डाक्टरले भने।

प्रधानमन्त्री ओलीले १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका हुन् । तर, सो मिर्गौलाले पनि अब काम गर्न छाडेकाले पुनः मिर्गौला प्रत्यारोपण गर्ने तयारी भइरहेको छ । अहिले अस्थायी रूपमा उनले डायलाइसिस गराइरहेका छन् ।

तर, मिर्गौला र प्रधानमन्त्रीलाई अहिले भएको समस्याका बीचमा कुनै साइनो नभएको डाक्टरहरूको भनाइ छ । ‘एपेन्डिसाइटिस वा पेरिटोनाइटिस अचानक जोसुकैलाई पनि हुन सक्छ । सबै अंग स्वस्थ भएका व्यक्तिलाई पनि यो समस्या हुन सक्छ । त्यसैले उहाँको मिर्गौलाको रोग र अहिलेको समस्याबीचमा कुनै सम्बन्ध छैन,’ उनका एक डाक्टरले भने ।

ओलीको एपेन्डिक्स फुटेको भनेर आएको समाचारलाई डाक्टरले निराधार भनेका छन् । ‘एपेन्डिक्स फुटेको होइन, संक्रमित भएको हो । त्यो संक्रमण पेटमा पनि फैलिएको हो ।

तर, यसरी संक्रमण फैलिनु कम जोखिमयुक्त होइन । त्यसैले तत्कालै अप्रेसन गरिएको हो,’ उनले भने । उनका अनुसार अन्य बिरामीको भन्दा प्रधानमन्त्रीको यो समस्या छिटो पहिचान भएको हो । किनकि, अंग प्रत्यारोपण गरिएका व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ ।

शरीरमा केही गडबड हुनासाथ लक्षण छिटो देखापर्छ । शरीरले थेग्न सक्दैन र छिटो प्रतिक्रिया जनाउँछ । त्यसैले प्रधानमन्त्रीलाई पेरिटोनाइटिस भएको पनि छिटो पत्ता लागेको हो । डाक्टरले भने, ‘उहाँको शरीरले पनि छिटो प्रतिक्रिया जनायो, छिट्टै नै पीडा असह्य भयो । त्यसैले पेट दुखेको दुई घन्टाभित्र उहाँलाई अस्पताल ल्याइएको छ, अस्पताल ल्याएको दुई घन्टाभित्र अप्रेसन गरिएको छ।’

बिहान ११ बज्दानबज्दै अप्रेसन सुरु गरिएको थियो । एपेन्डिक्स मात्रै भएको भए भुँडीमा प्वाल बनाएर दूरबिनको माध्यमबाट अप्रेसन गर्न सकिन्छ । तर, प्रधानमन्त्री ओलीलाई पेरिटोनाइटिस भएको हो ।

अर्थात् संक्रमण धेरैतिर फैलिएको थियो । त्यसैले ल्याप्रोस्कोपी प्रविधिबाट प्वाल बनाउनुको सट्टा ल्यापाराटोमी प्रविधिबाट परम्परागत रूपमा पेट चिरेर अप्रेसन गरिएको थियो । यसका लागि उनलाई ‘एनेस्थेसिया’ दिएर पूर्ण रूपमा बेहोस बनाइएको थियो ।

‘पेटमा संक्रमण कति फैलिएको छ भन्ने यकिन थिएन, त्यसैले सम्पूर्ण रूपमा हेर्नका लागि परम्परागत प्रविधि प्रयोग गरियो । संक्रमण भएको एपेन्डिक्स निकालियो, वरिपरिको संक्रमण पनि ‘वास’ गरियो अर्थात् पखालियो । करिब ४५ मिनेटमा यो प्रक्रिया सकियो,’ डाक्टरले भने ।

अप्रेसन गरिएकाले उनलाई एन्टिबायोटिक औषधि चलाइएको छ । यो औषधिले उनको अप्रेसन गरिएको घाउ निको हुने मात्र होइन, पेरिटोनाइटिसका रूपमा पेटमा फैलिएको संक्रमण पनि नियन्त्रण गर्ने डाक्टरहरूको अपेक्षा छ ।

तर, प्रधानमन्त्री ओलीको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाले सुधार कसरी हुन्छ भन्ने विषयमा डाक्टरहरूले यकिन दाबी गर्न सकेका छैनन् ।

अप्रेसनपछि अपेक्षित समयमै उनलाई होस आएको थियो । तर, मध्यरातसम्म पनि उनलाई भेन्टिलेटरमा राखिएको छ । त्यसैले उनले बोलेर कुरा गर्न पाएका छैनन् ।

‘मुखमा मास्क लगाइएको छ, त्यसैले उहाँले बोल्न मिल्दैन । तर, इसाराले कुरा गर्नुभएको छ । मास्क हटाइदिनूस् भनेर अनुरोध गर्नुभएको थियो । तर, हामीले हटाएका छैनौँ,’ डाक्टरले भने, ‘उहाँलाई सजिलो होस् भनेर भेन्टिलेटरमा राखिएको हो । अपर्झट केही पर्न सक्छ भनेर अरू बिरामीको मास्क पनि रातमा निकाल्ने अभ्यास हुँदैन।’

प्रधानमन्त्रीलाई सामान्य भेन्टिलेटरमा राखे हुने अवस्था भए पनि जोखिम घटाउन इलेक्ट्रोनिक भेन्टिलेटरमा राखिएको अस्पतालले जनाएको छ ।

मध्यरातसम्म प्रधानमन्त्रीको स्वास्थ्य स्थिर छ । ‘यो भनेको थप बिग्रिएको छैन भनिएको हो, सुधारका लागि त प्रतीक्षा नै गर्नुपर्छ, तर रातिसम्म उहाँको ब्लडप्रेसर नियन्त्रणमा छ, पिसाब ठीक छ र अन्य सूचक पनि ठीक छन्,’ डाक्टरले भने, ‘बुधबार बिहान रगत, पिसाबसहित स्वास्थ्य जाँच हुनेछ । संक्रमण नियन्त्रण भयो कि भएन भनेर त्यसपछि मात्र यकिन हुनेछ । यो संक्रमण निको भएमा प्रधानमन्त्रीले आराम गरे पुग्छ, मिर्गौला प्रत्यारोपण गर्न कुनै समस्या हुँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .