ad ad

छापा खबर


प्रधानमन्त्री भेन्टिलेटरमा, स्वास्थ्य अवस्था ‘स्थिर’

 प्रधानमन्त्री भेन्टिलेटरमा, स्वास्थ्य अवस्था ‘स्थिर’

नेपालखबर
मंसिर १०, २०७६ मंगलबार २३:४४,

‘एपेन्डिसाइटिस’को आकस्मिक शल्यक्रियापछि भेन्टिलेटरमा राखिएका प्रधानमन्त्री केपी शर्मा ओलीको सघन उपचार जारी छ।

उनको उपचार भइरहेको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका अनुसार मंंगलबार राति अबेरसम्म स्वास्थ स्थिति ‘स्थिर’ छ। यो खबर आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेका छन्।

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई मंगलबार बिहान करिब ९ बजे अस्पताल पुर्‍याइएको थियो।

विशेषज्ञ चिकित्सकको टोलीले परिक्षण गर्दा उनलाई ‘एपेन्डिसाइटिस’का साथै पेरिटनाइटिस (पेटको संक्रमण) समेत देखिएपछि लगत्तै ‘ल्यापरोटोमी (पेटलाइ पुरा चिरेर गरिने शल्यक्रिया) र ‘एपेन्डेक्टोमी (एपेन्डिसाइटिस हटाउने शल्यक्रिया) गरिएको थियो।

सेन्टरका अनुसार शिक्षण अस्पतालका ग्यास्ट्रोइन्टेस्टाइनल तथा कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा. रमेशसिंह भण्डारीको नेतृत्वमा शल्यक्रिया गरिएको हो।

शल्यक्रिया पछि सेन्टरले मंगलबार दिउँसो र राति गरी दुईपटक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य स्थीर रहेको जनाएको छ। विज्ञप्तीमा शल्यक्रिया पछि प्रधानमन्त्रीको सघन कक्ष (इन्टेन्सिभ केयर युनिट) मा उपचार भइरहेको र स्वास्थ्य ‘स्थिर’ रहेको उल्लेख छ।

अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी सार्वजनिक गरेको छैन। तर, उपचारमा संलग्न एक चिकित्त्सकका अनुसार शल्यक्रियापछि भेन्टिलेटरमा राखिएका ओलीको मंगलबार साँझ नै होस खुलिसेको छ। ‘उहाँ अलि अलि कमान्ड फलो गर्न सक्षम हुनु भएको छ,’ ती चिकित्सकले भने, ‘भेन्टिलेटरमै राखिएको भएपनि मिनिमल सपोर्टमा हुनुहुन्छ।’

शल्यक्रियापछि ओलीलाई ‘आइनोटोपिक सपोर्ट’ (रक्तचापलाई नियन्त्रणमा राख्ने औषधि) पनि दिइएको छ। यस अन्तर्गत उनलाई रक्तचाप बढाउने तीनथरी औषधि दिइएको छ।

उपचारमा संलग्न चिकित्सकहरुले उनलाई केहिबेर भेन्टिलेरमा राखेर पछि बाहिर निकाल्ने योजना बनाएका थिए। अहिले प्रधानमन्त्रीलाई ‘ब्रोड स्पेक्ट्रम एन्टिबायोटिक’ (विभिन्न प्रकारका संक्रमणहरूमा प्रभावकारी हुने औषधी) दिइएको छ। प्रधानमन्त्रीको मंगलबार राती नै डायलसिस पनि गर्ने तयारी गरिएको अर्का चिकित्सकले जनाए।

अस्पताल पुग्नु अघि नै प्रधानमन्त्रीको एपेन्डिक्स फुटेको थियो–थिएन भन्नेबारे अस्पतालले केही खुलाएको छैन। उनको उपचार प्रकृया र शारिरीक स्थितिलगायतको विश्लेषणका आधारमा केहि विशेषज्ञले अस्पताल पुग्नु अघि नै एपेन्डिक्स फुटेको आशंका गरेका छन्।

‘प्रधानमन्त्रीले इम्युनोसप्रेसिभ (शरीरको प्रतिरोधात्मक क्षमता घटाउने औषधि) खाइ राख्नु भएको छ। यो औषधिले गर्दा एपेन्डिसाइटिसको दुखाइ कम भएर समयमै थाहा नहुन पनि सक्छ’, एक मृगौला रोग विशेषज्ञले भने, ‘पुरै पेट खोलेर शल्यक्रिया गर्नु पर्नाको कारण या त एपेन्डीक्स फुटेकै हुनु पर्छ नभए पेट भित्र पिप, पानी आदि जमेको हुनु पर्छ।’

रगतमा भएको क्रियाटिनिनको स्तर नियन्त्रित गर्न गत आइतबार प्रधानमन्त्रीको चौथो पटक हेमोडायलसिस गरिएको थियो। ६७ वर्षिय प्रधानमन्त्रीको ग्रान्डी इन्टरनेशनल हस्पिटलमा पहिलो पटक डायलसिस गरिएको २६ औं दिन चौथो डायलसिस गरिएको हो।

प्रधानमन्त्री गत साउनदेखी नै मिर्गौलासम्बन्धि समस्याले चिकित्सकिय परामर्श, परिक्षण र उपचारमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .