छापा खबर


अब काठमाडौंबाटै देखिनेछन् हिउँचितुवा

अब काठमाडौंबाटै देखिनेछन् हिउँचितुवा

नेपालखबर
मंसिर १०, २०७६ मंगलबार २:१४,

माथिल्लो डोल्पाको दुर्गम हिमाली क्षेत्र भिजेर । सदरमुकाम दुनैबाट पुग्न ४ दिनको बाटो । करिब ५ हजार मिटर उचाइ।

त्यही सुन्दर हिमाली क्षेत्रमा रमाइरहेका दुई हिउँ चितुवालाई अब काठमाडौंको बबरमहलबाटै देख्न सकिने खबर आजको कान्तिपुर दैनिकमा अब्दुल्लाह मियाँले लेखेका छन्।

ती चितुवाको घाँटीमा ‘स्याटेलाइट रेडियो कलर’ जडान सफल भएपछि यस्तो सुविधा मिलेको हो । स्याटेलाइटले जीपीएसमार्फत ‘रियल टाइमबेस्ड इन्फर्मेसन’ कम्प्युटरमा पठाउँछ ।

प्राविधिकले यसै साता प्राकृतिक बासस्थानमै हिउँ चितुवाको घाँटीमा रेडियो कलर जडान गरेका हुन् ।

यसले २ वर्षसम्म नियमित सूचना दिनेछ । ‘हिउँ चितुवाले हिँडडुल गर्ने क्षेत्र, हिँडेको क्षेत्रफल, त्यहाँको तापक्रम, आहार प्रजाति र तिनको बासस्थानको अवस्था बबरमहलस्थित कार्यालयको डेस्कटपबाटै अनुगमन गर्न सकिन्छ,’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी उपसचिव विष्णुप्रसाद श्रेष्ठले भने।

स्याटेलाइटबाट सीधै जीपीएस पोइन्टका आधारमा हिउँ चितुवाका गतिविधि कम्प्युटरमा सूचना (एसएमएस) मार्फत प्राप्त हुने वन्यजन्तु प्राविधिकहरू बताउँछन् । त्यस्ता सूचना हरेक चार घण्टामा आउँछन्।

सुदूरपूर्व ताप्लेजुङको कञ्चनजंघा संरक्षण क्षेत्रमा यसअघि नै हिउँ चितुवाको घाँटीमा रेडियो कलर जोडिएको थियो । पश्चिम क्षेत्रका हिउँ चितुवामा रेडियो कलर जोडिएको भने यो पहिलो पटक हो।

‘दुई हिउँ चितुवामा रेडियो कलर जोड्न हाम्रो टोली सफल भएको छ,’ विभागका उपमहानिर्देशक रामचन्द्र कँडेलले भने, ‘यसले हिउँ चितुवाको आहार प्रजाति, ऊ बस्ने क्षेत्र र उसले गर्ने ओहोरदोहोरको जानकारी लिन सकिन्छ । यसले वन्यजन्तु संरक्षणमा थपसघाउनेछ।’

विभागले डब्लूडब्लूएफ नेपाल र एनटीएनसीको आर्थिक–प्राविधिक सहयोगमा रेडियो कलर जडान गरेको हो । लज्जालु स्वभावको हिउँ चितुवा नेपाल, किर्गिस्तान, भुटान, भारत, मंगोलियासहित १२ देशमा पाइन्छ । अर्को वर्ष पनि थप हिउँचितुवामा रेडियो कलर जडान गरिने सूचना अधिकारी श्रेष्ठले बताए ।

यसअघि विभागकै नेतृत्वमा ताप्लेजुङको कञ्चनजंघा संरक्षण क्षेत्रका चारवटा हिउँचितुवाको घाँटीमा स्याटेलाइट रेडियो कलर जडान गरिएको थियो । त्यसले नेपालका हिउँचितुवाको विचरण चीनको तिब्बत र भुटानसम्मै हुने गरेको देखाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad