छापा खबर


जागिर खान दिल्ली पुर्‍याएपछि जब दुई पुरुषले सँगै सुत्न प्रस्ताव गरे‍‍‍...

जागिर खान दिल्ली पुर्‍याएपछि जब दुई पुरुषले सँगै सुत्न प्रस्ताव गरे‍‍‍...

नेपालखबर
मंसिर १०, २०७६ मंगलबार १:४२,

सिन्धुलीकी २५ वर्षीया लक्ष्मी (नाम परिवर्तन) लाई चिनेजानेकै एक व्यक्तिले आठ महिनाअघि जागिरको प्रलोभन देखाए।

उनले भने, ‘भारत जाऔं, नयाँ दिल्लीमा इलेक्ट्रोनिक्स अफिसभित्र अकाउन्टेन्टको काम लगाइदिन्छु।’ नजिकका मान्छेले राखेको प्रस्ताव भएकाले त्यसप्रति लक्ष्मीलाई विश्वास लाग्यो।

खर्च अभावले दैनिकी धान्न मुस्किल परिरहेको बेला केही त होला नि भन्दै उनी भारत जान मन्जुर भइन्।

उनलाई भारतमा जागिर खान जान विश्वस्त पार्ने ती व्यक्ति थिए सिन्धुलीकै राम बस्नेत। बस्नेतकै साथी सुरज थापाले पनि लक्ष्मीलाई सम्झाइबुझाइ गरेका थिए। उनीहरू बेलाबेलामा लक्ष्मीको घरमा आइरहन्थे र भारत गएर रोजगारी गरे राम्रो हुने कुरा गरिरहन्थे।

लक्ष्मीले स्वीकृति जनाएपछि हिँड्ने मिति तय भयो। चैतमा उनीहरू सिन्धुलीबाट हिँडे। उनीहरूले भारत पुर्‍याई जागिरमा लगाइदिएर मात्रै फर्कने भनी लक्ष्मीलाई भनेका थिए।

सिन्धुलीबाट हिँड्नुअघि उनीहरूबीच निजी गाडीमा वीरगन्जसम्म गई त्यहाँबाट बसमा जाने सल्लाह भएको थियो। सोही सल्लाहमुताबिक वीरगन्ज पुगेपछि उनीहरूले भारतको दिल्लीका लागि बसको टिकट काटे।

लक्ष्मीलाई जागिर लगाइदिन्छु भन्ने रामले वीरगन्जमा पुगेपछि अर्की एकजना साथी पनि भेटाइदिने कुरा गरे। सँगै जान साथी हुने भयो भनी उनी रमाइन्।

झापाकी २५ वर्षीय सविना (नाम परिवर्तन) वीरगन्जमा उनीहरूलाई कुरिरहेकी थिइन्। लक्ष्मीलाई जस्तै उनलाई पनि जागिरको आशा देखाइएको थियो।

वीरगन्जमा लक्ष्मीलाई सविनासँग भेट गराइयो। त्यहाँबाट चारैजना दिल्लीका लागि हिँडे। एक रात र एक दिनको बसयात्रापछि उनीहरू दिल्ली पुगे। त्यहाँ पुग्दा लक्ष्मी र सविना थकित भइसकेका थिए।

बसबाट ओर्लिएपछि सँगै आएका राम र सुरजले लक्ष्मी र सविनालाई पहिलो दिन आराम गर्ने र अर्को दिनदेखि मात्र काममा जाने कुरा गरे। थकित शरीरले आराम मागिरहेको बेला दुवैजना उक्त प्रस्ताव मान्न तयार भए।

उनीहरूले त्यो रात दिल्लीको एक होटलमा बिताए। सँगै गएका ती दुई पुरुषले पनि लक्ष्मी र सविनाकै कोठामा सुत्ने कुरा गरे। सुरुमा त लक्ष्मी र सविनाले अप्ठ्यारो माने र विरोध जनाए। उनीहरूले जबर्जस्ती गरेपछि बिरानो ठाउँमा इन्कार गर्न सकेनन्। त्यो रात ती दुई पुरुषले लक्ष्मी र सविनालाई यौन सम्पर्कका साथी बनाए।

यो खबर आजको नागरिक दैनिकमा शिवहरी घिमिरेले लेखेका छन्।

भोलिपल्ट बिहान ९ बजे उनीहरू सबै काम गर्ने ठाउँमा जाने भन्दै निस्किए। एक घन्टा सार्वजनिक बसको यात्रापछि दिल्लीकै एउटा गल्लीमा उनीहरू ओर्लिए।

साँघुरो गल्लीबाट अलि भित्र छिरेपछि भद्रगोल देखिने ठाउँ आयो। जताततै फोहोर देखिने उक्त ठाउँमा एउटा होटल पनि थियो। ती पुरुषले लक्ष्मी र सविनालाई काम गर्ने ठाउँ यही हो भन्दै चिनाए। लक्ष्मी र सविना छाँगाबाट खसेजस्तै भए।

‘इलेक्ट्रोनिक्स कम्पनी भनेर कस्तो ठाउँमा ल्याएको?’ भन्दै उनीहरूले तत्काल प्रतिक्रिया जनाए। तर लक्ष्मी र सविनासँग त्यहीं बस्नुको विकल्प भएन। ‘तिमीहरूले काम गर्ने ठाउँ यही हो’ भन्दै ती पुरुषहरू फर्किए।

कोठी मालिकले काम गर्ने ठाउँ देखाउँछु भन्दै उनीहरूलाई भित्र लगे। त्यहाँ खाट र ओछ्यानसहितका ससाना कोठा थिए। केही कोठामा अन्य महिला पनि थिए। यति देखेपछि लक्ष्मी र सविना बेहोसझैं भए, केही बेर बाहिर उभिए।

होटलका मालिकले ‘भित्र गएर बस’ भन्दै हप्काए। ती नेपाली नै थिए। त्यसपछि लक्ष्मी र सविना छुट्टाछुट्टै कोठीमा छिरे। उनीहरूले आफूहरू बेचिइसकेको चाल पाए। त्यहाँ उनीहरुले ग्राहकको इच्छा पूरा गरिदिनैपर्ने भयो।

त्यसबापत पैसा आउँछ भनेर कोठी मालिकले उनीहरूलाई भनेका थिए। के सोचेर आएको के भयो भन्दै उनीहरू रोए–कराए तर उनीहरूको वेदना सुनिदिने त्यहाँ कोही थिएन।

करिब ६ महिनापछि असोजमा मानव बेचबिखन अनुसन्धान ब्युरोको सहायतामा उनीहरूको उद्धार भयो। अहिले लक्ष्मी र सविना दुवैलाई नेपाल फर्काइएको ब्युरोले जनाएको छ।

प्रहरी कार्यालयमा चेलीबेटी बेचबिखनका घटनाबारे उजुरी दर्ता गर्ने क्रम बढिरहँदा सोमबार भारतको कोठीबाट दुई महिलाको उद्धार गरिएको छ।

सामाजिक क्षेत्रमा काम गर्दै आएका केही व्यक्ति दिल्ली प्रहरीको सहायतामा काभ्रेकी २५ वर्षीया रीता (नाम परिवर्तन) र झापाकी पनि २५ वर्षीया सीता (नाम परिवर्तन) लाई फर्काउन सफल भएका हुन्।

महिलाले नै फकाएर उनीहरूलाई दिल्लीसम्म पुर्‍याएको उद्धारमा संलग्न बालकृष्ण पाण्डेले बताए। ‘अचेल मानव बेचबिखनमा नयाँ सूत्र प्रयोग भइरहेको छ। पहिले पुरुषले महिलालाई बेच्न लग्थे तर अहिले त्यही ठाउँमा महिला छन्,’ उनले भने, ‘महिलाले नै विभिन्न जाल रचेर महिलालाई भारतका कोठी तथा तेस्रो मुलुकसम्म पुर्‍याएका छन्। उनीहरू पुरुषसँगको सेटिङमा महिलालाई फकाउने गर्छन्।’

ब्युरोका एसपी गोविन्द थपलियाले वैशाखयता ३४ जना महिलाको उद्धार गरिएको जानकारी दिए। उनका अनुसार विभिन्न आर्थिक प्रलोभन र अवसरको लोभ देखाएर गरिब र सोझा महिलालाई भारतसम्म पुर्‍याउने गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad