नेपालमै उत्पादन भएका अल्लो, सिल्क, पस्मिना, कटनका कपडाबाट बनाइएका आकर्षक डिजाइनका पोसाकमा पोखराको लेकसाइडमा फेसन सो सम्पन्न भएको छ।
आर एन्ड आर ग्रुपको आयोनामा नेपाली कपडा उत्पादन गर्ने विभिन्न उद्योगको प्रवद्र्धन गर्ने उद्देश्यका साथ पोखरामा फेसन सो आयोजना गरिएको हो।
पोखराको लेकसाइडस्थित होटल स्विस इन्टरनेसनल सरोवरमा आयोजना भएको फेसन सोमा युवतीहरू आकर्षक पहिरनमा सजिएका थिए। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा पोखराबाट कृष्णमणि वरालले लेखेका छन्।
‘जीवनशैली’ थिममा भएको फेसन सोमा काठमाडौं, पोखरा र धरानका १६ युवतीले आकर्षक पहिरनमा सेतो कार्पेटमा क्याटवाक गरे।
नेपाली उद्योगले उत्पादन गरेका कपडामा र्याम्पमा उत्रन पाउँदा निकै खुसी लागेको फेसन सोमा सहभागी युवतीले बताए।
नेपाली उत्पादनका कपडाको प्रवद्र्धन गर्न फेसन सो आयोजना गरिएको आर एन्ड आर ग्रुपका अध्यक्ष मञ्जु श्रेष्ठले बताइन्। सन् २००७ देखि यस ग्रुपले फेसन सो आयोजन गर्दै आएको छ। पोखरामा दोस्रो पटक यो ग्रुपले फेसन सो गरेको हो।
गोलभेँडा, लसुन, नुन, अन्न, सागपातदेखि सुनसम्म देश परनिर्भरता बढ्दै गएको अवस्थामा नेपाली उत्पादनलाई प्रवद्र्धन गर्न भएको फेसन सो निकै आकर्षक रहयो।
भद्र र आकर्षक पहिरनमा युवतीले नेपाली उत्पादनका विभिन्न डिजाइनका कपडामा सजिएर र्याम्प नापे। फेसन सोमा पुगेकी गण्डकी प्रदेश सांसद मीना गुरुङले आजैदेखि दैनिक कुनै न कुनै नेपाली उत्पादन लगाउने प्रतिबद्धता व्यक्त गरेकी थिइन्।
फेसन सोमा कपडा उत्पादक कम्पनी सभा नेपाल, ग्रिफ्ट, दी सेरी वल्र्ड, चर्खा पस्मिना, एकादेशमा जस्ता कपडा उत्पादन गर्ने कम्पनीले उत्पादन गरेका अल्लो, सिल्क, कटन, पस्मिनालगायतका कपडाका आकर्षक डिजाइनमा सबै सिजनमा लगाउन मिल्ने आकर्षक पोसाकमा युवतीहरू सजिएका थिए।
कार्यक्रममा गायक दीपक लिम्बूले आफ्ना नयाँ पुराना गीत प्रस्तुत गरेर सहभागीलाई मनोरञ्जन दिएका थिए।
विगत एक दशकदेखि विभिन्न इभेन्ट तथा फेसन सो आयोजना गर्दै आएको ग्रुपले काठमाडौं बाहिरका विभिन्न सहरमा फेसन सो आयोजना गर्ने क्रममा पोखरामा दोस्रो पटक फेसन सो गरेको हो। भिजिट नेपाल २०२० लाई प्रवद्र्धनसमेत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताइन्।

प्रतिक्रिया