नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले ढिलोचाँडो आफू प्रधानमन्त्री बन्ने संकेत गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग आलोपालो सरकारको नेतृत्व गर्ने लिखित सहमति भएको चर्चा भइरहेका बेला उनको यो अभिव्यक्ति आएको हो।
बाँकेबाट लेखिएको यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।
नेकपा बाँकेले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन आएका अध्यक्ष दाहालले मंगलबार नेपालगञ्ज उद्योग वाणिज्य संघले पेस गरेको ७ बुँदे मागपत्र बुझ्दै भने, ‘यो मागपत्र म एक्लै पढ्दिन। प्रधानमन्त्री र सम्बन्धित मन्त्रीसँग छलफल गर्छु। ढिलोचाँडो म प्रधानमन्त्री भएलगत्तै यी सबै माग पूरा गर्छु।’
उनले आफू सरकारको नेतृत्वमा आएपछि सबैलाई पायक पर्ने स्थानमा प्रदेश ५ को राजधानी तोक्न पहल गर्ने बताए।
त्यहाँ नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै उनले अहिले आफू प्रधानमन्त्री नभएकामा आफूलाई फाइदा पुगेको बताए । ‘प्रधानमन्त्री नभएका कारण मलाई पार्टीको काम गर्ने अवसर मिलेको छ । देश र जनताको पीरमर्का बुझ्न पाएको छु,’ उनले भने, ‘जिल्ला–जिल्ला पुगेर कार्यकर्तासँग भेट्न पाएको छु ।’

प्रतिक्रिया