छापा खबर


स्थानीय जनप्रतिनिधिको तलब खारेज : कसको कति थियो?

स्थानीय जनप्रतिनिधिको तलब खारेज : कसको कति थियो?

नेपालखबर
कात्तिक २, २०७६ शनिबार ४:२५,

सर्वोच्च अदालतले स्थानीय तहका पदाधिकारीलाई मासिक पारिश्रमिक तथा सुविधा दिने गरी प्रदेश सभाले निर्माण गरेको कानुन बदर गरेको छ।

अदालतले सबै प्रदेश सभाले बनाएका ऐनको दफा ३ र सो सम्बद्ध अनुसूची बदर गरेको हो।

यस्तै प्रदेश २ र ५ को स्थानीय तहका पदाधिकारीको सेवा सुविधासम्बन्धी ऐनको दफा १० को पारिश्रमिक शब्द पनि अदालतले बदर गरेको छ ।

उक्त दफाहरू संविधानको धारा २२० (८) र २२७ विपरीत हुने अदालतको ठहर छ।

सविधानको धारा २२० को उपधारा ८ मा जिल्ला सभाको सञ्चालन, जिल्ला समन्वय समितिका सदस्यले पाउने सुविधा तथा जिल्ला सभासम्बन्धी अन्य व्यवस्था प्रदेश कानुनबमोजिम हुनेछ भन्ने उल्लेख छ ।

प्रदेश १ बाहेकका छवटै प्रदेशले स्थानीय तहका पदाधिकारीको सेवा सुविधासम्बन्धी ऐन निर्माण गरेका थिए।

यसमा गाउँपालिका, नगरपालिका, उपमहानगर तथा महानगरका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्यलाई पनि मासिक पारिश्रमिक तथा अन्य सुविधा दिने उल्लेख थियो।

जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र सदस्यका लागि पनि मासिक सुविधा, बैठक भत्ता, बीमालगायतका सुविधा थिए। यो खबर आजको गोरखापत्रबाट लिइएको हो।

कसको कति थियो सुविधा?
प्रदेश १ बाहेकका सबै प्रदेशले स्थानीय तहका पदाधिकारी, सदस्य तथा सभाका सदस्यले पाउने सुविधा तोकेर कानुन बनाएका थिए। यसमा गाउँपालिका अध्यक्षका लागि मासिक सुविधा, सञ्चार सुविधा, दैनिक भ्रमण भत्ता, यात्रा बीमालगायतका सुविधा तोकिएका थिए।

गाउँपालिका अध्यक्षलाई मासिक सुविधा ३० हजार रुपियाँ तोकिएको थियो। यस्तै उपाध्यक्षको हकमा २५ हजार, वडाध्यक्षको २० हजार, कार्यपालिका सदस्यको आठ हजार, सभाका सदस्यको मासिक पाँच हजार रुपियाँ सुविधा तोकिएको थियो।

यस्तै नगर कार्यपालिका प्रमुख, उपप्रमुख तथा सदस्यको सुविधा पनि मासिक रूपमा तोकिएको थियो। यसमा नगर प्रमुखको सुविधा मासिक ३५ हजार, उपप्रमुखको ३० हजार, वडाध्यक्षको २२ हजार, कार्यपालिका सदस्यको, नौ हजार र सभाका सदस्यको छ हजार रुपियाँ तोकिएको थियो। नगर प्रमुख उपप्रमुखलाई पनि सञ्चार सुविधा, दैनिक भ्रमण भत्ता, विदेश भत्ता र बिमा सुविधा पनि थियो।

उपमहानगर/महानगरमा मासिक सुविधा, कार्यपालिका सभाको बैठक भत्ता, दैनिक भत्ता, विदेश भ्रमण भत्ता र बिमा सुविधा छ । मासिक सुविधा प्रमुखको हकमा ४० हजार, उपप्रमुख ३५ हजार, वडाध्यक्षको २६ हजार रुपियाँ सुविधा थियो । बैठक भत्ता एक हजार रुपियाँ तोकिएको थियो।

जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुखलाई मासिक सुविधा, बैठक भत्ता, बीमालगायतको व्यवस्था थियो। समन्वय प्रमुखको मासिक सुविधा ४१ हजार, उपप्रमुखको ३६ हजार र सदस्यहरूको १६ हजार रुपियाँ तोकिएको थियो । बैठक भत्ता समान एक हजार रुपियाँ तोकिएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad