समाज


अब सौराहामा रात्रिकालीन जिप सफारी हुने

अब सौराहामा रात्रिकालीन जिप सफारी हुने

नेपालखबर
कात्तिक २, २०७६ शनिबार ४:२१,

पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गरी चितवनको सौराहामा रात्रिकालीन जीप सफारीको तयारी गरिएको छ।

नेपालकै तेस्रो पर्यटकीय गन्तव्यको रुपमा रहेको सौराहामा पर्यटकलाई आकर्षित गर्दै बसाई लम्ब्याउनका लागि तिहारलगत्तै रात्रिकालीन जीप सफारीको तयारी गरिएको क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए।

रात्रिकालीन जीप सफारीका लागि रुट निर्धारण भइसकेको उनको भनाई छ।
‘सौराहाबाट कुमरोज मध्यवर्ती सामुदायिक वन हुँदै लोथरसम्म सफारीको तयारी गरेका छौँ’ उनले भने, ‘पहिलो चरणको स्थलगत निरीक्षण भइसकेको छ।’

छिट्टै सांसद, जनप्रतिनिधि, निकुञ्ज, मध्यवर्ती सामुदायिक वनका प्रतिनिधिसहितको सर्वपक्षीय छलफलको आयोजना गरेर जीप सफारीको अन्तिम निर्णय लिइने भट्टराईले बताए। रात्रिकालीन जीप सफारी नेपालमै पहिलो हो।

सफारी हुने क्षेत्रको एकापट्टि मध्यवर्ती सामुदायिक वन र अर्कापट्टि निकुञ्ज क्षेत्र राप्ती नदी पर्छ। राप्ती नदीको किनारमा करीब चार घण्टाको जीप सफारी गर्न सकिने भट्टराईले बताए।

सौराहादेखि लोथरसम्म करीब ३० किलोमिटरको दूरी पर्छ। ‘पर्यटन भ्रमण वर्ष २०२० मा चितवन आउने पर्यटकलाई केही नयाँ कुरा दिउँ भन्ने उद्देश्यले यो प्याकेज ल्याउन लागेका हौँ’, उनले भने, ‘यसले आन्तरिक र बाह्य पर्यटक बढ्ने अपेक्षा गरेका छौँ।’

कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष गणेशकुमार श्रेष्ठले रात्रिकालीन जीप सफारीले मध्यवर्ती सामुदायिक वनको आयआर्जन वृद्धि हुने बताए।

‘आम्दानीको ६० प्रतिशत वनकै संरक्षणमा खर्च गर्ने गरेका छौँ,’ उनले भने, ‘रात्रिकालीन जीप सफारीसँगै संरक्षणका थप कार्यक्रमसमेत ल्याउने तयारी गरेका छौँ। जङ्गल सफारीका लागि आउने पर्यटकका लागि यो रात्रिकालीन सफारी नयाँ प्रयोग हो।’

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) नारायण रुपाखेतीले राज्यले घोषणा गरेको महाअभियान पर्यटन वर्षका लागि चितवन राष्ट्रिय निकुन्जको साथ रहने बताए।

‘हामीले निकुञ्जको ऐन नियमको परिधिमा छौँ, त्यसका आधारमा मात्र विभिन्न गतिविधि गर्न सक्छौँ, संरक्षणसँगै पर्यटनका गतिविधि हुन्छ। निकुञ्जमा जीप सफारी र अन्य गतिविधि गर्दा संरक्षणमा विशेष ध्यान दिइनुपर्ने हुन्छ,’ उनले भने।

निकुञ्जमा पर्यटक घुमाउन प्रयोग हुने जीप प्रदूषणको मापदण्ड पूरा गरी हरियो स्टीकर टाँसेको हुनुपर्छ, कानूनी र भौतिक हिसाबले सुरक्षित हुनुपर्छ। निकुञ्जभित्र सकेसम्म विद्युतीय सवारीसाधन प्रयोग गर्नुपर्ने छ।

पछिल्लो समय निकुञ्जभित्र प्रवेश गर्ने सवारीसाधनमा निकुञ्जले ट्राकिङ डिभाइस जडान गरेको छ। डिभाइसमार्फत कुन गाडी कहाँ र कस्तो अवस्थामा छ भन्ने जानकारी निकुञ्जको कार्यालयमै बसेर हेर्न उनले बताए।

विशेषगरी चितवन राष्ट्रिय निकुञ्ज अवलोकन, हात्ती सफारी र जीप सफारीका लागि पर्यटक सौराहा आउने गरेका छन्। साना तथा ठूला १५० होटल र ८० रेष्टुराँ रहेको सौराहामा सात हजार पर्यटक अट्ने क्षमता रहेको छ।

गत वर्ष सौराहामा स्वदेशी तथा विदेशी गरी डेढ लाख पर्यटक भित्रिएका थिए । चितवन आउने पर्यटकमध्ये ८० प्रतिशतले सौराहा घुम्ने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad