ad ad

म्यागेजिन


फाँसीमा चढ्नुअघि सहिद दुर्गानन्दले श्रीमतीलाई सुनाएका थिए, ‘दो हँसोका जोडा बिछड गयो रे’

जसले हानेका थिए राजा महेन्द्र सवार गाडीमा बम
फाँसीमा चढ्नुअघि सहिद दुर्गानन्दले श्रीमतीलाई सुनाएका थिए, ‘दो हँसोका जोडा बिछड गयो रे’

सहिद दुर्गानन्द झा र उनकी श्रीमती काशीदेवी। तस्बिर : नेपालखबर


जयन्त ठाकुर
माघ १६, २०७९ सोमबार १९:१, जनकपुरधाम

आज (सोमबार) माघ १६ गते अर्थात् सहिद दिवस। सहिदहरुको बलिदानीले मुलुकले संघीयतासहितको गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गरिरहेको छ।

नेपाली जनताले जहानियाँ राणा शासनको अन्त्यको सुरुवातका रुपमा आजको दिनलाई स्मरण गर्छन्। आजको दिन खासगरी शुक्रराज शास्त्रीसहित चार सहिदलाई स्मरण गरिन्छ।

तर यही दिन भुल्न नहुने अर्को नाम हो दुर्गानन्द झा। जसले तत्कालीन राजा महेन्द्र शाहले थालेको पञ्चायती व्यवस्थाविरुद्ध विद्रोहको सुरुवात गरेका थिए।

२००७ साल आसपासदेखि नै राजतन्त्रविरुद्ध जनतामा आक्रोश थियो। तर त्यसको अन्त्यका लागि झन्डै ५५ वर्ष कुर्नुपर्यो। यसका लागि कयौँ सहिदहरुले प्राणको उत्सर्ग गरे। तिनै सहिदहरुमध्ये एक थिए दुर्गानन्द झा।

सहिद दुर्गानन्द झालाई तत्कालीन राजा महेन्द्रमाथि बम प्रहार गरेको आरोपमा मृत्युदण्ड दिँदा देशमा गणतन्त्र आउला भन्ने कसैले कल्पना गरेका थिएनन्। तर मृत्युदण्डको ठीक अगाडि सहिद झाले देशमा गणतन्त्र आउने भविष्यवाणी गरेका थिए। 

उनको भविष्यवाणीको ठीक ४५ वर्षपछि देश गणतन्त्रात्मक पद्धतिमा प्रवेश गर्यो। वि.सं. २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले नेपाललाई गणतन्त्र मुलुकमा प्रवेश गरायो। 

कसैले देशमा गणतन्त्र आउने कल्पना नगरेको समयमा सहिद झाले श्रीमती काशीदेवीलाई मृत्युदण्ड घोषणापछि जुन कुरा भनेका थिए। जेलमा भेट्न आएकी श्रीमती र आमालाई उनले भनेका थिए, ‘नरोऊ, अब गणतन्त्र आउँछ। तिमीहरू खुसी खुसी गाउन जाऊ।’

वि.सं. २०२० सालमा तत्कालीन राजा महेन्द्र शाहमाथि बम हानेको आरोपमा पक्राउ परेका उनलाई भेट्न त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा श्रीमती काशीदेवी र आमा पुगेका थिए। त्यो समय थियो, झालाई मृत्युदण्ड दिनु ठीक एक दिनअगाडि अर्थात २०२० माघ १४ गते। 

सहिद दुर्गानन्दले आमालाई त्यसबेला भनेका थिए, 'आमा नरोऊ, एक दिन यस्तो आउँछ जब तपाईंलाई दुर्गानन्द झाको आमा भनेर सबैले गर्व गर्नेछन्। त्यहीबेला श्रीमतीलाई भने, 'यो हाम्रो अन्तिम भेट हो।’

दुर्गानन्द झालाई फाँसी दिने समय तय भएपछि प्रहरीले उनीहरूलाई भेट गराउन गाउँबाट ल्याएका थिए। जेलमा भेट्न गएका बेला उनीहरू रोएका थिए। आमा र श्रीमती रुँदा पनि दुर्गानन्दको अनुहारमा त्रास थिएन।

फाँसी दिने दिन दुर्गानन्द र काशीदेवीको बिहे भएको २ वर्ष मात्रै भएको थियो। एक नवदुलही, जसको श्रीमानलाई मृत्युदण्ड सुनाइएको थियो। जेलमा पुग्दा काशीदेवी भावविह्वल भएकी थिइन्।

काशीदेवीलाई सहिद दुर्गानन्दले, ‘दो हँसो का जोडा विछड गयो रे, गजब भयो रामा जुलुम भयो रे’ विरहको गीत सुनाउने गर्थे। मृत्युदण्ड दिएको ६० वर्ष भइसक्दा पनि हिजै सुनेको गीत जस्तो लाग्छ, काशीदेवीले बताइन्।

वि.सं. १९९९ वैशाख १४ गते सहिद दुर्गानन्द धनुषाको नगराइन नगरपालिका जटही गाउँमा पिता देवनारायण झा र आमा सुकुमारीदेवी झाको गर्भबाट जन्मिएका थिए। 

एकमात्रै सन्तान थिए दुर्गानन्द। १० कक्षामा पुगेपछि उनको विवाह २०१७ सालमा १४ वर्षीया काशीदेवी झासँग भयो। बुवाको निधन भएपछि आमाको रेखदेखमा गाउँबाट ५ किलोमिटर पारी भारतीय क्षेत्रको उमगाँवस्थित दिनदयाल हाई स्कुलमा दुर्गानन्दको शिक्षादीक्षा भयो।

उनी अध्ययन गरिरहेकै क्रममा नेपालमा प्रजातन्त्रका लागि संघर्ष चलिरहेको थियो। उमगावँको उक्त विद्यालयमा लोकतन्त्रका आन्दोलनकारीहरुसँग भेट भएको थियो।

एक वर्षको दाम्पत्य जीवनमा गर्भवती श्रीमतीलाई छाडेर उनी प्रजातन्त्रका लागि संघर्षमा लागेका थिए। घरमा वृद्धा आमासँग रहेकी गर्भवती श्रीमतीको राम्रो हेरचाह नहुँदा मृतशिशुको जन्म भयो।

हाई स्कुलमा अध्ययनरत दुर्गानन्दको धेरै समय छात्रवासमा राजनीतिमा बित्थ्यो। त्यहीकारण काशीदेवीसँग उनको भेट महिनामा एक दुई पटकभन्दा बढी हुन सकेन।

यता २०१७ साल पुस १ गते राजा महेन्द्रले चालेको निरङ्कुश कदमविरुद्ध नेपाली कांग्रेसले आन्दोलनको बिगुल फुकिसकेको थियो। 

राजा महेन्द्रको कुशासनविरुद्ध सहिद दुर्गानन्द झाको मस्तिष्कमासमेत यो निरंकुशता हटाएरै छोड्ने अठोट बसिसकेको थियो। 

भारतको जयनगरमा निर्वासित जीवन बिताइरहेका कांग्रेस नेता सरोज कोइरालाको सम्पर्कमा पुगेका उनले राजामाथि बम हान्ने योजना बनाएका थिए। २०१८ माघ १९ गते जनकपुर भ्रमणमा आएको बेला महेन्द्रमाथि बम प्रहार गर्ने योजना बन्यो।

त्यही योजनाअनुसार दुर्गानन्दले कडा सुरक्षाबीच जानकी मन्दिर पुगेका तत्कालीन राजा महेन्द्रमाथि बम प्रहार गरे, तर पड्किएन। राजा महेन्द्र चढेको गाडीको सिसामा बम लाग्यो। उनी बम फालेर भाग्न पनि सफल भए। भागेर जनकपुरधामकै एक  मन्दिरमा लुके। त्यसको भोलिपल्ट उनी उमगावँ नै फर्किए।

यता तत्कालीन पञ्चायत शासकहरुले बमकण्ड गराएको भन्दै विभिन्न व्यक्तिमाथि धरपकड थाले। पक्राउ परेकालाई चरम यातना दिइयो। 

यो सुनेपछि भारतमा पुगिसकेका दुर्गानन्दलाई सह्य भएन। त्यसपछि उनी जयनगरबाट रेल चढेर जनकपुरधाम हिँडेका थिए। तर जनकपुरधाम नपुग्दै तत्कालीन एसपी मानबहादुर राई नतृत्वको टोलीले पक्राउ गर्‍यो।

पक्राउ परेको भोलिपल्ट उनलाई हेलिकप्टरबाट काठमाडौंको केन्द्रीय कारागार ल्याइएको थियो। गिरफ्तारीपछि उनीमाथि राजद्रोहको मुद्दा चलाइयो।

दुर्गानन्दको तस्बिरसहित काशीदेवी

मृत्युदण्ड दिन मुलुकी ऐन संशोधन
सरकारले बमकाण्डको अध्ययन गर्न विशेष अदालतका न्यायाधीश पशुपतिप्रसाद उपाध्यायको अध्यक्षतामा झपटसिंह रावल र गुणनाथ उपाध्याय सदस्य रहने गरी उच्चस्तरीय छानविन आयोग गठन गर्यो। 

त्यस आयोगले २०१९ भदौ १९ मा प्रतिवेदन बुझायो। त्यही प्रतिवेदनमार्फत समितिले सहिद दुर्गानन्द, अरविन्द ठाकुर र दलसिंह थापालाई मृत्युदण्ड दिनुपर्ने सुझाव दियो। 

तर ब्राह्मणलाई मृत्युदण्ड दिन नहुने कुरा त्यसबेलाको कानुनमा उल्लेख थियो। कानुनको कुरा थाहा पाएर परिवारका सदस्यहरूले आयोगविरुद्ध सर्वोच्च अदालतमा उजुरी दिएका थिए। 

सर्वोच्चका न्यायाधीश रत्नबहादुर विष्ट र मीनबहादुर थापाले २०१९ पुस ५ मा उजुरीकर्तालाई झिकाउन आदेश दिए। 

त्यही वर्ष फागुन २० मा न्यायाधीशहरू दुर्गादत्त उपाध्याय र भैरवप्रसाद उपाध्यायले विशेष अदालतकै निर्णय सदर गरे। २०२० भदौ १ मा मुलुकी ऐन संशोधन गरी सबैलाई समान सजाय दिने व्यवस्था कानुनमा लेखियो।

त्यसबेला दुर्गानन्दलाई माफी माग्दै बिन्तिपत्र लेख्न भनिएको थियो। तर उनले मृत्युदण्डलाई स्वीकारे, माफी मागेनन्।

माफी माग्न तयार नभएपछि उनलाई फाँसी दिइयो। त्यसपछि श्रीमती काशीदेवी र आमालाई घटनाबारे जानकारी दिइयो। दुर्गानन्दकी आमाले शव मागे पनि दिइएन। पछि परिवारले कुशको शव बनाएर भारतको गयामा अन्तिम संस्कार गरेको थियो। 

माघ १५ गते सहिद दुर्गानन्द झालाई फाँसीको सजाय दिइएको थियो। त्यही दिनलाई अवसर पारेर नेपाली कांग्रेसले प्रत्येक वर्ष बलिदानी दिवस मनाउने गरेको छ।

कांग्रेसबाट राजनीति थालेका युवा दुर्गानन्दले गणतन्त्रका लागि प्राणको आहुति दिए। तर कांग्रेसले उनलाई सहिद घोषणा गर्न सकेन। 

त्यसपछि दर्जनौँ पटक कांग्रेस सत्तामा पुग्यो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएपछि २०७२ फागुन १९ गते उनलाई सहिद घोषणा गरियो। गणतन्त्रका लागि हाँसीखुशी फाँसीमा चढेका दुर्गानन्दले सहिदको सम्मान पाउन ५२ वर्ष लामो प्रतिक्षा गर्नुपर्यो।

सहिद दुर्गानन्द झा

कसलाई लेखे तेस्रो चिठी?
सहिद दुर्गानन्दले फाँसी दिइएको दिन तीनवटा चिठ्ठी लेखेका थिए। उनले चिठी लेखेर जेलका चौकीदार बद्रीराम भण्डारीलाई जिम्मा लगाएका थिए। 

दुर्गानन्दसँगै जेलमै सजाय काटेका केही व्यक्तिहरुका अनुसार उनले पहिलो चिठी कांग्रेसका तत्कालीन सभापति सुवर्ण शम्शेरलाई र दोस्रो चिठी आमालाई लेखेका थिए। तर तेस्रो चिठी कसलाई लेखेका थिए अझैसम्म स्पष्ट छैन।

'चिठीको प्रसंग सहिद अरविन्द ठाकुरले आफ्नो मृत्युभन्दा अगाडि कयौँ पटक सुनाएका थिए', काशीदेवी भन्छिन्। 

कयौँ व्यक्तिले तेस्रो चिठी चौकीदारले गायब गरेको अनुमान गरेका छन्। कांग्रेसका तत्कालीन सभापति सुवर्ण शमशेरलाई लेखेको चिठीमा के थियो भन्ने पनि खुलाइएको थिएन। यद्यपि कांग्रेसको आन्दोलनको दिशाबारे उक्त चिठीमा उल्लेख भएको हुन सक्ने अनुमान छ।

दोस्रो चिठ्ठीमा सहिदद झाले घर परिवारको जिम्मा आमालाई र स्वास्नीलाई दिएर गईरहेको उल्लेख थियो। तर तेस्रो चिठ्ठी कसलाई र सो चिठ्ठीमा त्यस्तो के लेखेका थिए यो विषयमा अननुसन्धान हुनु आवश्यक रहेको कतिपयको माग छ।

जनकपुरमा दुर्गानन्दको स्मारक
प्रथम गणतन्त्रवादी सहिद दुर्गानन्दको ६० औँ बलिदानी दिवसको अवसरमा जनकपुरधाममा आइतबार स्मारक शिलान्यास गरिएको छ। 

दुर्गानन्द स्मारक निर्माण समितिले जनकपुरधाम उपमहानगरपालिका-२३ लादो बेलामा करिब डेढ करोडको लागतमा सहिद दुर्गानन्द झाको स्मारक निर्माण गर्न लागेको हो।

२०१८ साल माघ ९ गते तत्कालीन राजा महेन्द्रमाथि २० वर्षीय युवा दुर्गानन्दले बम प्रहार गरेको जानकी मन्दिर प्राङ्गणमा जनकपुरधाम बौद्धिक समाजले उनको स्मारक निर्माण गर्न काम थालिएको थियो।

२०६५ असार ९ गते सहिद दुर्गानन्द झा स्मारक निर्माण समिति गठन गरी उनको ६ फिट १ इन्च अग्लो स्मारक निर्माण गरेको साढे १४ वर्ष भइसकेको छ। तर निर्माणस्थल विवादले स्मारक लगाउन सकिएको थिएन।

आइतबार फेरि उनको बलिदानी दिवसको अवसरमा स्मारक शिलान्यास गरिएका चालु आर्थिक वर्ष भित्रै पूरा हुने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .