म्यागेजिन


ड्राइभर बनेको २० वर्षपछि जसले गराइन् साझा बसमा राष्ट्रपतिको सवारी

ड्राइभर बनेको २० वर्षपछि जसले गराइन् साझा बसमा राष्ट्रपतिको सवारी

साझा यातायातकी चालक हर्मिता श्रेष्ठ (तस्बिर : विशाल कार्की)


वसन्त अर्याल
पुस २७ , काठमाडौँ

हर्मिता श्रेष्ठ साझा यातायातकै एक्लो महिला चालक हुन्। नारायणथान–लगनखेल रुटमा उनले साझाको ‘भीमकाय’ बस हाँक्नथालेको ५ वर्ष भइसकेको छ। 

बिसौनीपिच्छे यात्रु चढाउँदै ओराल्दैमा उनको दैनिक ८ घण्टा बित्छ। बीचमा उनी ५–६ दिनको विदा पाउँछिन्। 

गत बिहीबार पनि उनको दैनिकी त्यसैगरी बित्यो। ‘ड्युटी’ सकेर केही दिन नियमित विदाको तर्खर गर्दै थिइन्। अफिस इन्चार्जको फोन आयो– शनिबार राष्ट्रपतिको सवारी गराउनुपर्छ, त्यहीअनुसार तयार हुनुहोला। 

गाडी हाँकेर २० वर्ष बढी बिताइसकेकी उनलाई त्यो त्यति गाह्रो कुरा त थिएन तर देशकै प्रमुखलाई सवारी गराउनुपर्ने भएकाले उनी केही गम्भीर बनिन्। मानसिक रुपमा तयार भइन्।

राष्ट्रपतिलाई चढाउने साझाको बिजुली बस शुक्रबार नै शीतलनिवास पुगिसकेको थियो। श्रेष्ठ भने शनिबार बिहानै सहचालकसँग त्यहाँ पुगिन्। सुरक्षाकर्मीलाई गाडी चलाएको अनुभव सुनाइन्, नामथर टिपाइन्।

राष्ट्रपति भण्डारी त्यसदिन साझा यातायातको विद्युतीय बस चढेर ललितपुरको पाटन पुग्ने कार्यक्रम थियो। सवारीको समय भयो। श्रेष्ठले राष्ट्रपतिलाई फूल दिएर साझा बसमा स्वागत गरिन्।

भित्रभित्रै उनी राष्ट्रपति भण्डारीलाई आफ्नो यात्रुका रुपमा पाउँदा पुलकित भएकी थिइन्। 

अन्य दिनजस्तो थिएन। राष्ट्रपतिको बस चलाउँदा सुरक्षाकर्मीका गाडी पनि अघिपछि थिए। सामान्य समयमा सडकमा जाम छिचोल्दै हिँड्नुपर्ने उनका लागि शनिबार विशेष थियो। कहीँकतै जामको सामना गर्नुपरेन। 

बरु, राष्ट्रपतिको गाडी चलाउँदा सुरक्षाकर्मीकै गाडीको गतिमा दूरी कायम राख्नुपर्थ्यो। जुन उनका लागि छुट्टै अनुभव थियो। 

‘अगाडिको गाडी र बसको दूरी एउटा बसबराबर राख्नु भन्ने थियो’, श्रेष्ठ भन्छिन्, ‘सहज रुपमा शीतलनिवासबाट पाटन र पाटनबाट शीतलनिवास पुर्‍याएँ भन्ने लाग्छ।’

राष्ट्रपति भण्डारी साझाको बिजुलीबसमा शनिबार पाटनमा मदन पुस्तकालयको अवलोकन गर्न पुगेकी हुन्। चालक हर्मिता श्रेष्ठ र सहचालक सरिता भुजेलले उनलाई सवारी गराएका थिए। 

सहचालक भुजेल राष्ट्रपतिलाई साझा यातायातमा चढाएर हिँड्दा रमाइलो लागेको सुनाउँछिन्। 

‘राष्ट्रपतिलाई नजिकबाट अहिलेसम्म देख्न पाएको थिइनँ। सँगै एउटै गाडीमा हिँड्न पाउँदा खुसी लागेको छ’, सहचालक भुजेल थप्छिन्, ‘शीतलनिवासबाट साझा यातायातको बसमा राखेर पाटन ढोका ल्यायौँ, साझामै शीतलनिवास पु¥यायौँ।’

शीतलनिवासका कर्मचारीले लामो समय गाडी कुदाएको भन्दै चालक श्रेष्ठको प्रशंसा गरे। आफ्नो काम सम्पन्न गरेपछि उनीहरुले राष्ट्रपतिसँग फोटो खिचाउन चाहे। राष्ट्रपतिले नाइँ भनिनन्। 

‘राष्ट्रपति साझाबाट झर्ने बेलामा मैले एउटा फोटो खिचाउन अनुरोध गरेँ’, चालक श्रेष्ठले भनिन्, ‘उहाँले हुन्छ भन्नुभयो। अनि सँगै फोटो खिचायौँ।’

सामाजिक सञ्जालमा उनको त्यही फोटा देखेर साथीहरुले प्रशंसा गरेको उनले बताइन्। सर्वसाधारणदेखि राष्ट्रपतिसम्मलाई बोक्न पाएकोमा खुसी लागेको उनीहरुले बताए। 

‘गाडी गुडाउन रहर लाग्थ्यो’
गाडी चलाउनु सामान्य कुरा भए पनि महिलाले गाडी चलाएको देख्दा ‘ओहो!’ भन्नेहरु अहिले पनि प्रशस्तै छन्। 

धरानमा हुर्किएकी श्रेष्ठलाई भने सानैदेखि गाडी कसरी चल्छ भन्नेमा जिज्ञासा थियो। उनको घरमा मारुती गाडी थियो। बुबाआमाले गाडी भाडामा दिने गरेका थिए। मारुती भ्यान देख्दा जता बाटो छ त्यतै कसरी गुड्छ भन्ने उनलाई लागिरहन्थ्यो। 

‘गाडी गुडाउन रहर लाग्थ्यो’, श्रेष्ठले भनिन्, ‘त्यही मारुती नै पहिलो पटक चलाएको थिएँ।’ 

उनी पहिलोपटक आफन्तसँग काठमाडौं आएकी थिइन्। राम्रोसँग गाडी हाँक्न जानेपछि उनले २०५७ सालमा सवारी चालक अनुमतिपत्र निकालिन्। त्यसपछि काठमाडौंमा टेम्पो चलाइन्। राष्ट्रिय महिला आयोगको गाडी कुदाइन्। 

युनिसेफ र यूएनडीपीमा गाडी चलाइन्
श्रेष्ठले गाडी चलाएको लामो अनुभव भइसकेको छ। सबैभन्दा बढी समय उनले संयुक्त राष्ट्रसंघीय संस्थाहरु युनिसेफ र यूएनडीपीमा गाडी चलाइन्। 

१० वर्ष युनिसेफ र ५ वर्ष यूएनडीपीमा गरी ती संस्थामा गाडी हाँकेरै उनको १५ वर्ष बितेको थियो। श्रेष्ठ अहिले साझा यातायातका विद्युतीय बससँगै अशोक लेल्यान्ड र टाटाका डिजेल बस समेत चलाउँछिन्। 

साझाले ४० वटा विद्युतीय बस ल्याएको छ। सबै चलाइसकेको छैन। ७० बढी त डिजेल बस छन्। काठमाडौं उपत्यकासहित लामो दूरीमा समेत यी बस चल्ने गरेका छन्। 

श्रेष्ठले साझा यातायातमा नवदुर्गा सेक्युरिटिजमार्फत ‘आउट सोर्सिङ’ को रुपमा काम गरिरहेकी छिन्। 

तीतो अनुभव
काम गर्दा अनेक अनुभव गर्न पाइन्छ। श्रेष्ठले युनिसेफमा काम गर्दा भोगेको नमीठो अनुभव सुनाइन्। उनलाई त्यहाँ स्थायी जागिरे बनाउने भनिएको थियो। तर बीचैमा विना गल्ती छुट्नुपरेको उनको गुनासो छ। 

‘मैले चलाइरहेको गाडी अघि २ वटा मोटरसाइकल ठोक्किए’, उनले भनिन्, ‘त्यहाँको हाकिमले मलाई डर लाग्यो भनेर १ वर्ष रिसेप्सनमा राखे। त्यसपछि एउटा चिठ्ठी दिएर जागिर सकिएको भने।’

युनिसेफको जागिर त गयो तर विनाकारण जागिर गएकाले उनले यसलाई बिर्सिन सकेकी छैनन्। 

उनले ती संस्थामा काम गर्दा नेपालमा द्वन्द्व चलिरहेको थियो। यूएनमा काम गर्ने एउटा कर्मचारीको घर झापामा थियो। अरु गाडी चल्न दिइएको थिएन। युनिसेफको गाडी भएकाले सिरहासम्म त पुगिन्। सिरहामा पनि उनले बिर्सिनै नसक्ने अवस्थाको सामना गर्नुपर्यो। 

‘युनिसेफको गाडी चलाएर सिरहा पुगेको थिएँ। त्यहाँ आन्दोलनकारी जम्मा भएका रहेछन्’, उक्त घटना सम्झिँदै उनले भनिन्, ‘आन्दोलनकारीले रोकेर सिधै गाडीमाथि पेट्रोल खन्याउन थाले। मैले २ किलोमिटर ब्याक गरेँ।’

गाडीमा आगो लगाउन नदिई उनले गाडी पर राखेर हिँड्दै आइन् र भनिन्– यो बच्चा तथा महिलाको काम गर्ने संस्थाको गाडी हो। यसलाई छाडिदिनुस्! 

यति अनुरोध गरेपछि एक जनाले मुख्य सडकबाट होइन खेतबाट घुमेर जान भने। त्यसपछि उनले खेतको बाटो हुँदै गाडी लगिन् र समस्यालाई टारिन्। 

‘महिलाले पनि पुरुषसरह काम गर्न सक्छन्’
नेपाली समाजमा महिला चालक एकदमै कम छन्। निजी सवारीसाधन हाँक्ने महिला बढ्दै गए पनि सार्वजनिक यातायातमा नगन्य छन्। 

काठमाडौंमा टेम्पो चालक महिला बढी देखिन्छन्। ठूला बस र ट्रक चलाएको त त्यत्ति देख्नै पाइँदैन। 

परिवारले महिलालाई चालक बनी आयआर्जन गर्न प्रेरित गर्दैन तर श्रेष्ठको परिवारले यो काम गर वा नगर भनेर छुट्याएन। आफ्नै छोरीका समाचार बन्दा बाबाआमा भने खुसी हुने गरेका छन्। 

‘बस चलाउने महिला चालक एकदमै कम हुनुहुन्छ। मिडियामा बोलेको भिडियो फोटो देखेर झन् खुसी हुने गर्नुभएको छ’, उनले सुनाइन्, ‘पुरुषसरह नै काम गर्न सक्छन् भन्ने देखाएको छु।’

यूएनमा जागिर खाँदा उनले २ पटक ट्रायल दिएर आफूलाई सक्षम साबित गर्नुपरेको थियो। साझा यातायातमा भने कार्यालयबाट जाउलाखेल बस घुमाएर आउँदा नै पास भएको उनको भनाइ छ। 

उनको बस चढ्न पर्खेर बस्छन् यात्रुहरु
हर्मिता श्रेष्ठ साझा यातायातकी एक्ली महिला बस चालक हुन्। यहाँ काम गर्दा यात्रुहरुले राम्रो व्यवहार गरेको उनी बताउँछिन्। 

नेपालखबरसँगको कुराकानीमा उनले लगनखेलबाट नारायणथानमा जाँदाको एउटा प्रसंग सुनाइन्– 

उनी नारायणथानबाट रत्नपार्क आउँदै थिइन्। यात्रु उनको बस चढ्न पर्खेर बसेका थिए। यो कुरा उनीहरुकै मुखबाट पछि थाहा पाउँदा उनलाई खुसी लागेको श्रेष्ठ सुनाउँछिन्। 

‘यात्रुले नै तपाईं आएको देखेर अघिल्लो बसमा चढेनौँ। तपाईंले बस चलाएको हेर्न यसमा चढेको भन्नुभयो। धेरै खुसी लाग्यो’, उनले भनिन्, ‘केही यात्रुले सामाजिक सञ्जालमा देखेको भए पनि पहिलो पटक मैले चलाएको गाडीमा चढेको भन्दै फोटो खिचाउनुहुन्छ।’

कुनै यात्रुले धेरै दिन भयो यो रुटमा आउनै हुन्न समेत भन्ने गरेका छन्। उनले आफूले राम्रो गरे यात्रुले दुव्र्यवहार नगर्ने बताउँछिन्। 

सह–चालक सरिता पनि यात्रुबाट दुव्र्यवहार नव्यहोरेको बताउँछिन्। उनी १ वर्षदेखि साझा यातायातमा सहचालकको भूमिकामा रहेकी छन्। उनको प्रायः रुट नारायणथान–लगनखेल रहेको छ। 

‘यो रुटमा हिँड्ने यात्रुले महिला भनेर नराम्रो व्यवहार गरेका छैनन्’, सहचालक भुजेल भन्छिन्, ‘तर समाजका कतिपयले महिला भएर त्यस्तो काम गर्न हुँदैन पनि भन्ने गरेका छन्।’

हलुका सवारीसाधनको लाइसेन्स लिइसकेकी उनी मानिसको सोच आ–आफ्नो हुने बताउँछिन्। श्रेष्ठ र भुजेल दुवैले यही पेशाबाटै आफ्नो परिवार चलाइरहेका छन्। श्रेष्ठले चालक पेशाबाटै आफ्ना २ वटा बच्चालाई हुर्काउने पढाउने गरेको सुनाइन्।

महिलाले गर्न नसक्ने नभई ठूला गाडीको लाइसेन्स लिन धेरै अप्ठ्यारो हुँदा महिला चालक बढ्न नसकेको उनको बुझाइ छ। 

ट्राफिक प्रहरीले बुझिदिए हुने... 
साझा यातायातले ज्येष्ठ नागरिकलाई निःशुल्क यात्रा गराउँछ। ज्येष्ठ नागरिक चढ्दा र ओर्लिँदा बढी समय लाग्छ। काठमाडौंमा पिक एन्ड ड्रप सिस्टम लागू भइरहेको अवस्थामा ढिला गर्दा ट्राफिकले गाली गर्ने गरेको श्रेष्ठ सुनाउँछिन्। 

ट्राफिक प्रहरीले मानवीय र व्यावहारिक भएरै नसोच्ने उनको बुझाइ छ।

‘सामान्य गल्तीले पनि एक हजार/१५ सय राजस्व तिर्नुपर्छ’, उनले सुनाइन्, ‘ठूलो गाडी भएकाले यात्रु झर्न समय लाग्छ तर ट्राफिकले बुझ्दैन।’ 

उनी ट्राफिकको मुडअनुसार कारबाही गर्दा चालकलाई धेरै दुःख भएको बताउँछिन्। 

साझा यातायात अरु बसजस्तो लामो समय एकै ठाउँमा रोक्दैन। यात्रु झार्न र ओराल्न मात्रै रोक्दा पनि ट्राफिकले तँ–तँ गरी गाली गर्दा बढी चित्त दुख्ने उनको भनाइ छ।

‘विद्युतीय बस ढोका बन्द नभई अगाडि गुड्दैन’, सडकको ड्राइभिङ अनुभवबारे उनले भनिन्, ‘ढोका बन्द भएर बस गुड्न केही समय लाग्छ। तर ट्राफिकले धेरै बेर गाडी किन रोकेको भन्दै चिट काट्छन्।’

सार्वजनिक यातायातमा चढ्ने यात्रुले समयअनुसार फरक व्यवहार हुने प्रसंग सुनाइन्। बिहानको समयमा यात्रु शान्त हुन्छन्। दिउँसोको समयमा हतारमा हुन्छन्। 

साँझ भने साना कुरामा पनि रिसाउने गरेको उनको अनुभव छ। 

पुस २७, २०७९, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.