म्यागेजिन


आजका मानिससँग धेरै मोटा पुस्तक पढ्ने समय छैन : सुमित शर्मा ‘समीर’ (अन्तर्वार्ता)

आजका मानिससँग धेरै मोटा पुस्तक पढ्ने समय छैन : सुमित शर्मा ‘समीर’ (अन्तर्वार्ता)

नेपालखबर
पुस २८, २०७७ मंगलबार १२:१३,

कोरोना महामारीकै बीच सुमित शर्मा ‘समीर’ले आफ्नो पहिलो उपन्यास प्रवास बजारमा ल्याएका छन्। लघु आकारको यस उपन्यासले पाकिस्तानी र क्यानडेली पात्रका माध्यमबाट त्यहाको समाजलाई चित्रण गरेको छ। उपन्यासमा उनले पूर्वीय र पश्चिमा समाजको एक–अर्काप्रतिको सोचाइ र बुझाइका साथसाथै तिनीहरु बीचको अन्तरलाई केलाउने काम गरेका छन्। आफू र आफ्ना सन्तानको जीवन राम्रो बनाउने उद्देश्यले क्यानाडा पुगेका अधवैंशे पाकिस्तानी अलीको वरिपरि उपन्यास घुमेको छ। उपन्यासमा मानिस, समाज, राजनीति, दर्शन, अध्यात्म र सभ्याताबीचको द्वन्द्वको चित्रण गर्न खोजिएको छ। उपन्यासमा केन्द्रित रहेर उपन्यासकार सुमितसँग नेपालखबरले गरेको  कुराकानीको सम्पादित अंशः

अधिकांश नेपाली आख्यान आफ्नै समाज, भूगोल र घटनाक्रममा आधारित रहेको पाइन्छ। तपाईंको उपन्यासको परिवेश भने पाकिस्तान र क्यानाडाको रहेको छ। यसको विषय कल्पनिक मात्रै हो कि अनुभव पनि हो?
केही कल्पना, केही अनुभव। पाकिस्तानको विषय कल्पना हो, अध्ययन र अनुसन्धान हो भने क्यानाडाको भोगाई हो, अनुभव हो। म पाकिस्तान पुगेको छैन। तर, क्यानाडामा भने केही वर्ष अध्ययनका क्रममा बिताएको छु। क्यानाडाको क्विन्स युनिभर्सिटीबाट ग्लोबल डेभ्लोप्मेन्ट स्टडिजमा मास्र्टर्स सकेर २०७२ वैशाकको भूकम्पको एक महिनापछि नेपाल फर्किएको हुँ।

उपन्यास पाकिस्तानी समाजका बारेमा छ। यसका मुख्य पात्र अली र उसकी पत्नी जारा हुन्। यी दुवै पाकिस्तानको लाहोर सहरमा जन्मे र हुर्किए। यी दुई पात्रका माध्यमबाट विकासुन्मुख समाजको मध्यम बर्गीय परिवारको संघर्षको कथालाई प्रस्तुत गरिएको छ। पाकिस्तान र क्यानाडा संयोग मात्र हो। दक्षिण एसियाको कथावस्तु चयन गर्ने क्रममा पाकिस्तान, भारत, नेपाल र क्यानाडाका पात्र र परिवेश निर्माण गर्ने प्रयास गरेको हुँ।

आफू नपुगेको समाजको व्याख्या के आधारमा गर्नुभयो?
क्यानाडा बसाईंका क्रममा केही पाकिस्तानीसँग संगत भयो। केही कुराहरु उनीहरुबाटै सिक्ने मौका मिल्यो। समाजको विश्लेषण अध्ययन र शोधको माध्यमबाट गरेको हुँ। धेरैजसो कुरा काल्पनिक हुन्। नयाँ मानिससँग भेट्दा उनीहरुको संस्कृति, इतिहास, भोगाइ र बुझाइको विषयमा कुरा गर्ने गर्छु। यो विषय निकै चाख लाग्छ। त्यसैलाई माध्यम बनाएको छु।

नेपाल, भारत र पाकिस्तानका मानिसको अवस्था उस्तै प्रकारको छ। किनभने हामी उस्तै सामाजिक राजनीतिक परिवेशमा हुर्किएका छौँ। केही भिन्नता भए पनि धेरै कुरामा सममानता छ। मानसिकता लगभग उस्तै लाग्छन्। यसमा पूरै दक्षिण एशियाको मानसिकतालाई समेट्ने कोशिस गरेको छु।

पूर्व र पश्चिमबीचको द्वन्द्व नेपालमा मात्रै होइन, पाकिस्तानमा पनि छ। राजनीतिक अस्थिरताले वाक्कदिक्क भएका अलीलाई क्यानाडाको भौतिक वैभवलाई पनि उपभोग गर्नु छ तर उनी क्यानेडियन समाज अनुसार परिवर्तित पनि हुन सकेका छैनन्। लामो समयसम्म विदेशमा बसे पनि मर्ने बेलामा आफ्नै भूभाग टेक्ने इच्छा हुन्छ। यसका पात्रहरुमा पनि त्यो देखिन्छ। उनीहरुको भावना पनि सकसमा छ।

देखे भोगेका र अध्ययन गरेका विषयलाई उपन्यासमा पस्कँदा कति न्याय गरेँ जस्तो लाग्छ?
यस उपन्यासमार्फत प्रवासीहरुको जीवनलाई नजिकबाट हेर्ने प्रयास गरेको छु। पति–पत्नीबीचको सम्बन्ध, बाबु–छोराबीचको पुस्तान्तरणले जन्माएका समस्या, प्रेमी–प्रेमिका बीचका भावना र मनोदशा, जीवन र जगतप्रतिका अवधारणाहरूलाई पनि समेट्ने प्रयास गरेको छु। त्यहाँ बसाईंका क्रममा केही सिकियो, केही आफ्नै ज्ञान अनुभवले सिकायो। समयको कालखण्ड सिक्दै, भोग्दै जाँदा जे थोरै बहुत जाने त्यसलाई पनि पस्कने प्रयास गरेको हुँ।

विश्वव्यापीकरणपछि पश्चिम देशहरुमा आप्रवासनमा जानेको संख्या पनि बढ्यो। यसले द्वन्द्व निम्त्याएको छ। तर, यो बिभिन्न संस्कृतिलाई बुझ्ने अवसर पनि हो। उपन्यासमा त्यसतर्फ पनि इंगित गरेको छुँ। अलग–अलग सभ्यता र संस्कृतिले एक अर्कोलाई कसरी बुझ्न सक्छ भन्ने कुराहरु पनि विभिन्न पात्रहरुको माध्यमबाट अभिव्यक्त भएको छ। कति न्याय गर्न सके या सकिन यो त पाठकहरुले दिने प्रतिक्रियाबाट मैले सिक्ने हो।

अन्य उपन्यासको तुलनमा तपाईंले विचार र प्रवृत्ति के फरक देखाउन खोज्नुभएको छ?
पूर्व र पश्चिमबीच मतान्तर छ। जीवन जीउने शैली भिन्न छन्। संस्कृति, परम्परा अलग छन्। तर, दुबै पक्षले एक अर्कासँग सिक्ने ठाउँ पनि पर्याप्त छन् जस्तो लाग्छ। अली र जाराले दाजु–भाउजूका रुपमा परिवारिक जिम्मेवारी निभाएको देखिन्छ। श्रीमान् र श्रीमती रुपमा उनीहरुको भूमिका औपचारिकतामा सीमित हुँदै गएको देखिन्छ।

parbas123

पूर्वीय पात्रहरु प्रकृतिनजिक हुर्केका छन्। पश्चिम भने मध्य युगबाट आधुनिक युगमा प्रवेश गर्ने क्रममा व्यक्ति केन्द्रित भयो र विज्ञानसँग नजिक भयो। तर्कको साहारा लियो। तर, प्रकृतिसँग उसको सम्बन्ध बिच्छेद भयो। पूर्व बहुदलवादमा रमायो, पश्चिम बहुसंस्कृतिवादमा।

पश्चिममाहरु भौतिक रुपमा सम्पन्न भए। त्यसमै आनन्द माने। पूर्वलाई भौतिक जगत मात्रको लालसा भएन। उसले अरु पनि खोज्ने प्रयास गर्यो। त्यस कारणले सम्भवत् भौतिक प्रगति मात्र उसको निम्ति मानक हुँदैन होला। ऊ जीवनका स–साना कुराहरुमा पनि रमाउछ होला। सम्बन्धहरुमा रमाउछ होला।

बहस को ठूलो को सानो भन्ने होइन। को सही को गलत भन्ने पनि होइन। बहस के मात्र हो भने प्रत्येक युगले मनुष्यलाई परिवर्तित र परिभाषित गर्छ। यसका बाबजुद के कुनै पनि पूर्वीय या पश्चिमेली मानिस आफ्नो सामान्य स्वभाविकतासहित बाच्न सक्छ? या ब्रह्माण्डीय जटिलताको सामुन्ने मनुष्य फगत खेलौना मात्र हो?

यो संयोगान्त वा वियोगान्त कस्तो उपन्यास हो?
संयोगान्त भनौँ भने यसको पात्रले आफूलाई भेटाउँदा पनि प्रकृतिको बृहत निर्माणमा परिवर्तन गर्नै नसक्ने र त्यसैमा हेलिएर बग्न अभिसप्त छन्। वियोगान्त भनौँ भने यसको प्रमुख पात्रले आफूलाई चिन्न सफल भएको छ र त्यसमा रमाएको छ। संयोगान्त वा वियोगान्त नभएर यथार्थपरक उपन्यास हो।

दुई देशको समाज र जीवन चित्रण गरिएको उपन्यासको आकार चाहिँ लघु किन?
मलाई लाग्छ आजको मानिससँग धेरै मोटा पुस्तक पढ्ने समय छैन। फेरि म लामो लेखेर पाठकहरुलाई इन्गेज गरिराख्न सक्ने क्षमता भएको लेखेक पनि होइन। त्यसैले शायद नोबेला उपयुक्त शैली हो, मेरो लागि। भविष्यमा पनि छोटो नै लेख्ने छु।

कोरोनो महामारीका बीचमा उपन्यास ल्याउनु भयो। कस्तो प्रतिक्रिया पाउनु भएको छ?
पुस्तक ल्याउँदा राम्रोसँग विमोचन गर्ने विचार थियो। तर, कोरोनाको कारणले गर्न सकिएन। तर उपन्यासप्रतिको प्रतिक्रिया उत्साहप्रद छ। खुशी छु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad