समाज


अध्ययन भन्छ: लकडाउनमा दम्पतीबीच पैसाभन्दा महत्वपूर्ण बन्यो यौन

अध्ययन भन्छ: लकडाउनमा दम्पतीबीच पैसाभन्दा महत्वपूर्ण बन्यो यौन

नेपालखबर
पुस २८, २०७७ मंगलबार १२:२,

वैज्ञानिकहरुले महिला र पुरुषबीचको असल सम्बन्धमा यौनको महत्व निकै कम हुने बताउँदै आएका छन्।

कोरोना भाइरस महामारीअघि गरिएका अध्ययनहरुले यौनभन्दा पैसा, शैक्षिक योग्यता, उमेरजस्ता विषय बढी महत्वपूर्ण हुने देखाएका थिए।

तर, कोरोना भाइरस महामारीले यौनसम्बन्धी यो धारणामा परिवर्तन ल्याइदिएको एक अध्ययनले देखाएको छ।

हालै चीनमा गरिएको एक अनुसन्धानले भने जोडीको आपसी सम्बन्ध सुधार्नमा यौनले निकै ठूलो भूमिका खेलेको पाइएको छ।

कमसेकम बालबच्चाको अवरोध नभएको र तनावमा नडुबेको जोडीका लागि लकडाउनमा यौनको महत्व धेरै देखिएको हो।

‘लकडाउनमा जब जोडीले यौन सन्तुष्टि प्राप्त गरे, तब उनीहरुबीच सकारात्मक भावना विकास भयो र उनीहरुले एकअर्काप्रति सकारात्मक व्यवहार गरेको पाइयो,’ अध्ययनका प्रमुख लेखक तथा हेनान युनिभर्सिटीका प्राध्यापक वाङ पेइसी भन्छन्।

यो अध्ययन सेक्सुअल मेडिसिन नामक जर्नलमा शुक्रबार प्रकाशित भएको छ।

पछिल्लो समय भएका अनेकौँ अध्ययनअनुसार महामारीले मानिसको यौन जीवनमा ठूलो असर पारेको छ। संक्रमण बढ्दै जाँदा जोडीबीचको यौन सम्बन्धको संख्या घट्दै गएको देखिएको छ।

उदाहरणका लागि टर्कीमा महामारीअघि दम्पतीले औसत हप्तामा दुई पटक यौन सम्पर्क राख्ने गर्थे। महामारी सुरु भएपछि त्यो एक पटकमा सिमित भएको देखिएको छ।

प्राध्यापक वाङको अध्ययनमा १८ देखि ४४ वर्षबीचका चीनका विवाहित वा लिभिङ टुगेदरमा रहेका करिब ३ सय व्यक्ति सहभागी थिए।

यो अध्ययनमा सहभागीहरुले पनि चीनमा गतवर्ष लकडाउन सुरु भएपछि यौन सम्बन्ध कम गरेको बताएका थिए।

सन् २०११ मा पाँच मुलुकमा गरिएको एक अनुसन्धानमा दम्पतीबीच दरारको सबैभन्दा प्रमुख कारण आर्थिक समस्या देखिएको थियो। सोही अध्ययनमा समय बित्दै जाँदा दम्पतीले एकअर्काप्रतिको रुचि गुमाउँदै जाने पनि देखिएको थियो।

तर, लकडाउनमा भने यो प्रवृत्ति उल्टिएको देखिएको छ।

लकडाउनको अवधिमा जोडीबीच पैसाभन्दा बढी यौन महत्वपूर्ण हुन पुगेको वाङ बताउँछन्।

यद्यपि सम्बन्धमा सबैभन्दा महत्वपूर्ण पक्ष भने पहिलेझैँ पारिवारिक विषय नै भएको यो अध्ययनले पनि देखाएको छ।

यद्यपि फरक संस्कृति भएका मुलुकमा यो अध्ययनको निष्कर्ष लागू नहुन सक्छ। किनभने इटलीको एउटा अध्ययनले भने लकडाउनका बेला अन्य मुलुकहरुमा भन्दा विपरीत मानिसहरुले अझ बढी यौन सम्पर्क राखेको देखिएको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad