ad ad

म्यागेजिन


यसरी बनेको थियो ‘नेपाल घुम्नै नहुने सात कारण’ भिडियो

यसरी बनेको थियो ‘नेपाल घुम्नै नहुने सात कारण’ भिडियो

सन्तोष न्यौपाने
कात्तिक ७, २०७७ शुक्रबार १४:२६,

कात्तिक महिना लाग्दै गर्दा सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भयो। जसको शीर्षक थियो, ‘नेपाल घुम्नै नहुने सात कारण।’

नकारात्मक विषयले मान्छेको ध्यान छिटो तान्छ। मोटिभेसनल स्पिकर मानसी अग्रवालले आफ्नो फेसबुक पेजमा राखेको यो भिडियोले पनि धेरैको ध्यान तान्यो।

भारतको कलकत्तामा हुर्किएकी मानसी मोटिभेसनल स्पिकर र कर्पोरेट ट्रेनर हुन्। १४ वर्षअघि नेपाली नागरिकसँग विवाह गरेयता उनी नेपालमा बस्छिन्।

मानसी सामाजिक मनोविज्ञान र प्रवृत्तिबारे जानकार छिन्। त्यही भएर नै उनले नेपाल आफूलाई कति मन पर्छ भन्ने देखाउन फरक शैली अपनाइन्।

‘नकारात्मक’ शीर्षक राखेर भित्री सामग्रीमा नेपालको बारेमा खुलेर प्रशंसा गरिन् र विश्वलाई नेपाल घुम्न आग्रह गरिन्। जसले गर्दा उनले बनाएको भिडियो भाइरल भयो र अधिकांशले मन पराए।

‘नकारात्मक समाचार छिटो फैलिन्छ। मेरो भिडियोमा धेरैको आँखा परुन् भनेर नै नयाँ शैली अपनाएकी हुँ,’ मानसीले नेपालखबरसँग भनिन्।

भिडियो बनाउँदा कम्तीमा भारतमा रहेका साथीभाइ, आफन्तले हेरुन् र नेपाल आऊन् भन्ने उनको चाहना थियो।

‘ती साथीहरुलाई नेपाल ल्याउन पनि यो भिडियो बनाएकी हुँ,’ मानसी भन्छिन्।

उनको उद्देश्य धेरै हदसम्म पुरा भएको छ। भिडियो सार्वजनिक भएपछि सयौंको प्रतिक्रिया आएको छ, लाखौंले हेरिसकेका छन्। विदेशमा रहेका धेरै साथीहरु सम्पर्कमा आए।

Agrawal

‘उनीहरुले नेपाल कसरी आउने, कहाँ बस्ने, के के हेर्ने भनेर सोधिरहेका छन्,’ उनी भन्छिन्।

यस्तो भिडियो बनाउनेबारे उनले धेरै पहिलेदेखि सोचिरहेकी थिइन्।

‘मैले धेरै वर्षअघि एक आर्टिकल पढेको थिएँ, जसको शीर्षक थियो, डोन्ट भिजिट फ्रान्स,’ उनी भन्छिन्, ‘त्यसपछि यसरी कुनै पनि कुराको प्रवद्र्धन गर्न सकिन्छ भन्ने मेरो मनमा लागिरहेको थियो।’

उनले नेपाल घुम्न नहुने के के कारण राख्ने भनेर धेरै सोच्नै परेन। नेपालमा १४ वर्षको बसाइमा उनले नेपाल घुम्नुपर्ने अनेकौँ कारण देखिसकेकी थिइन्।

यही अनुभवका कारण यो भिडियोको सामग्री लेख्न एक घण्टा पनि लागेन। किनभने उनी बोल्न लेख्न पोख्त छिन्। भिडियो सुटिङ गर्न २० मिनेट मात्र लाग्यो। एडिटिङमा भने लामो समय लाग्यो।

‘सबैभन्दा धेरै मलाई कन्सेप्ट बनाउन समय लागेको थियो,’ उनी भन्छिन्।

भिडियो तयार भएपछि पनि त्यसलाई सार्वजनिक गर्ने कि नगर्ने भनेर लामो समय उनी दुविधामा परिन्।

‘मलाई अपलोड गर्न धेरै डर लागेको थियो,’ उनी भन्छिन्, ‘मैले यो भिडियो अपलोड गर्नुभन्दा पहिला हाम्रो फोटोग्राफरलाई पठाएँ, उहाँ एकदमै बुझेको मान्छे हुनुहुन्छ। तपाईंलाई मन पर्दैन भने पोस्ट गर्दिनँ, सत्य कुरा भन्नुस् भनेँ।’

‘यो भिडियो हाल्दा हुन्छ। बुझ्ने मान्छेले बुझ्छन्। भिडियो नहेर्नेले गाली गर्लान्, त्यसले फरक पर्दैन,’ फोटोग्राफर ओमले मानसीलाई भने।

भिडियो अपलोड गरेको केही दिनमै भाइरल भयो। अनेक किसिमका प्रतिक्रिया आए। फोटोग्राफर ओमले भने जस्तै अधिकांश प्रतिक्रिया राम्रा थिए भने केहीले गाली पनि गरे।

मुख्यतः तीन किसिमका प्रतिक्रिया आएको मानुसीले बताइन्।

पहिलो, उनको भिडियो हेरेपछि नेपाल घुम्न नआएका विदेशका साथीहरुले धेरै सोधखोज गरे। नेपाल आउन प¥यो, कहाँ बस्ने, कहाँ घुम्ने, के के गर्ने उनीसँग सोधे।

दोस्रो, भिडियो हेरेपछि अधिकांशले उनीप्रति सद्भाव र माया देखाए। धेरै नेपालीले उनलाई चिन्ने मौका पाए। फेसबुकमा सयौंका सन्देश आए।

‘बुहारी भएर आएकी थिएँ, आम नेपालीले मलाई छोरी बनाउनु भयो,’ प्राप्त प्रेमप्रति उनी अनुगृहित भइन्।

केहीले भने भिडियो नहेरी उनलाई गाली पनि गरे।

उनलाई चिसो ठाउँ मन पर्छ। त्यसैले त उनले भिडियोमा नेपालको चिसो मौसमबारे बयान गरेकी छन्।

उनलाई नेपालको प्राकृतिक सुन्दरतासँग मोहनी लागेको छ। हिमाल पहाडको दृश्यले लोभ्याएको छ।

‘बिहान उठ्नेबित्तिकै हिमाल, पहाड एकै पटक देख्दा त म चकित परेकी थिएँ,’ उनले पहिलो पटक नेपाल आउँदाको अनुभव सुनाइन्।

उनी नेपालका प्रमुख सहरहरु पोखरा, चितवन, हेटौंडा, विराटनगर, भैरहवा, वीरगन्ज पुगेकी छन्। डोल्पा, मुस्ताङ, मनाङ, रारा, फोक्सुन्डो, मुक्तिनाथ जस्ता ठाउँ घुम्ने रहर छ उनलाई।

प्राकृतिक सुन्दरताभन्दा बढी उनलाई यहाँका मानिसको व्यवहार मन पर्छ।

‘यहाँका हरेक मान्छेले माया गर्नुहुन्छ। यो एकदमै मन पर्छ,’ उनी भन्छिन्, ‘आई जस्ट लभ इट।’

भिडियो :

विवाहपछि कलकत्ताबाट काठमाडौँ
मानसी २१ वर्षकी थिइन्, कलकत्तामा कलेज पढ्दै गरेकी।

त्यही बेलामा उनको विवाहको प्रस्ताव आयो। बाबुआमाले नाइँ भन्नु भएन।

सन् २००६ मा उनको विवाह भयो नेपाली नागरिक हरिश अग्रवालसँग। त्यसपछि उनको बसाइ काठमाडौँमा हुन थाल्यो।

नेपालमा सुरुसुरुका दिनहरु सजिलो भएन।

‘२१ वर्षको सानै उमेरमा विवाह भयो,’ उनी भन्छिन्, ‘पढाइ सक्छु भन्ने सोचिरहेकी थिएँ। त्यो हुन सकेको थिएन।’

उनलाई नेपालमा भिज्न केही समय लाग्यो। नेपाली बोल्न आउँदैनथ्यो। घरमा बोलिने मारवाडी भाषा उनी बुझ्थिन् तर बोल्न आउँदैनथ्यो।

विस्तारै नेपालको वातावरणसँग भिज्दै र परिचित हुँदै गइन्। अहिले उनलाई यहाँको बसाइ सबैभन्दा धेरै मन पर्छ।

गएको १४ वर्षमा उनले धेरै काम गरिसकेकी छन्। नेपालका कर्पोरेट क्षेत्रदेखि सामाजिक क्षेत्रमा उनको सहभागिता छ।

विभिन्न कर्पोरेट कम्पनीहरुमा उनी तालिम दिन्छिन्। बैंक, कलेजहरुमा बेला बेलामा गइरहन्छिन्। नेपालका गन्यमान्य कर्पोरेट कम्पनीहरु चौधरी ग्रुप, एनसेल, सिप्रदी, वर्ल्ड लिंकलगायत कम्पनीमा तालिम दिन्छिन्।

आफ्नो यही कलालाई मानसीले नेपालको पर्यटन क्षेत्रको प्रचारमा प्रयोग गरेकी छन्। जसका कारण देश विदेशमा रहेका लाखौं व्यक्तिले नेपालको बारेमा थप बुझ्ने अवसर पाएका छन्।

यो पनिः
सामाजिक सञ्जालमा भाइरल हुँदै भारतीय महिलाको यो भिडियो

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .