कारोबार


जरिवाना तिरेर निर्वाध चल्छन् ओभरलोडेड गाडी, ‘नमुना’ सडक धुजाधुजा

जरिवाना तिरेर निर्वाध चल्छन् ओभरलोडेड गाडी, ‘नमुना’ सडक धुजाधुजा

प्रकाश न्यौपाने
कात्तिक ७, २०७७ शुक्रबार १४:२४,

सडकको भार क्षमताभन्दा तेब्बरसम्म ओभरलोड बोकेर ढुवानीका गाडीहरु ओहोरदोहोर गर्दा बेलहिया–बुटवल व्यापारिक मार्गअन्तर्गतको सडक जोखिम परेको छ।

भारतबाट नेपाल भित्रिने मालबाहक सवारी र पाल्पालगायत विभिन्न जिल्लाबाट चुनढुंगा बोकेर आउने टिपरले क्षमताभन्दा कयौं गुण ओभरलोड बोक्ने गरेका छन्।

नियामक निकायले ओभरलोड बोक्ने गाडीलाई नियन्त्रण नगर्दा व्यापारिक मार्ग धुजाधुजा भएको छ। खासगरी बेलहियादेखि अञ्चलपुरसम्मको करिब ६ किलोमिटरको वायाँतर्फ र बुटवल क्षेत्रको ठाउँठाउँमा सटक धुजाधुजा भएको हो।

‘ओभरलोडकै कारण सडक दवेको छ। यसका अन्य कारण पनि हुनसक्छ। तर हामीले प्रारम्भमा अनुसन्धान गर्दा सडक विग्रिनुका कारण ओभरलोड नै हो’, डिभिजन सडक कार्यालय, रुपन्देहीका प्रमुख जयलाल मरासिनीले भने।

रुपन्देहीको बेलहिया नाका हुँदै दैनिक ४ सयको हाराहारीमा मालवाहक गाडी नेपालतर्फ भित्रिन्छन्। तीमध्ये ६० प्रतिशतभन्दा बढी मालबाहक गाडीले ओभरलोड बोक्ने गरेका छन्।

सडक क्षमताअनुसार ६ चक्के गाडीले ९.६ टन, १० चक्केले १६.५ टन, १२ चक्केले २१ टन र १६ चक्केलाई ३०.२ टन मात्र ढुवानी गर्न सक्ने प्रावधान छ। तर बेलहिया नाकाबाट भित्रिने मालबाहक गाडीले १२० टनसम्म ओभरलोड बोक्ने गरेको पाइएको व्यापारिक मार्ग आयोजनाको रेकर्डमा छ।

‘यो मार्गको क्षमता बढीमा ३०.२ टन मात्रै हो। तर मालबाहक गाडीले अत्यधिक ओभरलोड बोक्ने गरेका छन्। सडक जोगाउन कसैको ध्यान गएको पाइँदैन’, मरासिनीले भने।

ओभरलोड बोकेर आउने गाडीकै कारण नेपालकै नमूना भनिएको बेलहिया–बुटवल व्यापारिक मार्गको सडक धुजाधुजा भएको छ। सडकमा खाल्डाखुल्डी परेका छन्, कतै भत्किएको छ भने कतै सडक नै दवेको छ।

चुरे पहाडका खानीबाट कच्चा पदार्थ ढुवानी गर्ने टिपर, बेलहियाबाट आयात हुने औद्योगिक कच्चा पदार्थसहितका भारतीय मालवाहक गाडीले ओभरलोड बोक्ने गरेका छन्। ओभरलोडको अनुगमन र नियमन गर्नेतर्फ न प्रहरीको ध्यान गएको छ न त डिभिजन सडकको।

कम्तिमा एकदशक पुनःमर्मत गर्न नपर्ने गरी डिजाइन गरेर निर्माण भइरहेको भनिएको सडक नै निर्माण सम्पन्न नहुँदै पुनर्निर्माण गर्नु परेको छ।

छोटो समयमै ओभरलोडका कारण सडक भत्किएपछि लामो समय टिकाउन ओभरलोड नियन्त्रण वा यसको पुनः डिजाइन गरेर निर्माण गर्ने मात्रै विकल्प देखिएको व्यापारिक मार्ग विस्तार आयोजना इन्जिनियर शुभेच्छा सारु बताउँछिन्।

भन्छिन्, ‘डिजाइनमा पनि केही त्रुटी हुनसक्छ। भैरहवा क्षेत्रमा पानीको मात्रा पनि बढी छ, पानीको मात्रा बढी हुँदा पनि सडक भत्कने खतरा उत्तिकै हुन्छ। तर मुख्य कारण ओभरलोड नै हो। अब ओभरलोड रोक्ने वा रि–डिजाइन गरी सडक बनाउने विकल्प हामीमाझ छ।’

sadak_pic_2.jpg

ओभरलोड नियन्त्रण भन्दै ठाउँठाउँमा ट्राफिक प्रहरीको युनिट नै राखिएको छ। तर ट्राफिकले ओभरलोड नियन्त्रणमा ध्यान दिएको छैन। ओभरलोड बोक्ने मालबाहक गाडीबाट जरिवाना काट्दै निर्वाध चल्न दिइएको छ। जरिवाना काटेकै भरमा ओभरलोडेड गाडी छाडिँदा सडक जीर्ण बनेको हो।

‘नेपाल भित्रिने अधिकांश गाडीहरु पल्ट्री गर्न नमिल्ने भएकाले जरिवाना काटेर छाडिएको हो। यस विषयमा के गर्दा उचित हुन्छ भनेर हामी छलफल गरिरहेका छौं। एउटा निष्कर्षमा पुग्छौं’, रुपन्देही प्रहरी प्रमुख एसपी प्रवीण पोखरेलले भने।

भारतबाट आयात हुने फलाम, जिप्सम, फलामे एमएस ब्लेड, वायर, खरानी, उद्योगका चिम्नी बोकेका गाडी बढीमात्रामा ओभरलोड हुने गर्छन्। यस्तै, नेपालका विभिन्न ठाउँबाट यो सडक प्रयोग गरेर आउजाउ गर्ने दैनिक ५ सय बढी चुनढुंगा बोकेका टिपरले ओभरलोड बोक्ने गरेका छन्। यस्ता गाडीको ओभरलोड नियन्त्रणमा कसैको ध्यान गएको पाइँदैन।

अस्फाल्ट क्रंकिट प्रविधि प्रयोग गरी २०६९ सालबाट निर्माण सुरु भएको व्यापारिक मार्ग विस्तार अझै सम्पन्न भएको छैन। आयोजना नसकिँदै पुनर्निर्माणमा आयोजनाले १० करोड ३५ लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ।

ओभरलोड नियन्त्रण्मा ध्यान नदिने हो भने आयोजना नै नसकिँदै पुनिर्निर्माणमा राज्यकोषबाट अझै कति करोड रुपैयाँ खर्च गर्नु पर्ने हो भन्न सक्ने अवस्था छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .