ad ad

म्यागेजिन


हलफलियाको हलो

हलफलियाको हलो

प्रथा
बैशाख २०, २०७७ शनिबार ६:३६,

आफ्नै जीर्ण हत्केलामा
पीडाका अमिला सुस्केराहरू मुछेर
भोकका टुक्राहरू
सदियौंदेखि एउटै लयमा बेलिरहेको
थकित बगरलाई छोडेर
कुन बिरानो देशतर्फ बगिरहेछ
रूँदै झरेको विरिङखोलाको यो पानी?
र निमगाछीको डालीमा बसेर
किन यसरी गाइरहेछन्
वनचरीका बथानहरू–विरह फुटाउने उदास गीत?

मनमा डढेलो सल्किएर
रहरहरूको अग्लो कुन्यूँ जलेपछि
ऊ बूढीकरमको रुखझैँ भित्रैबाट पोचिएको छ
समयको भीरबाट लडेर
ऊ आज फेरि
आफ्नै विश्वासका भित्ताहरूमा ठोकिएको छ!
कहाँ पुगेर रोकिन्छ होला
आफू चड्दै गरेको बयलगाडाको अधुरो गति
र कसरी अस्ताउँछ होला
यो आकाशबाट जिन्दगीको अन्तिम घाम?
उसलाई त थाहा पनि छैन
कति लामो छ होला–नदीमाथिको साघुँ पनि?

पिरतीका भाकाहरू गलाएर
कयौँचोटि ऊ,
आफ्नै आँसुको दधिकादोमा पुरियो !
प्रेमिकाले धोका दिएपछि
दोमुखाका निस्पृह छालहरूमाथि
हामफाल्ने तन्नेरी देखेर
ऊ आफ्नै जवानीको फ्रिजभित्र
धेरैचोटि बरफको ढिक्का बनेर जमिरह्यो
हलफलियाले त थाहै पाएन
ऊ कतिखेर
एक्लो बाघझैँ थुनियो – जिन्दगीको बाघचालमा?

सपनाको भंगालो फाटेपछि
बैँसका जूनताराहरू
घुँडा फाटेको सुरुवालमा सिउरिएर
यतिखेर ऊ,
दुःखको तुवाँलो पन्छाउँदै हिँडिरहेको छ !
खडेरीले सर्लक्कै निलेर
पेटमा करौंती रेटिन थालेपछि
नुुहेको उमेर डोर्याउँदै
आज ऊ अनकण्टार खाडीतर्फ धाउँदैछ !
र डिग्लिहाटको फलैँचामाथि
लमतन्न पल्टिएर
एउटा नीरिह देश उडाइरहेछ – चुरको धुवाँ !

यतिखेर
तातो बालुवा टेकेर
ऊ नापिरहेछ – आफ्नै जीवनको आयतन !
हलफलियाले बुझ्नै सकेको छैन
उसले डोर्याइरहेछ कि
उसैलाई डोर्याइरहेछन् – ऊँटका हञ्जाहरूले?
ऊ सम्झन्छ
गिरानचौरमा कुडाली भाँचिएर
रित्तो भार घर फर्किंदा
टुल्कीले गाजिमुरी नदिएको त्यो दिन
जति बिर्सन खोजे पनि
उसले त बिर्सनै सकेको छैन
जिब्रामा गाडिएको पन्थाभातको स्वाद पनि !

तुम्लेटमा पानी रित्तिएपछि
सम्झना सिरानी हालेर
ऊ फुस्स निदाएको छ – मरुभूमिको ओछ्यानमाथि!
बाकसभित्रै मस्त निदाएर
जब फर्किने छ
हलफलिया आफूले छोडेको घर
सायद,
त्यो बेलासम्म त
धमिराले खाइसकेको हुनेछ
हाग्रुभिट्टामा उसले लुकाएको हलो पनि !

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .