डम्म पेट, पुड्को मान्छे, सुसुपाल खुट्टा
त्यो भन्दा नि ठूलो कुरा बोल्छ सधैँ झुट्टा
हेर हेर क्या अचम्म कुर्सीमाथि फर्सी!
२०५५ सालमा हास्यव्यङ्ग्य साहित्यकार नरनाथ लुइँटेलले लेखेको गीत थियो यो। उनले त्यो वर्षको साउनमा सिस्नुपानी नेपालले निकालेको एल्बम ‘सिस्नुपानीले’ का लागि लेखेका थिए। धीरेन्द्र प्रेमर्षिको संगीत रहेको गीतमा प्रेमर्षि, रूपा झा र प्रमिला उप्रेतीको स्वर छ।
‘त्यसबेलाको सन्दर्भमा कुर्सीमा बसेर अनाचार गर्ने, दूराचार गर्ने, राष्ट्रको एउटा जिम्मेवारी निर्वाह गर्नुपर्ने ठाउँमा पुगेका मानिसहरूले त्यो जिम्मेवारी पूरा नगरेर उनीहरूले अन्य गैरजिम्मेवार काम गरिरहेको कुरालाई इंगितत गरेर यो कुर्सीमाथि फर्सीमात्रै बसेको छ, त्यो पनि कुहिसकेको फर्सी भन्ने सन्देश छ गीतको अन्तिम हरफहरूमा,’ लुइँटेलले गीत लेखनको सन्दर्भ कोट्याए।
त्यसबेलाको अवस्थालाई व्यङ्ग्य गर्दै लुइँटेलले यो गीत लेखेको झन्डै तीन दशक हुन लाग्यो। यो अवधिमा नेपालमा व्यवस्था परिवर्तन भयो। तर, तर कुशासन, भ्रष्टाचार, घुसखोरी, ढिलासुस्ती उस्तै छ। त्यसैले त सिस्नुपानीले आज पनि उसैगरी व्यङ्ग्य गरिरहनु परेको छ। विकृति विरुद्ध उसैगरी कथा, गीत, र कविता लेखिरहनु परेको छ, देउसी भट्याउनु परिरहेको छ।
सोमबार साँझ बानेश्वरस्थित पाठशाला पुग्दा चौथो तलामा रहेको मदनकृष्ण नाट्यशालामा सिस्नुपानी नेपालका कलाकारहरू रिहर्सलमा व्यस्त थिए।
‘अरूको दसैँ सकियो, हाम्रोचाहिँ दसैँ सुरु भएको छ,’ उपाध्यक्ष धीरेन्द्र प्रेमर्षिले ठट्टा गरे।
अर्थात् सिस्नुपानी टिमलाई यतिबेला भ्याइनभ्याइ छ। यस वर्षको देउसीको तयारी अन्तिम चरणमा पुगेको छ। देउसीमा हुने प्रस्तुतिको तयारीसँगै निम्ता बाँड्ने काम पनि धमाधम भइरहेको छ। अन्य व्यवस्थापनका काम पनि अन्तिम चरणमा पुगेको छ। बिहीबार दिउँसो १ बजेदेखि ३ बजेसम्म कमलादीमा प्रज्ञा–सिस्नुपानी देउसी २०८१ हुँदैछ।

सिस्नुपानीले हरेक वर्ष देउसी खेलेर राज्य सञ्चालकहरूलाई खबरदारी गर्छ। राजनीतिलाई मुख्य केन्द्रमा राखेर वर्षभरि भएका गलत काममा प्रश्न र राम्रा कामको प्रशंसा गर्छ। कर्मचारी, दलका नेता, सांसद, मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई अगाडि राखेर कलाकारहरूले व्यंग्य कस्छन्। नागरिकको हितको लागि हुनुपर्ने काम हुन सकोस् भनेर आसिक दिन्छन्।
हुन त सिस्नुपानी देउसीको तयारी वर्षदिन अघिदेखि नै सुरु हुन्छ। अर्थात् तिहार सकिने बित्तिकैदेखिका घटनाहरू डायरीमा नोट गर्न थालिन्छ। ताकि वर्षभरि भएका कुनै पनि घटना नछुटून्। यसरी डायरीमा टिपेका घटना कलाकारहरू बसेर सम्पादनको काम गर्छन् र करिब डेढ महिना अघिबाट स्क्रिप्ट लेखनको काम सुरु हुन्छ। हप्तादिन बाँकी हुँदा जोडतोडले अभ्यासको काम हुन्छ र तिहारमा कार्यक्रम हुन्छ।
कसरी लेखिन्छ स्क्रिप्ट?
‘सिस्नुपानीमा व्यक्ति हुँदैन, त्यो सिस्नुपानी समूहले लेख्ने हो। त्यसमध्ये कसैको कलम अलि बढी प्रखर हुन्छ। तर, जसको जतिसुकै प्रखर भए पनि त्यसमा हरेकको कुनै न कुनै शब्द, कुनै न कुनै विचार सम्पादनको क्रममा गइरहेको हुन्छ, त्यसैले यो सिस्नुपानी फलानोले लेखेको हो भनिहाल्ने अवस्था हुँदैन,’ प्रेमर्षिले दिएको जवाफमा अध्यक्ष लक्ष्मण गाम्नागेले थपे, ‘आजसम्म हामीले लेखक यो भनेका पनि छैनौँ। संयुक्त हुन्छ, सिस्नुपानीको सिर्जना।’
अन्य वर्ष लक्ष्मीपूजाको अघिल्लो दिन साँझमा कार्यक्रम हुन्थ्यो तर यसपालि लक्ष्मीपूजाको दिन दिउँसो कार्यक्रम राखिएको छ। आयोजकका अनुसार कार्यक्रममा विशिष्ट व्यक्तिहरूको आगमन हुने भएकाले सर्वसाधरणलाई सास्ती नहोस् भनेर यसपटक कार्यक्रम बिदाको दिन पारिएको हो।
‘अन्य वर्षजस्तै यस वर्ष पनि हामीले लेखनमा निकै समय दियौँ। विषयवस्तु संकलन त तिहार बित्नासाथ सुरु भइहाल्छ। टिपेका कुरालाई अझै राम्रो बनाउने कामचाहिँ एक/डेढ महिना अघिदेखि सुरु हुन्छ। त्यो सारालाई विधिवत लिपिबद्ध गरेर, त्यसलाई एउटा ढाँचामा ल्याएर अभ्यासको काम अहिले भइरहेको छ,’ प्रेमर्षिले भने, ‘पछिल्लो समयमा सिस्नुपानीको कार्यक्रम भनेपछि त्यसको व्यवस्थापन पनि एउटा उल्लेख्य पाटो हुने गर्छ, र त्यो उल्लेख्य बनाउनका लागि सबैले त्यत्तिकै खटेको हुनुपर्छ।’

यसपटक पनि पहिलेजस्तै विकृति र विसङ्गतिमाथि चोटिलो प्रहार गर्ने कोसिस गरिएको अध्यक्ष गाम्नागे बताउँछन्।
‘सधैँजस्तो नै हो। सकेसम्म हरेकपटक सिस्नुपानीको देउसी प्रस्तुत गर्दा केही न केही नयाँपन होस् भनेर हामीहरू गीतहरू, प्यारोडीहरू थप्दै पनि जान्छौँ,’ उनी भन्छन्, ‘वर्षभरिका विकृति विसङ्गतिलाई भेला गरेर कुनैलाई देउसीको रूपमा, कुनैलाई भैलीको रूपमा, कुनै प्यारोडीको रूपमा, कुनै कविताको रूपमा, यसरी विभिन्न विधा राखेर हामी प्रस्तुत गर्ने गर्छौं।’
राष्ट्रपतिलाई हुँदैन निम्तो
सिस्नुपानी टिमले देउसी कार्यक्रमका लागि टिकट बिक्री गर्दैन। प्रज्ञा भवनको हलमा अट्नेजति मान्छेले पास पाउँछन्। सरकारका प्रमुखदेखि सर्वसाधारणसम्मले एउटै हलमा बसेर कार्यक्रम हेर्छन्। पास निःशुल्क वितरण हुन्छ। कतिपय दर्शकले पासका लागि दुईतीन महिना अघिदेखि नै फोन गर्ने गर्छन्।
विभिन्न जिल्लाबाट गाडी नै रिजर्भ गरेर दर्शकहरू सिस्नुपानीको देउसी हेर्नका लागि काठमाडौं आउने गर्छन्। करिब १३ सय क्षमताको हलमा टनाटन दर्शक हुन्छन्, कोही बाहिर डबलीमा बसेर पनि हेर्छन्। कार्यक्रममा जान नपाएकाहरूले घरमै बसेर टेलिभिजन र युट्युबबाट कार्यक्रम हेर्ने गर्छन्।
देउसी कार्यक्रमका लागि कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका सबैतिरका विशिष्ट र अति विशिष्ट व्यक्तिहरूलाई निम्ता हुन्छ। पूर्वविशिष्टहरूलाई पनि कार्यक्रममा बोलाइएको हुन्छ। कार्यक्रममा राष्ट्रपतिलाई भने निम्ता गरिएको हुँदैन।
‘यो हाम्रो कार्यक्रम व्यङ्ग्यात्मक हो। राष्ट्रपति संस्थाको गरिमालाई ख्याल गर्दै हास्यव्यङ्ग्यमा हामीले निम्ता गर्दैनौँ। सिस्नुपानीले गर्ने अन्य गम्भीर खालका कार्यक्रममा भने हामीले राष्ट्रपतिलाई बोलाएका हुन्छौँ,’ उपाध्यक्ष प्रेमर्षिले कारण खुलाए, ‘सिस्नुपानीले अलि पहिला गरेको छोरी शीर्षकको कार्यक्रममा पूर्वराष्ट्रपति विद्या भण्डारी आउनुभएको थियो, बा शीर्षकमा भएको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल आउनुभएको थियो।’

व्यङ्ग्य सुनेर एकअर्कोलाई हेर्दै खित्का छाड्ने नेता
न्यायाधीश, प्रधानन्यायाधीश, राजनीतिक दलका नेता, सांसद, मन्त्री, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरू सिस्नुपानीको देउसी हेर्न आएका हुन्छन्। सिस्नुपानीले अधिकांश विषयमा व्यक्ति नै तोेकेर, नाम नै लिएर व्यङ्ग्य गर्ने गर्छ। नेताहरू सुनेर मुसुमुसु हाँस्छन्।
कहिलेकाही हाँस्दाहाँस्दै रुनेखालको व्यङ्ग्य हुन्छ। आफूलाई गरेको व्यङ्ग्यमा रातोपिरो हुन्छन्। फेरि अर्कोको नाम आउनेबित्तिकै ठिक्क पर्योको भावमा खित्का छोडेर हाँस्छन्।
कार्यक्रम सकिएपछि अधिकांश नेताले ‘गज्जब राम्रो गर्नुभयो’ भनेर प्रशंसा नै गर्छन्।
‘बाहिरी मुखले र तत्काल भेटघाट हुँदा चाहिँ ओहो कस्तो राम्रो, गज्जब गर्नुभयो नै भन्नुहुन्छ धेरैजसो। कहिलेकाँही चाहिँ कसै कसैले यति धेरै त हामीले गरेको थिएन भनेर अलिअलि सफाइ दिन खोज्नुहुन्छ। भन्न त भन्नुभयो, कुरा त ठीकै हो तर यस्तो हो नि भन्नेखालको कुरा पनि गर्नुहुन्छ,’ नेताहरूका प्रतिक्रियाबारे गाम्नागेले भने, ‘अनि कहिलेकाँही चाहिँ त्यो त मलाई होइन नि, उहाँलाई भनेको होइन त पनि भन्नुहुन्छ।’
कार्यक्रम हेर्न आएका नेताका भावभंगीबारे धीरेन्द्र भन्छन्, ‘सबभन्दा गजब चाहिँ के लाग्दो रहेछ भने यिनीहरूले मलाई हाने ठिकै छ भन्ने हुनेरहेछ। तर आफूलाई लागेको चोट त्यतिखेर बिर्संदा रहेछन्, जतिखेर प्रतिस्पर्धीलाई फेरि लाग्दोरहेछ। त्यसबेलामा खित्खित हाँस्ने हुँदोरहेछ। त्यसकारण सबैजना नै रमाइरहेका हुन्छन् त्यहाँ।’
कोही कोही नेता भने घुर्की लगाउँछन्। कुनै वर्ष आफूमाथि बेस्सरी व्यङ्ग्य भएको छ भने अर्को वर्ष कार्यक्रम हेर्नै आउँदैनन्। सिस्नुपानीले यसलाई घुर्कीको रूपमा बुझ्ने गर्छ। तर, त्यो घुर्की सधैँ रहँदैन। पछिल्ला वर्षहरूमा त्यस्ता नेता फेरि आइरहेका हुन्छन्।

‘दर्शकको प्रतिक्रियाले दिन्छ उत्साह’
सिस्नुपानीले देशको विकृति विसङ्गतिमाथि यसरी प्रहार गर्न थालेको तीन दशक पुग्न लाग्यो। कोरोनाको दुई वर्ष र भूकम्पको एक वर्ष कार्यक्रम हुन पाएन। त्यसलाई छाड्दा पनि २४ वर्ष उनीहरूले राज्य सञ्चालकहरूलाई खबरदारी गरिसके।
तर, व्यङ्ग्यका माध्यमबाट गरिएको यो खबरदारीले ठूलो असर नपारेको उनीहरूको अनुभूति छ।
तर फेरि यो टिमलाई लाग्छ, खबरदारी गर्ने काम छोड्न हुँदैन। नागरिकका प्रतिक्रिया उर्जा बनेर आउँछ। दर्शकका हुटिङले आफ्नो जिम्मेवारी सम्झाउँछ। नागरिकका आवाज सशक्त रूपमा बोल्नुपर्छ भन्ने भावनाले फेरि अर्को वर्षको कार्यक्रम गर्न प्रोत्साहन थप्छ।
कलाकार रूपा झा नागरिकले दिने प्रतिक्रिया नै सिस्नुपानी टिमको उत्साह भएको बताउँछिन्। उनी सुरुदेखि नै टिममा रहेर निरन्तर रूपमा काम गरिरहेकी छिन्।
झाले भनिन्, ‘दुईतीन महिना अघिदेखि नै यसपालिको कार्यक्रम कहिले हुन्छ, कस्तो हुन्छ भनेर फोनहरू आउन थाल्छ, मेसेज आउँछ। उहाँहरूको फोन–मेसेजले यो वर्ष झन् राम्रो कार्यक्रम गर्नुपर्छ भन्ने लाग्छ अनि हामी झन् धेरै खट्न थाल्छौँ।’
यसरी सुरु भएको थियो सिस्नुपानी
हास्यव्यङ्ग्य लेखिरहेका र यसमा काम गरिरहेका साथीहरूबीच गफगाफ हुँदैजाँदा अलिकति नयाँ काम गरौँ, हास्यव्यङ्ग्यलाई स्तर प्रदान गरौँ, अझै सशक्त र प्रभावकारी रूपमा अघि बढाऔँ भन्ने सल्लाह भयो। र यस क्षेत्रमा काम गर्ने ९ जना युवा मिलेर सिस्नुपानी नेपाल स्थापना गरे। यो २०५५ वैशाखको कुरा हो। वैशाख १९ मा संस्था स्थापना भयो।
कृष्णमुरारी गौतम (चट्याङ मास्टर), नरनाथ लुइँटेल, अर्जुन पराजुली, देवी घिमिरे, माणिकरत्न शाक्य, थरेन्द्र बराल, धीरेन्द्र प्रेमर्षि, लक्ष्मण गाम्नागे, टंक आचार्य र मनोज गजुरेल। यी ९ कवि/कलाकारले सुरु गरेका थिए, सिस्नुपानी। यीमध्ये कतिपय एक अर्कासँग पूर्वपरिचित थिएनन्। संस्था बनाउने क्रममा नजिकिँदै गए, परिचित हुँदै गए।
संस्था स्थापना भएपछि सबैभन्दा सुरुमा सिस्नुपानीले २०५५ साउनमा एउटा कार्यक्रमको आयोजना गरेर एल्बम निकाल्यो। जसको नाम थियो, सिस्नुपानीले।
एल्बम लोकार्पणसँगै संस्था पनि सार्वजनिकीकरण गरिएको थियो। रसियन कल्चरल सेन्टरमा भएको उक्त कार्यक्रममा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले एल्बमको लोकार्पण गरेका थिए। त्यो पहिलो कार्यक्रमको भने टिकट बिक्री गरिएको थियो।
हलभरि खचाखच मान्छे। साढे दुई सय क्षमताको हलमा भएको कार्यक्रममा साढे तीनसय/चारसय मान्छे आएका थिए। कार्यक्रम सुरु भएपछि हलको ढोका लाग्यो। ढिला आएका मान्छेहरू फर्किन पर्यो। सिस्नुपानी टिमले पछि जानकारी पायो, विनोद चौधरी लगायतका व्यक्तिहरू पनि फर्किएर गए। किनकि तोकिएकै समयमा कार्यक्रम सुरु भएको थियो।
सिस्नुपानीमा लामो समय चट्याङ मास्टर अध्यक्ष रहे भने नरनाथ लुइँटेल उपाध्यक्ष थिए। हाल गाम्नागेले अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका छन्, पराजुली, प्रेमर्षि र गजुरेल उपाध्यक्ष छन् भने आचार्य महासचिव। गाम्नागेले भने, ‘अन्य ठाउँमा कुर्सीको लागि लडाइँ हुन्छ, हाम्रोमा छोड्छु भन्दा पनि पाइएको छैन।’
सुरु सुरुमा सिस्नुपानीले घर घरमा गएर देउसी खेल्थ्यो। त्यसरी देउसी खेल्न जाँदा सीमित व्यक्तिहरूको घर छनौट गरी कार्यक्रम गरिन्थ्यो। ठाउँठाउँमा गएर कार्यक्रम हुन्थ्यो। सिस्नुपानीले समय र परिस्थिति अनुसार कार्यक्रम गर्दै गएको धीरेन्द्रले सुनाए। राजा ज्ञानेन्द्रले शासन हातमा लिएपछि त्यो वर्ष सिस्नुपानीले नेपाल बारमा कार्यक्रम गरेको थियो। विस्तारै कार्यक्रम अझै व्यवस्थित बनाउँदै प्रज्ञा भवनमा गर्न थालियो।
सुरुका केही कार्यक्रममा टिकट बिक्री गरे पनि त्यसपछि सिस्नुपानीले टिकट बेच्न छोड्यो। अनि कसरी धानिन्छ त खर्च।
विज्ञापनबाट कार्यक्रम व्यस्थापनका लागि आवश्यक खर्च जुटिरहेको संस्थाको भनाइ छ।
‘प्रायोजकहरू आउनुहुन्छ, हाम्रो पनि विज्ञापन गरिदिनुपर्यो भन्नुहुन्छ। कहिलेकाँही त भयो, पुग्यो भन्नुपर्ने अवस्था हुन्छ,’ गाम्नागेले भने।
भिडिओ-
तस्बिर/भिडिओ : सरोज बैँजु/नेपालखबर
Shares

प्रतिक्रिया