ठिक ५० वर्षअघि, २०३१ भदौताका राजनीतिबारे जानकारी राख्ने अधिकांश नेपालीहरुको चासोको विषय मुस्ताङमा क्याम्प बनाएर बसेका खम्पा कमाण्डर गेँ वाङ्दी कहाँ होलान्, के गर्दै होलान् भन्ने थियो। किनकि, नेपाल सरकारले त्यसैसाल असारमा खम्पा निशस्त्रीकरण अभियान (खम्पा अप्रेसन) सुरु गरेपछि उनी साथमा रहेका केही हातहतियार र लडाकूसहित मुस्ताङबाट बेपत्ता भए।
उनी जान सक्ने सम्भावित स्थानहरुमा नेपाली सेना, नेपाल प्रहरीसहितको सुरक्षा निकाय परिचालन गरिएको थियो। वाङ्दीलाई नेपाल सरकारले नियन्त्रणमा लिन सक्छ सक्दैन, ‘खम्पा अपरेसन’ को सफलता–असफलता यसैमा निर्भर थियो।
त्यो बेला म गृह मन्त्रालय अन्तर्गतको अधिकृत थिएँ। तर, मेरो पोस्टिङ नारायणहिटी राजदरबारभित्र राजा वीरेन्द्रले भर्खर स्थापना गरेको ‘जाँचबुझ केन्द्र’ मा विशेष अधिकृतका रुपमा थियो। आफ्नो राज्याभिषेक (१२ फागुन २०३१) अगाडि नै खम्पाहरुलाई निशस्त्रीकरण गर्ने राजा वीरेन्द्रको योजना थियो। र, जाँचबुझ केन्द्रभित्र मलाई खम्पा सम्बन्धी मामिलाको जिम्मेवारी दिइएको थियो।
त्यसैले, अप्रेसनअगाडि खम्पाहरुको शक्ति, उनीहरु रहेको स्थान आदिसहितको बेस रिपोर्ट (आधार प्रतिवेदन) तयार पार्ने सिलसिलामा म मुस्ताङ लगायत उत्तरी क्षेत्र पुगेँ। सरकारी कारबाही सुरु भएपछि पक्राउ परेका उच्चस्तरका थुप्रै खम्पा कमान्डर र लडाकुहरुसँग बयान लिएँ। बयानका क्रममा उनीहरुबाट थुप्रै रोचक र महत्वपूर्ण जानकारी प्राप्त भयो।
५० वर्षअघिको त्यो ‘खम्पा अप्रेसन’ को कथा सन् १९५९ को जनगणतन्त्र चीनको विरोधमा तिब्बतीहरुबाट भएको असफल सशस्त्र विद्रोहबाट सुरु हुन्छ।
असफलतापछि दलाई लामा भागेर भारततर्फ लागे। दलाई लामाकै पछि लागेर तिब्बतबाट भारत पुगेका सशस्त्र खम्पाहरुलाई राख्न भारत सरकारले आसाम प्रदेशको मिस्सामारी भन्ने स्थानमा क्याम्प स्थापना गर्यो।
मिस्साबारी क्याम्पमा जम्मा भएका खम्पाहरुको संख्या ठूलो हुँदै गयो। तिनीहरुलाई त्यहाँ त्यसै पालेर राख्न आर्थिक दायित्व हुने भारतले ठान्यो। त्यसैले, सन् १९५९ को अन्त्यतिर खम्पाहरुलाई दुई समूहमा बाँडियो। एक समूहलाई सिक्किम अधिराज्यको राजधानी गान्तोकदेखि तिब्बतसँगको सिमाना नाथुला र लाचेनलचुङ जाने मोटरबाटो निर्माण गर्ने काममा लगाइयो भने अर्को समूहलाई उत्तर–पश्चिम भारतको चम्बल घाटी हुँदै लद्दाख जाने मोटरबाटो बनाउने काममा खटाइयो।
विद्रोहको असफलतापछि सशस्त्र खम्पाहरुको दलाई लामासँगै भएको बहिर्गमनले ती राष्ट्रहरुलाई धक्का लाग्यो, जसले सशस्त्र खम्पाहरुलाई विभिन्न प्रकारको सहयोग गरिरहेका थिए।
साम्यवाद र खासगरी चीनविरुद्ध अमेरिकाले एसियामा मोर्चा खडा गरेको थियो। चीनविरुद्ध घेरा हाल्न एकातिर जापान र दक्षिण कोरियालाई उक्साइएको थियो। अर्कोतिर दक्षिण र दक्षिणपूर्वी एसियाका केही देशहरु र अस्ट्रेलियासहितको दक्षिण–पूर्वी एसियाली संगठन (सिटो) नामक मजबुत संगठन निर्माण गरिएको थियो। त्यो बेला चर्चामा रहेको ‘डोमिनो’ सिद्धान्त यही लक्ष्यको लागि प्रतिपादन गरिएको हो।
जनवादी गणतन्त्र चीनले आफ्नो अभिन्न अंग मानेको फर्मोसा (ताइवान) मा अमेरिकी नौसेनाको सातौँ बेडा तैनाथ थियो। त्यसका अतिरिक्त फर्मोसामा लडाकु बमवर्षक विमानहरुसहितको अखडा समेत अमेरिकाले राखेको थियो। दक्षिण भियतनाम, दक्षिण कोरिया, फिलिपिन्स र थाइल्यान्डमा पनि अमेरिकी सैनिक शिविरहरु राखिएका थिए।
यस्तो स्थितिमा निर्वासित तिब्बतीहरुलाई समेत संगठित गरेर चीनविरोधी एक अर्को जमात खडा गर्न सकिने सम्भावना अमेरिकाले देख्यो। यस काममा भारतीय भूमिको उपयोग गर्नुपर्ने हुँदा भारतको सहयोग अनिवार्य ठानियो।
आफ्नो सीमानजिक बढ्दो चिनियाँ शक्तिको उपस्थितिले भारत पनि त्रसित थियो। त्यसैले, असंलग्नता र पञ्चशील सिद्धान्तको बाबजुद नयाँदिल्लीले भित्रीरुपमा अमेरिकीहरुसँग साँठगाँठ सुरु गर्यो। तर, भारत–अमेरिका साँठगाँठका लागि फर्मोसा (ताइवान) तगारोको रुपमा उपस्थित भयो।
अमेरिकाले पहिले तिब्बती गुरिल्लाहरुलाई दिइने सहयोग फर्मोसामार्फत् दिने गरेको थियो। तर भारत र फर्मोसाबीच तिब्बतका विषयमा धेरै मतान्तर थिए। जो निम्न बमोजिम थिए :
एक, फर्मोसालाई भारतले जनवादी गणतन्त्र चीनको अभिन्न भाग मान्दै आएको थियो र संयुक्त राष्ट्रसंघमा समेत यही अडान प्रस्तुत गरेको थियो।
दुई, ब्रिटिसले कोरिदिएको ‘म्याकमोहन लाइन’ लाई नै चीन (तिब्बत) सँगको सीमारेखाको रुपमा स्वीकार गरिनुपर्छ भन्ने मान्यता भारतले राख्दै आएको छ। तर, जनवादी गणतन्त्र चीनले झैँ फर्मोसाले पनि भारत–तिब्बतको ‘म्याकमोहन लाइन’ लाई अस्वीकार गरेको थियो।
तीन, तिब्बतमा साम्यवादी शासन व्यवस्थाविरोधी संघर्षलाई सहयोग गरे पनि फर्मोसाले तिब्बतलाई चीनकै अभिन्न अंग मानेको थियो।
चार, कदाचित् तिब्बतले साम्यवादी व्यवस्थाबाट स्वतन्त्रता हासिल गरे तिब्बतमा फेरि फर्मोसाको बोलवाला सुरु हुने भारतले देख्यो।
खासमा तिब्बतको स्वाधीनतालाई आफ्नो प्रतिरक्षाको दृष्टिकोणबाट हेर्न चाहन्थ्यो भारत। फर्मोसा भने तिब्बतलाई आफ्नो पञ्जामा पार्न चाहन्थ्यो।
त्यसैले, तिब्बत मामिलामा भारत र फर्मोसाको समान धारणा निर्माण गर्न कठिन थियो।
तिब्बतमा अस्थिरता सिर्जना गर्न भारतीय भूमिको उपयोग गर्नैपर्ने थियो। त्यसबाहेक भारतलाई आफ्नो पक्षमा ल्याउँदा आफू विश्व रंगमञ्चमा अझ बढी प्रभावशाली हुने अमेरिकाले देख्यो। र, तिब्बत सम्बन्धमा फर्मोसालाई अलग्गै राखेर अमेरिकाले भारतीय कार्यक्रममा सहभागी हुने निर्णय गर्यो। फलस्वरुप भारतमा दलाई लामाको निर्वासित सरकार गठन भयो।
दलाई लामा तिब्बत छँदाको कस्याग (मन्त्रिमण्डल) का ६ सदस्यमध्ये ४ सदस्य दलाई लामासँगै भारत गएका थिए। बाँकी दुई जना सदस्यहरु ङापो ङवाङ जिग्मे र कलुन छेवाङ रिन्जिन चीन समर्थक भई तिब्बतमा नै बसे। यसमध्ये ङापो ङवाङ जिग्मे जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिको उपाध्यक्ष पनि भए।
भारतमा गठन गरिएको निर्वासित सरकारमा दलाई लामाले आफ्ना पुराना ४ मन्त्रीका अलावा केही नयाँ सदस्यहरु पनि थपेका थिए। निर्वासित सरकार निर्माणमा अमेरिकी गुप्तचर संस्था सेन्ट्रल इन्टिलिजेन्स एजेन्सी (सीआईए) ले महत्वपूर्ण भूमिका खेलेको थियो।
सीआईए र दलाई लामाको निर्वासित सरकारबीच सम्पर्ककर्ता र समन्वयकर्ताको रुपमा दलाई लामाको ग्यालो धोण्डुप (यप्सी) रहे, जो दलाई लामाका आफ्नै दाजु हुन्। ग्यालो धोण्डुपले आफ्नी चिनियाँ श्रीमती ल्हाजम कुस्यो र नानकिन विश्वविद्यालयमा आफूसँगै चिनियाँ भाषा अध्ययन गर्ने सहपाठी आम्दो कुमबुम निवासी ल्हामो छिरिङ (चिनियाँ नाम वे–स्याङ–छिङ) को सल्लाहबाट खम्पाहरुको संगठन छुसी घाङ्डुकलाई मजबुत पार्ने योजना बनाउन थाले।
यसैक्रममा सन् १९६० को पूर्वाद्र्धमा गोन्पो टासीअण्डुछाङबाट छनोट गरिएको खम्पाहरुको एक समूहलाई गुरिल्ला युद्ध र जासुसी तालिमका लागि विदेश पठाउने योजनास्वरुप पश्चिम बंगालको दार्जिलिङ र कालिङपोङमा जम्मा गरियो। छानिएका ती खम्पाहरुलाई समूह–समूहमा विभाजित गरेर सिलगुढीबाट पैदलै हिँडाएर पूर्वी पाकिस्तान (हाल बंगलादेश) को सिमानामा पुर्याइयो।
त्यसबेला पाकिस्तान पनि ‘सिटो’ सदस्यको हैसियतले अमेरिकी प्रभाव क्षेत्रभित्र नै पर्दथ्यो। त्यो बेलाको एउटा बहुचर्चित घटना अमेरिकी गुप्तचर विमान यू–२ को दुर्घटना पनि थियो। रुसले खसालेको यो विमानले दुर्घटनाअघि पाकिस्तानबाटै उडान भरेको थियो।
विभिन्न समूहमा रहेका खम्पाहरुलाई सिमानाबाट बेग्लाबेग्लै गाडीमा राखेर एउटा विमानको ढोकासम्म पुर्याइएको थियो। ती खम्पाहरुलाई कुन देशमा आइपुगियो र तालिमका लागि कहाँ लगिँदैछ भन्ने कुराको जानकारी थिएन। जानकारी दिइएकै थिएन। उनीहरुलाई राखिएको विमानले निकै लामो उडान गर्यो। विमान पेट्रोल भर्न विभिन्न मुलुकका विमानस्थलमा रोकिन्थ्यो। आफू सवार विमान कुन देशको विमानघाटमा ओरालिएको हो, त्यसबारे पनि खम्पाहरुलाई कुनै जानकारी दिइएन।
खासमा उनीहरुलाई यसबारेमा सोधीखोजी नगर्न निर्देशन नै दिइएको थियो।
अन्तमा उनीहरु तालिमस्थल पुगे। तालिम दिइने ठाउँ निर्जन स्थानमा थियो। नजिक गाउँघर थिएनन्। वरिपरि ठूला–ठूला चट्टाने भीर थिए। त्यो ठाउँलाई जंगलै–जंगलले ढाकेको थियो।
आफूहरुलाई तालिम दिइएको इलाका अमेरिकाको कोलोराडो राज्य अन्तर्गतको ‘क्याम्प हले’ रहेछ भन्ने कुरा उनीहरुले निकै पछि मात्र जानकारी पाए।
यसरी ‘सीआईए’ ले गुप्तरुपमा सञ्चालन गरेका अप्रेसन सम्बन्धमा थुप्रै लेख र पुस्तकहरु प्रकाशित भइसकेका छन्। त्यो बेला खम्पाहरुलाई ओकिनावा, ताइवान र थाइल्यान्डमा तालिम दिइएको थियो भन्ने अनुमानसहितका कतिपय लेखहरु प्रकाशित भएका थिए।
तर, मैले सम्पर्क गरेका खम्पाहरुको भनाइ अनुसार कोलोराडो बाहेकका अन्य अमेरिकी सैनिक अड्डाहरुमा तिनले तालिम लिएका थिएनन्। बरु देहरादुन (भारत) को चक्रतास्थित सैनिक क्याम्पमा भने उनीहरुले पर्वतीय युद्ध (माउन्टेन वारफेयर) सम्बन्धी केही तालिम हासिल गरेका थिए।
अमेरिकामा खम्पाहरुलाई दिइएको तालिममा अत्याधुनिक वायरलेस सञ्चालन, विस्फोटक पदार्थद्वारा तोडफोड कार्य, पर्वतीय र गुरिल्ला युद्धकला, जासुसीकला, गोपनीयता राख्ने लगायत थिए।
यसैगरी वायरलेस र सिग्नल (संकेत) सम्बन्धी तालिमका साथै कम्पास चलाउने, नक्सा पढ्ने, एम्बुस थाप्ने, आक्रमण र प्रत्याक्रमण गर्ने जस्ता तालिम पनि समावेश थिए।
एमआई राइफल, पड्काउँदा सानो आवाज आउने साइलेन्सरसहितको रिभल्वर, स्टेनगन, टमी गन, ब्रेनगन, हातेबम, ६० मिमि मोर्टार, ५७ मिमि रकेट लन्चर, बुबी ट्रयापमा विस्फोटक पदार्थ प्रयोग गर्नेजस्ता हातहतियार र विस्फोटक पदार्थ सम्बन्धी तालिम पनि प्रदान गरिएको थियो।
तालिम अवधि घटीमा ६ महिना र बढीमा तीन वर्षसम्मको थियो।
जासुसी सम्बन्धी तालिम अन्तर्गत तिब्बतभित्र प्रवेश गरेर त्यहाँका कलकारखाना, सैनिक अड्डा र अन्य कार्यालयहरुका गतिविधिबारे जानकारी हासिल गर्ने सीप पर्थ्यो। तिब्बत प्रवेशका लागि ४–५ दिनसम्म भोकभोकै डाँडाकाँडा, वनजंगल, हिउँका भीरपहाडमा हिँड्न सक्षम बनाउने गरी निकै कष्टदायी तालिम दिइएको थियो। हवाईजहाजद्वारा प्यारासुटमा पर्वतीय इलाकामा ओर्लने अभ्यास पनि गराइएको थियो।
तिब्बतभित्र प्रवेश गरेपछि शत्रुपक्षको जतिसक्यो बढी क्षति पुर्याउने, आफू पक्राउ नपर्ने, आपतकालीन परिस्थितिमा विषको चक्की खाने, शत्रुको मुखमा परेको साथीलाई बचाउने वा जिउँदै शत्रुको हातमा पर्न नदिने, शत्रु र शत्रु पक्षको बख्तरबन्द गाडी आउने बाटोहरुमा विस्फोटक बिछ्याउने, बुबी ट्रयाप लगाउने, एम्बुस गर्ने, शत्रुको जनशक्ति बढी भएको अवस्थामा भाग्ने, कथंकदाचित शत्रुको हातमा परिहाले शत्रुपक्षको पुछताछलाई कसरी बेहोर्ने लगायतका तालिम पनि उनीहरुले प्राप्त गरेका थिए।
तालिमका क्रममा खम्पाहरुलाई उनीहरुको जातीय नामबाट बोलाइँदैनथ्यो। बरु जोनी, थमसन, ड्रफ, क्ले, स्यान्डी आदि सांकेतिक उपनाम प्रयोग गरिएको थियो।
साथै अमेरिकी प्रशिक्षकका नाम पनि सांकेतिक थिए। यसका लागि जोन, मोनाहन आदि नाम प्रयोग गरिएका थिए।
तालिम लिई फर्केका खम्पाहरुको भनाइअनुसार उनीहरुसँग तालिम लिनेमा केही अन्य राष्ट्रका व्यक्ति पनि थिए। सम्भवत ती व्यक्तिहरु दक्षिण भियतनाममा ‘सीआईए’ ले सञ्चालन गरेको मोन्टेगनाइ अनुसूचित जातिका सेना र लाओसमा जार नामक पठार जनरल भान पाओको नेतृत्वका मिओ अनुसूचित जातिका फौजहरु होलान् भन्ने अनुमान गर्न सकिन्छ।
अमेरिकामा तालिमपछि खम्पाहरुलाई फेरि हवाईजहाजबाटै ल्याएर भारतका सैनिक विमानस्थलहरुमा ओरालियो। यसमध्ये एउटा समूहलाई नैनिताल नजिकैको एक प्रहरी लाइनमा राखिएको थियो। अमेरिकामा तालिम गर्दा प्रशिक्षकको रुपमा रहेका ‘मिस्टर जोन’ नामका अमेरिकी र एक जना भारतीय गुप्तचर एजेन्सी इन्टिलिजेन्स ब्युरो (आईबी) का सदस्य मिस्टर दास त्यही प्रहरी लाइनमा थिए।
मिस्टर जोन र दासले अमेरिकाबाट तालिम लिई आएका खम्पाहरुलाई कसरी तिब्बतभित्र प्रवेश गर्ने र जासुसी काम गर्ने भन्नेबारेमा ब्रिफिङ गरे।
तीमध्ये पाँच जना खम्पाहरुलाई हेलिकोप्टरमा हाली टुटाङ भन्ने नेफा (हाल अरुणाञ्चल) को लेकमा ओरालियो। उनीहरुको साथमा वायरलेस थियो। उनीहरु १५ दिनको बाटो हिँडेर तिब्बतको छण्डुख भन्ने स्थानमा पुगे। त्यहाँबाट तिनीहरुले वायरलेसबाट म्यासेज पठाउनु पथ्र्याे।
तर, कहाँ पठाउने हो, त्यसबारे उनीहरुलाई बताइएको थिएन। सिर्फ उनीहरुलाई ‘फ्रिक्वेन्सी’ मात्र बताइएको थियो।
जब अमेरिकामा तालिम लिएको खम्पाहरुको पहिलो समूह फर्क्यो, दलाई लामाका दाजु ग्यालो धोण्डुप र खम्पा नेता गोम्पो टासी अण्डुछाङले भारतमा रहेका खम्पाहरुलाई एकत्रित गर्न थाले। अधिकांश खम्पा लडाकाहरु सिक्किम–तिब्बत सिमाना र चम्बल घाटीमा बाटो निर्माणको काममा थिए।
उनीहरुलाई दार्जिलिङ र कालिङ्पोङमा एकत्रित गरी एक संयुक्त मोर्चाको स्थापना गरियो र ५० देखि १०० जनाको समूहमा विभाजन गरी नौतनवा र रक्सौल स्टेसनहरुबाट नेपालको सरहदभित्र प्रवेश गराइयो। नेपाल पस्ने खम्पाहरुको नेतृत्व गें हिस्से नामका खम्पाले गरेका थिए। नेपाल प्रवेश गरेका खम्पाहरु मुस्ताङ जिल्लामा केन्द्रित भई क्याम्प खडा गरेर बस्न थाले।
नेपाल पठाइएकाहरुलाई खम्पा नेता गोन्पो टासी अण्डुछाङले ‘दक्षिण तिब्बतमा चिनियाँ र खम्पाहरुबीच घमासान लडाइँ भइरहेको छ, त्यसैले लडिरहेका खम्पाहरुलाई मद्दत गर्न तिमीहरुलाई पठाइएको हो’ भनेका रहेछन्। तर जब उनी मुस्ताङ पुगे, उनीहरुलाई तिब्बतभित्र पठाइएन। बरु, मुस्ताङमै सैनिक अखडाहरु निर्माण गरेर त्यहीँ राखियो।
खम्पासम्बन्धी सन्दर्भ आउनासाथ धेरै मानिसहरु अहिले पनि मुस्ताङलाई सम्झिहाल्छन्। यो स्वाभाविक पनि हो। किनकि, २०३१ मा ‘खम्पा अप्रेसन’ मुस्ताङमा नै सञ्चालन भएको हो।
तर, सन् १९६० को दशकमा नेपाल प्रवेश गरेको खम्पाहरुको एउटा ठूलो समूह पूर्वी नेपालमा पर्ने मेरो गाउँ ओलाङचुङ्गोला (ताप्लेजुङ) पनि आइपुगेको थियो। मुस्ताङमा जस्तै त्यहाँ पनि सशस्त्र खम्पाहरु केही वर्ष क्याम्प नै स्थापना गरी बसेका थिए।
ओलाङचुङ्गोला आइपुगेको खम्पा समूहमा भारतको देहरादुनमा सैनिक र गुप्तचर तालिम लिएकाहरु थिए। मुस्ताङमा राखिएका खम्पाजस्तै यो समूहसँग पनि आधुनिक हातहतियार र वायरलेस सेट थिए। सुरुमा उनीहरु दार्जिलिङ (घुम पहाड) तर्फ आए। त्यसपछि फालेलुङ हुँदै नेपाल–सिक्किम सीमा पार गरेर ओलाङचुङगोला प्रवेश गरेका थिए।
दलाई लामाको निर्वासित सरकार, अमेरिकी गुप्तचर संस्था (सीआईए) र भारतले सशस्त्र खम्पाहरुलाई राख्न किन मुस्ताङ र ओलाङचुङ्गोला छनोट गरेका होलान्!
यससम्बन्धी मेरो सूचना र विश्लेषण अर्को कुनै दिन म सुनाउनेछु।
Shares
प्रतिक्रिया