पाँच कक्षामा पढ्ने मेरो छोरोले भन्यो,
बुबा, हाम्रो देशको नक्सा त फरक रैछ नि!
उसको अनुहारमा
देशकै नक्सा किरिङमिरिङ देखियो।
उसले फरि भन्यो,
हाम्रो घरको भित्तामा टाँसेको नक्सामा
पश्चिमको लिम्पियाधुरा छैन,
स्कुलको नक्सामा पनि छैन,
हामीले पढ्ने किताबहरूमा पनि छैन,
हाम्रो सोसल स्टडीको सरले देखाउनु भएको
नक्सामा मात्र लिम्पियाधुरा छ।
उसको आँखामा जगमगायो ज्योति
त्यही उसको आँखाको ज्योतिबाट
न्यानो न्यानो उज्यालो मतिर सरिरहेको थियो
ऊजस्तै उज्यालो भएर
मैले भने,
बाबु ! अवश्य हुनेछ
हामी सबै नेपालीले हेर्ने हाम्रो देशको नक्सामा
लिम्पियाधुरा।
इलाम
प्रतिक्रिया