ad ad

म्यागेजिन


१५ माघको मध्यरात राजनीतिक बन्दीलाई मार्न नेपालमा जब पहिलो पटक गोली चल्यो

१५ माघको मध्यरात राजनीतिक बन्दीलाई मार्न नेपालमा जब पहिलो पटक गोली चल्यो

कैदमा हथकडी र नेलकडीसहित गंगालाल श्रेष्ठ (बायाँ) र दशरथ चन्द (दायाँ)


सीताराम बराल
माघ १६, २०७९ सोमबार ८:२४, काठमाडौँ

वीर शमशेरको पालामा घडीसहित जब घण्टाघर निर्माण भयो, आम काठमाडौँवासीले घडीमार्फत् समयबारे जानकारी प्राप्त गर्न पाउने भए। जंगबहादुरको पालादेखि भने टुँडिखेलमा घण्टाघण्टामा तोप पड्काएर समयबारे जानकारी दिने चलन थियो।  

भीमसेन थापाले धरहरा निर्माण गरेपछि त्यसको टुप्पोबाट नगरा बजाएर समयबारे जानकारी दिने चलनलाई जङ्गबहादुरले ‘तोप पड्काउने चलन’ मार्फत् विस्थापित गरेका थिए।  

एकातिर टुँडिखेलमा छिन–छिनमा तोप पड्किरहन्थ्यो। अर्काेतिर छाउनी (स्वयम्भू) स्थित ब्यारेकका सैनिकहरुले पनि तालिमका क्रममा बन्दुक पड्काइरहन्थे।  

त्यसैले, स्वयम्भू नजिकैको शोभाभगवती वरिपरिका बासिन्दाले १५ माघ (१९९७) को मध्यरात ५–६ पटक पड्केको बन्दुकको आवाजतिर खासै ध्यान दिएनन्। उनीहरुले ठाने होलान्, यो आवाज पनि टुँडिखेलमा पड्काइएको तोपको आवाज हो वा छाउनीमा सिपाहीले बन्दुक पड्काएका हुन्। 

त्यसरात शोभाभगवतीमा वरपर सुनिएको गोलीको आवाज भने सामान्य थिएन। खासमा त्यो नेपालको इतिहासमा राजनीतिक बन्दीलाई मृत्युदण्ड दिन प्रयोग भएको गोलीको पहिलो आवाज थियो।  

पृथ्वीनारायण शाहको मृत्युको केही वर्षपछि दरबारभित्र शक्ति संघर्ष चल्न थाल्यो। सत्तासीनहरुले राजनीतिक विरोधीहरुलाई समाप्त पार्न हत्याको श्रृङ्खला चलाउँथे। आफ्ना विरोधीलाई समाप्त पारी आफूलाई थप शक्तिशाली बनाउने क्रममा भीमसेन थापादेखि जुद्ध शमशेरको पालासम्म सयौँ राजनीतिक विरोधीहरुको नियोजित हत्या भयो, मृत्युदण्ड दिइयो।  

तर, राजनीतिक विरोधीहरुलाई समाप्त पार्न गोलीको पहिलो प्रयोग भने १५ माघ १९९७ को मध्यरात भएको थियो। मृत्युदण्डका लागि गोलीको पहिलो प्रयोग नेपालको इतिहासमा सहिदद्वय दशरथ चन्द र गंगालाल श्रेष्ठका हकमा प्रयोग गरिएको थियो। 

झुण्ड्याउने, गर्धन छिनाल्ने र शुली चढाउने  
प्रजा परिषदको ‘पर्चा पर्व’ को सन्दर्भमा दशरथ र गंगालाल भन्दाअघि राणा शासनले शुक्रराज शास्त्री र धर्मभक्त माथेमालाई मृत्युदण्ड दिइसकेको थियो। यसमध्ये १० माघमा पचली (टेकु) मा शास्त्री र १३ माघमा माथेमालाई झुण्ड्याइएको थियो। 

सहादतस्थल टेकुमा सहिद शास्त्री र सिफलमा माथेमाको सालिक

जुद्ध शमशेरको शासनकालमा चार सहिदलाई मृत्युदण्ड दिइएकै वर्ष काठमाडौँको सानो टुँडिखेल (दशरथ रंगशाला रहेको स्थान) मा भैरु पल्टनका सुवेदार मेघबहादुर (कुलध्वज) बस्नेतलाई मृत्युदण्ड दिइएको थियो। 

मृत्युदण्ड दिनेमा खटिएका थिए उनै नरशमशेर, जसले त्यसअघि चार सहिदलार्ई मृत्युदण्ड दिने श्री ३ जुद्धको फैसला कार्यान्वयन गरेका थिए। विसं २०५८ मा प्रकाशित आत्मकथामा नरशमशेरले सानो टुँडिखेलमा बाँसको मचान बनाएर बस्नेतलाई मृत्युदण्ड दिइएको उल्लेख गरेका छन्। 

अर्थात्, दशरथ चन्द र गंगालालपछि भएको मृत्युदण्ड फैसलाको कार्यान्वयनपनि झुण्ड्याएरै गरिएको थियो।   

इतिहास हेर्दा के देखिन्छ भने, राणा शासनका संस्थापक जंगबहादुरले मृत्युदण्डको सजाय कार्यान्वयनलाई केही परिष्कृत गरेका थिए। 

जंगबहादुरअघि मान्छेको गर्धन काटेर मृत्युदण्ड दिइन्थ्यो। जंगबहादुरले आफ्नो जीवनको अन्तिम समयतिर झुण्ड्याएर मृत्युदण्ड दिने प्रचलन सुरुवात गरे।

‘पहिले मृत्युदण्ड भन्ने शब्दावली प्रचलनमा थिएन, हाम्रो कस्टोमरी ल (परम्परागत कानुन) मै मान्छे काट्ने भन्ने थियो,’ सैनिक इतिहासका जानकार डा. प्रेमसिंह बस्न्यातले भने, ‘अरुले पनि त्यस्तै गल्ती नगरुन् भनेर मान्छे जम्मा गरी काटेर वा झुण्ड्याएर मार्ने चलन थियो।’ 

जंगबहादुरको शासनकालमा झुण्ड्याएर मृत्युदण्डको सजाय पाउने पहिलो व्यक्ति लखन थापा थिए। ‘मनकामना माताले सपनामा जंगबहादुरलाई मारी शासन चलाउन आदेश दिएको’ भन्दै आफ्नो नेतृत्वमा फौज गठन गरेका लखन थापालाई पक्रेर काठमाडौँ ल्याएपछि जंगबहादुरले उनलाई ज्यान (मृत्युदण्ड) सजाय सुनाएका थिए। 

इतिहासकार पुरुषोत्तम शमशेर राणाले श्री ३ हरुको तथ्यवृत्तान्त (भाग १) मा उल्लेख गरे अनुसार गोर्खाबाट पक्री काठमाडौँ ल्याइएका लखन थापालाई सजाय सुनाइएपछि गोर्खा फर्काई झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो। 

त्यसअघि भीमसेन थापाको पालासम्मका घटना हेर्ने हो भने बकाउन यातनाका क्रममा उधोमुन्टो लगाएर झुण्ड्याउने गरे पनि मृत्युदण्डका लागि झुण्ड्याएकोे खासै भेटिँदैन।  

आफ्नो राजनीतिक विरोधी ठानेर भीमसेन थापाले हत्या गर्न लगाएका सबैभन्दा शक्तिशाली भारदार मूलकाजी (प्रधानमन्त्री सरह) दामोदर पाँडे थिए। इतिहास शिरोमणि बाबुराम आचार्यले ‘जनरल भीमसेन थापा: यिनको उत्थान तथा पतन’ मा उल्लेख गरेअनुसार पाँडेको पक्राउको दुई हप्तापछि ३ चैत १८६० मा हत्या गरिएको थियो। 

‘भीमसेन थापाहरुकै योजना तथा प्रबन्ध अनुसार यिनलाई लुमडी (भद्रकाली) नजिकै रहेको स्मसान घाटमा नृसंशतापूर्वक कटाइयो,’ आचार्यले लेखेका छन्, ‘काजी दामोदर पाँडेका जेठा छोरा रणकेशर पाँडे तथा माइला छोरा गजकेशर पाँडे पनि यसैदिन काटिए।’ 

रणबहादुर शाहको काठमाडौँ फिर्तीसँगै भीमसेन थापा जब निर्णायक रुपमा शक्तिशाली बने, पाँडे परिवारका सदस्यबाहेक आफ्ना अरु विरोधीहरुको पनि कत्लेआम गरे। उनले पूर्वकाजी (मन्त्री) भीम खवास र उनका एक छोरालाई विष्णुमती नदीको किनारमा काट्न लगाएका थिए। 

‘यिनै (भीम खवास) का अर्का एक जना छोरा चोभार टौदहमा लगी डुबाइए, यिनका अर्का एकजना छोरालाई खुट्टामा पासो लगाई उधोमुन्टो पारी रुखमा झुण्ड्याएर छाउनीमा तीन दिनसम्म लगातार राख्दा पनि मरेनन्। पछि उनी त्यहीँ काटिए,’ आचार्य लेख्छन्, ‘सुब्बा शंखधर खवास खाडलमा कुमसम्म आउने गरी पुरिई कपाललाई खोटोमा लपेटेर आगो लगाई मारिए।’ 

रणबहादुर शाहको १५ वैशाख १८६३ मा हत्या भएपछि भीमसेन थापाले विरोधीहरुको दोस्रो पटक आमसंहार गरे। यसक्रममा काठमाडौँ ल्याई थुनिएका पाल्पाका राजा पृथ्वीपाल सेन पनि बचेनन्।    

‘पाल्पा राज्यका राजा पृथ्वीपाल सेनका साथमा यिनका १८ जना निरपराध पाल्पाली अंगरक्षकहरु पनि भण्डारखाल (वसन्तपुर दरबारभित्र) बगैँचामा काटिए,’ सोही पुस्तकमा आचार्य भन्छन्, ‘जगत खवास आदि भारदारहरु विष्णुमती नदीको बगरमा लगी काटिए।’ 

भीमसेन थापाको पतन सुरु भएपछि उनी समर्थकहरुमाथि पनि दमन भयो। उनीमाथि राजा राजेन्द्रका ६ महिने छोरा राजकुमार देवेन्द्रलाई विष खुवाएर हत्या गरेको आरोप थियो। आचार्यका भनाइमा विषयुक्त औषधि तयार गरेको आरोप लगाइएका भाजुमान वैद्यलाई छाला काडेर आँखा समेत निकालेर शुलीमा चढाई मृत्युदण्ड दिइएको थियो। 

भीमसेन थापाको पालासम्म हतियारको रुपमा नेपाली सेनाले व्यापकरुपमा बन्दुकको प्रयोग गर्न थालिसकेको थियो। तर, राजनीतिक विरोधीहरुको हत्याका लागि यसबेलासम्म बन्दुकको प्रयोग भएको इतिहासमा भेटिँदैन। 

‘एक त त्यो बेलाका बन्दुकहरु निकै लामा हुन्थे, छरिता थिएनन्,’ डा. बस्न्यातले भने, ‘दोस्रो कुरा राज्यले अरु जनतालाई आतंकित पार्न कसैको हत्या गथ्र्याे। त्यो कारणले पनि सिधै गोली ठोकेर हत्या नगरिएको होला।’ 

अब जंगबहादुर राणातर्फ लागौँ। 

जंगबहादुरका पालामा कोत, अलौ, भण्डारखाल लगायतका पर्व (काण्ड) भए। यसमध्ये कोतपर्व गगनसिंह भण्डारीको हत्यारा खोज्ने क्रममा भएको आमसंहारको घटना थियो, जहाँ जंगबहादुर विरोधी कैयौँ शीर्ष भारदारहरु एकचिहान भए।   

अलौ र भण्डारखाल पर्व भने जंगबहादुरको हत्याका लागि रचिएका षड्यन्त्रका क्रममा भएका घटना थिए। यी ‘पर्व’ मा ‘ठाउँका ठाउँ’ जंगका विरोधीहरु काटिए, मारिए। 

जहाँसम्म लखन थापाको प्रसङ्ग हो, गोर्खामा रहेका थापालाई पक्रेर काठमाडौँ ल्याई फेरि उतै फर्काएर उनको गाउँमै झुण्ड्याइएको थियो।  

‘काठमाडौँ पुगेपछि निज (लखन थापा) को मुद्दा तुरुन्त हेरियो। लखन थापासहित ५ जवानले मृत्युदण्डको सजाय पाए,’ इतिहासकार राणा श्री ३ हरुको तथ्य वृत्तान्त (भाग १) मा लेख्छन्, ‘लखन थापालाई गोर्खामा उनकै घर अगाडिको रुखमा विसं १९३३ मा झुण्ड्याएर मारियो।’ 

लखन थापाको स्मरणमा १ मंसिर २०७३ मा जारी हुलाक टिकट  

जंगबहादुरले आफ्नो शासनकालमा गरेको मृत्युदण्डको अन्तिम फैसला सम्भवतः लखन थापाकै थियो, जसलाई झुण्ड्याएर मृत्युदण्डको फैसला कार्यान्वयन गरियो। 

हुन त विसं १९४२ को राजनीतिक पलटफेरका क्रममा पनि गोली चल्यो, त्यसमा प्रधानमन्त्री श्री ३ रणोद्वीप सिंह र स्व. श्री ३ जंगका सन्ततिहरु वीर शमशेरहरुद्वारा मारिए। आकस्मिक आक्रमणको घटना भएकाले त्यसलाई राजनीतिक कारणले दिइएको ‘मृत्युदण्ड’ भन्न मिल्दैन। 

वीर शमशेरपछि देव, चन्द्र, भीमसम्मको शासनकालमा षडयन्त्र वा विभिन्न कारणले विरोधीहरुको हत्या भयो। तर, ती हत्या पनि मृत्युदण्डको फैसलामार्फत् भएका थिएनन्।  

राजनीतिक विरोधीलाई हानिएको पहिलो गोली 
भीमसेन थापाकालमा उनका जो–जो विरोधीहरु मारिए, उनीहरुमध्ये अधिकांशको हत्या केही समय जेलमा राखेपश्चात् भएको थियो। यसक्रममा केहीको हत्या नुनचुक लगाउने गरी छाला काढी शुलीमा चढाएर, पानीमा डुबाएर र शरीरमा आगो लगाएर भयो। 

अधिकांशलाई भने गर्धन छिनालेर (अर्थात् टाउको काटेर) मृत्युदण्डको सजाय दिइयो। 

कसैको हत्या आफैँमा नृशंस कर्म हो। त्यसमाथि मानिसलाई पानीमा डुबाउने, आगोमा पोल्ने र छाला काढेर नुनचुक लगाई शुलीमा चढाएर मृत्युदण्ड कार्यान्वयन गर्ने कुरा हद दर्जाका नृशंस कार्य हुन्।
 
उपरोक्त प्रकृतिको मृत्युदण्डका बेला मानिस लामो समय तड्पिरहन सक्छ। मृत्युदण्ड कार्यान्वयन गर्ने व्यक्तिका लागि पनि त्यस्तो दृश्य हेरिरहनु कठिन हुन्छ। त्यसैले, यस्तो नृशंस सजायको कार्यान्वयन कठोर मुटु भएको वा निर्मम हृदयको व्यक्तिले मात्र गर्न सक्छ। 

सायद त्यही भएर भीमसेन थापाको पालामा मृत्युदण्डको सजाय पाएका अधिकांशको हत्या गर्धन छिनालेर भएको होला। गर्धन छिनेपछि व्यक्तिको मृत्यु तत्काल भइहाल्छ। यस्तो भएपछि सजाय कार्यान्वयन गर्नेले हत्या गरिन लागेको व्यक्ति लामो समय तड्पिई–तड्पिई मरेको देख्नु परेन। 

जंगबहादुरले लखन थापाको मृत्युदण्डको हकमा किन फरक तरिका अर्थात् झुण्डयाउने निर्णय गरे, त्यससम्बन्धी लिखत भेटिँदैन। तर, मान्छेको टाउको छिनाल्नुभन्दा कम नृशंस देखिने भएकाले झुण्ड्याएर मृत्युदण्डको फैसला कार्यान्वयन गर्ने उपाय अपनाएका हुन कि! 

श्री ३ जुद्धले पनि चार सहिदमध्ये शुक्रराज शास्त्री र धर्मभक्तको सन्दर्भमा जंगबहादुरकै शैली पछ्याए, उनीहरुलाई झुण्ड्याएर मृत्युदण्ड दिइयो। सहिदद्वय दशरथ चन्द र गंगालाल श्रेष्ठलाई भने गोली प्रहारमार्फत् मृत्युदण्ड दिइयो, जुन मृत्युदण्डको इतिहासमा नयाँ घटना थियो। 

मानिसको गर्धन छिनाल्नुभन्दा झुण्ड्याएर सजाय कार्यान्वयन गर्नु जसरी कम नृशंस देखिन सक्छ, झुण्ड्याउनुभन्दा गोली ठोकी सजाय कार्यान्वयन गर्नु अझ कम नृशंस सुनिन सक्छ। किनकि, छाती वा टाउकोमा गोली दागेपछि सेकेण्डभरमै मानिसको मृत्यु भइहाल्छ। 

लाग्न सक्छ, झुण्ड्याउने भन्दा अझ कम नृशंस ढंगले सजाय कार्यान्वयन गर्ने योजना अनुसार दशरथ चन्द र गंगालालको हकमा श्री ३ जुद्धले गोली हानेर मृत्युदण्ड दिने निर्णय लिएका हुन्। 

तर, गोली हानेर मृत्युदण्डको सजाय कार्यान्वयन गर्ने त्यो निर्णय श्री ३ जुद्धको दिमागको प्रतिफल थिएन। उनले त चारै जनालाई झुण्ड्याएरै मार्ने आदेश दिएका थिए। 

चार सहिद  

खासमा ‘एकै ठाउँ एकै समयमा मर्ने’ दशरथ चन्द र गंगालालको आग्रहको परिणामस्वरुप उनीहरुलाई गोली हानेर मृत्युदण्ड दिने निर्णय गरिएको थियो।   

श्री ३ जुद्धले सुनाएको मृत्युदण्डको फैसलाको कार्यान्वयन उनकै नाति नरशमशेर गरेका थिए, जो त्यतिबेला पुलिस विभागका प्रमुख थिए। 

‘दशरथ चन्द र गंगालाललाई पनि अरुलाई जस्तै झुण्ड्याएरै मृत्युदण्ड दिने निर्णय थियो। तर, यी दुईजनाले आफूहरु एकैसाथ एकै ठाउँमा मर्न पाऊँ भनी आग्रह गरे,’ नर शमशेरले आफ्नो आत्मकथामा भनेका छन्, ‘कसरी एकै ठाउँ, एकै साथ सो कार्य गर्ने होला भनी मैले धेरै विचार गर्नुपर्यो।’

नरशमशेरका भनाइमा दशरथ र गंगालालको उपरोक्त आग्रह पुरा गर्न गोलीको प्रयोग गर्ने उपाय उनी आफैँले निकालेका थिए। उपाय फुरेपछि यसबारे उनले दशरथ चन्द र गंगालाललाई सुनाए। त्यसमा सहिदद्वयको पनि सहमति रह्यो। 

‘दुवैलाई एकै ठाउँ एकै पटक मार्न गोली हान्नुपर्ने कुरा सुनाउँदा उनीहरुपनि सहमत भए,’ नरशमशेरले सो आत्मकथामा भनेका छन्।  

मृत्युदण्डका लागि निश्चित स्थान तोकिएका थिएनन्। फरक–फरक र पायक पर्ने स्थानमा मृत्युदण्ड दिने चलन थियो। १९९७ मा पनि टेकु (पचली), सिफल, शोभाभगवती गरी तीन स्थानमा मृत्युदण्ड दिइयो। पृथ्वीनारायण शाहयताको इतिहास पल्टाउँदा यी स्थानमा पहिले कसैलाई मृत्युदण्ड दिइएको भेटिँदैन। 

शास्त्री र माथेमालाई मृत्युदण्ड दिइएका स्थान स्थानीयवासीले प्रयोग गर्ने प्रचलित मार्ग थिए। माथेमालाई मृत्युदण्ड दिइएको सिफल त अझ काठमाडौँको मूलसहरबाट पशुपति जाने प्रमुख मार्ग नै थियो। 

त्यसैले, आफ्नो शासनविरुद्ध जनता नजाउन् भनेर त्रसित बनाउन मूल मार्गमा रहेका टेकु र सिफलमा शास्त्री र माथेमालाई मृत्युदण्ड दिइएको हुनसक्छ। 

शास्त्रीलाई झुण्ड्याएर हत्या गरेपछि उनको छातीमा ‘गाथगादी ताक्नेको हालत यस्तै हुन्छ,’ लेखिएबाट जनतालाई आतंकित पार्न यस्ता सार्वजनिक स्थानमा मृत्युदण्ड दिइएको हो भन्ने तर्कलाई बल मिल्छ।  

इतिहासकार डा. राजेश गौतमका भनाइमा ‘शुक्रराज शास्त्रीको झुण्डिएको लासको दृश्य भोलिपल्ट बिहान जेलभित्र थुनिएका नेपाल प्रजा परिषद् र गिरफ्तार गरी थुनिएका अरु व्यक्तिहरुलाई राणा सरकारले देखाएको थियो।’ 

जहाँसम्म सहिदद्वय दशरथ चन्द र गंगालालको मृत्युदण्डस्थल शोभा भगवती हो, नरशमशेरका भनाइमा– आफूलाई मृत्युदण्ड दिने स्थानको छनोटपनि सहिदद्वय आफैँले गरेका थिए।  

नरशमशेर

‘उनीहरु दुवैजनाले एकैसाथ शोभाभगवतीमा राणा शासन ढाल्ने भाकल गरेका रहेछन्, सोही कुरा सम्झी मर्दा पनि शोभाभगवतीमै अन्तिम दर्शन गरी मर्न पाऊँ भनी इच्छा व्यक्त गरे,’ नरशमशेरले भनेका छन्, ‘उनीहरुकै इच्छा बमोजिम दुवै जनालाई त्यहीँ शोभाभगतीस्थान लगियो।’

भाचाखुसी खोला र विष्णुमती नदीको दोभानस्थल त्यही शोभाभगवती स्थानमा दुई जना पोडेमार्फत् दशरथ चन्द र गंगालालमाथि पालैपालो गोली चलाइयो। गोली चल्न सुरु गरेको आधा घण्टाभित्रै दुवै जनाले सहादत प्राप्त गरे। 

यो घटनासँगै गोली खाएर सहादत प्राप्त गर्ने पहिलो राजनीतिक बन्दीमा सहिद दशरथ चन्द र गंगालालको नाम दर्ज हुन पुग्यो। 

सहिदको थप कथा : 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .