एक जना सुदूरपश्चिम बैतडीका ठकुरी चन्द परिवारका सदस्य थिए, अर्का काठमाडौँको रैथाने नेवार (श्रेष्ठ) परिवारका। अर्थात् उनीहरुबीच रगतको नाता पनि थिएन।
तर, पारिवारिक नाता नभएर के भो? उनीहरुबीचको सम्बन्ध, आदर–स्नेह एकै आमाको कोखबाट जन्मेका दाजु–भाइको भन्दा कम थिएन।
दुईमध्ये एक ३७ वर्ष उमेरका थिए, अर्का २२ वर्षका युवक।
उमेरमा यति धेरै अन्तर भए पनि दुईको उद्देश्यमा अन्तर थिएन। देशको प्रगति र उन्नतिको बाधक राणा शासन हो भन्नेमा दुवै एकमत थिए। पारिवारिक शासन अन्त्य गर्न आफ्नो जीवन उत्सर्ग गर्न पनि उनीहरु हाँसीखुसी तयार थिए।
उनीहरु विपरीतलिङ्गी अर्थात् महिला र पुरुष थिएनन्। तर, उनीहरुबीचको प्रेम मुना–मदन वा लैला–मजनुको भन्दा कम्ती थिएन।
त्यसैले, उनीहरुले मृत्यु पनि एकै समयमा, एकै ठाउँमा होओस् भन्ने चाहे। समयमा घटबढ भए पनि उनीहरुको चाहना बमोजिम सहादत पनि एकै ठाउँमा भयो।
यो कथा त्यो ‘युगल जोडी’को हो, जसले १६ माघ (१९९७) बिहान राणाहरुको गोली खाएर सहादत प्राप्त गरेका थिए।
उनीहरु थिए– सहिद दशरथ चन्द र गंगालाल श्रेष्ठ।
त्यो अगाध प्रेम
आर्य समाजी शुक्रराज शास्त्री र १९९७ को पर्वमा पक्राउ परेका नेपाल प्रजा परिषदका कार्यकर्ताहरुलाई सिंहदरबारबाट सुन्धारास्थितकेन्द्रीय कारागार पुर्याइँदा ‘प्रचण्ड गोरखा’ का नेता खड्कमान सिंह त्यही कारागारमा थुनिएको सात वर्ष भइसकेको थियो।
तिनै सिंहले राणा शासनविरुद्धको संघर्ष र आफ्नो कठोर जेल जीवनबारे ‘जेलमा बीस वर्ष’ नामक पुस्तक लेखेका छन्। सहिद दशरथ चन्द र गंगालाल श्रेष्ठबीच कति गहिरो प्रेम र स्नेह थियो, सिंहले पुस्तकमा चर्चा गरेका छन्।
‘दुईजना एकै आत्माका दुई रुप थिए, उहाँहरुलाई हाँसीखुसी देख्दा कैदीहरु पनि दङ्ग परे, उहाँहरुको निर्भिकताले जेलको वायुमण्डल नै जोसिलो बनेको थियो,’ सिंहले लेखेका छन्, ‘दुई भाइ हाँसीखुसीले बस्नुहुन्थ्यो। घरबाट खानेकुरा आउँदा भरे–भोलि मर्नुछ, अरुथोक नखाने, केवल मुख भिजाउने फलफूल अलिअलि खाने सल्लाह गर्नुभयो।’
काठमाडौँमा दशरथ चन्दका कोही आफन्त थिएनन्। गंगालालका परिवार भने काठमाडौँमै थिए। केन्द्रीय कारागार लगिएको भोलिपल्ट १४ माघमा अन्तिम पटक गंगालाललाई भेट्न बुबा भक्तलाल, भाइ पुष्पलालसहित परिवारका सदस्यहरु कारागार पुगे।
अन्तिम भेटको माहोल भावुक बन्यो। गंगालालसँग अन्तिम भेट गर्दा बाबु भक्तलालसहित परिवारका सबै सदस्य रोए।
‘आफ्नो प्यारो (गंगा) लाललाई कालले निल्न लागेको देखी सबै रुन लागे, त्यो क्रन्दननाद जेलभित्र पनि सुनियो, शुष्क हृदय भएका कठोर कैदीहरु पनि पग्लिए, मुटुमा गाँठो पर्यो, धेरैजसोको आँखाबाट आँसु आयो,’ सिंह लेख्छन्, ‘तर, उहाँ (गंगालाल) ले ढुङ्गाजस्तो छाती बनाई त्यागी नसक्नु पारिवारिक स्नेहको प्रबल प्रवाहलाई थाम्नु भएछ, फर्केर आउँदा चेहरा अलिक गम्भीर भएको थियो।’
जेलभित्र फर्कंदा गंगालालको अनुहार गम्भीर देखेपछि दशरथलाई पीर पर्यो। उनी गंगालालको हौसला बढाउनतिर लागे।
सिंहले लेखेका छन्, ‘वीर दशरथले उहाँ (गंगालाल) को पिठ्युँमा हात फेर्दै भन्नुभयोः ए तँ त रोइस् कि कसो?’
सिंहका भनाइमा, गंगालालले दशरथको अनुहारमा पुलुक्क हेरे। र, शिर हल्लाई आफू नरोएको संकेत गरे।
साहित्यकार सिद्धिचरण श्रेष्ठ पनि त्यो बेला केन्द्रीय कारागारमै थुनिएका थिए। ‘शारदा’ पत्रिकामा प्रकाशित एक लेखमा साहित्यकार श्रेष्ठले पनि सहिदद्वय चन्द र श्रेष्ठबीचको प्रेम र मित्रताबारे चर्चा गरेका छन्।
‘दशरथ चन्द र गंगालाल एकै ठाउँमा राखिएका छन्, दुइटा शरीर भए पनि उनीहरु एकै ज्यानका जस्ता भएका छन्, गीताको एघारौँ अध्यायको विश्वरुपको प्रार्थना एकचित्त भएर गर्छन्,’ उनी लेख्छन्, ‘संसारको क्षणभंगुरता एवं अन्यायको विरोध गरेर मर्नु परम कर्तव्य हो परमेश्वरलाई भेट्टाउनु हो, वास्तविक मुक्ति पाउनु हो भनेर कुरा गर्छन्।’
किशोर उमेरमा सहिद गंगालाल
श्रेष्ठका अनुसार दशरथ चन्द गंगालाल श्रेष्ठलाई अनेक तर्क–प्रमाण, अनुभवहरु सुनाएर ‘मृत्यु भनेको केही होइन’ भन्दै सम्झाउँथे, ताकि राणाहरुले मृत्युदण्डको सजाय सुनाएमा यो सजायका लागि मनोवैज्ञानिक रुपमा गंगालाललाई तयार पार्न सकियोस्।
भक्तलाल (गंगालालका बुबा) लगायत परिवारका सदस्यहरुसँग गंगालाललाई भेट्न जानेमा काठमाडौँका पहिलो (कम्युनिस्ट) मेयर तथा पूर्वन्यायाधीश जनकमान श्रेष्ठका दाजु चन्द्रमान श्रेष्ठ पनि थिए।
जनकमान तिनै न्यायाधीश हुन्, जसले बीपी कोइरालालाई फाँसीको सजायबाट जोगाएका थिए। गंगालाल श्रेष्ठका बाबु भक्तलाल चन्द्रमान–जनकमानका मामा थिए।
भेटका क्रममा चन्द्रमानले ‘गंगालालका लागि आमा र पत्नी हसिनादेवीले माफी मागिरहेको’ जानकारी गराएका थिए। तर, माफी गंगालालका लागि स्वीकार्य थिएन। ‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजा परिषदको भूमिका’ का लेखक इतिहासकार डा. राजेश गौतमसँगको कुराकानीमा चन्द्रमानले बताएअनुसार माफीको कुराप्रति गंगालालले ध्यानै दिएनन्।
गंगालालप्रति दशरथ चन्दको स्नेह, प्रेम र भरोसाको चर्चा तिनै श्रेष्ठलाई उधृत गर्दै इतिहासकार डा. गौतमले पनि गरेका छन्।
‘गंगालाल जेलभित्र प्रवेश गर्नासाथ उनलाई दशरथ चन्दले छाती लगाएर चिउँडो समाती टाउको उठाए,’ गौतम लेख्छन्, ‘अनि उनको अनुहार हेरेर गम्किँदै ‘स्याबास्, मेरो भाइ कहिल्यै रुँदैन’ भने। नभन्दै गंगालालको आँखामा आँसु थिएन। त्यो त उनको सहृदयको विम्ब थियो।’
गंगालालप्रति दशरथ चन्दको यति धेरै माया–प्रेम–भरोसा नभएको भए सम्भवतः गंगालालको नाम ‘निडर सहिद’ को रुपमा चम्कने थिएन।
हो, निडरताकै कारण प्रजा परिषदमा सहभागी भएर गंगालाल राणा शासनविरोधी संघर्षमा होमिएका थिए। तर, जेलभित्र स्नेहका साथ दशरथ चन्दले ‘पाइन’ लगाइदिँदा गंगालालको दृढता अझ धारिलो बन्यो।
एकै दिन पक्राउ, हिरासतमा पनि सँगै
संयोगवश दशरथ चन्द र गंगालाल एकै दिन पक्राउ परेका थिए, २ कात्तिक (१९९७) मा। सोही दिन गंगालाललाई प्याफल र चन्दलाई पकनाजोलबाट गिरफ्तार गरिएको थियो।
दशरथ चन्द र गंगालाल श्रेष्ठले पाएको यातनाको वर्णन सुन्दा आङ नै जिरिङ्ग हुन्छ। त्यति कठोर यातनाका बाबजुद दुवै झुकेनन्, नेपाल प्रजा परिषदको गोप्यता चुहाएनन्।
पक्राउ पर्नेमा प्रजा परिषदका कार्यकर्ता हरिकृष्ण श्रेष्ठ पनि थिए। हरिकृष्ण र गंगालालबीच जेठान–ज्वाइँको नाता थियो। गंगालालले हरिकृष्णकी बहिनी (मामाकी छोरी) हसिनादेवीसँग बिहे गरेका थिए।
‘सिंहदरबारस्थित काठघरमा दशरथ चन्दलाई केशर शमशेरको उपस्थितिमा कायल गराइँदै थियो, राणाहरुको हातमा पिस्तोल थियो,’ चन्दले पाएको यातनाबारे हरिकृष्ण श्रेष्ठले भनेका छन्, ‘दशरथ चन्दले उनीहरुसँग कत्ति नडराई, नझुकी, नदबी उनीहरुले गरेको प्रश्नको प्रतिवाद गरिरहेका थिए। कसैबाट पनि नयाँ कुरा थाहा नपाएपछि उही यातनागृहमा लगेर उनीहरुलाई पिट्न थालियो।’
भारतमा रहँदा सहिद दशरथ चन्द (सौजन्यः सहिद दशरथ चन्द मेमोरियल ट्रस्ट)
पक्राउ परेका प्रजा परिषदका अर्का कार्यकर्ता चुडाप्रसाद उपाध्याय (टंकप्रसाद आचार्यको प्रधानमन्त्रित्वकालमा परराष्ट्रमन्त्री) का भनाइमा यातना दिनेक्रममा दशरथ चन्दको एकातिरका हातखुट्टा एउटा बाँसमा र अर्काेतिरको हात खुट्टा अर्काे बाँसमा बाँधिएको थियो। त्यसपछि पिट्दै उनको बयान लिन थालियो।
गंगालाललाई पनि उसैगरी यातना दिइएको थियो। यातना कति क्रुर थियो, प्रत्यक्षदर्शी हरिकृष्ण श्रेष्ठले उल्लेख गरेका छन्।
‘गंगालालको सुरुवाल धुजाधुजा भएर घाउभित्र पसेका थिए, दिनभर कुटेर बेलुकी बाँसबाट ओराल्दा उनी त्यसरी पुर्लुङ्ग ढले, जसरी गुलेलीबाट हानेको ढुङ्गा लागी भँगेरो ढल्दछ,’ उनले भनेका छन्, ‘म त्यहीँ थिएँ, उनलाई समातेँ। नर शमशेरले ‘तेरो ज्वाइँको के गति भएको छ, तेरो पनि त्यही गति हुनेछ, सबै कुरा बता’ भनेर भने। म चुप लागिरहेँ। त्यसपछि गंगालाललाई त्यहाँबाट घिसारेर लगे।’
चन्द्रमान श्रेष्ठका अनुसार यातनाका बेला गंगालालका दुवै हात पछाडि लगी बाँधिएको थियो। बाँधिएको हातको बीचबाट एउटा बाँस छिराएर त्यसलाई दुवैतिर दुई जना सिपाहीहरुले उचालेर बोकेका थिए। यसले गर्दा गंगालाल जमिनबाट एक हात माथि उचालिएका थिए। त्यसरी उचालिएका गंगालालका खुट्टा पनि एकआपसमा जोडेर बाँधिएको थिए।
सिपाहीहरु गंगालालको खुट्टाको नलीहाडमा छालाको कोर्राले हान्थे। कोर्रा उनको खुट्टामा बेरिन्थ्यो। बेरिएको कोर्रा सिपाहीहरु एकै झटकमा तान्दथे, जसले गर्दा मासु खुट्टाको हाडबाट छुट्टिन्थे।
चन्द्रमान श्रेष्ठ भन्छन्, ‘तर पनि गंगालाल थाकेका थिएनन्। सिपाहीहरु थाक्दथे र पालो फेर्दथे।’
साहित्यकार सिद्धिचरण श्रेष्ठले पनि सहिद गंगालालले पाएको यातनाबारे प्रत्यक्षदर्शीहरुबाट सुनेका थिए। यातनाका कारण गंगालालको हविगत कस्तो भएको थियो, त्यो आफैँले जेलमा धेरथोर देखे।
‘पिट्न सिद्धिएर बाँसमा बाँधेको डोरी फुकाउँदा गोली लागेर खसेको चरा झैँ उनी (गंगालाल) थ्याच्च भुइँमा मुखले टेक्न पुगेका थिए रे,’ सिद्धिचरणले लेखेका छन्, ‘बेलुका खानेकुरा ल्याउँदा उनी खानेकुरा लिन जान सकेनन्। भोलिपल्ट खुट्टा सुन्निएर च्यापच्याप्ती लागेर सुरुवाल फुकाल्न भएको थिएन। सुरुवालको कपडा मासुभित्र गढेर झिक्न मुस्किल हुन्थ्यो। तीनचार दिनसम्म यस्तै दशामा थिए।’
यो त ‘भाइ’ गंगालाललाई दिइएको यातना थियो, ‘दाजु’ दशरथलाई दिइएको यातना झन् कस्तो थियो होला!
यस्तो कठोर यातनाका बाबजुद दुवै भाइ गलेनन्।
यातनाबाट नगलेका दुवै भाइलाई ६ माघ (१९९७) मा राणा शासनले फाँसीको सजाय सुनायो। यस्तै सजाय शुक्रराज शास्त्री र धर्मभक्त माथेमालाई पनि सुनाइएको थियो।
मृत्युदण्डको सजाय सुनाउन ६ माघमा आयोजना गरिएको भारदारी सभामा दशरथ चन्दलाई यातना दिँदै बयान लिने जर्नेल केशर शमशेर पनि उपस्थित थिए। चन्दको साहस, वीरता र बलिदानीभाव मृत्युदण्डको सजाय सुनाउने क्रममा केशर शमशेरले अझ राम्ररी देख्न पाए।
दशरथ चन्दको सजाय सुनाउने क्रममा ‘अंश सर्वश्वसहित ज्यान...’ मात्र भनिँदै थियो, दशरथ चन्द हाँस्दै अगाडि बढे। खासमा सजाय सुनाउने अधिकारीले ‘ज्यानको सजाय’ भन्नै पाएका थिएनन्। तर, सजायको पुरा शब्द टुङ्गिन नपाउँदै चन्दले ‘ज्यान सजाय’ सहर्ष स्वीकार गरे।
चन्दको यस्तो व्यवहारले केशर शमशेरलाई क्रुद्ध र आश्चर्यचकित बनायो। लौहपुरुष गणेशमान सिंहका भनाइमा दशरथ चन्द हाँसेको देखेर केशर शमशेर ‘अझ यस्तो...अझ यस्तो’ भन्दै मुर्मुरिएका थिए।
सिंहले भनेका छन्, ‘गंगालाललाई ज्यान, अंश सर्वश्व भन्दा उहाँले पनि छाती फुलाएर त्यो सजाय स्वीकार गर्नुभयो।’
स्वतन्त्रताका लागि शासकले दिएको मृत्युदण्डको सजाय सहर्ष स्वीकार गर्नु राजनीतिक अर्थमा वीरता र निस्वार्थभावको परिचायक हो।
तर, कसैले मृत्युदण्डको सजाय सहर्ष स्वीकार गर्नु भनेको आफ्नो शरीरमाथिको क्रुरतालाई पनि स्वीकार गर्नु हो। पारिवारिक दायित्वप्रति बेपर्वाह बन्नु पनि हो।
यी दुई सहिदमध्ये गंगालाल विवाहित थिए। मृत्युदण्डभन्दा दुई दिनअघि १३ माघमा गंगालाल–पत्नी हसिनादेवीले छोरा शशीलाई जन्म दिएकी थिइन्। आमा मोहनीकुमारीको तीन वर्षअघि (१९९४) निधन र बाबु भक्तलालको जागिर काठमाडौँबाहिर रहेकाले टुहुरा भाइ बहिनीको दायित्व पनि काँधमा थियो।
त्यसोभए के आफ्नै जीवनमाथिको क्रुरतालाई समेत सहर्ष स्वीकार गर्ने दशरथ चन्द र गंगालाल श्रेष्ठको हृदय पनि क्रुर थियो? उनीहरुको हृदयमा एकअर्काप्रति बाहेक परिवार र अरु कसैप्रति प्रेमको अंश थिएन?
घटनाक्रमहरुले बताउँछन्– आफ्नो जीवनप्रति उनीहरु ‘क्रुर’ बने पनि दुवै सहिद प्रेमका प्रतिमूर्ति थिए। परिवार र नारीहृदयप्रतिको उच्च प्रेम उनीहरुले मृत्युदण्डको सजाय पाएपछि पनि देखाए।
गंगालालकी हसिना, दशरथकी जुलिया
नेपाल र नेपालीको स्वतन्त्रता गंगालालका लागि प्रिय भए पनि आफ्नो घरपरिवारप्रति उनी बेपर्वाह भने थिएनन्। बुबा भक्तलाल श्रेष्ठ सरकारी जागिरे र धेरैजसो काठमाडौँबाहिर रहनु पर्ने भएकाले टुहुरा भाइबहिनीको जिम्मेवारी उनको काँधमा थियो।
आमाको निधनको अर्काे वर्ष गंगालालका बुबाले दोस्रो बिहे गरे। खासमा जेठो छोरा गंगालालकै अनुरोधमा बाबु भक्तलालले दोस्रो बिहे गरेका थिए।
पक्राउअघि गंगालालले शिक्षकका रुपमा जागिर पनि खाएका थिए। यसले गर्दा बाबु भक्तलाललाई आर्थिक रुपमा परिवार भरथेग गर्न सहयोग पुग्यो।
माफी मागेर ज्यान जोगाउन पत्नी हसिनादेवीले गंगालालसँग आग्रह गरेकी थिइन्। भलै, यो आग्रह गंगालालले स्वीकार गरेनन्। तर, हसिनादेवीप्रतिको उनको गहिरो प्रेमको महशुस मृत्युदण्ड दिने जिम्मेवारी पाएका नर शमशेरले पनि गरे।
‘दशरथ चन्द र गंगालाल श्रेष्ठ दुवैले शोभा भगवतीमै अन्तिम दर्शन गरी मर्न पाऊँ भनी इच्छा व्यक्त गरे, उनीहरुकै इच्छाबमोजिम दुवै जनालाई त्यही शोभा भगवतीस्थान लगियो,’ आफ्नो आत्मकथामा नर शमशेरले भनेका छन्, ‘उनीहरुलाई राति १० बजेतिर लरीमा हाली प्याफलको बाटोबाट शोभा भगवती लगिएको थियो। गंगालालको घर बाटैमा पथ्र्याे। लहरीबाट गंगालालले आफ्नी श्रीमतीलाई ‘हसिना! हसिना!’ भन्न भ्याए।’
मृत्युदण्डका लागि लगिँदै गरेको राजबन्दीले अन्तिम क्षणमा आफ्नी पत्नीप्रति प्रदर्शन गर्नसक्ने प्रेम यति नै थियो, जुन गंगालालले गरे।
सहिद दशरथ चन्द पनि प्रेमका प्रतिमूर्ति थिए। इतिहासकार पुरुषोत्तम शमशेर राणाले आफ्नो प्रेमिकाको परिवारप्रति शासकहरुले गरेको अत्याचारकै कारण चन्द राणा शासनको विरुद्धमा लागेको दाबी गरेका छन्।
अध्ययनका क्रममा भारतीय स्वतन्त्रता संग्रामलाई नजिकबाट देखेका चन्द काठमाडौँ आएपछि प्रधानसेनापति रुद्र शमशेरको चारबुर्जा दरबार (हाल निर्वाचन आयोग) मा बस्ने गर्थे। राजा त्रिभुवनलाई कुस्ती सिकाउने जिम्मेवारी पाएका अर्का सहिद धर्मभक्त माथेमाको बसोबास पनि त्यही दरबारमा थियो।
इतिहासकार राणाका भनाइमा चारबुर्जा दरबारमा रहेका बेला प्रधानसेनापति रुद्र शमशेरकी छोरी जुलिया र चन्दबीच प्रेम सम्बन्ध कायम भयो। उनीहरुबीच बिहे हुने पनि पक्कापक्की भइसकेको थियो।
जुलिया राणा
तर राणा परिवारभित्रको आन्तरिक कचिङ्गलका कारण श्री ३ जुद्धले रुद्र शमशेरलाई काठमाडौँबाट निष्कासित गरी बडाहाकिम बनाएर पाल्पा धपाए। दशरथ चन्दसँग बिहे पक्का भएकी जुलिया पनि पिता रुद्र शमशेरसँगै पाल्पा गइन्।
पाल्पा गएको केही समयपछि जुलियालाई क्षयरोगले समात्यो। त्यही रोगका कारण उनको निधनसमेत भयो। प्रेमिकाको निधन भएपछि विरक्तिएका चन्दले बिहे नै गरेनन्।
‘श्री ३ हरुको तथ्यवृत्तान्त (भाग २)’ मा इतिहासकार राणाले लेखेका छन्, ‘रुद्र शमशेरको परिवारमाथि गरिएको यो अन्यायका कारण नै दशरथ चन्दमा राणा शासनप्रति घृणा उत्पन्न भयो र उनी राणा शासन विरुद्ध लागे।’
जुलिया नरहेपछि विवाह गर्ने योजना त्यागे पनि दशरथ चन्दलाई नारीप्रेमको आवश्यकता सधैँ भइरह्यो। मृत्युदण्डको सजाय सुनाइएको भोलिपल्ट (७ माघ) चन्दले आफूभित्रको प्रेमको प्रकट राममाया च्यामिनी नामक महिलासँग गरे।
राममाया दशरथ चन्द र गंगालाललाई राखिएको सिंहदरबारस्थित सैनिक स्कुल (रेडियो नेपालको पुरानो भवन) को कोठामा सरसफाइका लागि जान्थिन्। दुवैलाई उनी गोप्य रुपमा सकेको सहयोग गर्थिन्।
चन्दको चाहना रहेछ, आफ्नो मृत्युपछि कुनै नारी हृदय आफ्नो स्मृतिमा रोइदियोस्। यही इच्छा उनले राममायासँग प्रकट गरे।
इतिहासकार डा. गौतमले राममायासँग १ असार (२०४२) मा कुराकानी गरेका थिए। ‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजा परिषदको भूमिका (भाग १)’ मा गौतमले उल्लेख गरे अनुसार, मृत्युदण्डको सजाय सुनाइएको भोलिपल्ट चन्दले राममायासँग भनेका थिए, ‘मेरा साथीहरुलाई मारेपछि रुने उनीहरुका आफन्त थुप्रै छन्। तर, मेरा लागि रुने कोही पनि छैनन्। त्यसैले, मलाई मारेपछि तिमी रोइदेऊ है राममाया!’
गोली खाएर मर्ने इच्छा
मृत्युदण्डको सजाय ढिलोचाँडो कार्यान्वयन हुन्थ्यो नै। राणाहरु चारै जनालाई पालैपालो फाँसी (झुण्ड्याएर) को सजाय दिने योजनामा थिए। शुक्रराज शास्त्री (१० माघ) र धर्मभक्त माथेमा (१३ माघ) लाई झुण्ड्याएर मृत्युदण्डको सजाय दिइएको थियो।
मृत्युदण्ड पाउन बाँकी अब दशरथ चन्द र गंगालाल श्रेष्ठ थिए। उनीहरुलाई पनि भिन्दाभिन्दै, झुण्ड्याएर मृत्युदण्ड दिइन्थ्यो होला, यदि उनीहरुले सँगै मर्ने अडान नलिएको भए। तर, उनीहरुले एकै समयमा, एकै ठाउँमा मृत्युदण्ड दिइनुपर्ने माग गरे।
उनीहरुको मागमा श्री ३ जुद्धले ‘उदारता’ देखाए।
‘दशरथ चन्द र गंगालाललाई पनि अरुलाई जस्तै झुण्ड्याएर मृत्युदण्ड दिने निर्णय थियो,’ नर शमशेर लेख्छन्, ‘तर, यी दुई जनाले आफूहरु एकैसाथ एकै ठाउँमा मर्न पाऊँ भन्ने आग्रह गरे।’
एकै ठाउँमा, एकै समयमा मृत्युदण्डको सजाय दिने हो भने गोलीको प्रयोग गर्नुपथ्र्याे। खासमा गोली खाएर मर्ने योजना अनुसार उनीहरुले ‘एकै ठाउँमा पर्न पाऊँ’ भन्ने माग गरेका थिए।
हरिकृष्ण श्रेष्ठका भनाइमा शुक्रराज शास्त्रीको सहादतपछि दशरथ चन्दले कोठामा सँगै रहेका गंगालालसँग सल्लाह गरेका थिए। श्रेष्ठले भनेका छन्, ‘वीरले झैँ मर्नुपर्दछ, यसका लागि झुण्डिएर होइन, गोली खाएर मर्नुपर्छ भन्ने दशरथ चन्दको भनाइ थियो।’
आफूले दाजुतुल्य सम्मान गरेका दशरथ चन्दले भनेको कुरा गंगालालले नमान्ने कुरा थिएन। उनले चन्दको प्रस्तावमा सहमति जनाए।
एकै ठाउँमा गोली खाएर मर्ने निर्णयपछि उनीहरुले जेलका कर्णेललाई बोलाए। र, निर्णय सुनाए, ‘हामी झुण्डिएर होइन, गोली खाएर मर्न चाहन्छौँ। त्यसैले तिम्रो महाराजालाई हाम्रो सजायमा फाँसी भए पनि गोली हान्ने आदेश दिन अनुरोध गर्न चाहन्छौँ।’
त्यो बेला श्री ३ जुद्ध नागार्जुन दरबारमा बस्थे। दशरथ र गंगालालको अनुरोधपछि जेलका कर्णेल श्री ३ जुद्धलाई भेट्न नागार्जुन पुगे। दशरथ–गंगालालको इच्छाअनुसार नै गोली हानेर मृत्युदण्ड दिन श्री ३ जुद्धले आदेश दिए।
१९९७ को पर्वमा पक्राउ परेका प्रजा परिषदका अर्का कार्यकर्ता कम्पाउन्डर चन्द्रमान सैँजुले भनेका छन्, ‘यो खबर कर्णेलले दशरथ चन्द र गंगालाललाई सुनाउँदा उनीहरु ज्यादै खुसी भएर ठुल्ठूलो स्वरले हाँसेका थिए।’
१५ माघ राति दुवै जनालाई मृत्युदण्डका लागि शोभा भगवतीस्थित विष्णुमती नदी र भाचाखुसी खोलाको दोभानमा लगियो। नर शमशेरका भनाइमा मृत्युदण्डस्थलको चयन पनि दशरथ–गंगालालले गरेका थिए।
‘दुवै जनाले एकैसाथ शोभा भगवतीमा राणा शासन ढाल्ने भाकल गरेका रहेछन्, सोही कुरा सम्झी मर्न पनि शोभा भगवतीमै अन्तिम दर्शन गरी मर्न पाऊँ भनी इच्छा व्यक्त गरे,’ नर शमशेर भन्छन्, ‘त्यसै बमोजिम दुवै जनालाई त्यही शोभा भगवतीस्थान लगियो।’
मृत्युदण्ड दिन शोभा भगवती पुगेको नर शमशेरको टोलीमा हजुरिया लप्टन वेदबहादुर सिलवाल पनि थिए। डा. गौतमलाई सिलवालले बताएअनुसार शोभा भगवती पुगेपछि नर शमशेरले गंगालालको अन्तिम इच्छा सोधेका थिए।
खासमा नर शमशेर गंगालालले माफी मागून् भन्ने चाहन्थे। भर्खरको युवा र श्रीमती सुत्केरी भएकाले ‘माफी मागेमा मृत्युदण्डको सजाय नदिनू’ भन्ने श्री ३ जुद्धको पनि आदेश थियो।
नर शमशेरले अन्तिम इच्छा सोधेपछि गंगालालले नुहाएर केही पाठ गर्ने इच्छा रहेको बताए। नर शमशेरले अनुमति दिए। दशरथ चन्दलाई गोली हानेपछि गंगालाल तर्सेलान् र माफी माग्लान् भन्ने नर शमशेरको अनुमान थियो।
गंगालाल नुहाउन नदीतिर लागेपछि नर शमशेरले दशरथ चन्दको अन्तिम इच्छा सोधेका थिए।
शोभा भगवतीमा शिल्पी थिएटरले गरेको नाटक, गंगालाल (बायाँ) र दशरथलाई अन्तिम इच्छा सोध्दै नर शमशेर (बीचमा), २२ माघ २०७७ मा (सीताराम बराल)
‘मेरो इच्छा राणा शासन अन्त्य गर्ने हो,’ आफ्नो अन्तिम इच्छा सुनाएपछि दशरथ चन्दले नर शमशेरसँग प्रश्न पनि गरे, ‘मेरो यो इच्छा तैँले पुर्याउन सक्छस्?’
नर शमशेर रिसाए। गोली हानी मार्ने क्रममा बाँध्नका लागि त्यहाँ बाँस गाडिएको थियो। रिसाएका नर शमशेरले चन्दलाई त्यही बाँसमा बाँध्ने आदेश दिए।
नुहाउन गएका गंगालालले दशरथ चन्दलाई बाँध्न लागेको देखे। दशरथ चन्दलाई बाँध्न लागेको देखेपछि गंगालाल ननुहाइकनै फर्के। नर शमशेरले उनलाई पनि बाँध्ने आदेश दिए।
बाँधेपछि नर शमशेरले गंगालाललाई भने, ‘माफी माग्ने समय अझै बाँकी छ। माफी मागिस् भने बच्न सक्छस्।’
‘मैले माफी माग्ने के काम गरेको छु र? फेरि तँ जस्तो कसाइसँग किन माफी माग्ने?’ गंगालालले जवाफ दिए, ‘बरु तिमीहरुले गरेको अत्याचारका लागि हामीसित माफी माग।’
सिलवालका भनाइमा त्यसपछि दशरथ चन्द र गंगालालका बीचमा को पहिले मर्ने भन्ने विषयमा कुराकानी भएको थियो।
‘राणा सरकारले दशरथ चन्दलाई पहिले गोली हानी मार्ने र गंगालाललाई माफी मगाउने भित्री योजना बनाएको थियो,’ सिलवाल भन्छन्, ‘यो कुरा दुवैले थाहा पाएका थिए। गंगालाल कलिलो उमेरको भएकाले त्यहाँ घट्ने दृश्य देख्न नसकेर माफी माग्लान् भनेर उनले पहिले गंगालालमाथि गोली चलाउन भने।’
गंगालालले दशरथलाई भरोसा दिलाए, ‘दाइ, म तपाईंको मनको कुरा बुझ्दछु। तपाईं ढुक्क हुनुहोस्। म माफी कहिल्यै माग्दिनँ।’
पटक–पटक गोली हानेर तड्पाई–तड्पाई दशरथ चन्दको हत्या भयो। चन्द तड्पिएको दृश्य गंगालालले आफ्नै आँखाले देखे। त्यस्तो दृश्य देख्दा पनि उनले माफी मागेनन्।
दशरथ चन्दलाई दिएको ‘माफी नमाग्ने’ अन्तिम बचन पुरा गरेर गंगालालले पनि सहादत प्राप्त गरे।
अन्तिम क्षण
गोली हानेर सँगै मृत्युदण्ड दिने तय भएपछि त्यसको तयारीस्वरुप केही दिन अघिदेखि दुईजना पोडेहरुलाई तालिम गराइएको थियो। दुई पोडेमध्ये एक शुक्रराज शास्त्री र धर्मभक्त माथेमालाई झुण्ड्याउने कार्यमा संलग्न पोडे पनि थिए। अर्का पोडे भने नयाँ थिए।
नर शमशेरका भनाइमा, सिठ्ठी बजाएर गोली हान्ने आदेश दिन ‘प्राणराजा’ भन्ने एकजना ठकुरी सैनिक अधिकृतलाई खटाइएको थियो।
‘प्राणराजाले सिठी बजाई इसारा दिने, इसारा पाउनासाथ दुवै पोडेले एकैसाथ दशरथ चन्द र गंगालालको छातीमै जोडी ट्रिगर तान्ने व्यवस्था मिलाएका थियौँ,’ नर शमशेर भन्छन्, ‘तर, दुर्भाग्यवश दशरथ चन्दलाई बन्दुक तेर्स्याई ट्रिगर तान्ने पोडे पुरानु अनुभवी र शुक्रराज शास्त्री–धर्मभक्त माथेमा दुवैलाई झुण्ड्याई सकेर अनुभव पाएको व्यक्ति हुँदा उसले इसारा पाउनासाथ बन्दुक पड्काई दशरथ चन्दलाई मारिदियो।’
गंगालाललाई बन्दुक तेर्स्याइरहेको दोस्रो पोडे सिकारु र अनुभवहीन हुनाले ट्रिगर तान्नुको साटो बन्दुक फालेर भागेकाले पहिलो पोडेलाई मनाएर गोली हान्न लगाएको र पहिलो पोडेले हानेको गोलीले गंगालालको मृत्यु भएको दाबी उनले गरेका छन्।
तर, घटनास्थलमा रहेका लप्टन सिलवालले भने गंगालालमाथि दागिएका सबै गोली नर मशेरको हातको पिस्तोलबाट छुटेको दाबी गरेका छन्।
सिलवाल भन्छन्, ‘गंगालाललाई तर्साउन पहिलो पोडेलाई दशरथ चन्दको घुँडामा गोली हान्न लगाइएको थियो। आदेश बमोजिम उसले नजिकै गएर गोली हान्यो। तर, घुँडामुनि हानिएको गोलीले दशरथ चन्दलाई कुनै असर गरेन।’
त्यसपछि त्यही पोडेलाई दोस्रो गोली दशरथ चन्दको तिघ्रामा हान्न लगाइयो। आदेश बमोजिम उसले नजिकै गई गोली हान्यो। त्यसपछि दशरथ चन्द छटपटाउन थालेका थिए।
सिलवालका भनाइमा, त्यसपछि गंगालाल रिसाए। र, भने, ‘सक्छस् भने तेरो बाउलाई एक गोली हानेर मार!’
गंगालालको चुनौतीपछि नर शमशेर गंगालालमाथि जाइलागे। उनले गंगालालको घुँडामा पहिलो गोली हाने। गंगालालले नर शमशेरलाई गाली गरिरहे।
गंगालालको सामुन्ने बाँधिएका घाइते दशरथ छटपटाइरहेका थिए। पोडेले चन्दको कोखामा तेस्रो पटक गोली हाने। उनी झन् छटपटाउन थाले।
‘यी सबै दृश्य देखाएर नर शमशेर गंगालाललाई माफी मगाउन चाहन्थे,’ सिलवाल भन्छन्, ‘तर्सिनुको साटो गंगालाल झन् उत्तेजित र जोसिलो बने।’
उत्तेजित गंगालालमाथि नर शमशेरले दोस्रो गोली दागे। दोस्रो गोली तिघ्राभन्दा अलिमुनि हानिएको थियो।
‘एकातिर दशरथ चन्द छटपटाइरहेका थिए, अर्काेतिर गंगालालले नर शमशेरलाई गाली गरिरहेका थिए,’ सिलवाल भन्छन्, ‘नर शमशेरको आदेशपछि पोडे (पहिलो) ले चौथो गोली दशरथ चन्दको छातीमा हान्यो।’
चौथो गोलीबाट चन्दको निधन भयो।
नर शमशेरका अनुसार, दोस्रो पोडे अनुभवी नहुँदा उनले गंगालाललाई गोली हान्न नमानेका हुन्। त्यहीकारण पहिलो पोडेलाई नै गंगालालमाथि गोली हान्न लगाउनु पर्यो।
तर, गंगालालमाथि गोली चलाउन पहिलो पोडे पनि तयार भएनन्। गंगालालमाथि पनि गोली हान्न तयार पार्न उनलाई रक्सी समेत खुवाउनु परेको नर शमशेरले बताएका छन्।
दशरथ चन्दले सहादत प्राप्त गरिसकेका थिए, दुई गोलीले घाइते बनेका गंगालाल छटपटाउँदै नर शमशेरलाई गाली गरिरहेका थिए। आफूलाई गाली गरिरहेका गंगालालको तिघ्रामा नर शमशेरले नै तेस्रो गोली दागे।
‘त्यो सबै दृश्य दोस्रो पोडेले हेरिरहेको थियो, नर शमशेरले दोस्रो पोडेलाई बोलाई गंगालाललाई गोली हान्ने आदेश दिए,’ सिलवाल भन्छन्, ‘तर उसले फेरि पनि गोली हान्न अस्वीकार गर्यो। ऊ रुन थाल्यो। पोडेलाई नर शमशेरले नै फकाए। तैपनि ऊ गोली हान्न तयार भएन।’
यसपछि नर शमशेरले फेरि पहिलो पोडेलाई गंगालालमाथि गोली चलाउन आदेश दिए। उनले पनि गंगालालमाथि गोली चलाउन अस्वीकार गरे। उनले टाढाबाट हानेको गोली अचुक नहुने र नजिक गएर गोली हान्नसक्ने अवस्थामा आफू नरहेको जवाफ फर्काए।
खासमा गंगालालको अवस्था देखेर पहिलो पोडे काँपिरहेको नजिकै रहेका सिलवालले देखेका थिए। डरले काँपिरहेको पोडेलाई नर शमशेरले अंगालो हाली फकाउन थाले। उसलाई अँगालो हाल्दै गोली हान्न मद्दत गरेजस्तो गरे।
‘उनले मद्दत दिँदादिँदै पिस्तोलबाट दुईटा गोली छुटे,’ सिलवाल थप्छन्, ‘दुईमध्ये एउटा गोली गंगालालको पेटमा र अर्काे गोली कोखामा लागेको थियो।’
गंगालालको मृत्युबारे नर शमशेरले भनेका छन्, ‘अर्काे बोतल रक्सी पिलाएर अँगालो हाल्दै कराइरहेको गंगालालतर्फ पहिलो पोडेलाई लगी गंगालालको छातीमा बन्दुक तेर्स्याई ‘ट्रिगर तान्दे’ भन्ने आदेश दिएपछि हात कमाउँदै बल्लबल्ल ट्रिगर दबायो। त्यसपछि गंगालाल पनि धरासायी भयो। त्यसले ट्रिगर नतानेको भए आफैँ ट्रिगर तान्नुपर्ने अवस्थामा म पुगेको थिएँ।’
पहिलो पोडेको गोलीबाट गंगालालको मृत्यु भएको दाबी नर शमशेरले गरे पनि सिलवालले भने गंगालालमाथिको अन्तिम गोली पनि नर शमशेरले नै चलाएको दाबी गरेका छन्।
‘त्यो (पहिलो) पोडेलाई हिम्मत बढाउने निहुँमा अँगालोमा हाली पिस्तोल समाउन मद्दत गरेको भने पनि पिस्तोलको ट्रिगर दबाएर नर शमशेरले नै अन्तिम गोली चलाएका हुन्,’ सिलवाल भन्छन्, ‘उक्त गोली ठीक ठाउँमा लाग्न गयो। खासमा पोडेको नाममा नर शमशेरले नै गंगालाललाई सहिद बनाएका हुन्।’
सहादतस्थल शोभा भगवतीमा स्थापना गरिएका सहिदद्वय दशरथ र गंगालालका सालिक (सीताराम बराल)
सहिद शुक्रराज शास्त्री र धर्मभक्त माथेमाको झैँ सहिदद्वय दशरथ चन्द र गंगालाल श्रेष्ठको शव पनि प्रदर्शनका लागि भोलिपल्ट (१६ माघ) दिनभर घटनास्थलमै राखियो। दुवैको अन्त्येष्टि १६ माघको साँझमा गरिएको थियो।
गंगालालका फुपूका छोरा चन्द्रमान श्रेष्ठले पनि बिहानै सहिदद्वयको शव देखेका थिए।
‘दुवै सहिदको शरीरमुनि जमिनमा रगतै–रगत थियो, गोली लागेर छटपटाएकाले गंगालालको देब्रे खुट्टामुनि बालुवामा चन्द्रमाको आकार बनेको थियो,’ चन्द्रमान भन्छन्, ‘घुँडादेखि कोखासम्म पाँच ठाउँमा गोलीका दाग थिए, सुरुवाल पनि रगतले लथ्रक्कै भिजेको थियो।’
गंगालालका दुवै आँखा बन्द थिए।
सायद पटक–पटक गोली हानी तड्पाई–तड्पाई दशरथ चन्दको हत्या गरिएको दृश्य हेर्न नसकेर उनले दुवै आँखा चिम्लेका थिए।
गंगालालको विपरीत दशरथ चन्दको आँखा भने पुरै खुलेको थियो। मानौँ, आँखा खुल्ला राखेर उनले आफ्नो प्रिय भाइ गंगालालले माफी नमागी सहादत प्राप्त गरेको गर्वका साथ हेरिरहेका थिए।
सहादतका बेला दशरथ चन्दले कोइली रंगको चारखाने सुरुवाल लगाएका थिए। कलसोयौँको कमिजमाथि कालो कस्मिराको इस्टकोट थियो। इस्टकोटका माथिल्ला दुई खल्तीमध्ये एउटामा सेतो रुमाल पनि देखिएको थियो, अर्काेमा फाउन्टेनपेन। चस्मा इस्टकोटको तल्लो खल्तीमा थियो।
लोकतन्त्र र स्वतन्त्रताका लागि सहादतका थुप्रै घटना नेपालको इतिहासमा पढ्न पाइन्छ। तर, दुई सहिदबीच यति गहिरो मित्रता–प्रेम, त्यस्तो क्रुरताका बीच यति गर्विलो सहादतको इतिहास पाउन भने मुस्किलै पर्छ।
सहिदको कथा :
१. तेस्रो पटक झुण्ड्याइनुअघि धर्मभक्तले नर शमशेरलाई लात हानेका थिए
२. माघ ११ : त्यो दिनभर शुक्रराजको शव खरीको रुखमा झुण्डिइरह्यो
प्रतिक्रिया