ad ad

म्यागेजिन


तेस्रो पटक झुण्ड्याइनुअघि धर्मभक्तले नर शमशेरलाई लात हानेका थिए

तेस्रो पटक झुण्ड्याइनुअघि धर्मभक्तले नर शमशेरलाई लात हानेका थिए

श्रीमती उत्तरादेवी र छोरी रेणुका साथ धर्मभक्त माथेमा


सीताराम बराल
माघ १४, २०७८ शुक्रबार १२:५६, काठमाडौँ

शुक्रराज शास्त्रीलाई झुण्ड्याएर मृत्युदण्ड दिइएको तेस्रो दिन, १३ माघ (१९९७) मा राणा–प्रशासनले डिल्लीबजार–ज्ञानेश्वर क्षेत्रमा साँझदेखि ‘कर्फ्यु’ लगायो। डिल्लीबजार–ज्ञानेश्वर हुँदै पशुपति जाने बाटोमा पर्ने सम्पूर्ण पसलहरु सम्साँझै बन्द गर्न लगाइयो।

शास्त्रीसँगै नेपाल प्रजा परिषदका तीन कार्यकर्तालाई मृत्युदण्डको सजाय सुनाइएको थियो। आर्यसमाजी शुक्रराज शास्त्रीलाई दिइएको फाँसीका कारण काठमाडौँवासीहरु त्रासमा थिए। यस्तो बेला डिल्लीबजार–ज्ञानेश्वर क्षेत्रमा किन कर्फ्यु लगाइएको हो, स्थानीयवासीले अनुमान गर्न सकेनन्।

कर्फ्युको कारण भोलिपल्ट बिहान मात्र खुल्यो। 

६ माघ (१९९७) को भारदारीसभामा मृत्युदण्डको सजाय सुनाइएका प्रजा परिषदका तीन कार्यकर्तामध्ये एक धर्मभक्त माथेमालाई मृत्युदण्डका लागि सिफल लैजाँदा स्थानीवासीले नदेखुन् भनेर बाटोमा पर्ने क्षेत्रका पसल बन्द गराइएको रहेछ।

शुक्रराज शास्त्री (१० माघ) दशरथ चन्द र गंगालाल श्रेष्ठ (१५ माघ) जस्तै धर्मभक्तलाई पनि फाँसीको सजाय दिने जिम्मेवारी श्री ३ जुद्धका मनपरेका नाति नर शमशेरलाई दिइएको थियो। तिनै नर शमशेरले धर्मभक्तलाई अत्यन्त अमानवीय ढंगले मृत्युदण्ड दिएका थिए। 

खासमा राजा त्रिभुवन र प्रजा परिषदबीच सम्बन्धको सेतु धर्मभक्त नै थिए। १९९३ मा नेपाल प्रजा परिषदको स्थापना उनकै बासस्थानमा भएको थियो। जोखिम मोलेर प्रजातन्त्रका लागि योगदान दिएका उनी सबैभन्दा क्रुर ढंगले मारिए। 

दुर्भाग्य, यस्ता योद्धामाथि हचुवाको भरमा मृत्युदण्डका बेला जीवनको भीख मागेको आरोप लाग्यो। 

मृत्युदण्डअघि इन्जेक्सन 
धर्मभक्तका बाजे भागवत माथेमा वीर शमशेरका पालामा काजी भए पनि श्री ३ वीरको निधनपछि माथेमा परिवार राणा शासनको कोपभाजनमा पर्यो। त्यसैले, श्री ३ चन्द्रको पालामा धर्मभक्तका पिता आदिभक्त सपरिवार कलकत्ता गए र बन्द–व्यापार सुरु गरे। धर्मभक्तको बाल्य–किशोरकाल कलकत्तामै बित्यो। 

कलकत्तामा पहलमानीमा नाम कमाएका धर्मभक्त पछि राजा त्रिभुवनलाई कुस्ती सिकाउन काठमाडौँ झिकाइए।​

साथीहरुका साथ धर्मभक्त कलकत्तामा (कमलरत्न तुलाधर)

६ माघको भारदारी सभामा जब चार जनालाई मृत्युदण्डको सजाय सुनाइयो, मृत्युदण्ड दिनुअघि चारै जनाका परिवारलाई सुन्धारास्थित केन्द्रीय कारागार पुगेर अन्तिम भेटको अवसर दिइएको थियो। तर, धर्मभक्तका पारिवारका सदस्यहरु कलकत्तामा रहेकाले धर्मभक्तकी बहिनी (फूपुकी छोरी) सूर्यलक्ष्मी मात्र धर्मभक्तलाई भेट्न केन्द्रीय कारागार पुगिन्।  

तिनै सूर्यलक्ष्मीसँग इतिहासकार डा. राजेश गौतमले ‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजा परिषदको भूमिका (भाग १)’ तयार पार्ने क्रममा १ माघ २०३९ मा कुराकानी गरेका थिए। त्यो कुराकानीमा सूर्यलक्ष्मीले डा. गौतमलाई १२ माघ (१९९७) मा दाजु धर्मभक्तसँग भएको कुराकानीको विवरण दिइन्। 

त्यसक्रममा उनले ‘मृत्युदण्ड दिनुअघि धर्मभक्तलाई कमजोर बनाउन इन्जेक्सन दिइएको’ उल्लेख गरेकी थिइन्। 

‘भेटको क्रम सकिएर जान लाग्दा उनले सिपाहीहरुका अगाडि नै ‘म यस ज्यानको बदला लिन्छु’ भनेर कराए,’ सूर्यलक्ष्मीले भनेकी छन्, ‘जाँदाजाँदै उनने आफूलाई शारीरिक रुपले कमजोर बनाउन बलजफ्ती इन्जेक्सन दिइरहेको कुरा पनि बताएका थिए।’ 

१९९७ को पर्वमा आजीवन कारावासको सजाय पाएका नेपाल प्रजा परिषदका कार्यकर्ता हरिकृष्ण श्रेष्ठले पनि मृत्युदण्डको सजाय दिइनुअघि धर्मभक्त शारीरिक र मानसिक दुवै किसिमले कमजोर हुँदै गएको उल्लेख गरेका छन्। इतिहासकार भवेश्वर पंगेनीसँगको कुराकानीमा उनले भनेका छन्, ‘(मृत्युदण्डको सजाय दिने बेला) धर्मभक्त माथेमाको उत्साह र हिम्मतमा अत्यन्त शिथिलता आइसकेको थियो। उनको जिउ सुक्दै गएको थियो।’     

मृत्युदण्डको फैसला कार्यान्वयन गर्ने दिन १३ माघको राति धर्मभक्तलाई लरीमा चढाएर सिफल पुर्याइएको थियो। सिफल पुर्याइँदा धर्मभक्त अर्धचेत अवस्थामा रहेको कुरा वि.सं. २०५८ मा प्रकाशित आत्मकथामा नर शमशेरले उल्लेख गरेका छन्।​

सिफलस्थित सहिद धर्मभक्तको सहादतस्थलमा उनका सन्तति  त्रिविका पूर्व उपकुलपति केदारभक्त माथेमा, १६ माघ २०७७ (सीताराम बराल)   

‘त्यसदिन अफिम खाएर हो वा के भएर हो, धर्मभक्त अलि अर्धचेतजस्ता भइसकेका थिए, लरीमा चढाउँदा समेत उनको अर्धचेत पहलमानी शरीरलाई ७–८ जना सिपाहीले बोकेरै उचाल्नु परेको थियो,’ नर शमशेरले भनेका छन्, ‘लरीबाट ओराल्दा पनि सबै सिपाही मिली उनको अर्धचेतन शरीरलाई थामी ओराल्नु परेको थियो।’ 

धर्मभक्त शारीरिकरुपले बलिष्ट मात्र थिएनन्, व्यावसायिक पहलमान पनि थिए। कलकत्तामै रहँदा पहलमानी सिकेका उनी त्यहाँ भएको एउटा प्रतिस्पर्धामा ‘बंगाल च्याम्पियन’ समेत घोषित भएका थिए। 

त्यसैले उनको परिवार चन्द्र शमशेरको पालामा शासनबाट कोपभाजनमा परे पनि भीम शमशेरको पालामा राजा त्रिभुवनलाई पहलमानी सिकाउन राणाहरुले काठमाडौँ झिकाएका थिए। 

राणाकालको मध्यताकासम्म ज्यानको सजाय पाएकाहरुलाई काठमाडौँका विभिन्न धार्मिक स्थानमा काटेर ज्यान सजाय दिने गरिन्थ्यो। राणाकालको अन्तिम समयदेखि भने झुण्ड्याएर ज्यान हरण गर्न थालियो।  

धर्मभक्त पहलमान भएकाले मृत्युदण्डको सजाय सुनाइएपछि वा मृत्युदण्ड दिने बेला प्रतिरोध गर्लान् भन्ने ठानेर होला, उनलाई शारीरिकरुपमा कमजोर बनाउन थालिएको थियो। सायद त्यही इन्जेक्सनका कारण उनी अर्धचेत अवस्थामा पुगेका हुन् कि?  

मृत्युअघि नर शमशेरसँगको घम्साघम्सी  
अन्य तीन सहिदहरुलाई झैँ धर्मभक्तलाई पनि मृत्युदण्ड दिने जिम्मेवारी नर शमशेरले पाएका थिए। तर, तिनै नर शमशेरले धर्मभक्तबाट पहलमानीसम्बन्धी शिक्षा प्राप्त गरेका थिए। अर्थात्, नेपालका नामुद पहलमान मानिने नर शमशेरका गुरु सहिद धर्मभक्त थिए।  

नर शमशेरका अनुसार राजा त्रिभुवनलाई व्यायाम सिकाउन धर्मभक्तलाई उनले कलकत्ताबाट काठमाडौँ ल्याएका थिए।

धर्मभक्त माथेमा

खासमा चन्द्र शमशेरको पालामा प्रवासिनु परे पनि धर्मभक्तका बाबु आदिभक्तको जुद्ध शमशेर र उनका छोरा बहादुर शमशेर (नर शमशेरका बाबु) सँग सुमधुर सम्बन्ध थियो। आफ्नी आमाको उपचारको क्रममा नर शमशेर पनि कलकत्ता गइरहन्थे। पहलमानीका सौखिन भएकाले नर शमशेर कलकत्तास्थित धर्मभक्तको घरमा गइरहन्थे। 

‘वि.सं. १९८८ तिर श्री ५ त्रिभुवनले मलाई ‘बडी बिल्डिङ’ गर्न सिकाउने राम्रो प्रशिक्षक चाहिएको छ, तिमी कलकत्तातिर जाँदा त्यस्तो कोही मान्छे फेला पारेमा काठमाडौँ ल्याइदेऊ हुकुम भएको थियोे,’ नर शमशेरले भनेका छन्, ‘धर्मभक्तसँग कुरा गरी उसलाई फकाएर नारायणहिटी दरबार लगी श्री ५ त्रिभुवनकहाँ खरदारी दर्जा दिलाई काममा लगाइदिएको थिएँ।’ 

धर्मभक्तलाई कसरी मृत्युदण्ड दिइएको थियो, आत्मकथामा नर शमशेरले विस्तृतमा चर्चा गरेका छैनन्।  

नर शमशेरका भनाइमा धर्मभक्तलाई झुण्ड्याउन हाँगामा डोरी तयार पार्न २ जना पोडे खटिएका थिए। उनीहरुले तयार पारेको डोरीमा धर्मभक्तलाई पासो हाल्न पनि सिपाहीहरु प्रयोग भए।

उनी भन्छन्, ‘पहिलोचोटि धर्मभक्त उभिएको त्रिपाइ उसको खुट्टा मुनिबाट पोडेले तान्दा तान्दा हाँगा काँचो, लचिलो भइदिँदा उसको खुट्टाले भुइँ छोयो र मृत्यु हुनुको सट्टा डोरीको पासोले घाँटी कप्ल्याक–क्याप्लाक मात्र भयो।’ 

‘त्यसपछि तुरुन्त डोरी फुकाई पछि फेरि अर्काे हाँगामा बाँधी उसलाई झुण्ड्याइयो, त्यो हाँगो चाहिँ सुकेर खोक्रो भइसकेको कारण ठनक्कै भाँचिई धर्मभक्तको शरीर भुइँमा थचारियो,’ उनी थप भन्छन्, ‘त्यसपछि पुनः तेस्रो पटक अर्काे दह्रो हाँगा छानी त्यसमा डोरी बाँध्न लगाई झुण्ड्याउँदा बल्ल उसको प्राण गयो।’ 

मृत्युदण्डको तयारीका लागि राणा प्रशासनले किटनी (गोदावरी, ललितपुर) निवासी कृष्णबहादुर थापा नामका सैनिक लप्टनलाई खटाएको थियो। धर्मभक्तलाई दिइएको मृत्युदण्डका सम्बन्धमा इतिहासकार डा. गौतमले लप्टन थापासँग पनि ६ माघ २०३९ मा कुराकानी गरेका थिए। 

डा. गौतमसँगको कुराकानीमा लप्टन थापाले बताएअनुसार लरीमा राखी दुई जना पोडेका साथ सिफल पुर्याइँदा धर्मभक्तको हात पछाडि लगी बाँधिएको थियो, आँखामा पट्टी लगाइएको थियो। 

मृत्युदण्ड दिन लागिएको व्यक्तिसँग अन्तिम इच्छा सोध्ने प्रचलन अनुसार नर शमशेरले पनि धर्मभक्तको अन्तिम इच्छा सोधे। धर्मभक्तले जवाफ दिए, ‘राणा शासन छिट्टै अन्त्य भएको हेर्न मन छ।’ 

त्यसपछि फाँसी चढाउन तयार गरिएको रुखको दक्षिणतर्फको हाँगोमुनि रहेको पर्खालमा धर्मभक्तलाई उभ्याइयो र उनले टेकेको पर्खाल भत्काइयो। 

तर, पर्खाल भत्काएपछि धर्मभक्तको शरीरको भारका कारण उनलाई झुण्ड्याइएको रुखको हाँगो लच्किन पुग्यो, धर्मभक्तले जमिन टेक्न पुगे। 

फाँसीको पहिलो प्रयास असफल भएपछि तत्कालै त्यही रुखको दक्षिणतर्फ नै फर्केको मोटो हाँगोमा फाँसीको फन्दा तयार पारियो। धर्मभक्तलाई त्यो फन्दामा लट्काइयो र गाह्रो भत्काइयो।

तर, यसपटक भने डोरी नै छिन्यो। धर्मभक्तको ज्यान लिने दोस्रो प्रयास पनि सफल भएन।  

लप्टन थापा भन्छन्, ‘धर्मभक्तको घाँटीमा कसिएको डोरी फुकाल्न लाग्दा चाँडो फुकाल्न सकिएन। नर शमशेरले छिटो गर, छिटो गर भन्दै आफैँले चक्कु लिई फाँसीको डोरी काटे र फेरि तेस्रो पटक उनलाई झुण्ड्याउन तयार गर्ने आदेश दिए।’

पटक–पटक झुण्ड्याउने प्रयासपछि धर्मभक्त पूर्णरुपमा होसमा आइसकेका थिए। अब उनले प्रतिरोध सुरु गरे। 

लप्टन थापाका भनाइमा धर्मभक्तले नर शमशेरसँग भनेका थिए, ‘म हजुरको गुरु हुँ। दुई पटकसम्म फाँसीबाट बाँचिसकेँ। यस्तो अवस्थामा फेरि फाँसी दिनु न्यायसंगत होइन।’ 

खासमा आफूलाई कुस्ती सिकाउने गुरु भएकाले धर्मभक्त पक्राउ पर्नुअघि नर शमशेर उनीप्रति सहानुभूतिशील थिए। त्यसैले, पक्राउ पर्नुअघि आफूले अप्रत्यक्ष तवरमा धर्मभक्तलाई कलकत्ता फर्कन भनेको दाबी नर शमशेरले गरेका छन्। तर, धर्मभक्तले नर शमशेरको संकेत बुझ्न सकेनन्। त्यसको केही दिनपछि नै उनी पक्राउ परे।

भाइ ध्रुवभक्त (बायाँ) र रामभक्त (दायाँ) का साथ धर्मभक्त

बयानका क्रममा धर्मभक्तले भनिदिए, ‘नर शमशेर जर्साबले कलकत्ता पठाएर मलाई बचाउन खोज्नु भएको हो। तर, मैले नै कुरा नबुझेकाले गर्दा जान सकिनँ।’

श्री ३ जुद्धको शासनकाल थियो, नर शमशेर उनकै नाति थिए। त्यसैले, अनजानमै धर्मभक्तले त्यस्तो बयान दिए पनि नर शमशेर बचे।  

फाँसीको प्रयास दुईपटक असफल भएपछि जब धर्मभक्तले तेस्रो प्रयासको विरोध गरे, नर शमशेरको जवाफ थियो, ‘तँलाई के को न्याय, झण्डै मलाई समेत मुछेको थिइस्।’

यति भन्दै नर शमशेरले साथमा रहेको चक्कुले धर्मभक्तको गालामा प्रहार गरे। त्यसपछि धर्मभक्त पनि जाइलागे।  

‘नर शमशेरले हातमा लिएको चक्कुले धर्मभक्तको गालादेखि चिउँडोसम्म काटिदिए’, इतिहासकार डा. गौतमसँग लप्टन थापाले भनेका छन्, ‘त्यसपछि धर्मभक्त ज्यादै रिसाए, नर शमशेरलाई एक लात हाने। नर शमशेर सम्हालिन सकेनन् र ५–६ हात पर हुत्तिँदै गएर लडे।’

थापाका भनाइमा त्यसपछि नर शमशेरको आदेशमा १०–१५ जना सैनिकहरु धर्मभक्तमाथि जाइलागे। लगातारको कुटाइका कारण धर्मभक्त मुर्छा परे। 

‘त्यसपछि उक्त रुखको पश्चिमपट्टिको हाँगामा फेरि फाँसीको डोरी झुण्ड्याइयो’, थापा भन्छन्, ‘मुर्छा परेका धर्मभक्तलाई ८–९ जना सिपाहीहरुले समातेर उभ्याई फाँसीको डोरी घाँटीमा लगाई तेस्रो चोटि उनलाई झुण्ड्याइयो।’

१४ माघ (१९९७) का दिन सिफलको बाटो हुँदै पशुपति जाँदा सहिद धर्मभक्तको झुण्डिएको शव देख्नेमा साहित्यकार भीमनिधि तिवारी पनि थिए।

तिवारीले लेखेका छन्, ‘धर्मभक्तको घाँटी छड्के परेको थियो। आँखा चिम्लेका थिए। मुखबाट रगत आएको थियो। चिउँडोदेखि गालासम्म कटकटिएको रगतको एक धर्साे थियो। टाउकोमा माथितिर फर्काएको कपाल थियो। उनको गोडाको टुप्पाले भुइँ छुनै लागेको अवस्थामा थियो।’

सहादतमाथि व्यर्थको विवाद 
१९९७ को पर्वका पहिलो सहिद शुक्रराज शास्त्री शासकहरुसँग नझुकी कसरी फाँसीमा चढेका थिए, त्यसबारेमा यसअघि हामीले उल्लेख गरिसकेका छौँ। धर्मभक्त माथेमापछि फाँसी दिइएका दशरथ चन्द र गंगालाल श्रेष्ठ पनि उसैगरी शासकहरुलाई ललकार्दै सहादतको बलिवेदीमा होमिए। 

धर्मभक्तमाथि भने मृत्युदण्डका बेलासमेत शारीरिक अत्याचार भयो। त्यसैले, उनी भौतिक रुपमै नर शमशेरमाथि खनिए। मृत्युदण्डअघि अन्तिम इच्छा सोध्दा अरु सहिदहरु झैँ कत्ति नडराई ‘राणा शासनको अन्त्य भएको देख्न पाऊँ’ भन्दै साहस प्रदर्शन गरेका थिए। 

तर, चर्चित अनुवादक एवं प्रशासक दमनराज तुलाधरको आत्मकथा २०३९ मा प्रकाशित भएपछि धर्मभक्तजस्ता वीरको सहादत विवादमा पर्न गयो। आत्मकथामा तुलाधरले ‘धर्मभक्तलाई ज्यान सर्वश्व सुनाइएपछि उनले भुइँमा लडीबुडी खेल्दै ज्यान नजाओस् भन्दै रोएको’ उल्लेख गरेका छन्।

तुलाधरले लेखेका छन्, ‘त्यो (धर्मभक्त लडीबुडी गरेर रोएको) देखी जुद्ध शमशेरले ‘कसुर गर्ने तेरो हक, सजाय दिने हाम्रो अधिकार’ भनेका थिए।’ 

२०४६ को मदन पुरस्कार प्राप्त गर्न सफल डा. गौतमको ‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजा–परिषद्को भूमिका (भाग १) पुस्तकमा प्रकाशित धर्मभक्तकी बहिनी (फूपुकी छोरी) सूर्यलक्ष्मीको भनाइले पनि धर्मभक्तको बलिदानी भावमाथि शंका उत्पन्न गर्न भूमिका खेल्यो।  

त्यसमा उनले भनेकी छन्, ‘मैले (सूर्यलक्ष्मी) माफी माग्ने भए छुट्नेमा किन नमागेको भनी सोधेको थिएँ। उन (धर्मभक्त) ले ‘मैले माफी मागेँ तर दिएनन्, झन् बेस्सरी पिट्न थाले। त्यसैले मैले माफी मागिनँ भने।’   

नितान्त निजी (पारिवारिक र यौन) विषय समेत बिनाहिच्किचाहट इमान्दारीपूर्वक उल्लेख गरेकाले तुलाधरको आत्मकथाले निकै चर्चा पाएको थियो। त्यस्तो पुस्तकमा धर्मभक्तले माफी मागेको कुरा उल्लेख भएपछि धर्मभक्तको बलिदान भावमाथि शंका उत्पन्न हुनु स्वभाविकै थियो।

त्यसमाथि सूर्यलक्ष्मीले नै दाजु धर्मभक्तले अन्तिम कुराकानीमा ‘आफूले माफी मागे पनि राणाहरुले माफी नदिएको’ बताएपछि के चाहियो? 

तर, धर्मभक्तमाथि लागेको माफीको आरोपमा सत्यता नरहेको दाबी इतिहासकाहरुले गरेका छन्।   

२०७१ मा प्रकाशित ‘सन्दर्भ सहिद धर्मभक्तः चर्चा भाइ ध्रुवभक्त (२०७१)’ नामक पुस्तकमा इतिहासकार डा. भवेश्वर पंगेनीले तुलाधरको कथनप्रति प्रश्न उठाएका छन्। ‘पाल्पामा प्रजातान्त्रिक आन्दोलनका सय दिन–२००७’ पुस्तकमा मदन पुरस्कार प्राप्त गरेका इतिहासकार डा. पंगेनीले ‘के आई सिंह र नेपालको राजनीति (बिसं २००७–२०१७) र के आई सिंहको चीन प्रवास’ जस्ता चर्चित पुस्तक पनि लेखेका छन्।

‘यदि धर्मभक्त माथेमाले माफी मागेका थिए भने त्यो कुरा (तुलाधरले) किन तत्काल भनेनन्?’, डा. पंगेनीले प्रश्न गरेका छन्, ‘राणाकालमा भन्न नसकेका हुन् वि.सं. २००७ पछि त भन्न सक्थे। तर, २००७ पछि पनि किन भनेनन्? एकैचोटि ४२ वर्षपछि मात्र किन भने?’ 

खासमा १९९७ मा पक्राउ परे पनि चार जनालाई मृत्युदण्डको सजाय सुनाइएको त्यो चर्चित भारदारी सभामा तुलाधर उपस्थित थिएनन्। त्यो आत्मकथा हेर्दा देखिन्छ, सिंहदरबारबाहिर मृत्युदण्ड लगायतका कडा फैसला सुनाइँदै गर्दा तुलाधरलाई भने सिंहदरबारभित्र अन्य अधिकारीहरुले नरम ढंगले सोधपुछ गरी तत्काल तारेखमा छाडिदिएका थिए। त्यसैले, धर्मभक्तमाथि तुलाधरको आरोप नियोजित देखिन्छ। 

सूर्यलक्ष्मीको भनाइलाई आधार बनाउँदा पनि धर्मभक्तले माफी मागेर ज्यान जोगाउन खोजेका थिए भन्न नसकिने डा. पंगेनीको तर्क छ।

चेलाहरुका साथ पहलमान धर्मभक्त (सेतो कपडा लगाएका) स्रोत: फ्लिकर  

‘मागेको भए धर्मभक्तले पनि माफी पाउँथे भन्ने तिन (सूर्यलक्ष्मी) को मनको पूर्वअनुमान, स्त्रीहृदयको एउटा करुण उद्गार, अन्तिम निस्सहाय पुकार, नैराश्यतामा लिएको आशा मात्र थियो,’ डा. पंगेनी लेख्छन्, ‘धर्मभक्तले ‘मैले माफी मागेँ तर दिएनन्’ भनेकै भए पनि मर्नुअगाडि बहिनीको चित्त किन दुखाउने भनेर बहिनीको मन राख्नलाई मात्र भनेको प्रतीत हुन्छ।’ 

वि.सं १९९७ का जिउँदा सहिद रामहरि शर्मासँग डा. पंगेनीले धर्मभक्तकै विषयमा २०६२ साउनमा कुराकानी गरेका थिए। त्यो कुराकानीमा शर्माले पंगेनीलाई भनेका छन्, ‘जेलमा रहँदा सहिद दशरथ चन्द भन्ने गर्थे– राणाहरुले मेरो शिर काटे काटुन्। तर प्रेत भएर म सिंहदरबारका यी सबै राणालाई खानेछु। दशरथ चन्दले त्यसो भनेका बेला धर्मभक्त जवाफ दिन्थे, ‘म पनि तिमी भन्दा के कम? तिमी जे गर्छाै, म पनि त्यही गर्छु।’ 

मृत्युदण्ड अघिसम्म चार सहिदसँगै जेलमा रहेका ‘ज्यूँदा सहिद’ शर्माले यस्तो बलिदानीभावका धर्मभक्तले माफी मागेका थिए भन्ने आरोपमा सत्यता नरहेको उल्लेख गरेका छन्। 

ऐतिहासिक विषयवस्तुका सन्दर्भमा प्राप्त तथ्य, सम्बद्ध र प्रत्यक्षदर्शीहरुको भनाइ जस्ताको तस्तै राखिदिनु इतिहासकारहरुको कर्तव्य नै हो। माथेमाको सहादतअघि परिवारको तर्फबाट भेट्ने अन्तिम व्यक्ति सूर्यलक्ष्मीको भनाइ पुस्तकमा राखेर डा. गौतमले त्यही लेखकीय इमान्दारिता निर्वाह गरेका हुन्। 

तर, सूर्यलक्ष्मी (र तुलाधर) को भनाइका कारण धर्मभक्तबारे भ्रम उत्पन्न हुनसक्नेमा डा. गौतम पनि सतर्क छन्। त्यसैले, धर्मभक्तमाथिको माफीको आरोपलाई उनले त्यही पुस्तकमा केलाउने प्रयास गरेका छन्। 

‘प्रजा परिषद्का जीवित सदस्यहरुसँग सोध्दा कसैले पनि धर्मभक्तले माफी मागेको कुरा उनीहरुले बताएनन्,’ डा. गौतमले भनेका छन्, ‘यदि धर्मभक्तले पनि त्यो दिन माफी मागेको भए माफीको सट्टा आजन्म कारावासको सजाय पाउने सम्भावनालाई नकार्न सकिँदैन।’

डा. गौतमले भनेजस्तै माफी नमागेकैले उनलाई मृत्युदण्ड दिइयो। मृत्युदण्डको सजाय स्वीकार र राणा शासन अन्त्यका लागि प्रजा परिषदमा संलग्नता– उनको वीरताका परिचायक छँदै थिए। मृत्युअघि उनले वीरताको सूचीमा अर्काे एक उदाहरण पनि थपे। 

त्यो हो, आफूलगायत चार जना नेपाल आमाका सपुतहरुको हत्या गर्ने नर शमशेर जस्ता जल्लादलाई उनले दिएको लात।

सहिदको कथा–१ 
माघ ११ : त्यो दिनभर शुक्रराजको शव खरीको रुखमा झुण्डिइरह्यो

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .