म्यागेजिन


डिलाको मातृत्व अनुभव : पढ्दापढ्दै बिनायोजना आमा

डिलाको मातृत्व अनुभव : पढ्दापढ्दै बिनायोजना आमा

राधिका अधिकारी
असार २८ , काठमाडौँ

डिला संग्रौलाको घरमा १० जना केटाकेटी थिए। त्यो समय उनको परिवारमा मात्रै होइन, धेरैजसोका परिवारमा सन्तान संख्या धेरै हुन्थ्यो।

ठूलो परिवार, सीमित आयस्ता, छोराछोरीका असीमित आवश्यकता पुरा गर्नुपर्ने बाबुआमाको बाध्यता। यी सबै भोगेर, देखेर हुर्केका केटाकेटीले सानैदेखि समाज बुझ्थे र बुझ्थे आफ्नाहरुको महत्व। 

डिलाले पनि दुई छोरी हुर्काइन्। तर, उनी जसरी दाङको तेरौटेमा आमाबाबुको लाडप्यारमा हुर्किन पाइन्, उनका छोरीहरुले त्यो पाएनन्। छोरीहरुलाई समय दिन नपाएको सम्झिँदा डिलाको मन अहिले पनि गाँठो पर्छ।

डिलाका बाबुआमा दुवै शिक्षण पेसामा थिए। दुई दाइदिदीपछिकी डिलापछि पनि ७ भाइबहिनी। डिलाले कहिलेकाहीँ भाइबहिनीको अभिभावक पनि बन्नुपर्यो। घरको काममा सघाउँदै हुर्किएकी डिलालाई बुबाआमाले पढ्न प्रेरित गरिरहे।

उनले पढाइ सुरु गर्दा गाउँको स्कुलमा पर्याप्त कक्षाकोठा र डेस्कबेन्च थिएनन्। उनी घरबाटै चकटी बोकेर स्कुल जान्थिन्। घरबाट एक घण्टा हिँडेर स्कुल पुग्यो, आफ्नो कक्षाकोठा आफैँ सफा गर्यो, त्यसपछि घरबाट लगेको चकटी बिच्छ्याएर बस्यो, गुरुले भनेका कुरा बाँसको कलम मसीमा चोपेर लेख्यो। यसैगरी उनले यसैगरी पढाइ सुरु गरिन्।

‘त्यो समय शिक्षक र विद्यार्थीबीचको अपनत्व अर्कै थियो। विद्यार्थीले शिक्षकलाई गर्ने आदर नै अर्कै थियो,’ उनी सम्झिन्छिन्, ‘अहिले त शिक्षक र विद्यार्थीबीच सम्बन्ध नै छैन। आदर भन्ने कुरा हराएर गयो।’

अहिले आमा र बच्चाबीचको सम्बन्ध पनि पहिलाको जस्तो देखेकी छैनन् डिलाले। स्वावलम्बी बनेका आमाहरु साना छोराछोरी होस्टलमा राखेर काममा जान बाध्य छन्। त्यो बाध्यताले सन्तान र अभिभावकका बीच दुरी पैदा गरेको उनको अनुभव छ। उनी पनि आफ्ना कलिला छोरीहरु छाडेर कहिले पढ्न त कहिले राजनीतिक गतिविधिमा जान्थिन्। 

‘त्यो समय मेरा छोरीहरु अलपत्र हुन्थे। समयले फड्को मार्दै जाँदा अभिभावकको व्यस्तता पनि बढ्दै गएको छ,’ उनी भन्छिन्, ‘जसले आमाको वासल्यबाट बच्चाहरु टाढा भइरहेका छन्।’

सीएल पढ्दा विवाह
डिला एसएलसी सकेर सीएल पढ्न थालिन। त्यही समय उनको विवाहको कुरा चल्यो। त्यसबेला उनका उमेरका प्रायः साथीहरुले घर बसालिसकेका थिए। उनलाई पनि विवाहको दबाब बढ्न थाल्यो। छोरीको बिहेका लागि खानदानी परिवार हेर्ने चलन थियो। तर, डिलालाई लागेको थियो, ‘सम्पत्ति भएको मान्छेभन्दा पढेको मान्छे भयो भने मलाई थप पढ्न सजिलो हुन्छ।’ 

उनले दाजुका साथीसँगै विवाह गरिन्। दाङबाट विवाह गरेर मोरङ जाँदै गर्दा उनको सर्त थियो, ‘मैले पढ्न पाउनु पर्छ।’ जसमा उनका श्रीमान् पनि राजी भए।

त्यतिबेला दाङतिर छोरा र छोरीका काम भनेर छुट्याइथ्यो। मोरङमा थोरै अलग रहेछ, सकेको र भ्याएको काम सबैले बाँडेर गर्थे। जसले गर्दा पनि डिलालाई घर बाहिर निस्कन बल दियो। 

बिनायोजना आमा
विवाहपछि बुहारी, श्रीमतीबाट आमा बन्ने पनि हो भनेर डिलाले राम्रोसँग बुझेकै थिइनन्। अहिलेजस्तो बच्चाको योजना बनाउने, आफूले चाहेको समयमा बच्चा जन्माउने प्रचलन सुरु भएकै पनि थिएन। विवाहताका उनका श्रीमान् डोटीमा कलेज पढाउँथे, डिला दाङमा पढ्थिन्। सीएलको परीक्षा सकिएपछि उनका श्रीमानले भने, ‘म तिमीलाई मैले काम गर्ने ठाउँ देखाउँछु।’ उनी डोटी गइन्। त्यहीबेला उनी गर्भवती भइन्।

पढ्ने सपनामा ब्रेक लागेको अनुभव भयो उनलाई। उनी रोइन्। उनका श्रीमानले भने, ‘म तिमीलाई जसरी पनि पढाउँछु।’ उनी गर्भमा भ्रूण बोकेर दाङ फर्किन्।

डिला आफूलाई बच्चै सम्झिन्थिन्। तर, पेटमा बच्चा चलमलाउन थाल्दा उनलाई अनौठो लाग्थ्यो। उनी बच्चाको हलचलसँगै रुन्थिन्। उनको पेटमा बच्चा जति चलमलाउँथ्यो, उनलाई उति धेरै पढाइको माया लागेर आउँथ्यो। भावनात्मक रुपमा आएको यो परिवर्तन अरुलाई सुनाउनु पर्छ भन्ने पनि उनलाई थाहा भएन। उनी आफैँ रुन्थिन् र थामिन्थिन्। गर्भावस्थाका सुरुवाती दिनमा उनका श्रीमान् पनि साथमा थिएनन्।

तर, गर्भावस्थामा श्रीमतीसँगै हुनुपर्छ भन्ने चेत उनका श्रीमानलाई थियो। उनका श्रीमान् कलेज बिदा लिएर दाङ आए। श्रीमान् साथमा हुँदा पनि उनलाई आधा कमजोरी घटेको महसुस भयो। 

डिलाका श्रीमान् बिहानै उनलाई लिएर मर्निङवाकमा निस्कन्थे, के खान मन लागेको छ सोधिरहन्थे र सम्झाइ रहन्थे, ‘बच्चा हाम्रो भविष्य हो। यसले तिमीलाई अगाडि बढ्न कहीँ रोक्दैन, म तिम्रो साथमा छु।’ उनी वान्ता गरेर शिथिल भएको शरीरमा उर्जा भर्थिन् र मुर्साथिन् आफ्नो पेटमा चलिरहेको बच्चालाई।

ठमठम हिँड्दै जँचाउन क्लिनिक पुगेकी डिलाले प्रसव व्यथाको समय कयौँ पटक आफ्नै मृत्युको कामना गरिन्। तर उनका श्रीमान छेउमा बसेर सम्झाउँथे, ‘यो बेला सबैलाई यस्तै गाह्रो हुन्छ। यो दुखाइ क्षणिक हो। दुखाइपछिको अर्को जिन्दगी धेरै सुन्दर छ।’ अन्ततः उनले छोरी जन्माइन्। छोरीको जन्मसँगै उघारियो डिलाको नयाँ क्षितिज। त्यो क्षणको खुसी सम्झँदा अहिले पनि उज्यालो हुन्छ उनको अनुहार।

त्यसपछि धरान
छोरी जन्मिँदा डिलाको सीएलको नतिजा आइसकेको थियो। उनलाई डिप्लोमा भर्ना हुनु थियो। अब श्रीमानश्रीमती छट्टाछुट्टै बसेर सम्भव थिएन। उनका श्रीमानले सरुवा मागे। धरान बहुमुखी क्याम्पसमा उनको सरुवा भयो। डिला र उनका श्रीमान तीन महिनाकी छोरी सहित गाडीमा सामान बोकेर धरान पुगे।

धरान गएपछि व्यस्तता सुरु भयो। बच्चा हेर्न पनि श्रीमान् र श्रीमतीले पालो गर्नुपर्ने बाध्यता थियो। डिला बिहान क्याम्पस जान्थिन्। उनका श्रीमान् दिउँसो पढाउन जान्थे। एउटै कलेजमा फरकफरक समयको दैनिकी बनाएर दौडिरहेका डिला दम्पती एकैपटक साँझ भेटिन्थे।

उनलाई अर्को बच्चा पाउनुअघि त्रिभुवन विश्वविद्यालयबाट एमए गर्ने सपना थियो। तर, यसपटक पनि बाधा आइपर्यो। रेडियो टेलिभिजनमा बज्ने जन्मान्तरका विज्ञापन सुन्दा आफनो वरिपरि कोही छ कि भनेर पल्याकपुलुक हेर्ने समय थियो त्यो। डिला दम्पतीले जन्मान्तरका बारेमा राम्रो जानकारी लिएनन्। उनी दोस्रो पटक गर्भवती भइन्।

डिलाका श्रीमान पनि धरानबाट विराटनगर सरुवा भए। डिलाले नियमित कलेज गएर पढ्न पाइनन्। श्रीमानसँग गुनासो गरिन्। श्रीमानले भने, ‘कलेज जान नपाउँदैमा पढाइ रोकिँदैन। तिमी प्राइभेट भरेर पढ्न सक्छौ।’ डिलाले प्राइभेटबाट एमए पास गरिन्। त्यो दिन उनीभन्दा धेरै उनका श्रीमान् खुसी भएका थिए। 

आफन्तले त एउटी छोरी जन्मनासाथ छोरा कहिले, एउटा छोरा चाहिन्छ भन्न सुरु गरिसकेका थिए। पहिलो सन्तान छोरी भएकाले पनि दोस्रो सन्तान छोरा भए परिवार पूर्ण हुन्छ भन्ने डिलालाई पनि लागेकै हो। उनकी दोस्रो सन्तान पनि छोरी जन्मिइन्। मान्छेहरुले अझै छोरा चाहिन्छ भन्न छाडेका थिएनन्। वर्षौंसम्म समाज र आफन्तले प्रश्न गरिरहन्थे। तिनको कुरा उनलाई बिझाउँथ्यो। उनलाई लाग्थ्यो, ‘छोरी पनि कम छैनन् भन्ने हिसाबले सक्षम बनाउन सकौँ मेरा छोरीहरुलाई।’

आफैँ आमा नबन्दासम्म डिलाले पनि आफ्नी आमासँग खुब गुनासो गरिन्। युवा उमेरमा आमाले यो गर, त्यो नगर भनेका कुराले मनमा बिझाइरहन्थ्यो। आफैँ आमा बनेपछि भने उनलाई ती गुनासासँग हाँसो लाग्यो। आमाहरुले कति माया र करुणाले आफ्ना सन्तानलाई अर्ती दिइरहेका हुन्छन्, उनले बल्ल महसुस गरिन्।

कक्षाकोठामा चस्किरहन्थ्यो छाती
डिलाको पढ्ने उत्कट चाहानालाई केहीले पनि छेक्न सकेन। उनका श्रीमान् र परिवारले पनि उनका सपनालाई महत्वका साथ हेरिदिए। तर, सन्तान छोडेर हिँड्दा उनको पैताला गह्रौँ हुन्थे। दूधे छोरी घरमा रुन्थिन्। उनका श्रीमान बट्टाको दूध ख्वाएर छोरी फकाउँथे। मोरङ बहुमुखी क्याम्पसको कक्षाकोठामा डिलाका छाती चस्कन्थे। त्यो समय मनमा के के तर्कना आउँथ्यो डिला अहिले सम्झन चाहान्नन्। 

कक्षाकोठामा हुँदा पनि उनको मन घर पुगिरहन्थ्यो। कानमा शिक्षकको आवाज कम छोरीको रुवाइ बेसी गुञ्जिन्थ्यो। उनी मुख्यमुख्य विषयको कक्षा मात्र लिएर घर फर्किन्थिन्।

त्यसदिन दिउँसो डिलाको परीक्षा थियो। बिहानको परीक्षा सञ्चालन गर्न गएका उनका श्रीमान् घर फर्किन पाएनन्। दिउँसोको प्रश्नपत्र बिहानै बाहिरिएकाले कलेजले उनलाई घर फर्किन दिएन्। श्रीमान आएर पालो दिन्छन् अनि परीक्षा दिन जान्छु भनेर बसिरहेकी डिलाका आँखा भरिए। अब कसलाई बच्चा छोडेर परीक्षा दिन जानु? उनले त्यही घरमा बस्नेलाई छोरी छोडेर परीक्षा दिन गइन्। त्यतिबेला नमज्जाले रोएको थियो उनको मन। भन्छिन्, ‘जसरी पनि शिक्षा लिनु पर्छ भन्ने दृढता थियो।’

दुई सन्तान, डिलाको पढाइ, श्रीमानको एक्लो कमाइ, भनेजस्तो जीवन बाँच्न गाह्रो थियो। उनीहरुले छोरीहरुका कयौं रहरसँग सम्झौता गर्नु पर्यो। पढाइ, राजनीति र जागिरे जीवनको त्रिवेणी भएर बगेको जीवनमा डिलाले आफ्ना छोरीहरुलाई पर्याप्त समय दिन पाइनन्। गर्दै जाँदा राजनीति नसा बनिदियो उनका लागि। त्यसपछि ०४५ सालकी छोरी घरमा छोडेर ०४६ सालको परिवर्तनलगत्तै महिला संघको अध्यक्ष भएर हिँडिन उनी। 

त्यसयता उनले थुप्रै सफलता प्राप्त गरिन्। समयले उनलाई दिएको मात्रै छैन, थुप्रै कुरा गुमाउन पनि बाध्य बनाएको छ। त्यही छुटेको सबैभन्दा महत्वपूर्ण कुरा हो छोरीहरुको बाल्यकालमा गुमाएको सानिध्य। त्यसताका उनका छोरीहरु भन्थे, ‘सबै साथीका ममीले मिठो खानेकुरा बनाएर लिएर आउँछन्। हाम्रो ममी त राती मात्रै घर आउनुहुन्छ।’ 

डिलाका आफन्त छोरीहरुले भनेका कुरा जस्ताको तस्तै सुनाउँथे। डिलाको मन नमज्जाले दुख्थ्यो। दुखेपनि दुख्यो भनेर पछि हट्ने छुट थिएन उनलाई। डिला परिवार भनेर पछि हट्नका लागि उनले संघर्ष गरेकी थिइनन्। उनलाई त आफ्ना जस्तै देशका सबै छोरीहरुका लागि लड्नु थियो। उनी त यात्राको योद्धा थिइन। योद्धालाई हार्ने छुट थिएन। उनले पनि हारिनन्।

अहिले डिलाका दुवै छोरी हुर्किसके। दुवै देशबाहिर छन्। डिलालाई लाग्छ– छोरीहरु मसँगै भइदिएको भए! छोरीहरुको सम्झना आउँदा यी आँटिली राजनीतिकर्मीको मन कोमल बन्न पुग्छ। टिलपिल हुन्छन् उनका आँखा। गाला हुँदै पोखिन्छ छोरीप्रतिको स्नेह। फेरि पनि मन सम्हालेर यात्रामा निस्कनु छँदैछ। 

उनी आफैँलाई सम्झाउँछिन्, ‘हिजो मैले पढाइ र राजनीति भनेर उनीहरुलाई छोडेँ, अहिले उनीहरुले आफ्नो करिअर बनाउन मलाई छोडे। यो त जीवनको एउटा नियमित प्रक्रिया हो।’

आफ्ना छोरीहरु परदेशमा आफैँ आमा भए। आफ्नी छोरी आमा बन्दा डिला जान पाइनन्। छोरीले भिडिओ कल गर्दै सुनाउँछन् आफ्ना समस्या। डिलाको मन भारी भएर आउँछ। दौडिएर पुगुँ र अँगालो हालुँ छोरीलाई भन्छ डिलाको मनले। उनलाई बेलाबेला लाग्थ्यो, ‘राजनीति भनेर म अलि स्वार्थी पो भएँ कि!’ 

छोरीहरु नभएको घर रित्तो लाग्छ। डिलाको सपना घरबाहिर निस्किएर देश बनाउने छ। रित्तो घरबाट निस्किएर जनताको माझमा पुग्दा मनमा गुम्सिरहेको ममताको गाँठो आफैँ फुक्दै जान्छ र हलुका हुन्छ उनको मन। मन हलुका बनाएर बाँच्न सक्नु पनि ठूलो कुरा रहेछ। डिलालाई राजनीतिले त्यही कुरा दिएको छ।  

असार २८, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad