म्यागेजिन


पुष्पलाल-मनमोहन सम्बन्ध : एउटै पार्टी, एउटै ससुराली तर मेटिएन दुरी

पुष्पलाल-मनमोहन सम्बन्ध : एउटै पार्टी, एउटै ससुराली तर मेटिएन दुरी

नेकपाको पहिलो केन्द्रीय समितिमा पुष्पलाल (उठेका मध्ये दायाँबाट तेस्रो- घाँटीमा गलबन्दीसहित) र मनमोहन अधिकारी (बसेकामध्ये बीचमा)


सीताराम बराल
असार १५ , काठमाडौँ

केआई सिंह काण्ड (८ माघ २००८) का कारण नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिबन्धित अवस्थामा थियो। प्रतिबन्धित अवस्थामै रहेका बेला तत्कालीन धनुषा–महोत्तरीको बटेश्वर गाउँमा नेकपा पोलिटब्युरोको बैठक बस्यो। 

पार्टीका महासचिव पुष्पलाल थिए। पोलिटब्युरो सदस्यमा पुष्पलालका अलावा मनमोहन अधिकारी, शैलेन्द्रकुमार उपाध्याय, डीपी अधिकारी र तुलसीलाल अमात्य थिए। लगत्तै पार्टी केन्द्रीय कमिटीको बैठक पनि बस्दै थियो।  

तर, केन्द्रीय कमिटीअगावै बसेको पोलिटब्युरो बैठकमा शैलेन्द्रकुमार उपाध्यायले पुष्पलालको साटो मनमोहन अधिकारीलाई नेकपाको महासचिव बनाउनुपर्ने प्रस्ताव आकस्मिक रुपमा राखे। 

उपाध्यायको प्रस्तावमा बाँकी दुई पोलिटब्युरो सदस्य तुलसीलाल अमात्य र डीपी अधिकारीले समर्थन जनाए। आफैँ महासचिव बन्न पाउने भएपछि मनमोहन पनि के पछि हट्थे! उनले पनि प्रस्तावको समर्थनमा टाउको हल्लाए। 

नाटकीय रुपमा महासचिव परिवर्तन गर्न आएको प्रस्तावमा पुष्पलाल एक्लो परे। महासचिव मनमोहन भए। आफूविरुद्ध भएको ‘कू’ चुपचाप सहन पुष्पलाल बाध्य भए। 

‘संस्थापक महासचिव’ को स्थानमा ‘दोस्रो महासचिव’ का रुपमा मनमोहन अधिकारीको नाम नेकपाको इतिहासमा लेखियो। 

नेकपाका ‘संस्थापक महासचिव’ पुष्पलाल र ‘दोस्रो महासचिव’ मनमोहन अधिकारीबीच थुप्रै ‘संयोग’ र ‘वियोग’ छन्। त्यसमध्ये एउटा संयोग नेपालको कम्युनिस्ट आन्दोलनका यी दुई शीर्ष नेताको जन्मदिवस एकै दिन पर्नु हो।  

पुष्पलाल रामेछापको भँगेरीमा १५ असार १९८१ मा जन्मेका थिए। मनमोहनको जन्म पनि १५ असार १९७८ मा लाजिम्पाट (काठमाडौँ) मा भएको थियो। 
  
खासमा पुष्पलालको पुर्ख्यौली थलो काठमाडौँ हो, मनमोहनको विराटनगर। दुवैका बाबु सरकारी जागिरे भएकाले पुष्पलालको रामेछापमा र मनमोहनको जन्म काठमाडौँमा भएको थियो।  

पहिलो महासचिव, पहिलो कम्युनिस्ट
पुष्पलाल नेकपाका संस्थापक महासचिव हुन् भने मनमोहन अधिकारी नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्री। त्यसबाहेक मनमोहन कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गर्ने पहिलो नेपाली पनि हुन्। 

विसं २००६ मा नेकपा गठन गर्नुअघि पुष्पलाल नेपाली राष्ट्रिय कांग्रेसमा थिए। कांग्रेसमा रहँदा उनी बनारसमा रहेको पार्टीको केन्द्रीय कार्यालय सचिवसम्म भए। 

तर, कांग्रेसको नीति र नेताहरुको झगडालु व्यवहारबाट दिक्क भएपछि पुष्पलालले कांग्रेस त्यागे। केही समयपछि उनले २२ अप्रिल १९४९ (१० वैशाख २००६) मा नेकपाको स्थापना गरे। 

पुष्पलालले नेकपाको स्थापना गर्दा मनमोहन अधिकारी जेलमा थिए। पुष्पलालले नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठलाई संस्थापक बनाएर नेकपा स्थापना गरेका थिए।   

तर, स्थापनाको ६ महिना बित्दानबित्दै थप नेताहरुलाई समावेश गरेर नेकपा केन्द्रीय कमिटी विस्तार भयो। विस्तार गरिँदा पाँच संस्थापकमध्ये पुष्पलाल मात्र केन्द्रीय कमिटीमा परे। 

पुष्पलालले संस्थापक केन्द्रीय सदस्य बनाएका बाँकी चार जना नेताहरु कर्माचार्य, वैद्य, जोशी र श्रेष्ठ नयाँ केन्द्रीय कमिटीमा समेटिएनन्। 

नयाँ केन्द्रीय कमिटीको ३० भदौ २००६ मा कलकत्तामा भएको बैठकले पुष्पलाललाई नेकपाको महासचिव चयन गर्यो। यही निर्णयका कारण पुष्पलालको नाम नेकपाका ‘संस्थापक महासचिव’ को रुपमा दर्ज भयो।  

तर, त्यसअगावै मनमोहन अधिकारीले ‘कम्युनिस्ट पार्टी’ को सदस्यता प्राप्त गरिसकेका थिए। लाग्ला, पुष्पलालभन्दा पहिले मनमोहनले कसरी ‘कम्युनिस्ट पार्टी’ को सदस्यता प्राप्त गरे?

खासमा मनमोहन भारतीय कम्युनिस्ट नेताहरुको संसर्गमा परेर पुष्पलालभन्दा अगाडि नै ‘कम्युनिस्ट’ भइसकेका थिए। 

मनमोहन बनारस हिन्दु विश्वविद्यालयमा विज्ञानका विद्यार्थी थिए। त्यही बेला महात्मा गान्धीको नेतृत्वमा अंग्रेजविरुद्ध ‘भारत छोडो’ आन्दोलन सुरु भयो। मनमोहन पनि आन्दोलनमा सरिक भए। 

आन्दोलनमा संलग्न तीन विद्यार्थीलाई सुरुमै अंग्रेज प्रशासनले पक्राउ गर्यो। तीनमध्ये दुई जना नेपाली विद्यार्थी थिए– मनमोहन अधिकारी र गोपालप्रसाद भट्टराई। पक्राउ परेका मनमोहनलाई त्यहाँको जिल्ला कारागार र त्यसपछि केन्द्रीय कारागार लगियो। 

मनमोहनले एउटा संस्मरणमा उल्लेख गरेअनुसार केन्द्रीय कारागारमा भारतीय कम्युनिस्ट पार्टीका नेताद्वय शिवपुजन त्रिपाठी र शिवदानसिंह चौहान पनि थिए।

‘ती दुई कम्युनिस्ट नेताहरुले जेलमा चलाएको क्लासमा मैले पनि भाग लिएँ,’ अधिकारीले भनेका छन्, ‘मैले त्यहीँ जेलबाट पार्टी (भाकपा) को सदस्यता लिएको हुँ।’ 

पुष्पलाल र मनमोहन (बायाँबाट दोस्रो र तेस्रो) चिनियाँ मित्रहरुका साथ चीनको ग्रेटवालमा, विसं २०१६

 

डेढ वर्ष भारतीय जेलमा थुनिएपछि अधिकारी रिहा भए। नेपाल फर्केर विराटनगर जुटमिलमा जागिर खाए। विसं २००३ चैत्रमा भएको मजदुर आन्दोलनमा बीपी कोइरालासँगै उनी पक्राउ परी काठमाडौँ ल्याइए। 

साढे दुई वर्ष काठमाडौँको नख्खु जेलमा बिताएपछि २००६ साउनमा उनी रिहा भए। 

मनमोहन जेलबाट रिहा हुँदा नेकपाको स्थापना भइसकेको थियो। जेलमा रहेका मनमोहन भारतीय कम्युनिस्ट पार्टीका सदस्य हुन् भन्ने जानकारी पुष्पलालले पनि पाइसकेका थिए।

 पुष्पलाल कुनै हिसाबले मनमोहनसँग सम्पर्क गर्न चाहन्थे। मनमोहन रिहा भएर विराटनगर पुगेपछि पुष्पलालले नारायणविलाश जोशी (नेकपाका संस्थापक) लाई सम्पर्कका लागि विराटनगर पठाए।  

नेपालको कम्युनिस्ट आन्दोलनका यी दुई शीर्ष नेताबीच पहिलो भेट विराटनगरको सीमावर्ती भारतीय सहर जोगबनीमा भएको थियो। त्यही भेट–कुराकानीपछि मनमोहन पनि पुष्पलाल नेतृत्वको नेकपामा सक्रिय हुने भए। 

जोगबनी भेटको केही समयपछि कलकत्तामा नेकपाको पहिलो बैठक बस्यो। मनमोहनलाई पुष्पलालले नेकपाको केन्द्रीय सदस्य बनाए। 

दुवै जनाको संयुक्त राजनीतिक जीवन सुरुवातको केही वर्षपछि उनीहरु पारिवारिक सम्बन्धमा समेत जोडिए।  

पुष्पलालकी सहाना, मनमोहनकी साधना
जोगबनी भेट पुष्पलाल–मनमोहनबीच पारिवारिक सम्बन्ध स्थापनाको प्रस्थानविन्दु समेत थियो। 

भारतीय स्वतन्त्रता संग्राम र नेपालको पहिलो मजदुर आन्दोलनमा सहभागी भई जेल परेकाले मनमोहन अधिकारी राजनीतिक वृत्तमा चर्चित भइसकेका थिए। 

पुष्पलाल पनि कम चर्चित व्यक्तित्व थिएनन्। उनी १९९७ का सहिद गंगालाल श्रेष्ठका भाइ थिए। गंगालालको सहादतपछि दाजुको सपना पुरा गर्न भाइ पुष्पलाल राजनीतिमा होमिएका थिए। 

सहिद गंगालालका भाइ र नेकपाका संस्थापक महासचिव भएकाले पुष्पलाल काठमाडौँका चर्चित युवामध्येमा पर्दथे। 

२००४ वैशाखमा राणा शासनविरुद्ध विद्यार्थीहरुको तर्फबाट काठमाडौँमा पहिलो प्रदर्शनको नेतृत्व गरेकाले साधना प्रधान र सहाना प्रधान पनि उत्तिकै चर्चित थिए। स्थापनापछि साधना–सहाना दुवै नेकपामा आवद्ध भए। 

विद्यार्थीहरुको त्यो प्रदर्शनमा पुष्पलाल नेतृत्वदायी भूमिकामा थिए। पुष्पलाल–सहानाबीच पहिलो पटक त्यही बेला भेट भएको थियो। 

उता, नेकपामा आवद्ध भएसँगै मनमोहन–साधनाबीच भेटघाट हुन थाल्यो। पुष्पलालले सहानालाई मन पराउन थाले। मनमोहन–साधनाबीच त प्रेम–सम्बन्ध नै स्थापित भयो।  

आफ्नो आत्मकथा ‘स्मृतिका आँखीझ्यालबाट’ मा सहानाले उल्लेख गरेअनुसार कलकत्तामा नेकपा स्थापना गरेपछि पुष्पलाल पार्टी संगठन विस्तारका लागि भूमिगत रुपमा काठमाडौँ आएका थिए। त्यसै क्रममा भएको भेटमा उनले सहानासँग विवाहको प्रस्ताव राखे। 

‘हामी दुवै दिदीबहिनीको दिमागबाट विवाह गर्ने कुरा हटिसकेको थियो, जीन्दगीमा विवाह नै नगर्ने सोच हामीले बनाएका थियौँ,’ आत्मकथामा सहानाले भनेकी छन्, ‘मैले पुष्पलालजीलाई आफ्नो खुट्टामा उभिएपछि मात्र बिहे गर्छु भनेँ।’  

‘आफ्नै खुट्टामा उभिएपछि मात्र बिहे गर्छु’ भनेपछि पुष्पलालले पनि तत्काल बिहेका लागि जोड गरेनन्। दुई वर्षपछि २००९ मा पुष्पलालले फेरि बिहेको प्रस्ताव गरे। यसपटक सहानाले नाइनास्ती गर्न सकिनन्।

तर, पुष्पलाल श्रेष्ठ ‘पाँचथरे’ नेवार समुदायका थिए, सहाना ‘छथरे’ प्रधान समुदायकी थिइन्। त्यसैले, प्रधान परिवार सहानाको बिहे पुष्पलालसँग गराइदिन राजी भएन।      

उमेरको हिसाबले पुष्पलालभन्दा मनमोहन तीन वर्ष जेठा थिए। उनको सहानाकी दिदी साधनासँग प्रेम सम्बन्ध थियो। ब्राम्हण समुदायका मनमोहनसँग बिहेका लागि भने प्रधान परिवारले स्वीकृति दिएको थियो। 

पहिले आफ्नो बिहे गरिसकेपछि पुष्पलाल–सहानाबीचको बिहे हुन पारिवारिक रुपले कठिनाइ पर्छ भन्ने ठानेर हुनसक्छ, उमेरमा आफूहरु जेठो भए पनि पुष्पलाल–सहानाबीच पहिले बिहे होस् भन्ने चाहना मनमोहनले राखे। 

मनमोहनको चाहनाअनुसार र पार्टीको स्वीकृतिमा २ माघ २०१० मा पकनाजोलमा नेकपाका कार्यकर्ता तीर्थप्रसाद ढुङ्गानाको घरमा पुष्पलाल–सहानाबीच बिहे भयो।  

त्यसको ६ महिनापछि २०११ असारमा मनमोहन–साधनाबीच पनि बिहे भयो। बिहे काठमाडौँको म्हैपी मन्दिरमा भएको थियो।

बिहेमा पार्टीको तर्फबाट काठमाडौँ नगरपालिकाका प्रथम मेयर जनकमान श्रेष्ठले भोज खुवाएका थिए। साधना पनि नेकपाको तर्फबाट काठमाडौँ नगरपालिकाको निर्वाचित सदस्य थिइन्। 

पुष्पलाल–सहानाको बिहे, २ माघ २०१०

एउटै पार्टीमा भएकाले पुष्पलाल–मनमोहनबीच राजनीतिक सम्बन्ध हुने भइहाल्यो। छ महिनाको अवधिमा भएको भएका यी बिहेसँगै उनीहरुबीच औपचारिक पारिवारिक सम्बन्ध पनि कायम भयो। 

अब मनमोहन पुष्पलालका साढुदाइ बन्न पुगे, पुष्पलाल मनमोहनका साढुभाइ। 

एउटै पार्टी, फरक गुट 
तर पारिवारिक नातामा गाँसिनुअघि नै पुष्पलाल–मनमोहनबीच राजनीतिक मनमुटाव सुरु भइसकेको थियो। मनमुटावको कारण उही बटेश्वर बैठक थियो, जहाँ पुष्पलाललाई महासचिवबाट विस्थापित गरी मनमोहनलाई नेकपाको महासचिव बनाइयो।

नेपालको कम्युनिस्ट आन्दोलन विषयमा विद्यावारिधि गरेका डा. सुरेन्द्र केसीका अनुसार पुष्पलाललाई अकस्मात महासचिवबाट किन हटाइयो, त्यसको कारण अहिलेसम्म अज्ञात छ। यसबारेमा पार्टीका आधिकारिक दस्तावेजहरुले पनि केही बोल्दैनन्। 

तर, जानकारहरुका भनाइमा भारतीय कम्युनिस्ट पार्टीको नेतृत्वमा भएको परिवर्तन पुष्पलालको विस्थापनको एउटा कारण थियो। 

पुष्पलाल पार्टी महासचिव हुँदा भाकपाको महासचिव बीटी रणदीवे थिए। पार्टी उनकै नेतृत्वमा रहेका बेला आन्ध्र प्रदेशको तेलङ्गनामा भाकपाको अगुवाइमा किसान विद्रोह भएको थियो। त्यो किसान विद्रोहले त्यहाँको सरकारलाई नै हल्लाएको थियो। 

पुष्पलाल नेपालमा यस्तै किसान विद्रोहका हिमायती थिए। उनी पार्टी नेतृत्वमा भएका बेला रौतहट, सिरहा, सप्तरी लगायत तराईका जिल्लामा ठूला–ठूला किसान आन्दोलन भएका थिए।

तर, सन् १९५० मा ‘वाम दुस्साहसवादी’ को आरोप लगाएर रणदीवेलाई भाकपाको नेतृत्वबाट हटाइयो। त्यसको असर नेकपाको नेतृत्वमा पनि पर्यो। 

नेकपाको नेतृत्व (केन्द्रीय कमिटी) मा मनमोहन अधिकारी, डा. केशरजङ्ग रायमाझी, डीपी अधिकारी, तुलसीलाल अमात्य, कमर शाहजस्ता सम्पन्न वर्गका शिक्षित युवाहरु हावी हुन थालेका थिए। 

उनीहरुलाई खरो स्वभावका पुष्पलालको क्रान्तिकारी स्वभाव मन नपर्नु स्वाभाविक थियो। उनीहरु किसान विद्रोहको पक्षमा थिएनन्।   

आफूहरुलाई समावेश नगरी चार जना सहयोगीका साथ नेकपा स्थापनाको घोषणा गर्नु पनि उनको विस्थापनको अर्काे भित्री कारण थियो। उनीहरु पुष्पलाललाई विस्थापित गर्ने मौकाको ताकमा थिए। त्यो अवसर उनीहरुलाई बटेश्वर बैठकमा प्राप्त भयो। 

‘मनमोहन अधिकारीः नेपाली राजनीतिमा ६ दशक’ पुस्तकमा डा. ढाकाराम सापकोटाले नेकपाका तत्कालीन नेता कृष्णराज वर्माको हवाला दिँदै रणदीवेलाई महासचिवबाट हटाउने भाकपाका नेताहरुसँग शैलेन्द्रकुमार उपाध्यायको सम्बन्धका कारण उनैले पुष्पलाललाई महासचिवबाट हटाउने प्रस्ताव ल्याएको उल्लेख गरेका छन्। 

अघिल्लो महिना मात्र स्वर्गारोहण भएका वर्माका भनाइमा पार्टी कामको सिलसिलामा उपाध्याय लामो समय भारतमा थिए। त्यसक्रममा उपाध्याय भारतीय कम्युनिस्ट पार्टीको प्रत्यक्ष सम्पर्कमा थिए। 

‘नेपाल फर्केलगत्तै उहाँ (उपाध्याय)ले नै मनमोहन अधिकारीलाई महासचिव बनाउने प्रस्ताव ल्याउनु भयो,’ बर्माले भनेका छन्, ‘सम्भवतः भारतीय कम्युनिस्ट पार्टीका नेताहरुले दिएको सुझाव अनुसार नै उहाँले त्यस्तो प्रस्ताव ल्याएको हुनुपर्दछ।’ 

जे होस्, केन्द्रीय कमिटीबाट पार्टी महासचिव चुनिएका पुष्पलाल कपटपूर्ण तरिकाबाट पोलिटब्युरोबाट हटाइए। त्यसपछिको केन्द्रीय कमिटीको बैठकमा पनि सायद परिस्थिति उनको अनुकूल थिएन। 

पुष्पलाललाई विस्थापन गरी मनमोहन अधिकारीलाई नेकपाको महासचिव बनाइएको बेला उनीहरुको बिहे भइसकेको थिएन। तर, दुवैजना दुवै जना प्रेम सम्बन्धमा भने थिए। 

केन्द्रीय कमिटीबाट निर्वाचित महासचिव पुष्पलाललाई पोलिटब्युरोले पार्टी नेतृत्वबाट हटाए पनि पुष्पलालले सार्वजनिक रुपमा असन्तुष्टि भने पोखेनन्। उनले नेतृत्वलाई सहयोग गरिरहे। तर, नेतृत्वबाट हटाइएकोमा उनी खुसी चाहिँ थिएनन्। 

नेकपाका तत्कालीन नेता एवं मनमोहन अधिकारीका भाइ भरतमोहन अधिकारीका भनाइमा निकटस्थहरुसँगको कुराकानीमा पुष्पलाल आफूलाई अन्यायपूर्वक हटाइएको भन्दै गुनासो गरिरहन्थे। 

मनमोहन र साधना अधिकारी 

‘एक पटक पुष्पलाल र मोहनविक्रम सिंह कोशी अञ्चलको पार्टीसँग सम्बन्धित विषयमा छानबिन गर्न केन्द्रबाट खटिएर विराटनगर आउँदा हामीकहाँ बस्नुभएको थियो,’ पूर्वउपप्रधानमन्त्री समेत रहेका स्व. भरतमोहन अधिकारीले आफ्नो आत्मकथा ‘मेरो जीवन यात्राः केही सम्झनाहरु’मा भनेका छन्, ‘त्यो बेला पुष्पलालजीले मलाई अन्यायपूर्वक महासचिवबाट हटाइयो भन्ने गुनासो गर्नुभएको थियो।’ 

पुष्पलालमाथि अन्याय हुँदा लाभान्वित मनमोहन अधिकारी भए, जोसँग केही समयपछि नै उनको पारिवारिक सम्बन्ध गाँसिदै थियो। 

चीन भ्रमण : मनमोहन सर्वसम्मत, पुष्पलाललाई अन्याय 
२०१३ मा नेकपाको केन्द्रीय कमिटीले पुष्पलालमाथि अर्काे ‘अन्याय’ गर्यो, जसका कारण नेकपामाथि साँच्चिकै संकटको बिजारोपण भयो। त्यो बेला पनि पुष्पलालले मनमोहनको साथ पाएनन्।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले २०१३ भदौ (१९५६ सेप्टेम्बर) मा भएको आठौँ महाधिवेशनमा सहभागिताका लागि तीन नेतालाई बेइजिङ पठाउन नेकपालाई पत्राचार गरेको थियो। 

औपचारिक रुपमा नेकपालाई पहिलो पटक चीन भ्रमणमा जाने निम्तो प्राप्त भएको थियो। यो अवसर नेकपाका १७ केन्द्रीय सदस्यमध्ये कसैले पनि गुमाउन चाहेनन्। सबैले चीन जाने इच्छा व्यक्त गरे। 

केन्द्रीय कमिटीले महासचिव मनमोहन अधिकारीलाई चीन पठाउने सर्वसम्मत निर्णय गर्यो। स्वास्थ्यमा समस्या रहेकाले चीनमा उपचार गराउने सोचाइका साथ मनमोहन अधिकारीको नाममा सर्वसम्मति जुटेको थियो।

खासमा चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्ध स्थापित गर्न पुष्पलालले नै भूमिका निर्वाह गरेका थिए। पार्टी कार्यकर्ता गौरीभक्त प्रधान (सहाना–साधनाका दाजु) लाई छापामार तालिमका लागि गोप्य रुपमा चीन पठाउने काम पनि उनैले गरेका थिए। 

गौरीभक्त विसं २००९ देखि २०१२ सम्म चीनमा सैन्य तालिम गरी गोप्य रुपमा काठमाडौँ फर्केका थिए। 

संस्थापक महासचिव र सीपीसीसँग सम्बन्ध विस्तारमा उनले निर्वाह गरेको भूमिकाका कारण पुष्पलालको चीन जाने इच्छा अस्वाभाविक थिएन। तर, तत्कालीन केन्द्रीय कमिटीले पुष्पलालको इच्छा र दाबीमाथि उदारता प्रदर्शन गरेन।  

बाँकी दुई सिटका लागि नेकपाको केन्द्रीय कमिटीमा मतदान नै भयो। गोप्य मतदानमा शम्भुराम श्रेष्ठ र कमर शाह विजयी भए।   
   
प्रतिनिधि मण्डल चीन पुगेर फर्कन डेढ महिना लाग्थ्यो। डेढ महिनाका लागि नेकपाले ‘कार्यवाहक महासचिव’ चयन गर्नुपर्ने भयो। यो जिम्मेवारीका लागि पुष्पलालको नाम प्रस्ताव भयो। 
 
तर, आफूलाई पराजित गरिएकोमा पुष्पलाल यति दुःखी र आक्रोशित थिए कि उनले ‘कार्यवाहक महासचिव’ बन्न गरिएको प्रस्ताव स्वीकार गर्दैगरेनन्।

‘म पार्टीको संस्थापक हुँ, त्यस नाताले म चीन जार्नै पर्दथ्यो, यो ठीक भएन,’ चीन जाने टोलीमा निर्वाचित स्व. शम्भुराम श्रेष्ठले कार्यवाहक महासचिवको प्रस्ताव राखिँदा पुष्पलालले दिएको जवाफ आफ्नो संस्मरणात्मक पुस्तक ‘मेरो राजनीतिक जीवनका संस्मरणहरु’ मा यसरी उल्लेख गरेका छन्, ‘पुष्पलाल त्यसरी आवेशमा आएको मैले कहिले पनि देखेको थिइनँ, उहाँ आवेशमा बोल्दै जानुभयो। कसैले केही बोल्नै सकेनन्।’

पुष्पलालले कार्यवाहक महासचिवको प्रस्ताव स्वीकार नगरेपछि कसलाई ‘कार्यवाहक महासचिव’ को जिम्मेवारी दिने भन्ने समस्या सिर्जना भयो। त्यही संकटका बीच डा. केशरजङ्ग रायमाझी अघि सरे। 

‘चारपाँच दिनभित्र हामी चीन हिँड्नुपर्ने भइसकेको थियो, तर कार्यवाहक महासचिव नियुक्त गर्न सकिएको थिएन,’ श्रेष्ठले भनेका छन्, ‘डा. केशरजङ्ग रायमाझीले ‘अढाई महिनापछि तपाईंहरु फर्किहाल्नुहुन्छ, त्यतिन्जेलका लागि केन्द्रीय कार्यालयमा बसिदिन्छु’ भन्ने प्रस्ताव गरे। पुष्पलाललाई फकाउँदा–फकाउँदा हैरान भएका कमरेडहरुले ‘हुन्छ, डाक्टर (रायमाझी) नै केन्द्रीय कार्यालयमा बसिदेऊ भन्न थाले।’ 

महासचिव मनमोहन अधिकारी डेढ महिनाका लागि मात्र चीन गएका थिए। तर, त्यहाँ पुगेपछि थाहा भयो, उनको स्वास्थ्यमा गम्भीर समस्या आइसकेको रहेछ। त्यहीकारण उनी थप तीन वर्ष चीनमा रहे। 

श्रेष्ठका भनाइमा त्यो बेला नेकपाले डा. रायमाझीलाई ‘कार्यवाहक महासचिव’ कै जिम्मेवारी दिएको होइन। केवल ‘केन्द्रीय कार्यालय हेर्ने’ जिम्मेवारी मात्र उनले पाएका थिए। 

तर, अधिकारीको चीन बसाइ लम्बिने भयो। त्यसपछि डा. रायमाझीले ‘कार्यवाहक महासचिव’कै हैसियतमा काम गर्न थाले।

२०१४ मा फोहोरा दरबारमा भएको दोस्रो राष्ट्रिय महाधिवेशनमा डा. रायमाझी महासचिव निर्वाचित भए। त्यो महाधिवेशनले प्रतिवेदन पुष्पलालको पारित गर्यो। तर, महासचिवमा भने पुष्पलाललाई पराजित गर्दै डा. रायमाझी निर्वाचित भए।  

डा. रायमाझीको नेतृत्वमा नेकपा गएपछि बल्ल पुष्पलाललाई चीन जाने अवसर जुर्यो। 

‘जनवादी गणतन्त्र चीन’ स्थापना भएको दसौँ वार्षिकोत्सव समारोह (२०१६ भदौ) मा नेकपालाई पनि निम्तो प्राप्त भएको थियो। त्यो समारोहमा नेकपा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै डा. रायमाझी चीन पुगे। 

चीन भ्रमणका क्रममा बायाँबाट डा. रायमाझी र पुष्पलाल (अगाडि), मनमोहन र पीबी मल्ल (पछाडि) 
महासचिव डा. रायमाझी नेतृत्वको प्रतिनिधिमण्डलमा संस्थापक महासचिव पुष्पलाल र पोलिटब्युरो सदस्य पीबी मल्ल सदस्य थिए। 

डा. रायमाझी र पुष्पलाल चीन पुग्दा मनमोहन अधिकारी चीनमा उपचाररत नै थिए। चीनमै नेकपाका पूर्व र वर्तमान गरी तीनजना महासचिवहरुले पोलिटब्युरो सदस्य मल्लका साथ संयुक्त रुपमा चीन घुमघाम गरे। 
 
अन्तिम क्षण : अलग बाटो  
बीपी कोइराला नेतृत्वको नेपाली कांग्रेसको सरकारलाई राजा महेन्द्रले १ पुस २०१७ मा अपदस्थ गर्दा अधिकारी उपचार सिध्याएर चीनबाट फर्किसकेका थिए। त्यो बेला पार्टी डा. रायमाझीको नेतृत्वमा थियो।

२०१७ को काण्डपछि अधिकारी विराटनगरबाट पक्राउ परे। सात वर्ष लामो कारावासपछि उनी ४ फागुन २०२५ मा रिहा भए। 

त्यो काण्डका बेला सोभियत संघ भ्रमणमा रहेका महासचिव डा. रायमाझीले भने नेपाल फर्केपछि राजा महेन्द्रलाई समर्थन गरे। डा. रायमाझीको कदमपछि नेकपाभित्र विभाजनको शृङ्खला सुरु भयो। 

डा. रायमाझीले पार्टीलाई ‘धोका’ दिए पनि पुष्पलालले नेकपा क्रान्तिकारी धारलाई जोगाइरहे। उनी नयाँ ढंगले पार्टी पुनर्गठनमा लागे। 

विसं २०२५ मा अधिकारी जेलबाट रिहा हुँदा नेकपा रायमाझी, पुष्पलाल र तुलसीलाल श्रेष्ठ गरी तीन समूहमा विभाजित भइसकेको थियो। रिहा भएपछिको केही वर्षपछि मनमोहनले पञ्चायतको विरुद्धमा रहेका नेकपाका विभाजित समूहहरुलाई एकीकृत गर्ने प्रयास थाले।

पुष्पलालले पनि यस्तै प्रयास गरिरहेका थिए। तर, सफल भइरहेका थिएनन्। 

नेकपा एकताका लागि २०२८ मंसिरमा पुष्पलाल र मनमोहनबीच वार्ता सुरु भयो। मनमोहनले नेकपाको ‘केन्द्रीय न्युक्लियस’ निर्माणको प्रस्ताव गरे। 

पुष्पलाल कम्युनिस्ट आन्दोलनका सबैभन्दा शीर्ष नेता थिए। त्यही बेला एकता प्रक्रिया अघि बढ्न सकेको भए एकीकृत कम्युनिस्ट पार्टीको नेतृत्वको अवसर सम्भवतः पुष्पलालकै काँधमा आउन सक्थ्यो। 

तर, नेपालका कम्युनिस्टहरुलाई एउटै झण्डामुनि गोलबद्ध गर्ने प्रयास त्यो बेला सम्भव भएन। 

पुष्पलालसँग वार्ताका लागि मनमोहन शम्भुराम श्रेष्ठका साथ विराटनर नजिकैको भारतीय सहर फारबिसगञ्ज गएका थिए। एकताका लागि आफू सकारात्मक रहेको जवाफ पुष्पलालले भरतमोहनमार्फत् पठाइसकेका थिए। 

त्यसैले, मनमोहन उत्साहित हुँदै फारबिसगञ्ज पुगे। 

पुष्पलालसँग भएको पहिलो दिनको कुराकानीबाट मनमोहन यति धेरै उत्साहित थिए कि दोस्रो दिनको छलफलपछि ‘एकता घोषणा’ हुने बताउँदै ‘भोज गर्नुपर्छ’ भनेर त्यसका लागि केही रकम भरतमोहनसँग मागेर लगेका रहेछन्।  

तर, दोस्रो दिनको वार्तापछि फारबिसगञ्जबाट फर्किंदा मनमोहनको अनुहार उज्यालो थिएन। ‘के भयो?’ भनेर सोध्दा ‘पुष्पलाल पनि मानेनन्, शम्भुराम पनि मानेनन्’ भन्दै एकता प्रयास भाँडिएको छोटो जवाफ मनमोहनले दिए।  

‘एकता गरेर जाने हो भने पुष्पलालले आफ्नो नेतृत्वमा रहेको पार्टी त्यसैदिन विघटन गर्नुपर्छ,’ भन्ने कडा सर्त शम्भुरामले राखेका थिए। औपचारिक बैठक र निर्णयबिना पुष्पलाल पार्टी विघटनजस्तो गम्भीर निर्णय लिनसक्ने स्थितिमा थिएनन्। 

चीन भ्रमणका क्रममा एउटा परियोजनाको अवलोकन गर्दै पुष्पलाल र मनमोहन  

‘यस्तो गम्भीर एवं संवेदनशील विषयमा मनमोहनजीले हस्तक्षेप गरेर ‘शम्भुरामजी, तपाईंले यो अलिक बढी कुरा गर्नुभयो, यो न्युक्लियसको म्यान्डेट पनि होइन’ भन्नु भएनछ’ भरतमोहनले आत्मकथामा भनेका छन्, ‘मनमोहन दाजुको बानी नै यस्तै थियो। उहाँ मौकामा ‘भलाद्मी’ बनिदिनु हुन्थ्यो। सबैले मानिहाल्छन्, किन किचलोमा पर्ने भन्ने उहाँको सोचाइ थियो।’ 

शम्भुरामको अव्यावहारिक प्रस्ताव र मनमोहनको ‘भलाद्मी’ स्वभावका कारण नेकपा एकताको एउटा ठूलो सम्भावना तत्कालका लागि टर्यो। त्यो सम्भावना टरेपछि पुष्पलाल आफ्नो बाटो लागे, मनमोहन पनि आफ्नै बाटो।

७ साउन २०३५ मा संस्थापक महासचिव पुष्पलालको नयाँदिल्लीमा निधन भयो। त्यो बेला पुष्पलाल र मनमोहन नेकपाको अलग–अलग समूहको नेतृत्व गरिरहेका थिए।

नेपालको कम्युनिस्ट आन्दोलनका यी दुई शीर्ष व्यक्तित्वलाई नियतिले जीवनको अन्तिम क्षणमा सँगै रहने अवसर दिएन।  

 

असार १५, २०७९, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad