ad ad

म्यागेजिन


मदन भण्डारीसँग कोलकाता भ्रमण : भरत शमशेरको झमेला र ज्योति बसुको अपमान

मदन भण्डारीसँग कोलकाता भ्रमण : भरत शमशेरको झमेला र ज्योति बसुको अपमान

त्रिभुवन विमानस्थलमा राजेन्द्र स्थापित, मदन भण्डारी, निशाकुसुम र उषाकिरण भण्डारी, २४ पुस २०४९


राजेन्द्र स्थापित
असार १४, २०७९ मंगलबार १४:१२, काठमाडौँ

नेकपा (माले) र नेकपा (मार्क्सवादी) बीच एकता भएर नेकपा (एमाले) बन्नुपूर्व विनोद मिश्र महासचिव रहेको भाकपा (माले–लिबरेसन) बीच भाइचारा सम्बन्ध थियो। ‘माले–लिबरेसन’ भारतमा नक्सलाइट समूह थियो भने नेकपा (माले) नेपालको ‘नक्सलाइट समूह’ मानिन्थ्यो। 

२०४६ पछि नेपालमा ‘माले’ खुला भयो। विनोद मिश्रलाई पनि ‘माले–लिबरेसन’लाई पनि अब खुला गर्नुपर्छ भन्ने लागेको रहेछ। उनी पार्टीको महाधिवेशन गरेर खुला हुने तयारीमा थिए। माओ जयन्ती (२६ डिसेम्बर) २०४९ पुस तेस्रो हप्ता उनीहरूले महाधिवेशन आयोजना गरेका थिए। 

महाधिवेशनपछि कोलकाताको ब्रिगेड मैदानमा घोषणा सभा गरी पार्टी खुला गर्ने निर्णय उनीहरूले गरेका थिए। ​

अंग्रेजकालमा भारतको राजधानी कोलकाता हुँदा ब्रिगेड मैदानमा १० लाख मानिस जम्मा हुन्थे भन्दा रहेछन्। त्यो अंग्रेज सैनिकहरूले परेड गर्ने मैदान रहेछ। 

महाधिवेशनपछि माले–लिबरेसनको घोषणा सभा २७ डिसेम्बर १९९२ (१२ पुस २०४९) मा भयो। भोलिपल्ट त्यहाँका पत्रपत्रिका हेर्दा घोषणा सभामा अढाई लाख मानिस जम्मा भएका थिए भन्ने रिपोर्टिङ त्यहाँका स्थानीय पत्रिकाले गरेका थिए। हाम्रो अनुमान पनि यस्तै थियो। पहिलो घोषणा सभा भएकाले सबै राज्यबाट मानिस आएका थिए।  ​

बन्दसत्रका लागि मालेको प्रतिनिधिका रूपमा पार्टी नेता ईश्वर पोखरेल पहिल्यै पुगिसकेका थिए। मालेको प्रवास इन्चार्ज भएकाले केशवलाल श्रेष्ठ पनि पोखरेल सँगै थिए। 

महासचिव मदन भण्डारीलाई घोषणा सभामा सम्बोधनका लागि निमन्त्रणा दिइएको थियो। एमालेनिकट भएकाले म ‘दृष्टि साप्ताहिक’को प्रतिनिधिका रूपमा मदनसँगै कोलकाता पुगेको थिएँ। हामी यहाँबाट २६ डिसेम्बर (२४ पुस) मा जहाजबाट कोलकाता प्रस्थान गरेका थियौँ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हामीलाई बिदाई गर्न एमाले पोलिटब्युरो सदस्य माधव नेपाल पुगेका थिए। बिदाइका लागि मदनका छोरीहरू उषाकिरण र निशाकुसुम पनि पुगेका थिए। उनीहरू त्यो बेला केटाकेटी नै थिए।

कोलकाता विमानस्थलमा हामीलाई ‘रिसिभ’ गर्न ईश्वर पोखरेल आए। यताबाट बिदाइ गर्न माधव नेपाल र उषाकिरण र निशा कुशुम गएका थिए। 

भरत शमशेरको झमेला
हामी जुन जहाजमा थियौँ, नेपाली कांग्रेसका नेता भरत शमशेर पनि त्यसैमा कोलकाता जाँदै रहेछन्।   

मदन र म ‘इकोनोमिक क्लास’को सिटमा थियौँ। राणा न परे, भरत शमशेर ‘बिजनेस क्लास’को सिटमा थिए। 

केही दिनअघि मात्र ‘दृष्टि साप्ताहिक’मा भरत शमशेरकाे अन्तर्वार्ता प्रकाशित भएकाे थियाे। त्यसैले मैले उनलाई चिनिहालेँ। 

तर मदन भण्डारीले भरत शमशेरलाई चिन्नुभएको थिएन।

खुला राजनीतिमा आइसकेकाले भरत शमशेरले पनि मदनलाई देखिसकेका थिए। उनलाई देखिसकेका थिए। ०४८ को निर्वाचनमा काठमाडौं–१ मा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराएपछि मदन अझै चर्चित हुनुभएको थियो। भरत शमशेर भट्टराईनिकट थिए।

एकछिनपछि भरत शमशेर आफ्नो सिटबाट हामीनजिक आए। र, भने, ‘भाइ, तिमी एकछिन मेरो सिटमा बस न। म एकछिन यहाँ बस्छु।’ 

उनी मदनसँग बसेर कुराकानी गर्न चाहन्थे। चिनेकाले मैले उनलाई मेरो सिट छाडेर गएँ। उनी को हुन्, के हुन्, मदनलाई केही पनि भनिनँ। उनी मदनसँगै रहेको मेरो सिटमा बसे। 

मदन र भरत शमशेरबीच के कुराकानी भयो, त्यो मलाई थाहा भएन। किनकि म बसेको सिट अलिक टाढै थियो। 

खासमा मदनलाई उनले केही कुरै गर्न दिएनछन्। उनी एकोहोरो बोलिरहेछन्। एकोहोरो आफ्नै मात्र कुरा गरेछन्।   

‘म यस्तो क्रान्तिकारी, उस्तो क्रान्तिकारी– तिमीहरू के क्रान्तिकारी? तिमीहरू भन्दा चौब्बर (चारगुणा बढी) क्रान्तिकारी म, २००८ सालमा खुकुरी दल गठन गरेको’ आदि इत्यादि भनेछन्। 

उनको बकबक सुनेर मदन भण्डारीलाई झिँझो लागिसकेको रहेछ। 

एकछिनपछि भरत शमशेर आफ्नो भनाई सकेर आफ्नै सिटमा आए। म पनि आफ्नै सिटमा फर्कें।   

म आफ्नो सिटमा बसेपछि मदनले भन्नुभयो, ‘कस्तो मान्छे बसालेको? बकबक बकबक गरेर मलाई बोल्न पनि दिएन, आफ्नै मात्र कुरा गर्यो। यसले त मेरो टाउकै खायो। दिमागै खाइसक्यो। को मान्छे हो यो?’

भरत शमशेरले आफ्नो बारेमा त्यत्रो कुरा गरे। मदन भण्डारीले भने अझै पनि उनी को हुन् भन्ने ठम्याउनु भएन। मैले भनेँ, ‘तिनै क्या त २००८ मा खुकुरी दलको काण्ड मच्चाउने भरत शमशेर, गोर्खा परिषदका पहिलेका नेता।’

मदन झस्किनुभयाे, ‘ए, यिनै हुन् भरत शमशेर! त्यसो भए यिनीबाट कोलकातामा बच्नुपर्छ है!’ 

भरत शमशेरको बसोबास कोलकातामा थियो। उनको घर त्यहीँ थियो। कहिलेकाहीँ मात्र काठमाडौँ आउँथे।

हामी कोलकाता गइरहेका छौँ, उनी पनि कोलकातामा हुने भए। त्यसैले उनले हामीलाई कोलकातामा भेटे भने हैरान पार्छन् भन्ने भयो।

त्यो बेला मदन भण्डारीको बेग्लै ओज र इमेज थियो। भरत शमशेरसँग भेटेको भन्ने कुरा मात्रै सार्वजनिक भयो भने उनको इमेज नकारात्मक बन्न सक्थ्यो। 

त्यसैले उहाँले ‘कोलकातामा यी मानिससँग बच्नुपर्छ’ भन्नुभयो। 

हामी विमानस्थलमा उत्रियौँ। हामीलाई लिन ‘माले–लिबरेसन’ले एउटा गाडी पठाएको थियो। ईश्वर पोखरेल पनि त्यही गाडीमा आएका थिए। 

जहाजबाट उत्रिएपछि एउटा रोचक घटना भयो।

भारतीय प्रहरीलाई घुस  
पश्चिम बंगालमा भाकपा (मार्क्सवादी) ले वर्षाैंदेखि सरकार चलाइरहेको थियो। मार्क्सवादीले सरकार चलाएको भनेर के गर्नु! त्यहाँको प्रहरी र कर्मचारीतन्त्र भ्रष्ट थियो।

जहाजबाट ओर्लेपछि मदन भण्डारी र म बाहिर निस्कन अगाडि बढ्दै थियौँ। मसँग एउटा सानो ब्रिफकेस थियो। त्यसमा मेरा कपडा थिए। 

म मदनभन्दा अगाडि हिँडिरहेको थिएँ।

कस्टम अफिसनेर पुग्ने बेला एयरपोर्टको प्रहरीले मलाई कुनातिर तान्यो। उसले ‘साब, मालपानी...’ भन्दै पैसा (घुस) मागिहाल्यो। 

मैल दिन चाहिनँ। त्यसपछि उसले ‘ब्रिफकेस खोल कि खोल’ भन्न थाल्यो। मैले उससँग ‘यसमा मेरा पुराना लुगा मात्र छन्’ भनेँ। 

तर उसले मान्दै मानेन, ‘हुँदैन, खोल, हेर्छु’ मात्र भनिरह्यो। 

मैले ‘ब्रिफकेस’मा चाबी लगाएको थिएँ, चाबी तत्काल भेट्न सकिनँ। खल्ती यताउति छामछुम गरेँ। 

मसँग दृष्टि साप्ताहिकको प्रेस पास (परिचयपत्र) थियो। चाबी फेला नपरेपछि त्यही प्रेस पास देखाएँ। 

प्रेस पास देखेपछि ऊ आत्तियो, ‘ओ, सरी..सरी.. सर’ भन्न थाल्यो। १५–२० पटक ‘सरी...सरी’ भन्यो। 

त्यही बेला मैले ब्रिफकेसको साँचो भेट्टाएँ। म ब्रिफकेस खोल्नपट्टि लागेँ।

तर, उसले ब्रिफकेस खोल्नै दिएन। ब्रिफकेसलाई माथिबाट हातले थिचेर ‘पर्दैन सर, पदैन सर’ भन्यो। 

ब्रिफकेस पनि उसले मलाई बोक्न दिएन। ‘क्लियरेन्स’ गर्ने ठाउँसम्म उ आफैंले ब्रिफकेस बोकेर ल्याइदियो। 

मैले उसलाई भनेँ, ‘पछाडि मेरो एकजना साथी हुनुहुन्छ। मलाई पर्खन देऊ न!’ 

उसले भन्यो, ‘होइन सर, उहाँलाई म हेरुँला। चिन्ता लिनु पर्दैन, तपाईं ढुक्क हुनुस्।’ 

यति भन्दै उसले मलाई बाहिरसम्म ल्याएर छाडिदियो।

म बाहिर मदनलाई पर्खेर बसेँ। तर, उहाँ आउदै आउनुभएन। त्यही पुलिसले भित्र गएर उहाँलाई सहयोग गर्छु भनेको थियो।  

२०–२५ मिनेटपछि बल्ल उहाँ निस्कनुभयो। 

भेट हुनासाथ उहाँले भन्नुभयो, ‘राजेन्द्र, त्यो पुलिसले मलाई कम झन्झट गर्यो त!’

‘के झन्झट गर्यो र ?’ मैले सोधेँ।

उहाँले भन्नुभयो, ‘बल्ल–बल्ल २० रुपैयाँमा मनाएर छुटेर आएँ।’ 

त्यो पुलिसले उहाँसँग सय–डेढ सय रुपैयाँ मागेछ। मदनले घटाउँदा–घटाउँदा २० रुपैयाँमा ‘कन्भिन्स’ गरेर उम्कनुभएछ। 

‘तिमी त खुरुक्क निस्किहाल्यौ, म बीस रुपैयाँ दिएर बल्ल–बल्ल छुटेर आएँ’ भन्नुभयो। 

मैले भनेँ, ‘मलाई बस्नै दिएन त के गर्नु!’ 

म प्रेसको मानिस हुँ भन्ने चिनेपछि उसले सोच्यो होला– यो मान्छे रहुन्जेलसम्म अरूसँग पनि ठग्न नपाइने भयो। त्यही भएर उसले मलाई बाहिरसम्म पुर्यायो। 

मसँगै रहनुभएका मदनलाई भने ठगेरै छाड्यो। 

सायद मदन भण्डारीको जीवनको पहिलो र अन्तिम घुस त्यही होला। 

एयरपोर्टको बाहिरपट्टि हामीलाई लिन ईश्वर पोखरेल र भाकपा माले–लिबरेसन) का मानिसहरू आएका थिए।

उनीहरूले हामीलाई पहिल्यै बुक गरेको धर्मशालामा लगेर राखे। ईश्वर पोखरेल पहिल्यै पुगिसकेकाले छुट्टै कोठा व्यवस्था थियो। 

मदन र म एउटै कोठामा पर्यौं।

आफ्नै भाषणप्रति मदनको जिज्ञासा
डिसेम्बर २४ मा सुरु गरेर २७ तारिखमा खुला घोषणा सभा गरेर महाधिवेशन सम्पन्न गर्ने कार्यक्रम ‘माले–लिबरेसन’ ले बनाएको थियो। 

२७ डिसेम्बरका दिन घोषणा सभामा सहभागी हुन हामी धर्मशालादेखि नै जुलुसमा हिड्यौँ।  

विभिन्न राज्यबाट मानिस रेल र बसमा पार्टीको झण्डा फहराउँदै कोलकाता आइपुगेका थिए।

मानिसको चापले गर्दा कोलकाताको ट्राफिक व्यवस्था जाम भएको थियो। ट्राफिक व्यवस्था नै जाम भएपछि मुख्यमन्त्री ज्योति बसुका त्यस दिनका निर्धारित कार्यक्रम पनि रद्द भएछन्। यो कुराको जानकारी हामीले भोलिपल्ट स्थानीय पत्रपत्रिकामार्फत पायौँ। 

घोषणा सभामा मदन भण्डारीले पाँच मिनेट भाषण गर्नुभएको थियो। भाषण हिन्दीमा नै गर्नुभएको थियो। 

साँझ सुत्ने बेला मदनले सोध्नुभयो, ‘राजेन्द्र, आज मैले हिन्दीमा गरेको भाषण तिमीलाई कस्तो लाग्यो? राम्रै भयो, होइन?’ 

मैले भनेँ, ‘तपाईंले बनारसमा पढेजस्तो लाग्यो। तपाईंको हिन्दी त्यति राम्रो रहेनछ।’

अलिअलि हिन्दी जाने पनि हामीले बोल्दा जसरी जबर्जस्ती बोलिन्छ, उहाँको हिन्दी पनि त्यस्तै जबर्जस्त खालको थियो। तर, निकै जोशका साथ भाषण गरेकाले उहाँ त्यहाँ पनि आफ्नो प्रभाव छाड्न सफल हुनुभयो। 

भाषणमा उहाँले ‘नेकपा एमाले) जस्तै भाकपा (माले–लिबरेसन) पनि भारतको ठूलो कम्युनिस्ट पार्टी बन्दै छ, भाकपा (माले–लिबरेसन) ले पनि चुनावमा भाग लिएर ठूलो शक्ति हासिल गरी अघि बढ्नेछ’ भन्दै शुभकामना दिनुभएको थियो। 

कार्यक्रमको मञ्च दुईतले थियो। मञ्चको अघिल्लो पंक्तिमा भाकपा (माले–लिबरेसन) पूर्वमहासचिव नागभूषण पटनायक, महासचिव विनोद मिश्र, पोलिटब्युरो स्वदेश शर्मा पोलिटब्युरो सदस्य, मदन भण्डारी, नर्वेजियन कम्युनिस्ट पार्टीकी महासचिव सिरी जेनसेनलाई राखिएको थियो। 
​नागभूषण पटनायक, मदन भण्डारी, विनोद मिश्र र सिरी जेनसेन (बायाँदेखि क्रमशः)  ​

मञ्चको पछिल्लो लहरमा ईश्वर पोखरेल, केशवलाल श्रेष्ठ, म थियौँ। 

कोलकातामा त्यस दिन जति जनसमूह जुटेको थियो, त्यो देखेर होला– सभामा भाकपा (माले–लिबरेसन) का महासचिव विनोद मिश्रले घोषणा गरे, ‘आगामी निर्वाचनमा हामी भारतको सबैभन्दा ठूलो पार्टीका रूपमा अगाडि आउनेछौँ।’ 

तर, सभामा दाबी गरेजस्तो प्रदर्शन त्यसपछिको चुनावमा ‘माले–लिबरेसन’ले गर्न सकेन।  

भरत शमशेरको दोस्रो फन्दा
हामी दुईतले मञ्चमा बसिरहेका थियौँ, तलबाट कसैले दिएको एउटा चिट मकहाँ आइपुग्यो। चिटमा लेखिएको थियो– ‘म तपाईंहरूलाई भेट्न मञ्चको तल–दायाँतिर बसिरहेको छु है! नभेटी नजानुहोला।’  

चिट पठाउने उनै भरत शमशेर थिए। उनी पनि सभामा आएका रहेछन्।

मैले मदनलाई त्यो चिट देखाएँ। 

कार्यक्रम सकियो। मदनले मञ्चमै भन्नुभयो, ‘कहाँ सँगै जाने, यो मान्छे (भरत शमशेर) लाई छल्नुपर्छ।’

मञ्चमा उक्लन–ओर्लन दुवैतिर भर्याङ राखिएको थियो। भरत शमशेरले आफू दायाँतिर छु भनेका थिए। 

उनलाई छल्नेगरी हामी बायाँतिरबाट झर्यौँ।

तर, ‘दायाँतिर छु है’ भनेर चिट पठाएका भरत शमशेर त बायाँतिर पो बसिरहेका रहेछन्, मदनलाई झ्याप्पै समातिहाले। 

‘ल, अब मेरो घर जाने हो। यहाँ आइसकेपछि अन्त कहाँ बस्ने? मेरो घर नगई हुन्छ?’ भन्दै आफ्नो एम्ब्यासडर गाडीतिर लिएर गए।

मदन तर्किन खोजिरहनुभएको थियो। ‘मेरो काम छ, पछि मिलाएर आउँला’ भनिरहनुभएको थियो। तर, भरत शमशेरले छाड्दै छोडेनन्।

केशवलाल ‘मेरो काम छ’ भनेर हिँडिहाले। मदन, ईश्वर पोखरेल र म गरी तीन जनालाई भरत शमशेरले जबर्जस्ती आफ्नो घरमा लगरै छाडे।

कोलकातामा उनको ठूलो कम्पाउन्डसहितको दरबार रहेछ। नारायणहिटी राजदरबारको भन्दा ठूलो कम्पाउन्ड थियो। 

कम्पाउन्ड ठूलो, दरबार भने पुरानो खालको रहेछ।

त्यत्रो दरबारमा काम गर्नेबाहेक अरू मान्छे देखेनौँ। आफ्नो परिवारका कसैसँग पनि परिचय गराएनन्। 

दरबारमा काम गर्ने नोकर–चाकर भने थुप्रै थिए।

आफ्नो निवासमा पुर्याएपछि उनी मदनसँग गफ गर्न थाले। 

गफ गर्ने पारा फेरिपनि उस्तै– जहाजकै जस्तो!

त्यहाँ पनि उनले ‘खुकुरी दल’को कुरा निकाले, ‘म क्रान्तिकारी हुँ’ भनिरहे। 

नेकपा (माले) आफूलाई नेपालको सबैभन्दा ठूलो क्रान्तिकारी पार्टी हो भन्थ्यो। भरत शमशेरले ‘माले’लाई भुसुना बराबरको क्रान्तिकारी गनेनन्। 

‘तिमीहरू के क्रान्तिकारी! तिमीहरूले भन्दा ठूलो क्रान्ति मैले गरेको छु’ भने। त्यस्तोमा के जवाफ दिने? 

राणा न परे, मदन भण्डारीलाई समेत ‘तिमी कि तिमी’ भनिरहेका थिए। मदन भण्डारी ‘मालेका महासचिव हुन्’ भन्ने खालको व्यवहार गरेनन्।

केहीबेर एकोहोरो बोलिरहेपछि ‘अब केही खाऊँ है’ भने। 

उनले बोतल ल्याए। गिलास हाम्रो अगाडि सारे। म केही पनि पिउँदैन थिएँ। ईश्वर पोखरेलले पनि अलिकति मात्र पिए। 

मदनले चाहिँ गफ गर्दैगर्दै धेरै नै पिउनुभयो। 

मैले उहाँलाई खुसुक्क भनेँ, ‘धेरै नपिउनुस्।’

‘मदन भण्डारी मेरो घरमा आएर यसरी रक्सी खायो, खाएको खायै, रक्सी पिएको पियै गर्यो’ भन्दिन सक्थे।   

‘यिनले बदनाम गर्न सक्छन्, यहाँ बसेर धेरै खानु हुँदैन’ भनेँ। मदनले पनि ‘थोरै मात्र खाने हो’ भन्नुभयो। तर, गफ चलेपछि खाएको खायै। 

भरत शमशेरले रक्सीका बोतल ल्याएका छन्, फोरेका छन्, मदनको गिलासमा हालिदिएका छन्। तर, रक्सीबाहेक खानेकुरा केही छैन। केवल रक्सी छ। 

म रक्सी नखाने मान्छे। न चिया खुवाएका छन्, न त खानेकुरा अरू केही छ। पानी पिएर बसिरहेँ। 

एकछिनपछि निहुँ खोजेजसरी भन्न थाले, ‘मलाई बुढो सम्झेको हो? त्यस्तो नसम्झनू– म अहिले पनि पहलमान हुँ।’ 

‘पहलमान हुँ’ भन्ने देखाउन उनको अर्काे चर्तिकला सुरु भयो। पाखुराको मसल देखाउन थाले। काठको ठूलो ‘गदा’ पनि उनीसँग रहेछ। खोजेर ल्याए, पहलमानले जसरी उचालेर हावामा घुमाउँदै देखाए, पहलमानी प्रदर्शन गरे।  

भरत शमशेर 

रक्सी पिउँदै बेलाबेला गदा उचाल्दै र मसल देखाउँदै ‘एक्सरसाइज’ गरेर देखाइरहे। अनि मदनलाई भन्छन्, ‘मलाई बुढो सम्झेको? हेपेको? म अहिले पनि बलियो छु। कहाँ बुढो भएको छु?’

यसरी उनले हैरान पारे। उनका यस्तै चर्तिकला हेर्दाहेदै रातको १२ बजिसकेछ।  

रातको १२ बजिसक्यो। तर न केही ठोस कुरा खुवाएका छन्, न केही खाऊँ भनेका छन्। 

अरू ठाउँमा त सितनका रूपमा रक्सीसँग केही खानेकुरा हुन्छ नि! तर, त्यहाँ केही पनि छैन।

म पानी मात्र पिएर बसिरहेको छु, उनको चर्तिकला हेरेको छु। 

हामी दिउँसो जुलुसमा हिँडेका थियौँ। मञ्चमा उक्लेपछि पानीबाहेक केही खाएका थिएनौँ। राति १२ बजेसम्म केही खान नपाएपछि आलसतालस पर्यौँ। उनले अझै खुवाउने सुर गरेनन्।

भरत शमशेर शौचालय गएको मौका पारेर हामीले गफ गर्यौँ, ‘यिनले हामीलाई केही नखुवाउने भए। आज यत्तिकै भोकै सुताउने भए।’

कहिले गणेशमानको गफ गरेका छन्, कहिले कृष्णप्रसाद भट्टराई र बीपी कोइरालाको। ‘यी सबलाई मैले ठेगान लगाएको छु’ पनि भन्छन्। यस्तै–यस्तै उट्पट्याङबाहेक केही गफ गर्दैनन्। 

मदनले एकछिन बोल्यो कि रोकेर फेरि उनकै गफ सुरु हुन्छ। अरूलाई बोल्नै दिँदैनन्। उनको कुरा सुन्दासुन्दा भोकले हत्तुहैरान भइयो।राति पौने १ बजेतिर बल्ल ‘ल, ल, अब खाना खान जाऊँ’ भने। त्यसपछि बल्ल हाम्रो सास आयो। ‘भोकै सुत्नुनपर्ने भयो’ भन्ने लाग्यो।

खाना खान जाँदा हामी छक्क पर्यौं। उनको किचनमा होटलमा काम गर्ने ‘सेफ’जस्ता कामदार नै २४–२५ जना रहेछन्। खाना खाने हामी तीन जना, हामीलाई खाना पकाउने मान्छे २४–२५ जना।

सेफहरू यता लाइन लागेका छन्, उता लाइन लागेका छन्। किचनभरि मान्छेको लाइनका लाइन छ।  

खाना खाने किचन त्यस्तो, सुत्नचाहिँ एउटै कोठामा। कोठा मात्रै एउटा हो र, खाट पनि एउटै। एउटा खाटमा तीनजना जसोतसो अटेसमटेस भएर सुत्यौँ। त्यस्तो दरबारमा सुत्ने ठाउँ धेरै रहेनछ। ख्वै, के हो, के हो!

त्यस्तोमा के निद्रा लाग्थ्यो। रातभर भरत शमशेरकै चर्तिकलाबारे गफ गर्दै, हाँस्दै त्यो रात बितायौँ।  

बिहानै भाकपा (माले–लिबरेसन)कै गाडी लिन आयो। हामी धर्मशाला नै फर्क्यौं।

मदन भण्डारी र विनोद मिश्र, २०४९ मा सम्पन्न नेकपा (एमाले) को पाचौँ महाधिवेशनका क्रममा

भाकपा (माले–लिबरेसन) का महासचिव विनोद मिश्र मदन भण्डारीलाई भेट्न धर्मशालामै आए। त्यहीँ भेटघाट र कुराकानी भयो।  

मदन भण्डारी र विनोद मिश्र, २०४९ मा सम्पन्न नेकपा (एमाले) को पाचौँ महाधिवेशनका क्रममा नर्वेजियन कम्युनिस्ट पार्टीकी महासचिव सिरी जेनसेन पनि त्यहीँ थिइन्। त्यसैले ‘महासचिव–महासचिवबीच भेट गरौँ न!’ भन्ने भयो। ‘माले–लिबरेसन’कै साथीहरूले भेटघाटको प्रबन्ध गरिदिए। 

चकटीमा बसेर कुराकानी सुरु भयो। हामी तीनजना थियो, उनी एक्लै थिइन्। 

उनको पार्टीको नाम ‘नर्वेजियन कम्युनिस्ट पार्टी’ रहेछ। हामीले उनको पार्टीको ‘पोजिसन’बारे जिज्ञासा राख्यौँ। 

उनीहरूको पार्टी ‘माओवादी पार्टी’ रहेछ। पार्टीको केन्द्रीय कमिटी ५४ सदस्यीय रहेछ। 

रोचकचाहिँ के भने, पार्टी सदस्य पनि ५४ जना नै रहेछन्। 

जो जो पार्टी सदस्य छन्, ती सबै केन्द्रीय सदस्य रहेछन्। 

यो सुनेर मदन छक्क पर्नुभयो, मनमनै ‘धत्’ भन्ने भयो होला। मैले कानेखुसी गरेर भनेँ, ‘युरोपियनहरू कम्युनिस्टहरूको स्थिति नै यही हो। ५४ जना पार्टी सदस्य हुनु पनि उनीहरूका लागि ठूलो कुरा हो।’  

नर्वेजस्तो देशमा ५४ जनाले ‘हामी माओवादी हौँ’ भन्नु नै ठूलो कुरा हो। त्यस्तोमा संख्याको कुरा महत्त्वपूर्ण हुने कुरै भएन। 

महिला भएकाले उनको बोली तिख्खर थियो। तर, ‘नर्वेजियन टोन’मा बोलेको अंग्रेजी हामीले बुझ्दै बुझेनौँ। 

म त रिपोर्टरका रूपमा मदनसँगै गएको थिएँ।  मदनले भन्नुभयो, ‘राजेन्द्र ! उनले भनेको सबै कुरा टिप्नु है। पछि उनले भनेको विषयमा हामी छलफल गर्नुपर्छ।’ 

मेरो पनि अंग्रेजी कहाँ राम्रो थियो र! त्यसमाथि उनको ‘नर्वेजियन टोन।’ मैले पनि थोरै मात्र बुझेँ, त्यो बेला ईश्वर पनि उस्तै। एमालेका नेताहरूले पछि अंग्रेजी राम्रो बनाए, त्यो बेला धेरैको अंग्रेजी राम्रो थिएन। 

ईश्वर पनि खासै नबुझ्ने, म पनि आधी मात्र बुझ्ने। मदन भण्डारी त ‘एस’ र ‘नो’ बाहेक केही नभन्ने। 

उनी बोलिरहेकी छन्। उनले ‘हो ?’ भनेर सोधिन् भने ‘एस’ भन्ने, होइन भने ‘नो’ भन्ने।

पछि हामीले मदनलाई ‘उनले यो–यो कुरा भनेकी हुन्’ भन्यौँ। 

मैले मदनलाई भनेँ, ‘तपाईं पनि कस्तो मान्छे– खालि ‘एस’ र ‘नो’ मात्र भन्ने? ‘एस’ र ‘नो’ मात्र भन्दा उनले के सोचिन् होला?’

ईश्वर पोखरेल, सिरी जेनसेन र मदन भण्डारी 

मदनको जवाफ थियो– ‘मैले अंग्रेजी नबुझ्ने होइन। तर, रिप्लाई गर्न (जवाफ फर्काउन) सक्दिनँ। म महासचिव भइसकेको मान्छे, गलत कुरा त बोल्नुभएन। त्यसैले, म केही बोल्दै नबोलेको हुँ।’ 

ज्योति बसुको ‘अपमान’ 
कोलकातामै रहेका बेला काठमाडौंबाट खबर गयो– ‘पार्टीको केन्द्रीय कमिटीको आकस्मिक बैठक बस्नुपर्ने भयो। तुरुन्त फर्कनुहोला।’ 

आकस्मिक बैठक बस्ने भन्ने भएपछि मदन काठमाडौँ फर्किहाल्नुपर्ने भयो।

पश्चिम बंगालका मुख्यमन्त्री भाकपा (मार्क्सवादी) का नेता ज्योति बसु थिए। मदन भण्डारीको चाहना मुख्यमन्त्री ज्योति बसुसँग भेटेर फर्कने थियो। प्रवासमा रहेको पार्टीको च्यानलमार्फत ज्योति बसुसँग भेटका लागि प्रयास भइरहेको थियो।

तर, ज्योति बसुको समय मिलिरहेको थिएन।  

‘माले’ र ‘मार्क्सवादी’ एकता भएर ‘एमाले’ बन्नुअघि नेकपा (माले) को पश्चिम बंगालमा सत्तारुढ भाकपा (मार्क्सवादी) सँग सम्बन्ध थिएन। मनमोहन अधिकारी नेतृत्वको नेकपा (मार्क्सवादी) र भाकपा (मार्क्सवादी) बीचको सम्बन्ध भने राम्रो थियो। 

नेकपा (मार्क्सवादी) का नेताहरू कोलकाता जाँदा मुख्यमन्त्रीकै गेस्ट  हाउसमा बस्थे रे!

ज्योति बसुको समय नमिलेपछि हामीले गफ गर्यौँ, ‘मनमोहन अधिकारी, सहाना प्रधान, भरतमोहन अधिकारी, बलराम उपाध्याय भइदिएको भए समय मिल्थ्यो होला। हामीलाई चाहिँ यिनीहरूले टेरेनन्।’ 

काठमाडौं फर्कन जहाजको टिकट साँझ ५ बजेका लागि थियो। हामी एयरपोर्ट फर्कने तयारी गर्दै थियौँ। दिउँसो ३ बजे खबर आयो– ‘१० मिनेटका लागि ज्योति बसुको समय मिलेको छ।’

समय थोरै भए पनि भ्याइन्छ भन्ने भयो। हामी ज्योति बसुलाई भेट्न ‘लाल बंगला’ पुग्यौँ।  

मदन भण्डारीको क्यामरा मैले बोकेको थिएँ। उहाँले भन्नुभयो, ‘राजेन्द्र ! पहिले तिमी भित्र पस। म पछिपछि आउँछु। ठ्याक्क ज्योति बसु र मैले हात मिलाएको फोटो बेला तिमीले खिचिहाल्नू।’ 

उहाँले भनेअनुसार नै म पहिले पसेँ। मुख्यमन्त्री बसु र महासचिव भण्डारीले हात मिलाउँदै गरेको तस्बिर खिचेँ। 

ज्योति बसु र मदन भण्डारी, साथमा ईश्वर पोखरेल (फोटो : राजेन्द्र स्थापित)

बैठक कोठाको बीचमा ठूलो टेबल थियो। ज्योति बसु त्यसको एकातिर बसे। हामी तीनजना (मदन भण्डारी, ईश्वर र म) अर्काेतिर बस्यौँ। 

अक्सर नेपाल आउने भारतीय राजदूतहरू नेपालको सीमा जोडिएका बिहार, उत्तर प्रदेशका हुने गर्थे। ‘सीमा जोडिएको हुँदा उनीहरूको आफ्नै स्वार्थ हुन्छ र नेपाललाई पेल्न खोज्छन्’ भन्ने मदनको विश्लेषण थियो। ज्योति बसुसँगको कुराकानीमा मदनको एउटै मात्र ‘कन्सर्न’ नेपालमा आउने भारतीय राजदूत सीमा जोडिएका भारतीय राज्यका नहोउन् भन्ने थियो। 

त्यो बेला भारतको केन्द्र सरकार भाकपा (मार्क्सवादी) को समर्थनमा टिकेको थियो। मार्क्सवादी आफैं केन्द्र सरकारमा त थिएन। तर, उनीहरूको कुराको सुनुवाइ हुन्थ्यो। 

ज्योति बसुलाई मदन भन्न चाहनुहुन्थ्यो, ‘नेपाल आउने राजदूत ती राज्यका सीमा नजोडिएका दक्षिणी भारतीय राज्यका भइदिउन्। त्यताका राजदूत मात्र भारतले पठाइदियो भने पनि नेपाललाई धेरै सजिलो हुन्छ।’ 

भेट भएपछि मदन भण्डारीले यही कुरा खरर्र राख्न थाल्नुभयो। तर, २ मिनेट कुरा राखेपछि ज्योति बसु जुरुक्क उठे। ‘मेरो मिटिङ छ, तपाईंहरूलाई बिदा गर्छु’ भन्दै हात अघि बढाए। 

मदनले भनेका कुरा उनलाई मन परेनछ। 

ज्योति बसु उठ्न खोजेपछि मदनले हामीलाई ‘नउठौँ है’ भन्ने संकेत गर्नुभयो। 

मदनले आफ्नो कुरा निरन्तर राखिरहनुभयो। मुख्यमन्त्री बसु बस्न बाध्य भए। मदनका कुरा अलिकति सुने। एकछिनपछि फेरि उठे। उही पारा देखाए। 

१० मिनेट समय दिएकोमा ४–५ मिनेट मात्र कुराकानी भयो। उनले मदनका थप कुरा सुन्न चाहेनन्।

मदनले हामीसँग भन्नुभयो, ‘यो हाम्रो बेइज्जत हो। अब बसिरहनु उचित हुँदैन।’  

मदन भण्डारी नेकपा (एमाले) को महासचिव हुनुहुन्थ्यो। त्यस हिसाबले ज्योति बसुले उहाँलाई जस्तो सम्मानजनक व्यवहार गर्नुपर्थ्यो, त्यो गरेनन्। नमीठो लाग्यो। 

काठमाडौँ फर्केपछि मदन भण्डारीको कोलकाता भ्रमणबारे रिपोर्टिङ गरेँ। ‘दृष्टि साप्ताहिक’को पछिल्लो पृष्ठमा दुई ‘कोलम’को एउटा स्तम्भ थियो। त्यसमा मैले लेखेँ, ‘कम्युनिस्ट पार्टीले १४–२० वर्ष शासन गरेको पश्चिम बंगाल र कोलकातालाई यहाँबाट हामी निकै उत्सुकतापूर्वक हेरिरहेका हुन्थ्यौँ। ज्योति बसुको नाम सुन्नासाथ सम्मान प्रकट गर्थ्यौं। तर, त्यो ४–५ मिनेटको त्यो भेट र कुराकानीले बसुप्रतिको सम्मान सबै समाप्त भएको छ।’ 

(अन्तर्राष्ट्रिय मामिलामा कलम चलाउने वरिष्ठ पत्रकार राजेन्द्र स्थापित जनआस्था साप्ताहिकका प्रबन्ध सम्पादक हुन्।) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .