म्यागेजिन


मोहना अन्सारीको मातृत्व अनुभव : छोरीले औँला चुसेर एक्लोपन मेटिन्

मोहना अन्सारीको मातृत्व अनुभव : छोरीले औँला चुसेर एक्लोपन मेटिन्

आफ्नो करिअरसँगै छोरीहरुलाई पनि सक्षम बनाउन सकेकोमा उनी खुसी छिन् मोहना अन्सारी ​


राधिका अधिकारी
जेठ २८ , काठमाडौँ

बाँकेको नेपालगञ्जमा जन्मिएकी हुन् मोहना अन्सारी। आमा गृहणी, बुबाको सानोतिनो व्यवसायले धानेको सामान्य परिवार। आफ्नो बाल्यकाल फर्केर हेर्दा उनलाई लाग्छ, ‘अहिलेको जस्तो अभिभावकत्वबाट वञ्चित भएको रहेछु।’

त्यो समय अहिलेजस्तो छोरीहरुले घरमा बुबासँग शिर उठाएर कुरा गर्ने हिम्मत गर्दैनथे। मोहनाले बुबासँग धित मर्नेगरी कुरा गर्ने अवसर पाइनन्। आमासँगै पनि कमै कुराकानी हुन्थ्यो। कुरा गर्ने विषय नभएर होइन, आफूभन्दा ठूलासँग शिष्ट भएर बोल्नुपर्छ, कम बोल्नुपर्छ भन्ने सिकाइले। उमेर बढ्दै जाँदा बुबाआमासँगको यो दुरी छोटिँदै गयो। किनभने अन्य सन्तानभन्दा मोहना अलि बढी बोल्थिन्।

मोहनासँग भन्ने कुरा धेरै हुन्थे। बुबाआमासँग बेलामौकामा उनको वादविवाद चलिरहन्थ्यो।

आफैँ आमा बनेपछि भने उनको यो अनुभव उल्टियो। उनका छोरीहरु सानो छँदा उनीसँग ज्यादा कुराकानी गर्थे। उनीहरु हुर्किंदै जाँदा दुरी बढ्दै गयो। छोरीहरुसँगै मोहनाको करिअर हुर्किन थाल्यो। त्यसैले संवाद, भेटघाट पातलिँदै गयो।

आफू हुर्किएको समय र छोरीहरु हुर्किएको समयमा ठूलो फरक देख्छिन् मोहना। उतिबेला समाज छोरीको शिक्षामा लगानी गर्न चाहँदैनथ्यो। छोरीको मात्रै होइन, छोराहरुको शिक्षामा पनि अहिलेको जस्तो महत्व दिने चलन थिएन। केटाकेटीलाई पनि शिक्षाको महत्व थाहा थिएन। धेरैजसो परिवारका चारपाँच सन्तान हुन्थे। सन्तान धेरै भएका कारण पनि शिक्षामा लगानी गर्न सक्ने अवस्था कम थियो।

मोहनाको परिवारमा पनि उनकी दिदीले पढिनन्। मोहनादेखि भने स्कुल जाने प्रचलन बिस्तारै बढेर गयो। उनीसँगै उनका भाइबहिनी पनि स्कुल गए। उनका उमेरका धेरै केटाकेटी भने घरायसी काममै अल्झिरहेका देखिन्थे। 

मोहना स्कुल त गइन्। तर, पढेर के बन्ने, उनको कुनै सपना थिएन। उनी भन्छिन्, ‘हाम्रो पालामा शिक्षालाई कुनै व्यवसायसँग जोडेर हेरिएको मलाई थाहा छैन।’ 

जब स्कुल सकिन्, तब मोहनासामु ठूलो चुनौती थियो– अब अगाडि के पढ्ने, कहाँ पढ्ने, कसलाई सोध्ने?

मनको भित्री कुनामा मोहनालाई स्वास्थ्य सेवामा प्रवेश गर्ने चाहाना थियो। त्यसमा उनका बुबाका साथीहरु बेलाबखत बल थपिदिन्थे, ‘नर्स बने भइहाल्यो।’ उनले पनि त्यही मन बनाएकी थिइन्। तर, उनका बुबाका अर्का एक साथीले उनलाई कानुन पढ्न सुझाए। त्यसपछि मोहनाले कानुन विषय रोजिन्।

आफ्नै मर्जीले विवाह
कानुनको पढाइसँगै मोहनाले पत्रकारिता सुरु गरिन्। त्यहीक्रममा भेटिए उनका हुनेवाला जीवनसाथी। त्यो भेट मित्रता हुँदै प्रेममा परिणत भयो। उनीहरुले विवाहको योजना बनाए।

उनको रोजाइलाई उनका बुबा आमाले स्वीकार गरेनन्। शिक्षण पेसा अँगालेका उनका प्रेमी र उनले भने सहयात्रा गर्ने निधो गरे।

१७ पुगेर १८ लाग्दै गरेकी छोरीले आफ्नै मर्जीले विवाह गर्दा बुबाआमाको मन दुखेको थियो। त्यसैले छोरीको खुसीमा सामेल भएर आशिर्वाद दिएनन्। विवाह गरेको लामो समय उनका लागि माइतीघरको दैलो बन्द भयो।

योजना नबनाई आमा 
मोहना केटाकेटीसँग खेल्न रुचाउँथिन्। तर, विवाह, छोराछोरी र आमाका बारेमा उनले त्यति साह्रो बुझेकी थिइनन्। यदाकदा रेडियोमा बज्ने परिवार नियोजनका अस्थायी साधनका विज्ञापनले नै कान राता बनाउँथे। आफैँले बुझ्ने त धेरै परको कुरा। 

बच्चाको योजना नबनाउँदै मोहना गर्भवती भइन्। आमा बन्दैछु भनेर थाहा पाउँदा उनी खुसी र उत्साही भइन्। पछाडि फर्केर हेर्दा उनलाई लाग्छ, ‘अहिलेको जस्तो सचेतना, ज्ञान, स्रोत र साधन भएको भए म पनि योजना बनाउँथेँ।’

परिवारको स्वीकृति नपाएको विवाह, भर्खर सुरु भएको करिअर, श्रीमानको मात्र कमाइ, गर्भावस्थाको त्यो क्षण सम्झँदा मोहनालाई अहिले पनि कहाली लाग्छ। गर्भावस्थाको समयमा मोहना श्रीमानसँग बस्न पाइनन्। चरम आर्थिक समस्याका कारण उनी कमाउन हिँड्नुपर्ने अवस्था थियो। गर्भावस्थामा आएका मानसिक तथा शारीरिक उतारचढाव सुनाउन पाइनन्। त्यतिबेलाको दुर्बलता र एक्लोपनलाई अहिले पनि उनी शब्दमा व्यक्त गर्न सक्दिनन्।

यति भन्छिन्, ‘त्यो समय सहज थिएन।’​

गर्भावस्थाको बेला आँत हरहर भएर खान मन लागेका कुरा पनि खान सक्ने अवस्था थिएन। त्योबेला अभावका कारण खान नपाएको खानेकुरा उनलाई अहिले पनि मन पर्दैन। आर्थिक समस्या भए पनि उनले गर्भावस्थामा नियमित जाँच भने गराइन्। 

त्यतिबेला मोहनाको घरमा फोन थिएन। बेलाबेला छिमेकीको घरमा श्रीमानको फोन आउँथ्यो। हप्तामा एकपटक अरुको घरमा आउने टेलिफोनमा आफूलाई भएको अप्ठ्यारो अभिव्यक्त गर्न पनि सजिलो हुँदैनथ्यो। उनलाई त्यो क्षण श्रीमानको साथको अभाव  खड्कियो। 

माइती जाने बाटो बन्द थियो, मनको बह पोख्न श्रीमान् साथमा थिएनन्। उनी लुकेर पीडा आँखाबाट बगाउँथिन्। 

श्रीमान् कहिलेकाही घर आउँदा पनि सल्लाहभन्दा धेरै मनमुटावजस्तो हुन्थ्यो। श्रीमान समस्या सोध्न खोज्थे, उनलाई झर्को लाग्थ्यो। उनलाई अहिले लाग्छ, ‘परिपक्व उमेर भएको भए सबै अवस्थालाई सामान्य रुपमा लिन सकिन्थ्यो होला।’

समय बित्दै जाँदा उनी सासूसँग नजिकिइन्। सासुको मायाले आमाको अभावलाई केही कम गर्यो। मोहना सासूकी प्रिय बुहारी बनिन्। अभावमा पनि उनलाई सासूको मायाले सहजता  दियो।​

छोरीको जन्म
डाक्टरले डेलभरीका लागि दिएको समय नजिकै आएको थियो। मिति हेरेर उनका श्रीमान् पनि घर आएका थिए। त्यो दिन उज्यालो नहुँदै मोहनालाई गाह्रो भइरहेको थियो। उज्यालो हुँदा उनलाई व्यथा सुरु भयो। त्यसपछि अस्पताल भर्ना गरियो। उनलाई भर्ना गरिएको रुममा दुइटा बेड थिए।

अस्पतालको वातावरण, नर्सको व्यवहार गतिलो थिएन। गर्भवतीका लागि जीवन दिने ठाउँ नै ठिक थिएन। मोहना कयौँ पटक मर्दै ब्युतिँदै गरिन्। उनले धेरै पटक ज्यानको माया मारेकी थिइन। तथापि उनले छोरीलाई जन्म दिइन्। छोरी जन्मिएको केहीबेरसम्म उनको चेत भने आएन।

मोहनाको होस फर्किंदा छोरीलाई सफा गरिसकिएको थियो। सन्तानको अनुहार देखेपछि उनले पीडा बिर्सिइन्। मोहनाको परिवारमा २२ वर्ष भएको थियो बच्चाको आगमन नभएको। उनकी छोरी जन्मिएपछि परिवारमा खुसीको माहौल छायो।

नर्मल डेलिभरी भए पनि मोहनाले ३ दिनसम्म छोरीलाई दूध चुसाउन सकिनन्। उनकी छोरीले बट्टाको दूध खाइन्। उनलाई त्यो समय आमाको दूधको अभावमा बच्चामा पर्ने असरका बारेमा थाहा थिएन। त्यसैले छोरीले बट्टाको दूध खाँदा पनि खुसी भएर हेर्थिन्। तीन दिनपछि बल्ल उनको दूध फुट्यो र छोरीले आमाको दूध खान पाइन्।

सुत्केरी भएको केही समयपछि अरु बुहारीहरु माइत जान्थे। मोहनाले भने आफू आमा बन्दाको खुसी आफ्नी आमासँग साट्न पाइनन्। उनलाई यो कुराले भित्रभित्रै चिमोट्थ्यो। तर आफूले रोजेको बाटो सहज मानेर हिँड्नुको विकल्प थिएन। 

संयुक्त परिवार भएकाले मोहनालाई छोरी हुर्काउन गाह्रो भएन। आर्थिक अप्ठ्याराहरु पनि बिस्तारै सहज हुँदै गए। मोहना आफू पनि काम गर्न थालिन्। ठिकैको कमाइ भए पनि छोरीका मागहरुसँग भने सम्झौता गर्न मन लागेन। 

उनलाई लाग्थ्यो, ‘मैले बाल्यकालमा बाँच्न नपाएको जिन्दगी छोरीले बाँचेको हेर्न पाए हुन्थ्यो।’ सीमितताभित्र छोरीका रहर पुरा गर्दा मोहना छुट्टै खुसीको अनुभूति गर्थिन्। 

छोरी हुर्कंदै गर्दा उनलाई नजानिदो ढंगले छोरा जन्माउनुपर्छ भन्ने आफन्त प्रशस्तै थिए। तर, अ भन्दा भिन्न स्वभावकी मोहनालाई सिधै भन्ने आँट भने कसैले गरेन। घुमाउरो कुरा बुझेर पनि उनी बेवास्ता गरिदिन्थिन्। यहीबीच उनी दोस्रो पटक गर्भवती भइन्। भन्छिन्, ‘छोरा वा छोरी भन्ने थिएन। दुई सन्तान भए उनीहरु एकआपसमा साथी हुन्छन् भन्ने लाग्यो।’

फरक दोस्रो पटकको गर्भावस्था​​
दोस्रो पटक गर्भवती हुँदा मोहनाले वकालती पेसा सुरु गरिसकेकी थिइन्। गर्भवती पनि अर्को बच्चा चाहिन्छ भन्ने महसुस भएर भएकाले छुट्टै उत्साह थियो। 

भन्छिन्, ‘दोस्रो पटक गर्भवती हुँदा वातावरण नै अर्कै थियो।’ 

व्यावसायिक जीवन चुनौतीपूर्ण थियो। साथमा सानो बच्चा, कोखमा हुर्कंदै गरेको भ्रूण, सबै कुराको सन्तुलन मिलाउन त कठिन थियो। तर, उनलाई परिवारको बलियो भावनात्मक साथ थियो।

दोस्रो पटक पनि गर्भावस्थाको समय उनका श्रीमान् साथमा थिएनन्। तर, यसपटक उनलाई गाह्रो भएन। सुत्केरी हुने समय भने श्रीमान् घरमै थिए। 

नेपालगञ्जको नेपाल मेडिकल कलेजमा मोहना दोस्रो पटक आमा बनिन्। त्यतिबेला उनका श्रीमान् जीटीजेड नामक संस्थामा काम गर्थे। सरकारले निजामती सेवामा श्रीमानहरुले सुत्केरी स्याहार बिदा पाउनुअघि नै सो संस्थाले बिदा दिने गरेको थियो। मोहना सुत्केरी भएको केही समय श्रीमान् घरमै बसे। 

दोस्रो पटक आमा बन्न मोहनालाई पहिलो पटकभन्दा गाह्रो भयो। अस्पतालमा बेड थिएन। भुइँमा बसेरै एक रात, एक दिन लामो प्रसव पीडा सहेकी मोहनाले यस पटक पनि अस्पतालमा राम्रो व्यवहार पाइनन्। 

सहनै नसक्ने गरी पेट, शरीर र मन दुख्थ्यो। सहनुको विकल्प थिएन। छोरी जन्मनु अगावै मोहनाले आफ्नो जीवनको माया मारेकी थिइन्। अस्पताल र नर्सको व्यवहार सम्झिदा रिस उठ्थ्यो। रिस पोख्ने ठाउँ थिएन। असह्य हुन्थ्यो। 

यो सबै सहेर उनले छोरी जन्माइन्। तर, छोरी जन्मिँदा घरमा पहिलेको जस्तो उत्साह उनले देखिनन्। उनका वरिपरिका मानिसहरुको अनुहार र व्यवहार दुवै परिवर्तन भएको थियो। यो सबैले पनि मोहनाको मन दुखाउँथ्यो। उनी आफैँ भने छोरी जन्मिएकोमा खुसी थिइन्। भन्छिन् ‘अरुको मनले जस्तो आमाको मनले छुट्याउँदैन रहेछ छोरा र छोरी भनेर। जे जन्मिए पनि माया उसैगरी पलाउँदो रहेछ।’

उनले आफ्नो समाज राम्रोसँग बुझेकी थिइन्। छोरीछोरी जन्माएकी बुहारीलाई परिवार र आफन्तले गर्ने व्यवहारका बारेमा उनलाई थाहा थियो। त्यसैले पनि उनलाई समाजले गर्ने टिकाटिप्पणी सहन गाह्रो भएन। 

त्यसयता कयौँ वर्ष बिते। सँगै मानिसको सोच, शिक्षाको, छोरीलाई हेर्ने नजर, छोरीहरुले देखाएका सक्षमता सबै सबै फेरिँदै गएका छन्। तथापि छोराप्रतिको समाजको आशक्ति फेरिएको छैन। छोराप्रतिको यस्तो आशक्ति देखेर कहिलेकाहीँ उनी अवाक् हुन्छिन्। 

छोरीलाई समय दिन पाइनँ’
व्यावसायिक जीवन सुरु गरेपछि मोहना व्यस्त बन्दै गइन्। काम र छोरीहरुको सम्पूर्ण जिम्मेवारी उनी आफैँले पूरा गर्न सकिनन्। घरमा सहयोगी राखिन्। उनका श्रीमान् पनि अधिकांश समय बाहिर भए। 

अहिले उनलाई छुटेको त्यो खुसी सम्झना गर्दा अभाव खड्किन्छ। उनकी सानी छोरी औँला चुस्दै हुर्किइन्। मोहनालाई थाहा थियो, छोरीले एक्लोपनको साथी आफ्नो औँलालाई बनाएकी थिइन्। त्यसलै पनि छोरीले औँला चुसिरहेको देख्दा उनको मन दुख्थ्यो।

छोरीहरु हुर्कंदै गर्दा उनी पनि व्यवसायमा सफल हुँदै गइन्। सानी छोरी जन्मिएको केही समयपछि माइतीले उनलाई बोलाए। दुई छोरी बोकेर माइत गएकी मोहनाले निकैबेर आमाको मुखमा हेर्न सकिनन्। त्यो क्षण सम्झिँदा अहिले पनि उनी भावुक हुन्छिन्। 

अहिले मोहनाका छोरीहरु हुर्किसके। आफ्नै सपनाको बाटो खनेर हिँडेका छोरीहरुलाई लिएर मोहना बारम्बार गर्व महसुस गर्छिन्। आफ्नो 'करिअर' सँगै छोरीहरुलाई पनि सक्षम बनाउन सकेकोमा उनी खुसी छिन्। ​

जेठ २८, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad