ad ad

म्यागेजिन


सुनिता दनुवारको मातृत्व अनुभवः बलात्कारपछि गर्भवती बनिन्, छोरासहित बम्बईको कोठीमा बेचिइन्

सुनिता दनुवारको मातृत्व अनुभवः बलात्कारपछि गर्भवती बनिन्, छोरासहित बम्बईको कोठीमा बेचिइन्

राधिका अधिकारी
बैशाख ३, २०७९ शनिबार १५:२९, काठमाडौँ

उनका बुबाआमाका दस सन्तान जन्मिए। कान्छी सुनितासहित चार बाँचे, ६ सन्तान बितेर गए। ६ सन्तान गुमाएकी उनकी आमालाई लाग्यो, ‘मेरा बच्चाहरुलाई यहाँ आँखा लाग्यो। यहाँ राख्यो भने अरु पनि मर्छन्।’ यही अन्धविश्वासले सुनिता दनुवारको परिवार दैलेख छाडेर भारतको जम्मु कस्मिर बसाइँ सर्यो।

कस्मिरमा जग्गा भाडामा लिएर सुनिताको परिवारले आलु खेती गर्यो। वर्षको एक सिजन स्याउ खेती हुन्थ्यो। स्याउ टिप्ने, प्याकिङ गर्ने र तुइनसम्म पुर्याउने काम हुन्थ्यो। सुनिता सकेको काम आमाबुबालाई सघाउँथिन्। 

जिन्दगी ठिकठाक चलिरहेको थियो। नेपालबाट सुनिताका कान्छा काका कस्मिर पुगे। केही महिना बसे। सिजनको काम गरेर थोरै पैसा कमाए। फर्किंदा काकाले सुनिताको दाइलाई लिएर भागे। छोरो हराएपछि सुनिताकी आमा दुःखी भइन्। त्यही समय नेपालमा सुनिताका हजुरबुबा बिते। हजुरबुबाको काममा उनका बुबा नेपाल आए।​​

बलात्कारीबाट जोगिन घर नै छाडे 
छोरा हराएपछि तड्पिएकी आमा, बुबा नेपालमा। १३ वर्ष लाग्दै गरेकी सुनिताको काँधमा घरको जिम्मेवारी बढ्दै थियो। उनी एक्लै पधेँरा पुग्थिन्, खेतीमा जान्थिन् त कहिले घरभित्रको काममा हुन्थिन्। 

एकदिन आमा काममा गएकी थिइन्। घरमा उनी एक्लै थिइन्। त्यही बेला एक ३७ वर्षीय पुरुषले उनलाई बलात्कार गर्यो। 

आमा खेतबाट फर्किंदा उनी अर्धचेत अवस्थामा थिइन्। आमाले उठाएपछि उनले आफूमाथि घटेको त्रासदी सुनाइन्। आमाछोरी दुवै मुर्छा परेर रोए। 

‘मेरो इज्जत लुटिइसकेको थियो। बाँकी भएको आँसु पनि रुँदारुँदै रित्तिँदै गयो,’ सुनिता भन्छिन्।

केही दिनमा उनका बुबा नेपालबाट फर्किए। उनले खुसी हुँदै घरबाट भागेको छोरो नैनीतालमा भएको खबर सुनाए। उनकी आमाले छोरी बलात्कृत भएको खबर सुनाइन्। लामो समय सन्नाटा छायो घरमा। 

बलात्कारीमाथि कानुनी कारबाहीको कुरा कसैले सोचेन। त्यसपछि पनि ऊ सुनिताको पिछा गरिरहेको थियो। सुनिताका साइँला काका नेपालबाट बेलाबेला कस्मिर गइरहन्थे। उनले पाँच हजार भारु लिएर सुनिताको हात आफूलाई सुम्पिने बचन दिएको त्यो बलात्कारी बताउँथ्यो। र, आफूसँग बिहे गर्न दबाब दिन्थ्यो।

त्यसबाट पिछा छुटाउन सुनिताका बुबाले ठाउँ नै छाड्ने निर्णय लिए। एकदिन बसिरहेको घरको दैलो नलगाई उनीहरु त्यहाँबाट हिँडे र कुल्लु मनाली पुगेर नयाँ जीवन सुरु गरे।​

कुमारी आमा
बलात्कृत हुँदा सुनिता पहिलो पटक रजस्वला भएकी थिइन्। दोस्रो पटक रजस्वला हुनै पाएन। पेटमा हलचल हुन थालेपछि उनले आमालाई सुनाइन्। आमाले भनिन् ‘तिम्रो त गर्भ बसेको रहेछ।’ गर्भको सन्तान हुर्काउनुको विकल्प उनीसँग थिएन। दिन बित्दै गए। पेटको आकार पनि बढेर गयो। बढ्दै गयो शारीरिक अशक्तता र थकान। उनलाई न मातृत्वका बारेमा थाहा थियो। न गर्भावस्थामा गर्नु पर्ने हेरचाह।

उनलाई लाग्थ्यो, ‘मेरो गर्भ आफैँ तुहिए पनि हुन्थ्यो।’ उनी स्याउका ५/६ वटा पेटी बोकेर हिँड्थिन्। सुनिता बच्चा पेटमै मरोस् भनेर हँसियाको बिँडले पेटमा हिर्काउँथिन्। फेरि सम्झिन्थिन्, ‘यो बच्चाको के दोष छ र यसले मर्नु पर्ने!’ उनी रुँदै आफ्नो पेट मुर्साथिन्। 

गर्भावस्थाको समय सकिँदै गयो। सुनिताको कष्ट बढेर गयो। बसेको ठाउँमा अस्पताल थिएन। नियमित जाँच गराएको थिएन। एकदिन बिहानै सुनितालाई व्यथाले च्याप्यो। उनले बच्चा जन्माउन सकिनन्। साँझ उनका बुबाले नजिकै रहेका अहेब बोलाए। उनको शारीरिक अवस्था बच्चा जन्माउ नसक्ने बनेकै थिएन। अहेबले ब्लेडले योनीद्वार चिरेर बच्चा निकाले। 

बच्चा निकालेपछि अहेबले उनका बुबालाई गाली गर्दै भने, ‘तपाईंले मलाई बोलाउन थोरै ढिला गर्नु भएको भए आमा र बच्चा दुबैको ज्यान जान सक्थ्यो।’

पेटमा हुँदा मृत्युको कामना गरेको बच्चाको जन्मेपछि भने सुनितालाई माया लाग्न थाल्यो।

‘मलाई त्यो नवजात शिशुप्रति भित्रैदेखि माया लागेर आयो। उमेर सानो भए पनि आमा भनेको आमा नै हुँदोरहेछ। छोरालाई सुमसुम्याएर काखमा लिएँ। दूध चुसाएँ। प्रसव वेदनापछि अवर्णनीय आनन्दको क्षण पनि मलाई महसुस भयो। आमा हुनुको गर्व बोध भयो,’ सुनिता सुनाउँछिन्, ‘चाहे जोसुकैको वीर्यबिजबाट जन्मिएको किन नहोस्, मेरो कोखमा नौ महिना पालिएर निर्दोष बालकको जन्म भएको थियो। उसका चम्किला आँखा, कोमल रगत चुहिएलाजस्ता गाला, उसको त्यो मुहार अनि उसको आत्मीय स्पर्शले मलाई भावुक बनाएको थियो।’

कुमारी आमा बनेपछि समाजले उनलाई अस्वीकार गर्न खोज्यो। वरपरका मानिस उनलाई शंकालु आँखाले हेर्थे। उनको बच्चाको बाउ खोजिरहन्थे। उनको चरित्रमाथि प्रश्न गर्थे। ‘बिना बाबुको पनि बच्चा हुने रहेछ’ भनेर घोचपेच गरिरहन्थे। १४ वर्षकी सुनिताले त्यो अपहेलना, त्यो घृणा र नारकीय जीवनलाई कसरी झेलिन्, उनी आफैंलाई हेक्का छैन।

यो सबमा बुबाआमाले भने उनलाई भरथेग गरिरहे। उनका बुबाले प्रतिप्रश्न गरिरहे, ‘हाम्रो बच्चाको बाउ खोज्ने तिमीहरु को हौ?’ त्यही प्रतिप्रश्नले उनलाई आँट दियो। छोरो बोकेर उनी काममा जान थालिन्। 

तर, दुःखको अर्को अन्त्यहीन सुरुङ सुरु हुन बाँकी नै थियो।​

छोरासहित बम्बईको कोठीमा
सुनिताका छोरा ६ महिनाको हुँदै थिए। एकदिन उनले काम गर्ने ठाउँमा १८/१९ का दुई युवक आए। उनीहरु ट्रयाक्टर चलाउँथे। सुनितालाई राम्रो कामको प्रलोभन देखाएर नजिकिन खोजिरहन्थे। उनी पन्छिरहन्थिन्। 

एकदिन अचानक उनका बुबाले कुल्लु मनाली छाड्ने निधो गरे। उनलाई हराएको छोरो खोजेर श्रीमतीको आँखामा खुसी फर्काउनु थियो। कुल्लु छोड्ने भएपछि उनका बुबा आफूले काम गरेको पैसा उठाउन गए। सुनिताको परिवारले कुल्लु छाड्न आँटेको खबर ती दुई युवकले पनि थाहा पाएछन्। त्यसपछि उनीहरुले आग्रह गरे, ‘हामी पनि तपाईंहरुसँगै जान्छौँ। उतै काम गर्छौं। यहाँ बस्न हामीलाई पनि मन छैन। तपाईंको छोरो हाम्रो पनि त भाइ हो। हामी भाइ खोज्न तपाईंलाई साथ दिन्छौँ।’ सुनिताको बुबाको मन पग्लियो। उनले सँगै लैजाने भए। 

कुल्लु छोडेको साँझ एक सामान्य होटलमा उनीहरु बास बसे। बास बसेको ठाउँमा ती दुई जनाले सुनितालाई लड्डु खान दिए। उनले खान मानिनन्। बुबाले भने, ‘तिमीलाई बहिनी भनेर मायाले दिएका छन् खाऊ न त।’ बुबाआमाले पनि लड्डु खाए। त्यसपछि उनले पनि खाइन्।

ब्युँझिँदा बुबाआमा साथमा थिएनन्। उनी बम्बईको कोठीमा बेचिइसकेकी थिइन्। जहाँ उनले नारकीय जीवन भोग्नुपर्यो। 

त्यहाँ उनी सामूहिक बलात्कारमा परिन्। कोठी सञ्चालकले उनको छोरो खोसेर राखेका थिए। एकातिर बलात्कारको पीडा, अर्कोतिर मेरो छोरालाई के गरे होलान् भन्ने चिन्ता। सुनितालाई त्यो सामूहिक बलात्कारपछि उठ्न लामो समय लाग्यो। 

कमाठीपुरको त्यो कोठीमा उनी छोराको यादमा छट्पटाइन्। ‘जब छाती चसक्क गथ्र्यो म मेरो छोरालाई सम्झिएर रुन्थेँ। मलाई जेसुकै गरेको भए पनि मेरो छोरा नखोसेको भए हुन्थ्यो भन्ने लाग्थ्यो,’ त्यो क्षणाको पीडा सुनाउँदै गर्दा सुनिताका आँखा अझै छचल्किन्छन्।

केही दिनपछि कोठीवालीले उनको छोरो काखमा ल्याएर राखिदिइन्। सुनिताले छोरालाई च्याप्प समातेर छातीमा टाँसिन्। म्वाइँ खाइन। दूध चुसाइन्। छोरासँगको त्यो मिलनले फेरि एकपटक उनले सबै पीडा बिर्सिदिइन्। 

कोठीवालीले उनलाई भनी, ‘तिम्रो छोरालाई अब खोलीमा राख्नु पर्छ। खोलीमै उसको सारा हेरचाह हुन्छ, तिमीले चिन्ता लिनु पर्दैन।’ 

कोठीमा पुगेका महिलाका बच्चा त्यसैगरी पालिन्थे। आमाले हप्तामा एकपटक बच्चा हेर्न र भेट्न पाउँथे। सुनिताको छोरा पनि खोलीमा पुगे। आमाछोराको पुनः बिछोड भयो। त्यो पीडा सहनुको विकल्प थिएन उनीसँग।

२०५२ साल माघमा १८ वर्ष नपुगेकाहरुलाई मुम्बई प्रहरीले कोठीबाट उद्धार गर्यो। उनलाई सरकारी आवास गृहमा लगियो। त्यसबेला छोरा साथमा थिएनन्। छोराबिनाको जिन्दगी उनलाई मञ्जुर थिएन। प्रहरीलाई भनिन्, ‘मेरो छोरो उनीहरुले खोलीमा लगेर राखेका छन्। कि मेरो छोरा पनि ल्याइदिनु, कि मलाई छोडिदिनु, म त्यहीँ जान्छु।’ 

‘१५ वर्ष लाग्दै गरेकी मैले कसरी आफ्नो जिन्दगीभन्दा ठूलो सन्तान माने हुँला,’ सुनिता अहिले सम्झेर छक्क पर्छिन्। प्रहरीले उनको छोरो खोजेर ल्याइदियो।

नृपसँग भेट, विवाह र छोरीको जन्म
हराएका बुबाआमा फेरि कहिल्यै भेटिएनन्। कोठीबाट निस्केर आएपछि देशले नागरिक मान्न अस्वीकार गर्यो। उद्धार भएको ६ महिनापछि नेपाल फर्किएकी सुनितालाई देखेर यहाँका मानिस अर्कोतिर फर्किन्थे। बाटोमा भेटिने र टोलका चिनारु मात्र होइन, अस्पतालका डाक्टर पनि घृणाभावले हेर्थे। 

नेपाल फर्किएपछि उनले विभिन्न संस्थामा काम गरिन्। उनीसँगै नेपाल फर्किएका महिलाले मिलेर सुनिता फाउन्डेसन गठन गरे। फाउन्डेसन गठनका क्रममा नागरिकताका लागि पनि उनले ठूलो संघर्ष गर्नु पर्यो। यही संघर्षकै क्रममा भेटिए उदयपुरका नृप दनुवार। नृपले नै उनलाई विवाहको प्रस्ताव राखे। तर, छोराले हेलाहोचो बेहोर्नुपर्ने हो कि भन्ने पीर थियो। नृपले छोरालाई आफ्नै ठानेर माया गर्ने बताएपछि उनले नृपसँग विवाह गरिन्। विवाहपछि उनको नागरिकता बन्यो। नृपसँगै सुनिताले यो देशको नागरिक हुनुको पहिचान पाइन्। तर नृपको परिवारले स्वीकार गरेन सुनितालाई। 

विवाह गरेको केही समयमा सुनिता गर्भवती भइन्। छोरो तीन वर्षका हुँदै थिए। नृप र सुनिता दुवै संघर्षको चरणमा। गर्भ बसेपछि नृपले भनेका थिए, ‘अर्को बच्चा जन्माउने सही समय होइन कि, यो बच्चा एभोर्सन गर्दा के हुन्छ?’ सुनिता रिसाइन्। उनीहरुले बच्चा जन्माउने निर्णय लिए।

चरम गरिबी थियो। काम छाड्न सक्ने स्थिति थिएन। पौष्टिक खाना जुटाउन मुस्किल थियो। जँचाउन जान कठिनाइ थियो। त्यसबेला सुनिता ओरेकमा काम गर्थिन्। त्यसबेलाका नमिठो सम्झना अझै उनलाई ताजै छन्।

सुत्केरी हुने दिन उनलाई मासु खान मन लाग्यो। उनले एक किलो कुखुराको टाउको र खुट्टा ल्याइन्। राम्रो मासु किन्ने हैसियत थिएन। उनले एक किलो टाउको र खुट्टा एक्लै खाइसकिन। त्यही दिउँसो उनलाई सुत्केरी व्यथा लाग्यो। व्यथाले च्यापेपछि उनले श्रीमानलाई भनिन्, ‘मलाई गाह्रो भयो अस्पताल जान ट्याक्सी खोजेर लिएर आउनू।’

उनका श्रीमान् गोजीमा ५ समय बोकेर ट्याक्सी खोज्न भौँतारिरहे। आफूसँग भएको पैसाले अस्पताल लगेर श्रीमतीलाई सुत्केरी गराउन सकिँदैन भन्ने भएपछि ‘यो पैसाले बरु श्रीमतीलाई खुवाउँछु’ भन्ने सोचेर फर्किए। उनी फर्किँदा सुनिताले छोरी जन्माइसकेकी थिइन। छोरी जन्मिएपछि उनको साल झरेन। सुनिताकी घरबेटीले चप्पलले ढाडमा हिर्काइन्। त्यसपछि साल निस्कियो। घरबेटीले उनकी छोरीलाई सफा गरेर सुनिताको छेउमा राखिदिइन्। दुःखको त्यो बेला हरेक हिसाबले साथ दिने ती घरबेटी आमै बितेको केही वर्ष भइसक्यो। सुनिता भने सम्झिरहन्छिन्।

छोरीको आगमनले नृप र सुनिता खुसी थिए। सुनिताले डेढ महिना अफिस बिदा पाइन्। त्यसपछि नृपले काम छोडे। सुनिता काममा फर्किइन्। नृप हरेक दिन ओरेकको गेटमा छोरी लिएर दूध ख्वाउन जान्थे। सुरक्षा गार्डदेखि भित्रैसम्मका मानिसको दुर्वचन सुन्थे। मन भारी बनाउँथे। कहिले झगडा गर्थे। एकदिन अफिसका ठूलै पदाधिकारीले सुनितालाई झपारे, ‘यो बच्चा हुर्काउने ठाउँ हो?’ महिला र बालबालिकाको अधिकारका लागि काम गर्ने संस्थाका मानिसको सोचाइ सुनेर सुनिताले आफैंलाई धिक्कारिन्। सोचिन्, ‘हामी के बालअधिकारका क्षेत्रमा काम गर्छौँ, के अधिकारका कुरा गर्छौँ। यहाँका मानिसलाई मेरी ३ महिनाकी छोरीले आमाको दूध खान पाउने अधिकार बुझ्दैन।’

उनी रुन्थिन्, काम छोडेर हिँडिहालौँ जस्तो हुन्थ्यो। तर, जिन्दगी चलाउन मुस्किल थियो।

छोरी हुर्किदै गर्दा सुनितालाई पीर लाग्थ्यो, ‘मेरो छोरा र छोरीमा श्रीमानले फरक व्यवहार गरे भने!’ तर नृपले कहिल्यै त्यसो गरेनन्। उनलाई छोराछोरी हुर्कंदै जाँदा आफ्नो विगत थाहा पाएर घृणा पो गर्ने हुन कि भन्ने चिन्ताले पनि सताउँथ्यो। 

बेचिएर फर्किएका दिदीबहिनीसँग मिलेर गठन गरेको शक्ति समूहमार्फत उनले सामाजिक काम गरिन्। उनको परिचय बदलियो। सुनिताका छोराछोरीलाई वरिपरिका मानिस, स्कुलका शिक्षक र साथीले भनिदिए, ‘तिम्री आमा महान हुन्।’

छोराछोरीले आफ्नी आमाप्रति गर्व गरे। समाजले उनलाई स्वीकार गर्यो। समाजले उनलाई स्वीकारेकोमा उनलाई त्यति धेरै खुसी लाग्दैन। भन्छिन् ‘यो समाजले मलाई स्वीकार गरेको होइन, मेरो संघर्ष र सफलतालाई स्वीकार गरेको हो। यदि मलाई स्वीकार गथ्र्यो भने यो समाजले आज पनि बलात्कृत भएकी छोरीलाई लाञ्छना लगाउँदैनथ्यो। उनीहरुलाई इज्जत र सम्मान दिन्थ्यो।’

उनका छोराछोरी दुवै पढाइमा अब्बल थिए। छोरालाई कानुन पढाउने योजना थियो उनको। तर, प्लस टु पढ्दै गर्दा प्रेममा परेका उनका छोराले पढाइ छाडेर बिहे गरे। अहिले उनी भारतमा बसिरहेका छन्।

‘एकदिन छोराका छोराछोरी हजुरआमा भन्दै काखमा बस्न आउनेछन्, छोरासँगको आश यही त हो अब,’ सुनिताले सुनाइन्। 

सुनिताकी छोरीले भने प्लस टु सक्नासाथ आमाको सपनाको बाटो समाइन्। उनकी छोरी अहिले कानुन विषय अध्ययन गरिरहेकी छिन्। छोरीले मानव बेचबिखनका क्षेत्रमा काम गरुन्, पीडा र हिंसामा परेका छोरीहरुका हितमा काम गरुन् भन्ने सपना छ सुनिताको। 

हिजोआज सुनिता तन्नेरी हुँदै गएका छोराछोरी हेर्छिन् र मुस्कुराउँछिन् आफैँसँग। भन्छिन्, ‘देखेपछि सबै बिर्साउने कस्तो जात रहेछ छोराछोरीको!’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .