ad ad

म्यागेजिन


मदन भण्डारीका टिम लिडरको त्यो ‘शीर्ष शहादत’

मदन भण्डारीका टिम लिडरको त्यो ‘शीर्ष शहादत’

नेकपा मालेको घोषणा गरेको धनुषाको सम्मेलनको सुरक्षार्थ खटिएको कोर टिममा मदन भण्डारी, वासु शाक्य र रत्नकुमार बान्तवा थिए। जसको नेतृत्व रत्नले गरेका थिए।


सीताराम बराल
चैत २७, २०७८ आइतबार १२:१६, काठमाडौँ

नेपालका अधिकांश सरकारी कार्यक्रमहरु बिसं १९९७ मा शहादत प्राप्त गरेका चार शहीदहरुको सम्मानमा मौन धारण गरेपछि औपचारिक सुरुवात गर्ने गरिन्छ। राजनीतिक दलहरुले पनि पार्टीका शहीद लगायत अन्य ‘ज्ञात–अज्ञात’ शहीदहरुप्रति सम्मान प्रकट गर्दै कार्यक्रमको सुरुवात गर्छन्। 

कार्यक्रमका उद्घोषकले जब ‘ज्ञात–अज्ञात’ शहीदहरुप्रति सम्मानका लागि सहभागीहरुलाई एक मिनेट मौन धारणको आग्रह गर्छन्, राष्ट्रिय जनता पार्टी (जसपा) कि नेतृ सुशीला श्रेष्ठलाई शहीद रत्नकुमार बान्तवा आफैँ अगाडि उभिएझैँ लाग्छ। 

‘अर्को कुनै शहीदको स्मृतिमा कार्यक्रम भइरहेको हुन्छ, तर मौनधारण गर्ने बेला शहीद रत्नकुमार बान्तवालाई नै सम्झन पुग्छु’, राजनीतिक जीवनको सुरुवात तत्कालिन नेकपा (माले) बाट गरेकी श्रेष्ठ भन्छिन्, ‘मेरो आँखै अगाडि इभाङ (इलाम) मा कमरेड रत्नकुमार बान्तवाको हत्या गरिएको घटना अहिले पनि आँखा अगाडि फिल्मको रिल जस्तै बनेर घुम्न थाल्छ।’

नेकपा (माले) को स्थापना भएको चार महिनापछि पञ्चायती सत्ताले २७ चैत (२०३५) मा सो पार्टीका संस्थापक केन्द्रीय सदस्य रत्नकुमार बान्तवाको हत्या गरेको थियो। ताप्लेजुङ सरुवा भएकी पार्टी कार्यकर्ता श्रेष्ठलाई इलामबाट जिम्मेवारीस्थलतर्फ लैजाँदै गर्दा इलामको इभाङमा बान्तवाले शहादत प्राप्त गरेका थिए। 

शीर्ष शहादत 
पञ्चायतकालमा तत्कालिन नेकपा (माले) ले गुमाएका दुईजना केन्द्रीय सदस्यमध्ये एक इलामका रत्नकुमार बान्तवा थिए भने अर्का दाङका नेत्रलाल अभागी। बान्तवाको मृत्यु प्रहरी मुठ्भेडमा भएको थियो। त्यसैले, पञ्चायतकालमा हत्या गरिएका तत्कालिन मालेका शीर्ष नेता बान्तवा नै थिए। हत्या हुनुभन्दा चार महिना अघिमात्र स्थापना भएको नेकपा (माले) को उनी संस्थापक केन्द्रीय सदस्यसमेत थिए।

खासमा २०३२ मा त्रिभुवन विश्वविद्यालयबाट स्नातक अध्ययन सकेपछि बान्तवा अध्यापन गर्ने उद्देश्य लिएर इलाम फर्केका थिए। गृहजिल्ला फर्केपछि उनले इलाम सदरमुकामस्थित क्याम्पसमा अध्यापन सुरु गरे। तर, केही समयपछि नै बान्तवा राजनीतिमा सक्रिय भए र पूर्णकालिन बनेर भूमिगत भए।

कीर्तिपुरस्थित त्रिविमा साथीहरुसँगै रत्नकुमार बान्तवा– दायाँबाट तेस्रो (खगेन्द्रराज जोशी)

राजनीतिमा सक्रिय भएपछि सुरुमा झलनाथ खनाल सचिव रहेको नेकपा (कोअर्डिनेशन केन्द्र– कम्युनिस्ट पार्टीहरूबीच यो कोकेका नामले बढी चर्चामा छ) को इलाम जिल्ला सदस्य भए। पार्टी संगठन विस्तारका लागि खनाल पश्चिम नेपालतर्फ लाग्दा उनले बान्तवालाई नै जिल्ला कमिटीको कार्यबाहक सचिवको जिम्मेवारी सुम्पेका थिए।

२०२८–२९ को झापा विद्रोहलाई पञ्चायत सत्ताले दमन गरेपनि त्यसैको जगमा स्थापित कोअर्डिनेशन केन्द्रप्रति आकर्षण र प्रभाव बढेको थियो। त्यसैक्रममा पूर्वको रातो झण्डा समूह र पुष्पलाल समूहबाट विद्रोह गरी निर्माण भएको मदन भण्डारी–मोदनाथ प्रश्रित नेतृत्वको मुक्तिमोर्चा, सन्देश समूह लगायतका साना समूहहरु कोकेमा आवद्ध भएका थिए। 

यी समूहहरुको आवद्धतासँगै कोकेले राष्ट्रव्यापी स्वरुप ग्रहण गर्यो। र, लगत्तै यसको तेस्रो सम्मेलन भयो। अहिलेको एमालेको प्रारम्भिक रुप नै तत्कालिन कोके हो। राष्ट्रव्यापी स्वरुप ग्रहण गरेपछि भएको तेस्रो राष्ट्रिय सम्मेलनबाट बान्तवा कोकेको केन्द्रीय सदस्य बने।

लगत्तै राष्ट्रिय सम्मेलनमार्फत् कोकेलाई नेकपा (माले) मा रुपान्तरण गरियो– ११ पुष २०३५ मा। चीनका माओत्सेतुङको जन्मदिन पारेर गठन भएको नेकपा (माले) को पनि केन्द्रीय सदस्य बने बान्तवा। यही नेकपा (माले) र मनमोहन अधिकारी नेतृत्वको नेकपा (माक्र्सवादी) बीच २०४७ मा एकता भएपछि नेकपा (एमाले) बनेको हो, जसको नेतृत्व अहिले केपी ओलीले गरिरहेका छन्।

पार्टीको संस्थापक केन्द्रीय सदस्य बनेलगत्तै मालेले बान्तवालाई पूर्वी पहाडको जिम्मेवारी दियो। राजनीतिमा सक्रिय हुन थालेपछि उनले प्राध्यापन पेशा छाडिसकेका थिए। तर, नेकपा (माले) को केन्द्रीय सदस्यको जिम्मेवारी पाएको चार महिना नपुग्दै उनको हत्या भयो, प्रहरीसँग लडेरै उनले शहादत प्राप्त गरे।

४३ वर्षपछि पनि भुल्न सक्दैनन् सहपाठी
देश परिवर्तनको सपना देख्दादेख्दै रत्नले शहादत प्राप्त गरेको पनि ४३ वर्ष पुगिसकेको छ। तर, त्रिभुवन विश्वविद्यालय अध्ययन गर्दाताकाका साथीहरुले रत्नको हार्दिक, सबैलाई सम्मान गर्ने व्यवहार अहिलेपनि भुल्न सकेका छैनन्। 

तीमध्येकी एक हुन्– नेपाली कांग्रेसबाट निर्वाचित बागमती प्रदेश सभाकी सदस्य विजया केसी श्रेष्ठ। उनी स्नातक अध्ययनका लागि डोटीबाट काठमाडौँ आइपुगेकी थिइन्।

‘विश्वविद्यालयमा अध्ययनका लागि आएका युवा–युवतिहरु उन्मुन्क्त हुन चाहन्थे, केटा–केटीको जोडा मिलेर हिँड्थे, कति केटाले केटीलाई जिस्क्याउँथे’, विजयाले सम्झिन्, ‘तर, रत्न त्यस्तो व्यक्ति थिएनन्। उनी महिलाहरुलाई सम्मान गर्थे। असाध्यै सहयोगी थिए। आफूले तयार गरेका नोट हामीलाई दिएर सहयोग गर्थे।’

विश्वविद्यालयमा अध्ययनरत रहेकै बेला एक दिन उनीहरुको टोली बनभोजका लागि सुन्दरीजल पुगेको थियो। छात्रहरुको जिम्मेवारी बनभोजमा आवश्यक पर्ने सामाग्री जुटाउने, मासुका लागि खसी काट्ने र भुत्ल्याउने, गाडीबाट ती सामाग्री बनभोजस्थलसम्म पुर्याउने थियो भने छात्राहरुले पकाउने र भाँडा माझ्ने जिम्मेवारी पाएका थिए।

‘छात्रहरुको समूहले जिम्मेवारी अनुसार सामान ओसारेर पिकनिक स्पटसम्म पुर्यायो, हामीले खाना पकायौँ, भाँडा माझ्ने जिम्मेवारीपनि हाम्रै थियो’, प्रदेश सभा सदस्य केसीले भनिन्, ‘तर, रत्नको अगुवाईमा छात्रहरुको एउटा समूहले हामीलाई भाँडा माझ्न सघायो। रत्नमा परेका बेला सहयोगका लागि अघि सरिहाल्ने यस्तो सहयोगी स्वभाव थियो।’ 

त्यो बनभोजको एउटा तस्वीर विजयाले निकै जतन गरेर राखेकी छन्। त्यो तस्वीरमा चिया खाएर जुठो भएका गिलास माझ्न छात्राहरुलाई रत्नले ईश्वर पोखरेल (हाल एमाले बरिष्ठ उपाध्यक्ष) र खगेन्द्रराज जोशी (सरकारी सेवाबाट अवकास) ले सघाइरहेका देखिन्छन्।

बायाँबाट विजया केसी, ईश्वर पोखरेल, खगेन्द्रराज जोशी र रत्नकुमार बान्तवा (विजया केसी श्रेष्ठ)

‘रत्न तीक्ष्ण बुद्धिका थिए, प्रविधिप्रति उनमा असाध्यै मोह थियो। इलेक्ट्रिसिटी (विजुली) र क्यामरा औधी मन पराउँथे, प्रविधिलाई उनी राजनीतिसँग जोड्थे’, रत्नका अर्का साथी खगेन्द्रराज जोशीले भने, ‘एकपटक उनले दुइटा नाङ्गा तार जोडे, त्यसमा करेन्ट पास गरे, त्यसको टुप्पोमा बसेको किरो करेन्टले ठहरै भयो।’

त्यसपछि रत्नले भनेको कुरा जोशी सम्झन्छन्, ‘साथी हो, प्रतिक्रियावादीहरुलाई पनि यही किरो जसरी ठहरै पार्नुपर्छ।’ 

उनी कति तीक्ष्ण बुद्धिका थिए, त्रिबिमा अध्ययन गर्दा रत्नको ‘रुममेट’ रहेका एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले रत्नप्रतिको संस्मरणात्मक पुस्तक ‘पूर्वको रातो तारा’ मा उल्लेख गरेका छन्। 

‘एउटा मोटै किताब पढ्दै गर्ने र त्यहीबेला कुनै अर्को किताबको नोट बनाउने वा अन्य मौलिक कुनै रचना पनि तयार गर्नसक्ने अनौठो क्षमता थियो– उहाँमा’, पोखरेलले लेखेका छन्, ‘पृथक–पृथक विषयमा दुईटा हातले एकैपटक लेख्नसक्ने क्षमता हुनु साँच्चै अनौठो कुरा थियो।’

रत्नकुमार बान्तवा र ईश्वर पोखरेल काठमाडौँ कालिमाटीस्थत डेरामा (लोकेन्द्र केसी)

देश र समाजप्रति लगावकै कारण रत्नले छात्रबृत्तिमा स्वीट्जरल्याण्ड अध्ययन गर्न जाने अवसर समेत त्यागे। पोखरेलका भनाईमा, बान्तवा र उनी दुवैलाई छात्रबृत्तिमा अध्ययन गर्न जाने प्रक्रियाका लागि स्वीस दूतावासकी जुडिथ नामकी कर्मचारी खटिएकी थिइन्। र, छात्रबृत्तिको प्रक्रिया टुङ्गिसकेको पनि थियो। 

‘हामीले स्वीट्जरल्याण्ड जाने निर्णय त्याग्यौँ र जुडिथसँगको भेटघाटलाई पातलो बनाउँदै लैजान थाल्यौँ’, पोखरेल लेख्छन्, ‘मैले भूमिगत भएर मध्य तराईको धनुषातिर जाने निर्णय गरेँ। रत्नले पूर्वी पहाडको इलामतिरै पार्टीसित सम्बन्धित भएर काम गर्ने आफ्नो योजना सुनाउनु भयो।’

मदन भण्डारीका टिम लिडर 
स्नातक अध्ययन पुरा गरेर रत्न इलाम पुगे, पार्टी कामपनि गर्दै क्याम्पसमा अध्यापन थाले। प्राध्यापन नै छाडेर पूर्णकालिन राजनीतिमा लाग्न काठमाडौँमा अध्ययन गर्दा ताकाका ‘रुममेट’ पोखरेलले लेखेको लामो पत्रले भूमिका खेलेको थियो। 

राजनीतिमा पूर्णकालिन बनेपनि शिक्षणमार्फत् गाउँमा चेतना बढाउने काम भने उनले छाडेनन्।

रत्नको हत्या हुँदा सँगै रहेकी जसपा नेत्री श्रेष्ठका भनाइमा, पूर्णकालिन बनिसकेपछि पनि रत्नले आफू भूमिगत रुपमा बस्ने गाउँहरुमा रात्रीकालिन कक्षा र प्रौढ कक्षा सञ्चालन गरेका थिए। 

‘राई–लिम्बुहरुमा पढ्ने चेतना आइसकेको थिएन’, श्रेष्ठले भनिन्, ‘गाउँमा राजनीति गर्दै उहाँले यसरी कक्षा समेत सञ्चालन गर्न थाल्नुभएको कुरा मैले इभाङ पुगेपछि जानकारी पाएँ।’ 

आफ्नो बानी व्यवहारले मानिसहरुमा जबर्जस्त प्रभाव पार्नसक्ने व्यक्तित्व रत्नको थियो। ठट्टापनि उनी गम्भीरताका साथ नै गर्थे। पहिलो भेटमै रत्नको व्यवहारले श्रेष्ठलाई प्रभाव पार्यो। 

ताप्लेजुङका लागि काठमाडौँबाट प्रस्थान गरेकी श्रेष्ठ इलामकै पार्टी कार्यकर्ता अगम बान्तवा (निवर्तमान राष्ट्रिय सभा सदस्य) का साथ झापाबाट इभाङस्थित रत्नले सेल्टर लिएको घर पुगेकी थिइन्।

रत्न हत्याकाण्डकी प्रत्यक्षदर्शी सुशीला श्रेष्ठ

अगम र श्रेष्ठ आफ्नो सेल्टरमा आइपुगेपछि रत्नले नै चिया–खाजा तयार पारे। र, ठट्टा गर्दै श्रेष्ठलाई भने, ‘ल इलामको कोसेली खानुस्। सहरमा मीठो चिज खाइराख्नु भएको होला। गाउँमा आउँदा मकै–भटमास त रुच्दैन होला कि!’ 

रत्न बौद्धिक थिए, लडाकू पनि थिए। उनको यही लडाकू स्वभावका कारण नेकपा (माले) मा रुपान्तरण हुनुअघि धनुषाको ठेरा कचुरीमा भएको कोकेको राष्ट्रिय सम्मेलनमा सुरक्षा–व्यवस्थाको सम्पूर्ण कमाण्ड उनकै जिम्मामा थियो। 

पोखरेलका भनाइमा, सम्मेलनस्थलको सुरक्षाका लागि स्थानीयवासी सहितको रेड गार्डबाहेक साँघुरो सुरक्षामा रहने गरी दुईटा बन्दुक र धारिला घरेलु हतियार सहित बस्ने अर्को ‘कोर टिम’ तयार गरिएको थियो।

‘त्यो मदन भण्डारी, वासु शाक्य र रत्नकुमार बान्तवाको टिम थियो। त्यसको अगुवाई भने रत्नले गर्नुभएको थियो’, पोखरेलले लेखेका छन्, ‘मैले त्यसैबेला थाहा पाएँ– रत्न हतियारबन्द प्रतिरोधका लागि पनि मानसिक र भौतिक रुपमा तयार हुनुहुँदो रहेछ। पुलिसहरु गस्ती आए भन्ने सूचना पाएपछि रत्न बान्तवाको अगुवाईमा रहेको त्यो टिमले तत्कालै पोजिसन लिएर तयारी गरेको देखिन्थ्यो।’

रोचक त अझ के थियो भने, इलाम पुगेर राजनीतिमा सक्रिय भएपछि रत्नले चित्रेस्थित आफ्नो घरदेखि नजिकैको जंगलसम्म सुरुङसमेत खनेका थिए। प्रहरी आउँदा जोगिएर भाग्न रत्नले खनेको त्यो सुरुङ अहिले पनि छँदैछ।

रत्नले खनेको सुरुङबाट निस्कँदै इलाम एमालेका नेता अगम बान्तवा– २२ जेठ २०५१ (धीरेन चेम्जोङ्ग) 

सम्भवतः बलिदान–भाव भएका व्यक्तिले आफ्नो मृत्यु स्वभाविक तवरमा हुन्छ भन्ने ठान्दैनन्। रत्नले अध्ययन सकेर इलाम फर्कनुअघि सहपाठीहरुसँगको कुराकानीमा यसको संकेत गरेका थिए। साथीहरुले आफूलाई सम्झिरहुन् भन्ने उद्देश्यका साथ आफ्नो तस्वीर बाँडेका थिए। 

‘हामीजस्ता गाउँबाट आएका विद्यार्थीहरुलाई जहिल्यै पैसाको अभाव हुन्थ्यो। कहिलकाहीँ त कीर्तिपुर पुग्न बस चढ्ने भाडापनि हुन्नथ्यो’, प्रदेशसभा सदस्य केसीले भनिन्, ‘तर, क्याम्पसको अन्तिम दिन रत्नले हामी सबैलाई आफ्नो पासपोर्ट साइजको एक–एक थान तस्वीर दिए। त्यो बेला फोटो निकै महङ्गो पथ्र्यो। तर, रत्नले फोटो बाँडेपछि मैले किन यस्तो महङ्गो फोटो बाँडेको भनेर कराएँ।’ 

विजयालाई रत्नले दिएको जवाफ थियो, ‘दिदी, पैसा भन्या’ चिज कहिले हुन्छ, कहिले हुँदैन। पैसा सकियो फेरि कमाउन सकिन्छ। तर, एकपटक मरेपछि जीवन फेरि फर्केर आउँदैन। मरिहालिएछ भने तपाईंहरुमा मेरो सम्झना जीवित रहिरहला भनेर यो फोटो दिएको हुँ।’

रत्नले विजयालाई दिएको तस्वीर र तस्वीर पछाडि रत्नको हस्ताक्षर (विजया केसी श्रेष्ठ)

‘रत्नमा त्यस्तो बलिदान भाव रहेछ र पो हामीलाई त्यसरी फोटो बाँडेर गाउँ गएको रहेछ’, विजयाले भनिन्, ‘२०३१–०३२ मा त्रिबि छाडेपछि रत्नसँग मेरो कहिल्यै भेट भएन। एकैचोटि २०३५ चैतमा उनको हत्या भएको खबर सुनेँ। भर्खरकै सुत्केरी थिएँ म। त्यस्तो बेला अरु के नै पो गर्न सक्थेँ र? तैपनि उनको हत्याको विरोधमा न्युरोडमा निस्केको जुलुसमा सहभागी भएँ।’  

२७ चैतमा जन्मे, २७ वर्षमा त्यही दिन हत्या गरिए    
सुशीला श्रेष्ठसँगै बसेर संगठनकला सिकुन् भनेर नातामा बहिनी पर्ने राममाया राईलाई पनि रत्नले सँगै ताप्लेजुङ लैजाँदै थिए। ताप्लेजुङ प्रस्थान गर्ने टोलीमा मालेका स्थानीय नेता अगम बान्तवा पनि थिए।

ताप्लेजुङ प्रस्थान गर्नुभन्दा अघिल्लो दिन रत्न, सुशीला, राममाया बाटैमा पर्ने इभाङको जंगल छेवैमा रहेको एउटा घरमा बसेका थिए। अगम अर्को घरमा थिए। भोलिपल्ट विहान यी दुबै टोली नजिकैको दोबाटोमा भेट भएर ताप्लेजुङ प्रस्थान गर्ने योजना बनेको थियो।

यो योजना अनुसार रत्नसँगै सुशीला श्रेष्ठ र राममाया राई ताप्लेजुङका लागि सेल्टरबाट निस्के। हिँड्न सजिलो होस् भनेर रत्नले बाटो छेउमा रहेको सिमलीको रुख काटेर लठ्ठी बनाए। 

घरबाट निस्केपछि केहीबेरमै एउटा बर–पिपलको चौतारो आउँथ्यो। एकैछिनमा त्यहीँ नजिकै शहादत प्राप्त गर्नु रहेछ, रत्नले ती दुई रुखप्रति त्यसदिन निकै स्नेह प्रकट गरे।

‘इलाममा बर–पिपलका रुख कति छन् कति। तर, किन हो किन मलाई इभाङका यी दुई बर–पिपल नै सबैभन्दा राम्रो लाग्छ’, रत्नको भनाई उद्धृत गर्दै राममायाले भनिन्, ‘त्यसो भनेको एकैछिनमा प्रहरी टोलीसँग हाम्रो जम्काभेट भइहाल्यो।’

राममायाका भनाइमा, चौतारोबाट ओरालो झरेपछि बाटो घुमाउरो थियो। झिसमिसे अँध्यारोमा उनले केही मानिसहरुको टाउको देखिन्। र, यो कुरा सबैभन्दा अगाडि रहेका रत्नलाई सुनाइन्। 

तर, रत्न नसुनेजस्तो गरेर अघि बढिरहे।

‘रत्नलाई लाग्यो होला– राममाया केटाकेटी छे, त्यसैले डराएर मान्छेको टाउको देखियो भनेकी हो’, राममाया सम्झिन्छिन्, ‘उहाँ अघि बढिरहेपछि सुशीला दिदी र म पनि उहाँको पछिपछि हिँडिरह्यौँ। ती मानिसहरु प्रहरी रहेछन्।’

रत्नको टोलीलाई देखेपछि प्रहरी टोली सुरुमा भित्तामा साइड लागेर बस्यो। रत्नहरु नजिकै पुगेपछि घेरा हाल्यो। प्रहरीले घेरा हालेपछि रत्नको अनुहार पहेँलिएको राममाया बताउँछिन्।

‘सायद पुलिसले मलाई मार्छ, यी बहिनीहरुलाई के होला भन्ने भयो होला उहाँलाई। त्यसैले, उहाँको अनुहार पहेँलियो’, उनले अनुमान गरिन्, ‘त्यसपछि उहाँ र प्रहरीबीच घम्साघम्सी सुरु भयो।’

श्रेष्ठका भनाइमा, झिसमिसे नै भएकाले प्रहरी टोलीमध्येको एकजनाले अर्को व्यक्तिलाई पछिल्तिरबाट चोर औँलाले रत्नलाई ‘यही हो’ भनेर देखाएको थियो। त्यसलगत्तै प्रहरीले रत्नको बाटो छेक्यो। 

‘बाटो छेकेको संकेत दिन मैले रत्नलाई पछाडिबाट बिस्तारै कोट्ट्याएँ’, श्रेष्ठले सम्झिन्, ‘तर उहाँले हातको इशाराले अघि बढ्नुस् भन्नुभयो।’

सेकेण्डभरमै परिस्थिति परिवर्तन भयो। 

रत्नलाई चिनिसकेपछि त्यो व्यक्तिले रत्नको हात समायो। रत्नले फुत्किन जोड गरे। रत्नले हात फुत्काउन नसकेपछि पछिल्तिर रहेकी श्रेष्ठले जोडले समाउने व्यक्तिको हातमा आफ्नो लठ्ठीले प्रहार गरिन्। त्यसपछि रत्नको हात छुट्टियो। 

रत्नलाई छुटाउन लठ्ठी प्रहार गरेपछि श्रेष्ठमाथि पनि प्रहरीले लठ्ठी प्रहार गर्यो। घम्साघम्सी सुरु भइसकेकाले रत्नलाई गोली हानेर प्रहरीले घाइते बनाइसकेको थियो।​​​

घटनास्थलमा स्थापना गरिएको शहीद रत्नकुमार बान्तवाको शालिक (लोकेन्द्र केसी)

‘ममाथि लठ्ठी प्रहार भएको देखेपछि रत्न उफ्रेर म भएतिर आइपुग्नु भयो, उहाँ मेरो अगाडि लड्नुभयो, लठ्ठी प्रहारका कारण मपनि लडेँ’, श्रेष्ठले थपिन्, ‘प्रहरीले ममाथि पनि गोली प्रहार गरेको थियो। तर, म लडेकाले त्यो गोली प्रहरी टोलीमै रहेको अर्को व्यक्तिलाई लाग्यो। ऊ पनि घाइते भयो।’  

बेहोस बनेर ढलेकी श्रेष्ठ केही समय पछाडि ब्यूँतदा प्रहरीको घेरा कायमै थियो। घाइते प्रहरीलाई भने उपचारका लागि अन्यत्र लगिसकेका थिए। गोली लागेका रत्न नजिकै छटपटाइरहेका थिए। 

उनी केही बोल्न खोज्थे, सकिरहेका थिएनन्। मुख बाइरहेका थिए। सायद पानी पिउने अपेक्षामा थिए। तर, मृत्युको मुखमा पुगेको मानिसको मुखमा पानी हालिदिने मुडमा प्रहरीहरु थिएनन्।   

रत्न हात उठाउन खोजिरहेका थिए। सायद मृत्युपूर्व उनी ‘लालसलाम’ भन्न र यही सन्देश सुशीला र राममाया मार्फत् पार्टीका साथीहरुसमक्ष पुर्याउन चाहन्थे। तर, जीवनको अन्तिम क्षणमा पुगिसकेका उनले हातपनि उठाउन सकेनन्। 

‘धेरै बेरसम्म छटपटाएपछि मेरै अगाडि रत्नको प्राण गयो’, श्रेष्ठले भनिन्, ‘त्यसपछि प्रहरीले रुखको घारा काटेर मेरो झोलाका कपडाले उहाँको शव बाँधे, अनि त्यो शव बोकेर अघि–अघि हिँडे, मलाई पछि–पछि हिँडाए।’

घाइते श्रेष्ठ र शहीद रत्नको शव लिएर गएका प्रहरीले घाइते अवस्थामै रहेकी राममायालाई भने त्यहीँ छाडेर हिँडेका थिए। 

‘म ब्युझँदा त्यहाँ रत्न, सुशीला दिदी दुवैजना हुनुहुन्नथ्यो। मलाई यत्तिकै घटनास्थलमा छाडेर प्रहरीहरु हिँडेछन्’, राममायाले भनिन्,  ‘पछि प्रहरीले रक्सी खाएको मौका पारेर सुशीला दिदी प्रहरी नियन्त्रणबाट भाग्नुभएछ। रत्न दाजुको चाहिँ हत्या भइसकेको रहेछ।’

हत्या हुँदाको दिन रत्न ठ्याक्कै २७ वर्ष पुगेका थिए। 

संयोग पनि कस्तो, २७ चैत (२००८) मा जन्मेका रत्नले २७ चैत (२०३५) कै दिन शहादत प्राप्त गरेका थिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .