ad ad

म्यागेजिन


धड्कनसँगसँगै पाइला सार्दै गोसाइँकुण्डसम्म

धड्कनसँगसँगै पाइला सार्दै गोसाइँकुण्डसम्म

गोसाइँकुण्ड


नवराज रेग्मी
मंसिर ११, २०७८ शनिबार ९:१७, काठमाडौँ

एउटा अजंगको रुखको फेदबाट बोसिलाले ताछ्दै पाइला राख्न मानौँ कसैले बनाइदिएको बाटोजस्तै। टुप्पोमा पुग्न चाहनेले त्यहाँ टेक्नैपर्थ्याे। 

ठाडेभीरको बीचबाट कोरिएको खच्चड झर्ने त्यही बाटो पछ्याउँदै उकालो लाग्दा घडीमा दिउँसोको २ बजेर २५ मिनेट गइसकेको थियो। धुन्चेदेखि पर छङछङ गर्दै बगिरहेको त्रिशूलीको चिसो पानीको स्पर्शसँगै क्यामेरामा रमाउन्जेल थाहै थिएन– अगाडिको यात्रा यति कठिन छ। 

हामीलाई ‘त्यो अग्लो रुख’जस्तै धुन्चे बेसीबाट देखिने आकाश छोएको डाँडाको शिरमा उभिएर हेर्नु थियो– चाँदीजस्तै सेताम्मे हिउँ फुलेका पहाडहरु! अनि तिनैबाट पोखिएर बनेका पोखरी र कुण्डहरु!  

त्यही लोभले काठमाडौंबाट चार जनाको टोली झिसमिसे पनि हुन नभ्याउँदै हिमाली जिल्ला रसुवाको सदरमुकाम हानिने भयौँ। ड्राइफुड, पानीका बोटल, केही औषधिका ट्याबलेट र मल्हमसँगै अर्को एकजोर कपडा झोलामा कोचेपछि हाम्रो यात्रा सुरु भयो।

काठमाडौंबाट धादिङको गल्छी हुँदै गाडी कोल्पु खोला तरेर नुवाकोटतर्फ अघि बढ्यो। देवीघाट हुँदै वेत्रावती पुग्दा रसुवाको यात्रा सुरु भयो। कालिकास्थान, राम्चे हुँदै धुन्चे पुग्यौँ। 

धुन्चेको एउटा होटलमा खाना खाएपछि हामी घट्टेखोलासम्म सहजै पुग्यौँ। 

तेर्सो, ओरालो ओरालो बाटो। ससाना पुलपुलेसा। त्यहाँ आइपुग्दा गल्छीमा भेटेको त्रिशूली नदी खोलामा परिणत भइसकेको थियो। 

सानो। तरे पनि सकिने। कञ्चन पानी। चीसो आभास। आहा!

चारै जनाको नयाँ गन्तव्य। बाटो कस्तो छ थाहै थिएन। 

खोलामै रमायौँ। झरनाको अगाडि बसेर क्यामेरामा कैद भयौँ। रामप्रसाद सर, रविन सर, अशोकजी र मैले पालैपालो एक अर्काको तस्बिर खिच्यौँ। 

अगाडि सिमेन्टका सिँढीहरुले हेरिरहेका थिए। त्यही सिँढी टेक्दै देउरालीको डाँडो घटाउन हाम्रा खुट्टा अघि बढे। सबैको अनुहारमा प्रकृतिको हरियाली र त्रिशूलीको चीसो पानी ओभाइसकेको थिएन। पाइला अघि बढ्नथाल्यो। धुन्चे पुगेर फर्किएको एक हुल खच्चड हामीलाई उछिन्दै अघि बढे। 

सिमेन्ट पोतिएका सिँढी सकिनैलाग्दा विश्रामस्थलमा पुगेर बसियो। त्यसपछि धुलेबाटोमा जुत्ता मैलाउँदै उकालो सुरु भयो। पछाडि भिरेका झोलाहरु गह्रौँ लाग्नथाले। धुन्चेदेखि बोकेको ‘ट्रेकिङ स्टिक’ बल्ल काम लाग्ने भयो। 

पहाडमै जन्मे हुर्केका राम सर, रविनजी र म केही स्वाँस्वाँ पचाउँदै अघि बढ्यौँ। तराई राजविराजमा जन्मेका अशोकजीलाई उकालोले अत्याउन थाल्यो। हार्नेवाला थिएनौँ। अघि बढिरह्यौँ– लम्किँदै उभिँदै...लम्किँदै उभिँदै...!

खेन्दी आयो। होटल रहेछ– सिर्जना होटल लज एन्ड रेस्टुराँ। बोकेका ब्याग बिसायौँ। शरीर गल्न थालिसकेको थियो। 

आँगनमा बसेर खुइय गर्दागर्दै होटल मालिक छोवान दिन्दुम घलेले सोधे– के खाने सरहरु? चौँरीको दूध, चिया, चना, चाउचाउ ...

काठमाडौंको होटलजस्तै मेनुमा सबै थियो। सामान्य नास्ता गर्यौँ। चौँरीको दूध पिएर उकालो लाग्यौँ। 

हिँड्ने तरखर गरिरहँदा घलेले भनेका थिए– अब २ घण्टामा देउराली पुग्नुहोला। घडीमा ४ बजेर १४ मिनेट गइसकेको थियो। घट्टेखोलाबाट त्यहाँ आइपुग्न झण्डै २ घण्टा लागेछ! ज्यान थाके पनि मन थाकेको थिएन। 

फेरि सुरु भयो उकालो यात्रा। बीचमा गन्तव्य पुगेर झर्ने युवाहरु भेटिन्थे। हामी अघि बढिरह्यौँ। जंगलको बीचबाट ‘टिङ टिङ टिङ’ आवाज सुनिन्थ्यो। घाँटीमा घण्टी झुण्ड्याइएका चौँरीहरु चरिरहेका थिए। लामा पुच्छर भएका लंगुरहरु रुखको टुप्पाबाट गिज्याइरहेका थिए। 

हाम्रो रात बस्ने मिसन देउरालीमा पूरा हुने थिएन। चन्दनबारी पुग्नै थियो। त्यसका लागि डिम्साको उकालो र लाङटाङ राष्ट्रिय निकुञ्जभित्रको जंगल काट्नुपर्ने। डाँडाबाट अस्ताउनलागेको सूर्यले हाम्रो यात्रालाई कठिन बनाउनेवाला थियो। 

देउराली पुग्नै लाग्दा दुई युवती र एक युवा भेटिए। 

‘तपाईंहरु आज देउरालीमा बस्नुस्, भोलि बिहानै उकालो लाग्नु’, एक युवतीले हाम्रो थकित अनुहार हेर्दै सुझाव दिइन्, ‘अँध्यारोमा उकालो भीरबाटो। कठिन छ।’ 

साँझ साढे ५ बजेको थियो। हामीभन्दा छिटो पाइला सारेका राम सर देउरालीमा आराम गर्दै हुनुहुन्थ्यो। तीन जना देउराली पुग्यौँ। 

‘अब त आउला कि हामी बस्ने होटल!’, हामीले देउरालीको होटलमा सोध्यौँ। 

होटलवालाले भने– यहीँ बस्नुस्, रात प¥यो। 

‘हाम्रो त होटल बुक भइसकेको छ।’

उनले सोधे– कुन होटल? 

‘याक एन्ड नाक।’

‘अब त रात परिसक्यो, जंगलको बाटो, गाह्रो छ।’

शुक्रबार चन्दनबारी बसेर शनिबार गोसाइँकुण्ड पुगेर त्यही दिन चन्दनबारी फर्किने हाम्रो योजना थियो। 

माथिबाट फर्किने एउटा अन्तिमजस्तै युवाटोलीले पनि हामीलाई देउराली नै बस्न भनिरहेको थियो। अशोकजी म त यहीँबाट फर्किन्छु, सक्दिन भन्न थालिसकेका थिए। 

हामी तीन जनाले साँझ मोबाइल बालेर भए पनि जानुपर्छ भन्यौँ। २/३ घण्टा लाग्ने थाहा पाइयो। विस्तारै फेरि अघि बढ्यौँ।
....


यात्रासँगै लम्बिँदै थियो समुद्री सतहदेखिको उचाइ। २६ सय ५० मिटरबाट अँध्यारोसँगै यात्रा फेरि अघि बढ्यो। मोबाइल बाल्यौँ। चारै जना सँगसँगै उभिँदै जंगलको ठाडै उकालो हिँड्यौँ। 

काठ तेस्र्याएर बनाएको बाटो। थुम्का थुम्का चढ्दै डिम्सा पुगेर काठको फल्याकमा केही क्षण विश्राम लियौँ। ड्राइफुड झिक्यौँ, पानी पियौँ। आकाशमा जुन लागिरहेको थियो। ठूला ठूला रुखले छेकेर होला जुनेली रात पनि औँसीझैँ कालै। एकदमै चकमन्न। 

लौरो र मोबाइलमा ध्यान दिनुपरेपछि झोलाको भारी बिर्सिनु बाध्यता थियो। अघि बढ्यौँ। 

थप करिब ४५ मिनेटको सकस र उच्छ्वासपूर्ण उकालो पार भयो। चन्दनबारी होटल पुग्यौँ। पहिले नै बुक भएकाले होटलवाला दिदीले अब आइपुग्न लाग्नुभयो भन्दा मनमा केही ऊर्जा आउँथ्यो। होटल पुगेर खाना खायौँ। आगो ताप्यौँ। मंसिर सुरु भइसकेको समय। चिसो बढ्दै थियो। खाना खाएर कतिखेर निदायौँ थाहै भएन। 

बिहान ६ बजे उठ्यौँ। गलेको शरीर। हाम्रो गन्तव्य बल्ल आधा भएको थियो। अशोकजी फेरि नजाऊँ क्यारे भन्नथाले। होटलवाला दिदीले यहाँसम्म आइपुगेपछि जान सल्लाह दिनुभयो। र, फेरि चिया नास्ता सकेर बिहान ७ः४० मा हिँडियो। 

चन्दनबारीदेखि चोलाङपाटीसम्म अघिल्लो दिनजस्तो कठिन भएन। तेर्सो तेर्सो बाटो। डाँडाको शिर टेक्दै पुग्यौँ। होटल भेटियो– होटेल लाङटाङ लिरुङ भ्यु। 

त्यहाँबाट गणेश हिमाल, साञ्जेन हिमाल देखिन्थ्यो। लाङटाङचाहिँ छेकिएको थियो। नेपाल–चीन रसुवागढी नाका आउने चीनको केरुङ सडक अलिअलि देखिने। 

‘के खाने? चिया, नास्ता, खाना, सुप...’, होटल मालिक निमा लामाले सोधे, ‘खाना खाएर जानुस्!’

भर्खर ९ः११ बजेकाले नखाने भन्यौँ। बरु सुप पिएर उकालो लाग्ने भयौँ। 

लामाले ‘गार्लिक सुप’ बनाए। त्यही पियौँ। 

अब गन्तव्य पुग्ने अन्तिम खड्गो काट्नु थियो– लौरीविनाको उकालो। 

सुनेका थियौँ– यो उकालोमा लेक लाग्छ। बाटाभरि धेरैथरि फूलहरु फुलेका हुन्छन्। गन्धले लठ्याउँछ। 

‘जे होला होला’ भन्दै हिँडियो। चन्दनबारीबाट घोडामा लौरीविनाको उकालो चढ्न पाइने रहेछ। हामी भने हिँडेरै जाने भन्दै उकालो लाग्यौँ। घोडा हिँड्ने बाटो– ढलान गरिएको। ठाउँ ठाउँमा खुट्किला, नत्र पूरै चप्लेटी। 

हामी समुद्री सतहदेखि ३५ सय ८५ मिटर उचाइमा रहेको चोलाङपाटी हुँदै ३९ सय १ मिटरको उचाइमा थियौँ। आधाजसो उकालोको बीचमा एउटा अन्तिम होटल भेटियो। 

बिहानको ११ः२५ बजिसकेको थियो। सुन्दरीजल हुँदै ६ दिन लगाएर गोसाइँकुण्डबाट धुन्चे लम्केको एक जोडी फ्रान्सेली नास्ता गर्दै थियो। हामीले तिब्बती भक्के रोटी र आलु काउलीको तरकारी खायौँ। खाना नखाने भइयो। २/२ ग्लास तातोपानी हालेर फेरि उकालो चढ्न थाल्यौँ। 

‘बुद्ध मन्दिरसम्म पुगेपछि अलिक सजिलो हुन्छ’, अघिल्लो साँझै खाना खानेबेला होटलकी दिदीले भन्नुभएको थियो। 

बुद्धमन्दिर आँखाले नाप्दा टाढा थिएन तर गलित पाइतालालाई त्यहाँ पुग्न निकै संघर्ष गर्नुपर्यो। माथि माथि पुग्दै जाँदा हिउँले खाएका डाँडा खुइलै देखिन्थे। टुप्पामा सेतो हिउँ, बाँकी सबै डाँडा हामीभन्दा तल। आहा! कति मनमोहक दृश्य। 

ती सबै क्यामेरामा कैद भए। बुद्धमन्दिर पुग्यौँ। 

४१५० मिटर उचाइमा टेकेर सेनाले बनाइदिएको सूचना पाटी हेर्यौँ– ४३८० मिटर उचाइमा रहेको गोसाइँकुण्ड पुग्न अब २ घण्टा लाग्ने रहेछ! तेर्सो तर अप्ठ्यारो बाटो। माथिबाट कतिखेर धुजाधुजा फुटेको, ढुंगा खस्लाझैँ लाग्ने पहरो। सेनाले गोसाइँकुण्डसम्मै बनाइदिएको फलामे रेलिङले आँट भरिदियो। फेरि अघि बढ्यौँ। 

कुण्ड पुगेर मानिसहरु फर्किन थालिसकेका थिए, हामी भने पुग्दै थियौँ। अब तेर्सो बाटो र नजिकै रहेको भन्दै फर्किएकाहरुले ढाडस दिए। अशोकजी खुट्टा खोच्याउँदै खोच्याउँदै पछि पछि आउँदै थिए। 

अलिक पर घरको धूरी देखियो– जस्ताले छाएको। डाँडाको टुप्पाबाट हेलिकप्टर छिनछिनमै उडिरहन्थ्यो। हिँड्न नसक्नेहरु हेलिकप्टरबाटै आउने जाने रहेछन्। पर पुगेपछि नागकुण्ड देखियो। 

‘हो त्यो कुण्डमाथिको कुण्ड नै हो गोसाइँकुण्ड’, फर्किएकाहरु देखाइरहेका थिए, ‘धूरी देखिएको चाहिँ होटल।’ 

हामीलाई त्यहाँ कहिले पुगौँ भइरहेको थियो।

पुग्यौँ। 

सौभाग्य थियो– अघिसम्म घाम लागेको आकाश सेतै बादलले भरियो। कपासझैँ उड्नथाले हिउँका फोका। 

कुण्डमा पुग्यौँ, स्नान गर्यौँ। झोलामा लगेको धूपको प्याकेट खोल्यौँ, सलाईले सल्काएर भगवान् शिवजीको पूजा आराधना गर्यौँ। 

बाक्लै पर्नथाल्यो हिउँ। म पहिलोचोटि हिउँसँग खेल्दै थिएँ। पछाडि भिरेका काला झोला हिउँले सेतै भए। तस्बिर र भिडिओ खिच्यौँ। रमायौँ र फेरि चन्दनबारी फर्किने भयौँ। 

अब ओरालो यात्रा सुरु भयो। अघिल्लो बास बसेको होटल आइपुग्दा ​बेलुका साढे ७ बजेको थियो। खाना खाएर निदायौँ। बिहान सबेरै फेरि आधा बाटो हिँड्नै जो थियो। 

अघिल्लो दिन मरिमेटेर चढेजस्तो गाह्रो त थिएन, तर ओरालो बाटोमा ढुंगामाथि खुट्टा बजार्दै बजार्दै झर्नु पनि उति सजिलो थिएन। दिउँसो २ बजे धुन्चे आएर खाना खाएपछि हाम्रो गाडी काठमाडौं फर्कियो। 

३ दिन झण्डै १९ घण्टाको उकालो र ओरालो हिँडाइ। थकानले निमोठे पनि गोसाइँकुण्डको ट्रेकिङ गन्तव्यले काठमाडौंबाट जानेलाई रोमाञ्चक अनुभूति दिलाउँछ। यो बेला जानेलाई होटलमा मज्जाले बस्ने अवसर मिल्छ। वैशाख–जेठतिर जानेले भने अहिलेभन्दा धेरै मज्जा लिन पाउने रहेछन्– लौरीविनाको उकालोमा हिउँमा खुट्टा गाड्दै गाड्दै। 

गोसाइँकुण्डमा जनैपूर्णिमामा विशेष मेला लाग्छ। दशौँ हजार मानिस त्यहाँ पुग्ने गरेको होटल सञ्चालन गर्नेहरु बताउँछन्। हिन्दू धर्मावलम्बीहरु ट्रेकिङभन्दा पनि धार्मिक तीर्थयात्राका लागि यहाँ जान्छन्।

अहिले त विदेशीमात्र होइन नेपाली युवायुवतीको पनि उत्कृष्ट ट्रेकिङ गन्तव्य बनेको छ गोसाइँकुण्ड। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .