म्यागेजिन


राजदूतले काठमाडौँमा सेना उतार्ने धम्की दिएपछि राजा त्रिभुवन शरणमा जाने बाटो खुल्यो

राजदूतले काठमाडौँमा सेना उतार्ने धम्की दिएपछि राजा त्रिभुवन शरणमा जाने बाटो खुल्यो

नयाँदिल्लीमा छोरा–नाति र भारतीयहरुका साथ राजा त्रिभुवन


सीताराम बराल
कात्तिक २१

‘पण्डितजी, आप बच त रहिए, ऐसा काम हम बहुत करेंगे।’ 

भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले ‘तपाईंले प्रसंशायोग्य काम गर्नुभयो’ भन्दै काठमाडौँस्थित भारतीय राजदूत सीपीएन सिन्हाको प्रसंशा गरेपछि राजदूत सिन्हाले नेहरुलाई २२ कार्तिक (२००७) मा दिएको जवाफ थियो यो। 

त्यसदिन आफ्नो घरमा रहेको रेडियोेमा भारतीय प्रधानमन्त्री नेहरु र काठमाडौँस्थित भारतीय राजदूत सिन्हाबीच वायरलेसमा भएको यो बेपर्वाह कुराकानी काठमाडौँबासीले स्पष्टसँग सुनेका थिए। 

प्रम नेहरु–राजदूत सिन्हाबीचको कुराकानीको विषय अघिल्लो दिन (२१ कार्तिक) राजा त्रिभुवनले सपरिवार भारतीय राजदूतावास (शीतल निवास) मा लिएको शरण थियो। त्रिभुवनलाई सपरिवार नारायणहिटीबाट भारतीय राजदूतावास लगेकोमा प्रधानमन्त्री नेहरुले राजदूत सिन्हाको प्रसंशा गरेका थिए।

‘नेपाललाई हडपेका राणा शासकहरुबाट आफ्ना प्यारा र लोकप्रिय राजालाई मुक्त गरेकोमा सारा नेपालीहरु भारतप्रति आभारी थिए’, २००७ को क्रान्तिताका कलकत्तामा महावाणिज्यदूत रहेका जनरल दमन शमशेरले २०३५ ताका प्रकाशित संस्मरणात्मक पुस्तक ‘नेपालः रुल एण्ड मिसरुल’ मा सो घटनाको चर्चा गर्दै लेखेका छन्,‘तर, भारतजस्तो ठूलो राष्ट्रले नेपालमा लगातार रुपमा गरेको गैरकुटनीतिक हर्कतप्रति नेपालीहरुले असहज पनि महसुस गरे।’  

श्री ३ मोहनबाट राजा श्री ५ त्रिभुवनले शिकार र वनभोजको निहुँमा नागार्जुन जंगल जाने अनुमति २० कार्तिक (२००७) मा पाएका थिए। तर, त्रिभुवनले सपरिवार महाराजगञ्जस्थित शीतल निवास (हाल राष्ट्रपति कार्यालय) पुगे र भारतीय दूतावासमा राजनीतिक शरण लिए। 

यो घटनाले काठमाडौँमा झण्डै बेलायत–भारतबीच सैन्य झडपको स्थिति सिर्जना गर्यो। तर, राणाहरुकै सम्मति र सुरक्षामा राजा त्रिभुवन नयाँदिल्ली प्रस्थान गरेपछि सम्भावित सैन्य झडप टर्यो। 

भारतले मारेको बाजी 
खासमा राणा शासन विरोधीहरुसँग मिलेको आरोपमा तत्कालिन शासक श्री ३ मोहन शमशेर राजा त्रिभुवनलाई गोरखा धपाउन चाहन्थे। यसको आन्तरिक तयारी सिंहदरबारमा चलिरहेको थियो। राणा शासनविरुद्ध सशस्त्र क्रान्तिको तयारीमा रहेको नेपाली कांग्रेस त्रिभुवनलाई गुप्तरुपमा पाल्पा लैजान चाहन्थ्यो।

तर, आफूविरुद्ध सक्रिय हुने वातावरण बन्न नदिने योजना अनुसार न श्री ३ मोहनले राजा त्रिभुवनलाई गोर्खा धपाउने मौका पाए, न त राजा भारत वा राणाको कब्जामा नगरुन् भनेर पाल्पा लैजाने योजनालाई नेपाली कांग्रेसले मूर्तरुप नै दिन सक्यो। 

आफूलाई श्री ३ को रोलक्रम र प्रधानसेनापतिबाट अपदस्थ गरेर पाल्पा धपाइएका कारण पाल्पाका बडाहाकिम रुद्र शमशेर राणा शासनसँग असन्तुष्ट थिए। सशस्त्र संघर्षको तयारीमा रहेको नेपाली कांग्रेससँग उनको सम्पर्क स्थापित भइसकेको थियो। नेपाली कांग्रेसले राजा त्रिभुवनलाई पाल्पा लैजान चाहनुको कारण यही थियो।   

‘राजाको नाउँबाट हामीले क्रान्ति गर्दा राजालाई उनी (राणा) हरुले समातिहाल्लान्। एयरपोर्टसम्म हामीले हेलिकोप्टर लग्न सक्यौँ भने त्यही हेलिकोप्टरबाट उनलाई पाल्पा लिएर जाने, पाल्पामा नयाँ सरकार बनाउने हाम्रो योजना थियो’, बीपीले ‘आत्मबृत्तान्त’ मा भनेका छन्, ‘अनि, त्यस सरकारलाई हिन्दूस्तानको अन्तर्राष्ट्रिय मान्यता दिलाउने र क्रान्तिलाई बढाएर लिएर जाने भनेर हामीले प्लान गरेका थियौँ।’

हेलिकोप्टरका लागि बीपीले भारत सरकारसँग कुरा गरे। तर, भारतले बीपीलाई हेलिकोप्टर दिन चाहेन। हेलिकोप्टरको अभाव रहेको जवाफ भारतीय पक्षबाट बीपीले पाए। 

‘हेलिकोप्टर त्यो बेला त्यति सजिलै पाइँदैनथ्यो र हिन्दूस्तानले दिने पनि थिएन। हिन्दूस्तान त राजालाई आफ्नो पोल्टामा पार्न खोज्थ्यो’, बीपी भन्छन्, ‘राजा कसको नियन्त्रणमा हुन्छन् भन्ने कुरा बडो महत्वको कुरा थियो।’

राजा त्रिभुवनलाई पाल्पा लैजाने कुरामा बीपी असफल भए। राजालाई नयाँदिल्ली लैजाने योजनामा भारतीय पक्ष सफल भयो।    

भारतले शरण दिने तय भएपछि २१ कार्तिक विहान परिवारसहित वनभोज र शिकारका लागि नागार्जुन जाने निहुँमा राजा त्रिभुवनले नारायणहिटी दरबार छाडे। दरबारबाट निस्केपछि आफूले हाँकेको मोटर उनले महाराजगञ्जतर्फ मोडे। बागदरबारस्थित मामाघरमै रहेका उनका नावालक माहिला र कान्छा नातिद्वय ज्ञानेन्द्र र धीरेन्द्र भने छुटे।

त्रिभुवनको भारतीय दूतावास–प्रवेश कति सुव्यवस्थित तरिकाले तय गरिएको थियो, यो कुरा इतिहासकार भुवनलाल प्रधानले ‘नेपालको जनक्रान्तिः २००७’ मा उल्लेख गरेका छन्। 

‘राजदूतावास (भारतीय) बाट राजामा के सुझाव पठाइयो भने आफैले गाडी हाँकी शीतलनिवासनिर सवारी हुँदा ढोकाको सामुन्ने रहेको सानो पोखरीमा बल्छीले माछा समात्न खोजिरहने २–३ जना मानिसहरुतिर नजर लगाउने, तिनीहरुमध्ये कसैले बल्छी टाउको भन्दा माथिसम्म उठायो भने मौसुफले सरासर गाडी भित्र ल्याउने’, प्रधानले लेखेका छन्, ‘तर, माछा पक्रन सबै व्यस्त रही कसैले पनि बल्छी माथि उठाएन भने मौसुफले गाडी भित्र नल्याउने एवं दिल्लीबाट आदेश आइनसकेको कुरा बुझ्नुपर्नेछ।’

आफै गाडी हाँकिरहेका राजा त्रिभुवन शीतल निवास अगाडि पुगे, शीतल निवास अगाडिको तलाउमा केही मानिसहरु हातमा बल्छी लिएर बसिरहेका थिए। तर, कसैले पनि बल्छी टाउको माथि लगेको देखिएन। भारतीय दूतावास छिर्ने वातावरण परिपक्व भइसकेको रहेनछ भन्ने राजा त्रिभुवनले बुझे।  

त्यसैले, उनी त्यहाँ नरोकिई बुढानिलकण्ठतर्फ लागे। केही छिनमै त्यही बाटोबाट फर्किए। फर्कंदै गर्दा माछा मारिरहेकामध्ये एकजनाले साथमा रहेको बल्छी टाउकोमाथि पुर्यायो। 

‘यसरी बल्छी टाउकोमाथि पुर्याउने व्यक्ति भारतीय राजदूतावासका सचिव एस. के. सिन्हा थिए। 

‘त्यसरी उठाइएको बल्छीमा माछा बल्झिएको थियो वा थिएन, राजाले छुट्ट्याउन सकेनन्, तर उनलाई इसारा पुगिसकेको थियो’, राजा त्रिभुवनसँग निकट रहेका इतिहासकार स्व प्रधानले लेखेका छन्, ‘राजाले निर्धक्कसँग गाडी ढोकाभित्र गुडाए, अरु गाडीहरुपनि पछि लागे। शाही सवारीका गाडीहरु भित्र पुगेपछि राजदूतावासको ढोका बन्द गरियो। राजदूत चन्द्रेश्वरले श्री ५ त्रिभुवनलाई स्वागत गर्दै माथि लगे।’

श्री ३ मोहनलाई चक्मा
राणा सरकारले खटाएका एडिसी कर्णेल नारायण नरसिंह राणा राजा त्रिभुवनको साथमा नरहेका होइनन्। तर, त्रिभुवनले लैनचौर पुगेपछि गाडी पश्चिम–बालाजुतर्फ मोड्नुपर्नेमा उत्तर–महाराजगञ्जतर्फ किन मोडे, अनुमान नै गर्न सकेनन्। भारतीय दूतावासभित्र प्रवेश गरिसकेपछि यसबारे कर्णेल राणाले श्री ३ मोहनलाई  खबर गर्न सक्ने स्थिति नै रहेन।  

त्यसैले, विहानै भारतीय राजदूतावासमा राजा त्रिभुवनले शरण लिएको घटनाको जानकारी श्री ३ मोहनले साँझमात्र प्राप्त गर्न सके। अलइण्डिया रेडियोले साँझको समाचार बुलेटिनमा राजा त्रिभुवनले भारतीय दूतावासमा शरण लिएको समाचार प्रसारण गरेपछि यसबारे श्री ३ मोहनलाई जानकारी गराइएको थियो। 

भारत प्रवासमा परिवारका साथ राजा त्रिभुवन, अगाडि नावालक नवयुवराज वीरेन्द्र

यो समाचार केवल इन्दु शमशेर जबराले मात्र रेडियोबाट सुनेका रहेछन्, उनले यो समाचार तत्काल बबर शमशेर (श्री ३ मोहन शमशेरका भाई, तत्कालिन प्रधानसेनापति) लाई सुनाए’ महाबाणिज्यदूत राणाले लेखेका छन्, ‘बबरमार्फत् श्री ३ मोहनले राजा त्रिभुवन शरणका लागि भारतीय राजदूतावास पुगेको जानकारी प्राप्त गरेका थिए।’ 

राजा त्रिभुवनले परिवारसहित नारायणहिटी छाडेको घटनाबारे थप यकिन गर्न श्री ३ मोहनले आफ्ना साहिँला भाई जनरल केशर शमशेरलाई फोन गरे। आफै नारायणहिटी पुगेर थप बुझबुझारथ गर्न आदेश दिए। 

केशर शमशेरलाई यो काम गर्न दुई कारणले सजिलो थियो। एक, उनी राजा त्रिभु्वनका भिनाजु थिए। राजाकी जेठी दिदी लक्ष्मी राज्यदेवी शाहको बिहे केशर शमशेरसँग भएको थियो। दुई, उनको निवास केशर महल नारायणहिटीको पश्चिम ढोकातर्फ पथ्र्यो।

केशर शमशेर डम्बरकुमारीको खास्टो (पातलो परम्परागत नेपाली पछ्यौरा) ओढेर ‘नाइट सुट’ र चप्पलमा नारायणहिटी पुगेका थिए। केशर महल फर्केपछि उनले नारायणहिटी दरबार शान्त रहेको जानकारी दिए। 

दमन शमशेरको भनाईमा, केशर शमशेर मोहन शमशेरको ‘बचन राख्न’ मात्रै नारायणहिटी पुगेका थिए र डरका कारण त्यहाँ रहेका कसैसँग कुनै सोधपुछ नगरी फर्के।

त्यो बेला सिंहदरबारमा सुब्बा पदमा रहेका नेपाल सरकारका पूर्व सचिव लक्ष्मणप्रसाद रिमालले भने राजा त्रिभुवनको शरण सम्बन्धी खबर श्री ३ मोहनले छोरा विजय शमशेरबाट पाएको उल्लेख गरेका छन्। 

रिमालको संस्मरणात्मक पुस्तक ‘बितेका ती दिनहरु’ मा उल्लेख भए अनुसार, श्री ३ मोहन खाना खान जानुअघि भान्सामा गोडा धुवाउने काम भइरहेका बेला ‘इमर्जेन्सी’ परेका बेला प्रयोग हुने ढोका र बाटोबाट गएर विजय शमशेरले मोहन शमशेरलाई सुटुक्क राजा त्रिभुवन भारतीय दूतावास पुगेको जानकारी दिएका थिए।  

‘उनको (श्री ३ मोहनको) अनुहारको रङ्ग उडेकोबाट विषय अत्यन्त गम्भीर छ भन्ने अनुमान लगाउन सकियो, तर विषय के हो, तत्काल जान्न सकिएन’, जीवित ९७ वर्षीय रिमालले लेखेका छन्, ‘त्यसपछि खाना खाने कार्यक्रम रद्द भयो। धमाधम चिफसाहेव, जनरलहरु, उनका छोरा, लाठ साहेब, सल्लाहकार र उच्च तहका राणाहरु जम्मा भए। हामीले धेरै बेरपछि मात्र थाहा पायौँ– राजा त्रिभुवन सपरिवार भारतीय दूतावासमा शरण लिएको विषय रहेछ।’

राणाका भनाईमा, भारतको तर्फबाट श्री ५ त्रिभुवनलाई दूतावासमा लैजाने काम योजनाबद्ध रुपमा गरिएको थियो। तर, यो काम योजनाबद्ध नभई आकस्मिक रुपमा भएको हो भन्ने देखाउने भरमग्दुर प्रयास काठमाडौँस्थित भारतीय राजदूतावासले गर्यो।

‘दूतावासका कर्मचारीहरु ‘निम्तो नगरिएका आकस्मिक पाहुना’ का लागि भन्दै सिरक र तन्ना किन्न बजारमा गए। योसँगै राजपरिवारले दूतावासमा शरण लिएको विषय सार्वजनिक भयो’, राणा लेख्छन्, ‘पछिमात्र थाहा पाइयो कि, घटनाबारे आफूहरु जानकार नरहेको देखाउनमात्र भारतीय राजदूतावासले यस्तो गरेको रहेछ।’

झण्डै ब्रिटिस–भारतीय झडप
भारतीय दूतावासमा शरण लिएको पाँच दिनपछि २६ कार्तिकमा राजा त्रिभुवन राणाहरुकै सम्मतिमा नयाँदिल्ली प्रस्थान गरे। त्रिभुवनलाई भारत जान दिन श्री ३ मोहन बाध्य हुनुको कारण सम्भावित ‘भूराजनीतिक झडप’ थियो। 

भारतीय सेना काठमाडौँमा उतारेर भएपनि राजा त्रिभुवनलाई नयाँदिल्ली लैजाने चेतावनी भारतीय राजदूत सिन्हाले राणाहरुलाई दिएका थिए। त्रिभुवनलाई नयाँदिल्ली लैजाने बहानामा भारतीय सेना काठमाडौँमा उत्रियो भने राणा शासनको रक्षार्थ ब्रिटिस सेनालाई पनि काठमाडौँमा उतार्ने चेतावनी ब्रिटिस राजदूतले थिए।

अर्कोतिर तिब्बतसम्म आइपुगेको चिनियाँ जनमुक्ति सेना यो प्रतिद्वन्द्विताको फाइदा उठाउँदै नेपाल प्रवेश गर्ने हो कि भन्ने चिन्ता श्री ३ मोहन शमशेर, भारत र बेलायतलाई थियो।

राजा त्रिभुवन आफ्नै दूतावासमा रहेका र भारतीय भूमिमै बसेर नेपाली कांग्रेसले सशस्त्र संघर्षको तयारी गरिरहेकाले भारतको हात ‘माथि’ अवस्य परेको थियो। तर, राणा शासन कायमै रहेकाले बेलायतको प्रभावपनि यहाँ कमजोर थिएन। राणाहरुप्रतिको समर्थनलाई निरन्तरता दिएर नेपालमा आफ्नो राजनीतिक पकड कायमै राख्ने ब्रिटिस नीति थियो। 

इतिहासकार प्रधानका भनाईमा, श्री ५ त्रिभुवनले शीतल निवासमा शरण लिएको जानकारी पाएपछि श्री ३ मोहनले नारायणहिटीमै राजालाई फर्काउन माग गर्दै भारतीय राजदूतलाई पत्र लेखेका थिए। यो पत्रको जवाफमा राजदूत सिन्हाले राजालाई सपरिवार दिल्ली लैजाने, त्यसक्रममा उनको सुरक्षा नेपाल सरकारको तर्फबाट नहुने भए भारतीय सैनिक टोली काठमाडौँ ल्याएर भएपनि राजाको सुरक्षा गरी नयाँदिल्ली लैजाने चेतावनी दिएका थिए।  

भारतीय राजदूतको चेतावनीलाई काउन्टर गर्न नेपालका लागि तत्कालिन ब्रिटिस राजदूत जर्ज फल्कोनर​ अघि सरे। भारतीय राजदूत सिन्हा र ब्रिटिस राजदूत फल्कोनर​बीचको सम्बाद कस्तो थियो, कलकत्तास्थित तत्कालिन नेपाली महाबाणिज्यदूत रहेका दमन शमशेरले ‘रुल एण्ड मिसरुल’ मा उल्लेख गरेका छन्। 

‘काठमाडौँमा भारतीय सेना उतार्ने भारतीय राजदूतको चेतावनीपछि ब्रिटिस राजदूतले तत्काल प्रत्युत्तर दिए– भारतीय सेना काठमाडौँ आइपुगेको अर्को दिन बेलायतबाट हाम्रो सेनापनि काठमाडौँमा ओर्लनेछ’, राणाले लेखेका छन्, ‘त्यसपछि भारतीय राजदूतले राणाहरु छिट्टै नेपालबाट अपदस्थ हुने र नेपाल–बेलायतबीचका सबै सन्धि अमान्य घोषित गरिने सुनाए।’    

भारतीय राजदूतलाई ब्रिटिस राजदूतले दिएको प्रत्युत्तर रोचक थियो। 

ब्रिटिस राजदूतले भारतीय राजदूतलाई जवाफ दिएका थिए, ‘नेपाल र बेलायतबीच भएका सन्धिहरु बेलायती महारानी र नेपालका राजाबीचका सन्धि हुन्। बेलायती महारानी र नेपालका राजाबीच भएको सन्धिका कारण नेपालमा राणाहरुले बैधानिकता पाएका हुन् भन्ने कुरा तपाईंले बुझ्नु जरुरी छ।’

राणाका भनाईमा, ब्रिटिस राजदूतको उपरोक्त जवाफ र चेतावनीपछि भारतीय राजदूत सिन्हा चुप लाग्न बाध्य भए। 

हुन त, कुनैपनि ऐतिहासिक स्रोतले चिनियाँ जनमुक्ति सेना नेपाल प्रवेश गर्ने सम्भावनाको संकेत गर्दैनन्। तर, भारत–बेलायतका सेनाबीच काठमाडौँमा भीडन्त भएमा तिब्बतसम्म आइपुगेको चिनियाँ सेना काठमाडौँमा आउनसक्ने भय राणा, भारत र बेलायतलाई अवश्य थियो। नेपाल–भारतबीच १९५० को शान्ति तथा मैत्री सन्धि यस्तै चिन्ताको परिणाम थियो। 

भारतीय राष्ट्रपतिसँग राजा त्रिभुवन, साथमा उनका बडामहारानी, रानी र छोरा–छोरीहरु    

त्यसैले, समस्या समाधानका लागि ‘बीचको बाटो’ खोजियो। श्री ३ मोहनले राजा त्रिभुनवलाई नयाँदिल्ली जान दिने भए। गौचर विमानस्थलसम्म राजपरिवारको सुरक्षा सरकारकै तर्फबाट हुने भयो। राजा त्रिभुवनलाई नयाँदिल्लीमा राजनीतिक गतिविधि गर्न नदिनेमा भारतीय पक्षले श्री ३ मोहनलाई आश्वस्त तुल्यायो।  

‘श्री ५ त्रिभुवनलाई सपरिवार दिल्ली लैजानेबारे राणा सरकार र भारतीय राजदूतावासबीच दुई–तीन दिनदेखि चलिरहेको कुराकानी टुङ्गियो, राजा त्रिभुवन २६ कार्तिकमा दिल्ली प्रस्थान हुने कुरा तय भयो’, इतिहासकार प्रधानले ‘नेपालको जनक्रान्तिः २००७’ मा लेखेका छन्, ‘राणा सरकारबाट कुनै आपत्ति नगरिने भयो। भारतीय सेनापनि ल्याउनु परेन।’

भारतीय सेना नआउने भएपछि ब्रिटिस सेना काठमाडौँ ओर्लने आवश्यकता र सम्भावना दुबै रहेन।  

राजा त्रिभुवन सकुशल नयाँदिल्ली पुगेकाले काठमाडौँमा भारत–बेलायतबीचको ‘सम्भावित सैन्य झडप’ त टर्यो। तर, नेपालको आन्तरिक राजनीतिमा हावी हुने अवसर नयाँदिल्लीले त्यसै बिन्दूबाट प्राप्त गर्यो।   

कात्तिक २०, २०७८, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .