म्यागेजिन


पत्रिका बेच्दाबेच्दै सडकमा पुगेका ठकुरी भन्छन्ः दसैँ रमाइलो हुन परिवार सँगै हुनुपर्छ

पत्रिका बेच्दाबेच्दै सडकमा पुगेका ठकुरी भन्छन्ः दसैँ रमाइलो हुन परिवार सँगै हुनुपर्छ

म फेरि उनीसँग संवाद गर्न चाहन्थेँ। 

बिहान ९ बजे जमलस्थित मुख्य सडकको पुलनजिकै पुगेँ र कुमारी मन्दिरअगाडि उभिएँ। साँघुरो बाटोमा मानिसहरूको भीड बाक्लिँदै गइरहेको थियो। आकासे पुलको आडमा पसल थापेर बसेकाहरू ग्राहकको प्रतीक्षामा थिए। 

सामुन्ने मन्दिरको पर्खालमा बाँसको टेकोले अड्याइएको, पालले छाएको छाप्रो थियो। छाप्रोभित्र पत्रिका र किताबहरू फिँजारिएका थिए। 

ठकुरी सिंह मलाई देखेर फिस्स हाँसे। ‘के छ खबर, सञ्चै?’ म बोल्नुअगावै उनले सोधिहाले।

‘सञ्चै। मलाई चिन्नुभो?’ ठट्यौलो पारामा मैले उनलाई स्मरण गराउन खोजेँ। 

‘चिनेँ, किन नचिन्नु? चिया खाने ठाउँमा भेटेको होइन!’ याद गर्न खोज्दै उनले भने।

‘होइन नि। बिर्सनुभएछ। म यहीँ आएर कुरा गरेको थिएँ तपाईंसँग। लकडाउनको बेलामा। याद आयो?’

‘ए, सम्झेँसम्झेँ, पत्रकार पो त!’ अनुहार मुजा पर्नेगरी हाँसे उनी। ​

उनको पत्रिका पसलमा एकफेरो नजर डुलाएँ। अखबारमा छापिएका खबरबाहेक केही बदलिएको थिएन। छेवैमा उही पुरानो स्टोभ, पुरानो डेक्ची र लुगाहरूको पोको। 

चार महिनामा के परिवर्तन हुन्थ्यो र! चार दशकसम्म उनको दैनिकी उस्तै रह्यो भने!

को हुन् ठकुरी सिंह?

भुइँमान्छे हुन् उनी। उनी कसैको गिन्तीमा आउँदैनन्। सरकार र राज्यका लागि उनी फगत ‘एक भोट’ पनि होइनन्। किनकि उनको स्थायी घर छैन अहिले। ठकुरी सिंह पत्रिका र पुस्तक फिँजारेको ठाउँमा नै राति ओछ्यान लगाउँछन्। त्यही उदांगो छाप्रोमुनि रात काट्छन्, दिन बिताउँछन्।

लेख्छु भनेर लेख्न छुटेका पात्रसँग पुनः संवाद गर्न म यहाँनेर आइपुगेको थिएँ। उनी खाना बसाल्ने तरखरमा थिए। डेक्चीमा एक पसर चामल खन्याए। पानी हाल्न जर्किन खन्याउँदै थिए, रित्तो रहेछ। 

हलुको जर्किन उठाएर भने, ‘बस्दै गर बाबु। पानी लिएर आउँछु।’

केही मिनेट पर्खिरहेँ। उनी जर्किनमा पानी लिएर आए। ‘ऊ याँ बस,’ उद्रिएको चकटी मतर्फ सारिदिए। अनि स्टोभमा दम दिँदै सोधे, ‘लु भन, अरु के छ त?’ 

‘मेरो ठीक छ। बरु तपाईंको चाहिँ हालचाल सोध्न आ’को बा?’ मैले भनें।

‘सोध न त। यी यस्तै छ।’

धेरैबेर दम दिँदा पनि आगो नबलेपछि उनको अनुहार मलिन भयो।

‘यी, यो पुरानो स्टोभको भर हुँदैन। मटिट्तेल पनि फारो हुन्न,’ उनले भने।

पुरानो स्टोभ, त्यसमाथि मट्टितेलको अभाव। आसामी कवि हरिभक्त कटुवालको ‘म कवि’ शीर्षकको कविताको दृश्य आफ्नै आँखाअघि बेहोरिरहेको थिएँ। 

घण्टौँ लाइनमा उभिएर पनि रित्तो मट्टितेलको भाँडो हल्लाउँदै घर फर्किरहेका वृद्धलाई सम्झेर कवि हरिभक्तले लेखेका थिए– जाती हुन्थ्यो बरु म कवि नभएर मटिट्तेल हुन सकेको भए। 
०००

चार महिनाअघि त्यही बाटो हिँडिरहेथेँ। लकडाउनको बेला अन्य पसलका सटर बन्द थिए। तर उनी भने निष्फिक्री पत्रिका र पुस्तक फिँजाएर त्यहीँ बसेका थिए। घाम डुब्ने तरखरमा थियो, उनको हँसिलो अनुहार देखेर त्यहाँ अडिएँ। 

नाम सोधेँ, उनले जवाफ दिए– ठकुरी सिंह। 

‘थर ठकुरी, नाम सिंह। मलाई सबैले ठकुरी ंिसंह भनेर बोलाउँछन्,’ उनले थपे।  

त्यही पालमुनि उनले दशक गुजारेका रहेछन्। 

‘१० वर्ष भयो यसरी बस्न थालेको। आजसम्म कसैले उठेर जा भनेको छैन,’ उनले सुनाए।

‘त्यसअघि?

‘डेरामा बस्थेँ।’

‘किन छाड्नुभयो त डेरा?’

‘पहिले पत्रिका बेचेर गुजारा चल्थ्यो। डेरा भाडा बढेर तिर्न नसक्ने भएपछि यहाँ आएर बस्न थालेँ,’ उनले भने। 

उनको उमेर ७० पुग्न लाग्यो। उनको यस्तो दैनिकी देखेर थप खोतल्न मन लाग्यो। त्यति नै बेला पानी बर्सिन थाल्यो। माथि पालबाट पानीका थोपा जमिनमा खस्न थाले। ठकुरी बसिरहेको कुनामा छिट्टाहरू पुगे। उनी सामान पोको पार्न थाले।

‘मलाई पानीदेखि डर लाग्छ, किनकि चिसोमा म बिरामी हुन्छु,’ ठकुरीले भने। 

उनी ठूलो पानी पर्दा नजिकैको भवनको छिँडीमा पुग्दा रहेछन्। राति ओछ्यान पनि त्यतै लगाउँदा रहेछन्। तर पानीको आक्रमणबाट सधैँ जोगिन्नन्। भिज्छन्, गल्छन्। बिरामी हुन्छन्। पुनः तंग्रिन्छन्। 

पानी रोकिएपछि उनले आफ्नो विगत सुनाउन थाले। 

ठकुरी सिंह उदरपुरमा जन्मे। बाल्यकाल सिन्धुलीमा बित्यो। एक वर्षको हुँदा आमा खसिन्। बुबाले सानीआमा ल्याए। सानीआमाको माया कहिल्यै पाएनन्। स्कुल टेक्न समेत पाएनन्।

बाल्यकाल सकिएपछि गाउँमा बस्ने रहर पनि सकियो। काठमाडौँमा सुरुमा उनले एउटा कम्पनीमा गार्डको काम गरे। तलब मासिक तीन सय थियो। मुस्किलले निर्वाह हुन्थ्यो।

तलब कम भएपछि त्यो जागिर छाडिदिए। ‘जागिर छाडेपछि के गर्ने?’ सोच्दै थिए। एकदिन पत्रिका पसलहरूमा चियाउँदै गर्दा उपाय सुझ्यो– पत्रिका बेच्ने। अक्षर चिनेका थिएनन्। तैपनि सोचे– सक्छु।

पसल राख्नका लागि ठाउँ हेरे। उनले बाटोको भित्तामा ओत लाग्ने ठाउँ देखे। त्यहीँ बसे। 

‘यो पुल नै बनाएको थिएन। पछि बनाएका नि,’ उनले देखाउँदै भने। 

त्यतिबेला पत्रिका खुब बिक्थे। उनले प्रेसबाट पत्रिका ल्याएर बेच्न थाले। ​

‘त्यतिबेला घटना विचार, दृष्टि थियो। जनआस्था ढिला आएको। ताजा खबर, पुनर्जागरण थियो। कान्तिपुर र अहिलेका पत्रिका त धेरै ढिला आएका,’ उनी सुनाउँछन्। 

उनी प्रेसमा बिहान दुई बजे पुग्थे। अनि त्यही कुनामा ल्याएर पत्रिका फ्याँक्थे। बाँकी कतिपय ठाउँमा आफैँ पत्रिका लिएर डुल्थे। पत्रिका किन्नेहरूको भिड लाग्थ्यो। गोरखापत्र त कति बिक्थ्यो कति! पत्रिका बेचेर खर्च राम्रै चल्थ्यो।

पत्रिका किन्न विद्यार्थीहरू आउँथे। नेताहरू आउँथे। मदन भण्डारीलाई पनि पत्रिका बेचेको उनी बताउँछन्। भण्डारी भन्थे– तिमीलाई चिन्छु नि म!

एक दिन सखारै भण्डारी मारिएको खबर सुने। निकै दिनसम्म नमिठो लागिरह्यो।

ठकुरीकी जहान थिइन्। दुई छोरा एक छोरी पनि थिए। परिवार खुसी थियो। तर, विस्तारै पत्रिका बेचेर गुजारा गर्न कठिन बन्दै गयो।

छोराछोरीलाई स्कुल पढाए। हुर्किंदै गएपछि तीनै जना सन्तान लाखापाखा लागे। ठकुरी सिंहको भनाइमा त उनीहरु बुढाबुढीलाई छाडेर हिँडे। 

गाउँमा केही जमिन बाँकी थियो। १० वर्षअघि श्रीमती बिरामी भइन्। उनको उपचार गर्न जमिन बेचे। ऋण गरे। तर, उनी रहिनन्। ठकुरी एक्लो भए। विस्तारै पत्रिका बेचेर भाडा तिर्न पनि सकेनन्। त्यसपछि बसिरहेको डेराबाट पनि निकालिए।

‘त्यस दिनदेखि यहीँनिर बस्न थालेको छु,’ उनले सुनाए।

अघिल्लो पालि उनले सुनाएको भोगाइको फेरिहस्त थियो त्यो। त्यतिबेला कोरोना महामारी भुसको आगोजसरी फैलिरहेको थियो। उनलाई कोरोनादेखि डर थिएन। डर थियो त भोकै सुत्नुपर्ला कि भन्ने। वरपरकाले सहानुभूति देखाउँदै सहयोग गर्थे, अलिअलि राहत आउँथ्यो। 

‘अहिले यही राहतले बाँचिरहेको छु,’ उनले भनेका थिए।

दोस्रोपटक ठकुरी सिंहलाई मैले भेट्दा सहरमा दसैँको चहलपहल सुरु भइसकेको थियो। 

‘दसैँमा के गर्नुहुन्छ?’ मैले सोधेँ

‘अघिल्लो वर्ष त गाउँ गएको थिएँ। यसपालि जाँदिन,’ उनले भने। यो पालि उनलाई जुठो परेको रहेछ। गए पनि को छ र जस्तो लाग्ने रहेछ ठकुरी सिंहलाई। 

दसैँका पुराना तीतामीठा घटना उनी सम्झिरहन्छन्। सानो हुँदा सानीआमाले नयाँ लुगा नकिनिदिँदा उनी खिन्न हुन्थे। पछि छोराछोरीलाई लुगा किनिदिन पाउँदा उनी पुलकित हुन्थे। तर आफूले चाहिँ दसैँमा कहिल्यै किनेनन् नयाँ लुगा। 

उनलाई लाग्छ दसैँ रमाइलो हुन त परिवार सँगै हुनुपर्छ। तर, ठकुरी सिंहको परिवार छैन। 

थुप्रै भयो, छोराछोरीसँग उनको भेट भएको छैन। उनीसँग मोबाइल पनि छैन। अहिलेसम्म कोही खोज्दै आएका पनि छैनन्। छोराछोरी बिनाको दसैँ त झनै खल्लो हुन्छ। 

‘दसैँको बेला छोराछोरी र आफन्तले किन सम्झिन्नन् बा?’ मैले सोधेँ।

उनले उसैगरी अनुहार मुजा मार्दै भने, ‘यो भनेको कली हो बाबु। यहाँ पैसाको मतलब हुन्छ, बाआमाको होइन।’

 

असोज २८, २०७८, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .