म्यागेजिन


जब रानी ऐश्वर्यलाई २२ वर्षकी अमृताले भनिन्– हामी मधेसी विदेशी होइनौँ

जब रानी ऐश्वर्यलाई २२ वर्षकी अमृताले भनिन्– हामी मधेसी विदेशी होइनौँ

सांसद अमृता अग्रहरि


समर्पण श्री
असोज १६ , काठमाडौँ

‘हामीलाई यातना दिए, मधेसी भनेर पेल्नुसम्म पेले,’ सेनामा भर्ती हुन गएका दाजुभाइ नीलडाम देखाउँदै रुन थाले। उनीहरू ज्यान जोगाउन तालिम नै छाडेर भागेका थिए।

‘टिक्न सकिनँ,  यातना दिइयो, दुर्व्यवहार गरियो,’ सानैदेखि सैनिक बन्ने रहर साँचेका एक दाजुले भने, ‘अब मैले त्यो सपना माया मारिदिएँ।’

प्रशासनको अपमान हर मधेसीको नियति बन्न पुगेको थियो। 

जब नागरिकताको सवाल आउँथ्यो, प्रशासकहरू अवरोध भएर उभिन्थे। मधेसी जाँदा निकै केरकार र छानबिन हुन्थ्यो, पहाडी समुदायका जाँदा अनुहार देखेकै आधारमा नागरिकता दिइन्थ्यो।

नागरिकता लिएर अध्ययन र जागिरका सपना देखेकाहरू खिन्न हुन्थे। आफ्नो अधिकार माग्न जाँदा उल्टै डन्डा उपहार पाउँथे। 

कपिलवस्तुको तिलौराकोटमा यी सब देखिन्, भोगिन् अमृतदेवी अग्रहरीले। 

‘जहाँ राज्य नै मधेसीहरूलाई गरिखान नदिने थियो। त्यो शक्तिशाली दुस्मनसँग हाम्रो के लाग्थ्यो र!’ उनी सम्झिन्छिन्। 

अमृतादेवी २२ वर्षकी थिइन्। २०४६ सालको एक बिहान सुनिन्, ‘कपिलवस्तुमा राजा वीरेन्द्र र रानी ऐश्वर्य आउँदै छन्।’ 

अमृता नारी सीपकलाकी सदस्य थिइन्। सदस्य हुनुको हैसियतले राजारानीसँग भेट्ने अवसर पाउँदै थिइन्। दर्शनभेट गर्न जाँदा ठूलो उत्साह थियो अमृतादेवीमा। आफूहरूले भोग्दै आएको भेदभावबारे कुरा राख्ने योजना बनाएकी थिइन्। उनलाई विश्वास थियो, ‘राजारानीले पक्कै सुन्नेछन्।’

तर, भेटेपछि उनको विश्वास टुट्यो। मधेसीहरूलाई देशका राजारानीले हेर्ने दृष्टिकोणबाट विस्मित भइन् उनी।

‘सरकार! यो देशमा मधेसी सुकुम्बासीहरू बसिरहेका छन्। हाम्रो देशमा हामी बस्न नपाउने, मधेसी सुकुम्बासी बस्ने?’ उनकै अगाडि पहाडी समुदायकी एक महिलाले रानीलाई भनिन्। 

अमृतादेवीले सोचेकी थिइन्, रानीले प्रतिकार गर्नेछिन्। मधेसीहरूको पक्षमा बोल्नेछिन्। तर, अमृताको आशाविपरीत ऐश्वर्यले भनिदिइन्, ‘कस्तो कुरा गर्नुहुन्छ तपाईं? श्री ५ को सरकारको जग्गामा मधेसी बस्न पाउँछ र?’

युवावयकी अमृतालाई भाउन्न छुट्यो। आवेगलाई नियन्त्रण गर्दै आग्रहसाथ भनिन्, ‘सरकार, हामी मधेसी भनेका विदेशी होइनौँ। नेपाली हौँ। नेपालमा आधा जनसंख्या मधेसमा छ। मधेस नेपाल नै हो।’ 

मनको कुनामा डर सल्बलाइहेको थियो। तर आँटिलो गरी राखेको कुराले रानी ऐश्वर्यलाई मौन तुल्यायो। रानीले सहयोगीलाई अमृताको कुरा टिप्न लगाइन्, र अगाडि बढिन्। 

त्यो घटनाले अमृताको मस्तिष्कमा गहिरो प्रभाव पार्यो। आफ्नै देशमा राज्यबाटै अपहेलित/अपमानित भएर बस्नुपर्दाको पीडा उनले महसुस गरिन्। 

र त्यही दिनदेखि उनले भेदभावविरुद्ध आवाज उठाउन थालिन्।

अमृता अहिले संघीय संसदमा छिन्। २०७४ सालको चुनावमा तत्कालीन नेपाल सद्भावना पार्टीको समानुपातिक सिटबाट उनी सांसद बनेकी थिइन्। ३२ वर्षदेखि सडकबाट आवाज उठाइरहँदा राज्यले सुनेको थिएन। उनलाई लाग्थ्यो– विभेदको अन्त्य गर्न संसदमै जानुपर्छ।’

तर जुन सपना बोकेर उनी संसदमा आइन्, त्यो धेरै दिन टिकेन।

‘संसदमा बोल्नेमात्र हो, यहाँ पनि हाम्रा कुरा सुनिने रहेनछ। अहिले बुझ्दैछु, सडकमा बोल्नु र सदनमा बोल्नुमा खासै फरक रहेनछ,’ अमृता सुनाउँछिन्। 

साढे ३ वर्ष भयो, सांसद भएको। तर, त्यहाँ उनको आवाजको कदर भएन। बरु, मधेसीविरुद्धको विभेद हटाउन संसदमा उक्लिएकी अमृतादेवीले त्यहीँभित्रै भेदभाव महसुस गरिन्। 

जुनबेला सांसद भएर आयौँ, त्यतिबेला सभामुखले सोधेका थिए– कुन भाषामा बोल्न सजिलो हुन्छ लिखित रुपमा दिनुस्। मैले हिन्दी लेखेकी थिएँ,’ उनले सम्झिइन्। 

त्यही हिन्दी भाषामा संसदमा बोल्दा उनी ‘भारतीय’ भइन्। उनीमाथि सुनियोजित रुपमा आरोप लागे। ठूला पार्टीका सांसदहरूले उनको विरोध गरे। संसदमै उनीप्रतिको आक्रोश पोखियो। मिडियाहरूमा पनि उनलाई भारतीयजस्तो व्यवहार गरियो। 

नेपाली भाषाको अपमान गरेको भन्दै उनीविरुद्ध विभेदजन्य वाणी प्रयोग गरिए। अमृताले यसको जवाफ संसदमा आक्रोशपूर्वक हिन्दीमा नै दिइन्, ‘हिन्दी बोलने से कोही हिन्दुस्तानी नहीँ होता, अंग्रेजी बोलने से कोही ब्रिटिस नागरिक नहीँ होता!’

संसदभित्र हिन्दी भाषा प्रयोग गर्नुको कारण छ अमृतादेवीसँग।

‘हाम्रो भाषा अवधी हो। वीरगञ्जमा भोजपुरी छ, जनकपुरमा मैथिली छ, झापामा राजवंशी। दार्चुलामा पनि नेपाली बुझ्दैनन्। तर, हिन्दीचाहिँ धेरैले बुझ्छन्। मैले प्रत्येक नागरिकले बुझून् र मलाई पनि सजिलो होस् भनेर सदनमा त्यो भाषा बोलेकी हुँ,’ उनी भन्छिन्।

संसदमा यस्ता थुप्रै गतिविधि हुन्छन्, जसले उनलाई अपमान र विभेदको महसुस गराउँछ। जतिबेला मधेसी सांसदका कुरालाई बेवास्ता गरिन्छ, उनीहरूमाथि शंकाको नजरले हेरिन्छ, त्यतिबेला उनलाई लाग्छ, ‘मधेसीमाथि सबैभन्दा ठूलो विभेद त संसद भवनभित्र छ।’

जब रानीको मुखबाट अनपेक्षित जवाफ सुनिन्, त्यही दिनदेखि अमृतादेवीको छटपटी सुरु भयो। देश बदल्ने आन्दोलन र राजनीतिले हो, उनी राजनीति गर्न चाहन्थिन्। 

बाल्यकालमा बा–आमा गुमाएकी अमृताको २० वर्षकै उमेरमा विवाह भएको थियो। बुहारीका रुपमा राजनीतिमा होमिन पनि सजिलो थिएन। 

‘तपाईं सोच्नुस् त, अब एउटा मधेसकी बुहारीले राजनीति गर्छु भन्दा कसले मान्ला?’ उनी भन्छिन्, ‘अहँँ मेरो पनि सासु ससुराले मानेनन्। उल्टै गाली सहनुपर्यो।’

एकदिन कपिलवस्तुमा गजेन्द्रनारायण सिंह आए।

‘गजेन्द्रनारायण सिंह विभेदविरुद्ध लड्दैछन्,’ उनले सुनेकी थिइन्। गजेन्द्रनारायणलाई भेट्ने चाह अत्यन्तै थियो अमृतादेवीमा। तर, सासूससुराले भने, ‘जानु पर्दैन। समाजले के भन्छ? इज्जत कहाँ जान्छ?’ 

धन्न, उनलाई श्रीमानले साथ दिए। ‘उसको इच्छा छ भने किन बाँधेर राख्ने? मै लिएर जान्छु,’ अड्डी कसेरै श्रीमानले अमृतालाई गजेन्द्रनारायणकहाँ लिएर गए।

गजेन्द्रनारायणलाई भेटेपछि उनको उत्साह बढ्यो। 

‘मैले नेपाली कांग्रेसमा बसेर यति धेरै काम गरेँ। तर केही भएन। यो देशमा हाम्रो समुदाय धेरै पछाडि पारिएको छ। यहाँ धेरै विभेद छ। तपाईंहरू साथ दिनुस्। म न्यायको लागि लड्छु,’ गजेन्द्रनारायणले आग्रह गरे। 

अमृताले जोसका साथ भनिन्, ‘यो लडाइँमा म साथ दिन तयार छु।’

गजेन्द्रनारायण र रामजनम तिवारीको मेची–महाकाली अभियानमा साथ दिने महिला शून्य थिए। महिलाको सहभागितालाई शून्ययबाट एकमा उठाइन् अमृतादेवीले। गजेन्द्रनारायणको साथमा उनी देश दौडाहामा गइन्।

‘महिलाहरू घुम्टोभित्र थिए। हाँसोको पात्र बनेँ म। धेरैले श्रीमानलाई भने– श्रीमतीले इज्जत मिट्टीमा मिलाई,’ उनी सम्झन्छिन्। 

तर, श्रीमान्ले हाँसीहाँसी गाउँलेका कुरा अमृतादेवीलाई सुनाउँथे। र भन्थे, ‘यी कुराबाट प्रेरणा लिने हो। अघि बढ्ने हो।’ 

त्यतिबेला उनको सानो छोरा डेढ वर्षको मात्र थिए। श्रीमानले नै स्याहार्थे।

अभियानमा पहिलो पटक अमृतादेवी मञ्चमा उक्लिइन्। बोल्न सिकिन्, गर्जिन सिकिन्। आम मानिसको चेतनामा ऊर्जा भर्न सिकिन्। 

उनी जहाँ जान्थिन्, उनको नाम प्रचार हुन्थ्यो। ‘अमृता अग्रहरी आउँदै छिन्’ भनेपछि घुम्टो ओढेर महिलाहरू पनि भाषण सुन्न आउँथे। उनीसँग प्रभावित हुन्थे।

‘हाम्रो घरपरिवारसँग कुरा गर्नुस्। हामी पनि घुम्टो निकालेर उभिन चाहन्छौँ,’ उनीहरूको आग्रह हुन्थ्यो।

जनजागरण अभियानलगत्तै गजेन्द्रनारायण सिंहको नेतृत्वमा उनीहरूले नेपाल सद्भावना पार्टी गठन गरे। अमृतादेवी पार्टीको राष्ट्रिय महिला मञ्चको केन्द्रीय अध्यक्ष भइन्। 

पार्टी घोषणापछि महिला कार्यकर्ता तयार गर्नुपर्ने थियो। तर, महिला कोही पनि पार्टीमा लाग्न तयार थिएनन्।  त्यसपछि उनीहरूले एउटा उपाय रचे, सबै नेताको श्रीमतीलाई सहभागी गराउने। त्यसपछि मात्र अन्य महिलाहरू आउँछन्। 

‘रामेश्वर राय यादवको श्रीमती, राजेन्द्र महतोको श्रीमती, हृदयेश त्रिपाठीको श्रीमती लगायतलाई यसरी कमिटीमा ल्याइयो। बल्ल मधेसमा महिला अब बाहिर निस्किए भन्ने सन्देश गयो। विस्तारै विस्तारै महिला आउन थाले,’ अमृतादेवी सुनाउँछिन्। 

०४८ सालमा निर्वाचन आयो, पार्टीले टिकट त दियो, तर आफ्नो क्षेत्रमा होइन। सर्लाहीको एक नम्बर क्षेत्रमा। उनी गइन्। चुनावको तयारी राम्रो थियो। हार्ने संकेत नै थिएन। 

चुनाव सकियो। गणनाको बेलामा एकजना सुब्बा तहका कर्मचारीले धाँधली गर्न खोजेको चाल पाइन्। ती सुब्बालाई उनले एकदुई झापड हानिन्। त्यहीबेला कसैले उनलाई पछाडिबाट गोली प्रहार गर्यो।

एक हप्तापछि उनी अस्पतालबाट फर्किइन्। ५ सय ३३ भोटले चुनाव हारिछन्। धाँधली गरेको प्रत्यक्ष आँखाले देखेकी थिइन्। आफू हारेकोमा विश्वास थिएन। उनी त्यसपछि अदालत गइन् मुख्य न्यायाधीश भेट्न। ती क्षेत्र नम्बर एकको मुख्य निर्वाचन अधिकृत थिए।

‘हाम्रो क्षेत्रमा केन्द्रबाट कति ब्यालेट आएको थियो, कति सदर भयो? कति बदर भयो, त्यो लिखित दिनुस्,’ उनले भनिन्। 

तिनले अमृतादेवीलाई ‘दिन्छु पख्नुस्’ भनेर बसाए। अनि आफू कतै निस्किए। डेढ घण्टापछि फर्किएर भने, ‘माथिबाट आदेश छ हजुर। दिन मिल्दैन मैले।’

डेढ घण्टा बसालेर पनि त्यस्तो जवाफ दिएपछि अमृतादेवीले रिसले आँखा देखिनन्। चप्पल खोलेर न्यायाधीशलाई हिर्काइन्।

त्यसपछि भीड जम्मा भयो अदालत परिसरभरि। 

‘जनता यति थिए कि प्रहरीले मलाई लिएर जान पनि सकेन, मलाई ती मुख्य न्यायाधीशले मुद्दा चलाउन पनि सकेनन्,’ उनी सुनाउँछिन्। 

त्यसपछि ०५१ सालमा बारामा क्षेत्र नम्बर ४ बाट चुनाव लडिन् अमृतादेवीले। त्यहाँ पनि हार बेहोरिन्। ०५६ मा पनि हार दोहोरियो।

नजित्नुका केही कारण थिए। जहाँ आफ्नो जग थियो, त्यो क्षेत्रमा उनले कहिल्यै टिकट पाइनन्। अर्को चाहिँ पैसा। उनीसँग प्रशस्त पैसा थिएन। जसले प्रशस्त लगानी ग¥यो, उसले जित्ने थियो चुनाव। 

त्यसपछि भने नेपाल सद्भावना पार्टी फुट्यो। यो टुटफुटको क्रम लामो समयसम्म जारी रह्यो। यसले उनको राजनीतिक अभियानमा नै असर पा¥यो। उनी लामो अवधिभर चेपुवामा परिरहिन्। त्यो चाहे राजतन्त्र विरुद्ध लड्दा होस् वा पछिल्लो समय संघद् विघटनविरुद्ध लड्दा नै। 

‘म सधैं लोकतन्त्रको पक्षमा लडेँ र रहेँ,’ उनी सुनाउँछिन्।

०६४ मा नेपाल सद्भावना पार्टी (आनन्ददेवी)बाट टिकट पाएकी थिइन्।  उनले च्यातेर फालिदिइन्।

संविधान सभाको दुवै चुनावमा उनी लडिनन्। एकैपटक ०७४ मा सद्भावना पार्टीमार्फत समानुपातिकमा छनोट भइन्। ३२ वर्षदेखि संघर्ष गरेकी अमृतादेवीको लागि पहिलो पटक संसदको ढोका खुल्यो।

३२ वर्षे लडाइँमा उनले अनुभूति गरेकी छन्– महिलाहरू पहिले भन्दा केही स्वतन्त्र छन्। अहिले चेतना बढेको छ। 

जुनबेला म एक्लै उठेको थिएँ, साथमा कोही थिएनन्। डर थियो, हिम्मत त गरेँ,’ उनी सम्झिन्छिन्। श्रीमान्लाई इज्जत गयो भन्नेहरू नै विस्तारै आफ्नो पछि लाग्दा भने उनले सफलता महसुस गरेकी थिइन्। 

विस्तारै विभेद विरुद्ध लड्ने कतिपय नेताहरू स्वार्थमा लुट्पुटिए। पार्टी फुटाए। यत्रतत्र छरिए। यसैले अभियानलाई कमजोर बनायो भन्ने उनलाई लाग्छ।

अहिले अमृतादेवी जनता समाजवादी पार्टीमा छिन्। सांसद भएपछि उनलाई आत्मग्लानि छ– ‘चुनावको बेलामा आश्वासन बाँडेर आएँ। जनताको दुःख सुखमा पुग्नबाहेक केही गर्न सकेको छैन।’ 

यद्यपि केही कुराले भने अमृतादेवीलाई सन्तुष्टि दिन्छ। जसका लागि ३२ वर्षदेखि अनवरत लडिरहिन्, उनीहरूले सदैव सम्झिरहेका छन्, सम्मान गरेका छन्। जनताले एउटा कुरा अहिले पनि खुसीसाथ भनिरहन्छन्, ‘अमृतादेवी तिमीले हाम्रो लागि कमसेकम आवाज त उठायौ।’

असोज १५, २०७८, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad