ad ad

राजनीति


एमालेको अडान : सरकारले अध्यक्ष ओलीसँग सीधै वार्ता नगरेसम्म संसद खुल्दैन

एमालेको अडान : सरकारले अध्यक्ष ओलीसँग सीधै वार्ता नगरेसम्म संसद खुल्दैन

नेपालखबर
असोज १४, २०७८ बिहिबार १५:४५, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद खुलाउने भए सरकारले आफूहरुसँग सीधा वार्ता गर्नुपर्ने अडान लिएको छ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकपछि बाहिरिँदै एमाले सांसदहरुले सरकारले संवाद नै नचाहेको आरोप पनि लगाएका छन्। 

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले आफ्ना मुद्दालाई सम्बोधन गरेर सिधा संसदीय दलका नेतासँग छलफल गर्नुपर्ने बताए। 

भट्टराईले एमालेको अहिलेको अवरोध सभामुखको निर्णय र सरकारले गरेका पछिल्ला कदमविरुद्ध रहेको बताए। 

उनले राजनीतिक दल विभाजनसम्बन्धी विधेयक सरकारले संसदमा बेवारिसे छोडेर अचानक मन्त्रिपरिषद्ले फिर्ता लिने सरकारको कदम कानुन, संविधान विपरीत, र नैतिक दृष्टिकोणले पनि उचित नभएको बताए। 

‘खास गरी नेकपा एमालेले उठान गरेका जे मुद्दाहरु हुन् ती मुद्दाहरूको बारेमा सत्तापक्षले वा सभामुखज्यूले हाम्रा आपत्तिहरुलाई आधार बनाएर समाधानमुखी तरिकाले नेकपा एमालेसँग डाइरेक्ट संवाद गर्दा भइगो नि किन अरु गठबन्धनलाई भेला पारेर, अरु सबैसँग साँच्ची राखेर हामीसँग उहाँले बस गर्नुपर्दैन', उनले भने, 'त्यो जरुरी हामी ठान्दैनौँ, सीधा एमालेसँग संवाद भयो भने संवादका लागि सधैँ खुल्ला छौँ, त्यसकारण आजको बैठकमा हामी गएनौँ, मूल कुरा हाम्रो आपत्ति भनेको संसदको सभामुख व्यवहारप्रति हो।'

भिडिओ

 

उनले सभामुख निर्णय र पछिल्ला दिनमा सरकारसँग पनि केही आपत्ति थपिएका बताए। 'साउन ३२ गते सरकारले संसद अधिवेशन अन्त्य गर्यो। विगतमा हामीलाई पटकपटक संसद छलेको आरोप लगाउनेले १ गते बिहानै अध्यादेश ल्याए। त्यो पनि ४० बाट झारेर २० प्रतिशतमा पार्टी फुटाउन मिल्ने अध्यादेश आयो', उनले भने, 'हामीले ल्याउँदा संसद छलेको हुने, उहाँहरुले ल्याउँदा नहुने? कति भए पुग्छ भनेर हाम्रो दल फुटाउन जुन हर्कत गरियो, त्यसप्रति हाम्रो आपत्ति हो।'

भट्टराईले प्रतिनिधिसभामा टेबुल गरिसकेपछि त्यहीबाट निरुपण गर्ने, पास, फेल गर्ने निर्णय नलिएर अचानक क्याबिनेटले फिर्ता लिने कुरा झन् आपत्तिजनक रहेको बताए। 'त्यो कानून विपरीत छ, संविधान विपरीत छ', उनले भने, 'नैतिक दृष्टिकोणले वास्तवमा त्यो उचित काम भएन।’

प्रमुख सचेतक भट्टराईले नेकपा एमालेसँग मात्रै छलफल गर्न आवश्यक रहेको भन्दै छलफलमा अन्य दल बोलाउन नपर्ने बताए। 

प्रधानमन्त्री र सभामुखले नेकपा एमालेका संसदीय दलका नेतासँग मात्रै संवाद गरे आफू छलफलमा बस्न तयार रहेको पनि उनले बताए। 

सांसद तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी कृत्रिम गर्भाधानबाट जन्मिएको बच्चा जस्तो भएको बताए। 

प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा सांसद अधिकारीले नेकपा एस अवैधानिक पार्टी भएको बताउँदै नेकपा (एकीकृत समाजवादी) पार्टी कृत्रिम गर्भाधानबाट जन्मिएको बच्चा जस्तो भएको बताए। 

उनले नेकपा एमाले कानून र संविधानको रक्षाका लागि दृढताका साथ संसदमा उभिरहने बताए। 

उनले नेकपा एमालेले गरेको संसदको अवरोध खुलाउन खोजिएको हो भने प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका संसदीय दलका नेतासँग बसेर छलफल गर्नुपर्ने बताए। 

सांसद अधिकारीले कानून र संविधान मिचेर सरकारमा सहभागी गराइएको अवैधानिक पार्टी सहभागी भएको बैठकमा सहभागी बनेर नेकपा एमाले कुनै पनि नराम्रो कार्यमा संलग्न नहुने बताए।

‘तपाईँहरुले साँच्चिकै अवरोध खुलाउन खोज्नुभएको हो भने सभामुखले प्रमुख प्रतिपक्ष दलको नेतासँग व्यक्तिगत रुपमै भेट्नुहोस्, ज्ञानेन्द्रबहादुर कार्कीलाई सीधै तपाईको प्रधानमन्त्रीलाई संसदीय दलको नेतासँग भेट्नुहोस् किन निहुँ खोज्नुहुन्छ भनेका थियौँ', उनले भने, 'नेकपा एमाले कानुन र संविधानको रक्षाका लागि दृढताका साथ संसदमा उभिरहन्छ, संविधान, कानुन मिचेर बनाइएको र सरकारमा समावेश भएको दललाई मान्यता दिइएको बैठकमा हामी जाँदैनौं।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .