ad ad

म्यागेजिन


अफगान युद्ध जितेर पनि मारिए नालापानीका ती गोर्खाली नायक

अफगान युद्ध जितेर पनि मारिए नालापानीका ती गोर्खाली नायक

सीताराम बराल
साउन ३१, २०७८ आइतबार ९:५१, काठमाडौँ

तालिवान लडाकूहरुले एकपछि अर्को गर्दै अफगानिस्तानका महत्वपूर्ण शहर कब्जा गरिरहेका छन्। यो सफलताको एउटा कारण हो, अफगानिस्तानका लडाकू जाति पठान (पस्तुन) हरुको तालिवानी सेनामा बाहुल्यता। 

तिनै पस्तुन बिद्रोहीहरुको आक्रमणमा परी नेपाल–अंग्रेज युद्ध (सन् १८१४–१५) का एक सेना नायकको करिब दुई सय वर्षअघि तत्कालिन अफगानिस्तानको नौसेरा (पेशावर) मा मृत्यु भएको थियो। अफगान विद्रोहीहरुको आक्रमणमा परी ज्यान गुमाउने ती नेपाली योद्धा थिए, बलभद्र कुँवर।

सन् १८१६ मा भएको सुगौली सन्धिपछि नेपाल–अंग्रेज युद्ध टुङ्गिएको थियो। अंग्रेजसँगको युद्ध टुङ्गिएपछि नेपाल फर्केर घरव्यवहारमा लागेका नालापानी युद्धका सेना नायक बलभद्र फेरि अंग्रेजसँग युद्ध लड्ने योजनाका साथ पञ्जावकेशरी (सम्राट) रणजीत सिंहको सेनामा भर्ति भए। 

तर, अंग्रेजसँग सन् १८१४–१५ को युद्धको बदला लिन पञ्जावी सेनामा भर्ति भएका बलभद्रले अंग्रेजसँग लड्न पाएनन्।पठानी विद्रोहीहरुसँग लड्ने क्रममा उनको मृत्यु हुन पुग्यो। पञ्जावका सम्राट रणजीत सिंहको सैनिकको रुपमा लड्दालड्दै तत्कालिन अफगानिस्तानको नौसेरा (हाल पाकिस्तानको खैबर पख्तुनवा प्रान्त) मा भएको लडाईंमा बलभद्रको मृत्यु भयो।    

नेपाली सेनाको जङ्गी अड्डाले २०४९ मा प्रकाशित गरेको नेपाली सेनाको इतिहास (भाग १) मा भनिएको छ, ‘वीर बलभद्रको नायकत्वमा पञ्जावकेशरी रणजीत सिंहले पञ्जावी सेना अफगान विद्रोहीका विरुद्ध पठाए। त्यही युद्धमा वीर बलभद्र कुँवरले वीरगति पाए।’ 

सुगौली सन्धिप्रति असन्तुष्ट, सेनाबाट अवकास
देहरादुनको नालापानी किल्लामा भएको युद्ध (बिसं १० कात्तिक–१७ मंसिर १८७१) मा नेपाली सेनाले बलभद्र कुँवरको नेतृत्वमा कस्तो वीरता प्रदर्शन गरेको थियो, त्यो इतिहासमा अंकित भइसकेको विषय हो। बलभद्रले नेतृत्व गरेको नालापानीको युद्धमा ब्रिटिस सेनाका मेजर जनरल रोलो जिलेस्पीले समेत ज्यान गुमाउनु परेको थियो।  

नेपाल–अंग्रेज युद्धमा बलभद्र कुँवर लगायत नेपाली योद्धाहरुले वीरताको प्रदर्शन गरे। तर, युद्धको परिणाम नेपालको पक्षमा रहेन। युद्धमा पराजयपछिको सुगौली सन्धिमा नेपालले एक तिहाई विजित भूमि गुमाउनु पर्यो। नेपाली भूमि गुमाएर अंग्रेजसँग गरिएको सुगौली सन्धिप्रति बलभद्र सन्तुष्ट थिएनन्। 

‘अंग्रेजसँग गरिएको सुगौली सन्धि आफ्नो राष्ट्रको हित र प्रतिष्ठा अनुकूल नभएकोमा चित्त नबुझी मर्माहत भएका बलभद्र कुँवर फौजी जीवनबाट अवकास लिई घरैमा बस्दै आएका थिए,’ बलभद्रका सन्तति एवं दरबार हाइस्कूलका पूर्व प्राचार्य रामराजा कुँवरले ‘नालापानीका सेना नायक वीर बलभद्र कुँवर’ (२०६९) पुस्तकमा लेखेका छन्, ‘उनमा अंग्रेजप्रति प्रतिसोधको भावना र आक्रोस मरेको थिएन। उनमा नेपालको भूभाग कसरी फिर्ता ल्याउने भन्ने चिन्ता थियो।’ 

बलभद्रले मामाहरु अर्जुनसिंह थापा र भूपालसिंह थापासँग भेट हुँदा नेपालभित्र खुकुरीको सान र वीरता देखाउने अवसर नदेखिएकोले अन्य मुलुकमा जाने इच्छा बताएका थिए। कुँवरले लेखेका छन्, ‘अन्य ठाउँबाट भएपनि अंग्रेजहरुलाई भारत वर्षबाट खेदी उनीहरुले लिएको समस्त भूभाग फेरि फिर्ता लिएर आफ्नो राष्ट्रको प्रतिष्ठा बढाउन सकिन्छ भन्ने उनको मनमा थियो।’ 

अंग्रेजसँगको युद्धका कारण आर्थिक र सैनिक दृष्टिले नेपाल कमजोर भइसकेको थियो। यस्तो स्थितिमा सुगौली सन्धिका कारण फेरि अंग्रेजसँग युद्ध गरेर गुमेको भूमि फिर्ता लिन सकिने स्थिति थिएन। अंग्रेजसँग युद्ध गर्ने मानसिकता तत्कालिन शासक भीमसेन थापाको थिएन। यो वास्तविकता बलभद्रले पनि नबुझेका थिएनन्। 

भूकम्पले ध्वस्त हुनुअघि इचङ्गुमा बलभद्र कुँवरले निर्माण गरेको घर र उनका सन्तति रामराजा कुँवर

भूकम्पले ध्वस्त हुनुअघि इचङ्गुमा बलभद्र कुँवरले निर्माण गरेको घर र उनका सन्तति रामराजा कुँवर

त्यसैले, युद्धपछि बलभद्र कुँवर घर–व्यवहारमा लागे। युद्धबाट फर्केपछि बलभद्रले दाजुभाईसँग सल्लाह गरी काठमाडौंको इचङ्गुस्थित ढोलुङ्गे खोला र जुँगेखोलाको बीचको डाँडामा दाजुभाईका साथ घर बनाएर बसोबास सुरु गरे। 

बलभद्र आफैँले निर्माण गरेको २ सय वर्ष पुरानो सो घर १२ बैशाख २०७२ को भूकम्पका कारण भग्नावशेषमा परिणत भइसकेको छ। उनले निर्माण गरेको वीर भगवतीको मन्दिर भने अहिले पनि छँदैछ।

आफ्नो घर–कम्पाउण्डभित्र बलभद्र कुँवरले निर्माण गरेको भगवती मन्दिर (तस्बिरहरूः सीताराम बराल)

अंग्रेजसँग बदला लिन पञ्जावी सेनामा
‘बलभद्र कुँवर युद्ध–मैदान तथा बहादुरी देखाउन रुचाउने हुनाले पञ्जावको लाहोर पुगेका थिए,’ सैनिक इतिहासमा भनिएको छ, ‘पञ्जावकेशरी रणजीतसिंहको समीपमा पुगेपछि बलभद्र कुँवर र उनका मित्रहरुलाई उचित खान्गी मिल्यो। बलभद्र कुँवरले सेना नायकको पदवी पाएर पञ्जावको सेनामा बाँकी जीवन व्यतित गर्ने भए।’ 

बलभद्रका सन्तति कुँवरले आफ्नो उपरोक्त पुस्तकमा उल्लेख गरे अनुसार, पञ्जावी सेनामा भर्ति हुने उद्देश्य लिएर काठमाडौँबाट प्रस्थान गर्दा बलभद्रका दुई मामा अर्जुनसिंह थापा र भूपालसिंह थापा, अंग्रेजसँगको युद्धपछि नेपाली सेनाबाट अवकास लिएका केही युवाहरु र तिनका साथीहरु लगायत सयौँ युवाहरु थिए। 

‘नेपाली वीरहरुको कदर गरी पञ्जाव केशरी महाराज रणजीत सिंहले त्यहाँ गएका सयौँ गोर्खालीहरुलाई भर्ना गरेर एउटा छुट्टै कम्पनी (रेजिमेन्ट) खडा गरी त्यसको सेनापति कप्तान बलभद्र कुँवरलाई बनाइदिए,’ कुँवरले लेखेका छन्, ‘उनले निमकको सोझो चिताई वीरता र साहसीपन सधैँ जीवन्त राख्न बचनबद्दता गराए। बलभद्र कुँवरले त्यसमा सहमति जनाए।’

भारतमा ब्रिटिसहरुको विजय अभियान जारी रहेपनि पञ्जावमाथि भने उनीहरुले धावा बोलिसकेका थिएनन्। अंग्रेज र पञ्जावकेशरी रणजीतसिंह दुबै आफ्नो साम्राज्य विस्तार अभियानमा थिए। कुनै न कुनै बेला यी दुई पक्षबीच युद्ध हुने पक्कापक्की थियो। रणजीत सिंहको निधनपछि अंग्रेजहरुले पञ्जावपनि कब्जा गरे।

सुगौली सन्धिका कारण नेपालको युद्ध अभियान समाप्त भएपछि बलभद्रले अंग्रेजसँग बदला लिने उत्तम उपाय रणजीत सिंहको फौजलाई सघाउनुमा देखे। आफ्ना सहयोगीका साथ बलभद्र पञ्जाव पुगे। तर, नियतिले उनलाई अंग्रेजसँग होइन, अफगानी विद्रोहीहरुसँग लडेर ज्यान गुमाउने स्थितिमा पुर्यायो।    

अमृतसर (पञ्जाव, भारत) मा पञ्जावकेशरी रणजीत सिंहको शालिक

लाहोर पुगेपछि उनले पञ्जावकेशरी रणजीत सिंहसँग भेट गरे। भेटका क्रममा रणजीत सिंहले बलभद्रसँग पञ्जाव आगमनको उद्देश्यबारे सोधखोज गरे। बलभद्रले नालापानी युद्धको बेलिविस्तार लगाए। रणजीत सिंह पनि नेपाल–अंग्रेज युद्धबारे परिचित भएकाले उनले बलभद्रका कुरा गम्भीरतापूर्वक सुने। 

कुँवरका भनाईमा, बलभद्रले कुनै दिन अंग्रेजले पञ्जावलाई पनि कब्जा गर्न सक्ने सम्भावना औंल्याए। साथै, शिख–गोर्खाली सेनाबीच बलियो मोर्चाको आवस्यकता दर्शाए। बलभद्रको कुरामा रणजीतसिंहले पनि सहमति जनाएका थिए। त्यसपछि बलभद्र पञ्जावी सेनामा भर्ति भए। जिम्मेवारी अनुसार उनले गोर्खाली पल्टन निर्माण सुरु गरे।   

त्यो बेला पञ्जावको उत्तरी सीमाना अफगानिस्तानसम्म पुगेको थियो। तर, अलोकप्रियताका कारण राजा शाहसुजा दुरानीले अफगानिस्तान छाड्नु पर्यो। उनलाई लखेट्नमा उनकै दरबारका भारदारहरुको भूमिका थियो।  

अफगानिस्तानको राष्ट्रिय सेनाले समेत आत्मसमर्पण गरिदिँदा जसरी अहिले तालिवानले एकपछि अर्काे महत्वपूर्ण शहर कब्जा गरिरहेका छन्, त्यो बेलापनि विद्रोही पक्ष बलियो बन्दै गएपछि शाहसुजा समर्थित फौजले व्रिदोही पक्षलाई साथ दियो। 

त्यसैले, बिद्रोहीहरुको दमनका लागि बलभद्र नेतृत्वको गोर्खाली पल्टन र शिख पल्टन अफगानिस्तान जानु पर्यो। किनभने, शाहसुजा अफगानिस्तानबाट भागेर रणजीत सिंहकहाँ शरण लिन आइपुगेका थिए।

अफगा​ युद्धमैदानमा बलभद्रको मृत्यु
२०५६ मा प्रकाशित ‘कुँवर राणाजीहरुको बृहत बंशावली’ ले उल्लेख गरे अनुसार, विद्रोहीहरुलाई दमन गर्न नसक्दा अफगानी अमिर शाहसुजाले आफ्ना मित महाराज रणजीतसँग सैनिक सहयोग माग गरेपछि रणजीतसिंहले शिख खाल्सा सेनाको एक कम्पनी र बलभद्र कुँवरको नेतृत्वको गोर्खाली रेजिमेन्ट पल्टन पठाएका थिए। 

अफगान विद्रोहीहरुले लडाईंमा शिख खाल्सा सेनालाई हायलकायल पारे। अफगान विद्रोहीहरुसँगको लडाईंमा शिख सेना लामो समय टिक्न नसकेपछि सेनापतिको आदेश अनुसार शिख सेनाहरु पछाडि हटे। तर, बलभद्र कुँवरले आफ्नो नेतृत्वको गोर्खाली फौजलाई त्यसरी हट्ने आदेश दिएनन्।

‘सेनापति बलभद्र कुँवरले आफ्नो सेनालाई त्यसरी दुश्मनको पछाडि पिठ फर्काइ पछाडि फर्कने आदेश दिएनन्, बरु आफैँ समेत साहस र बडो हिम्मत साथ लडी रहे,’ कुँवरले लेखेका छन्, ‘बलभद्र नेतृत्वको गोर्खाली सेना अफगानी विद्रोहीहरुसँग युसुफिजी पहाडको आड लिएर बडो बहादुरीका साथ लडी धेरै अफगानी विद्रोहीहरुलाई धरासायी बनाउन सफल भयो।’ 

अफगान विद्रोहीहरुसँग १८७९ चैत (मार्च १८२३) मा भएको ‘नौसेरा युद्ध’ मा प्राप्त गरेको विजय पञ्जावकेशरी रणजीत सिंहका लागि निकै महत्वपूर्ण थियो। त्यो युद्धमा अफगानी विद्रोहीहरुलाई पराजित गरेपछि पञ्जावी सेनाले रणनीतिक महत्वको पेशावर उपत्यका (हाल पाकिस्तान) माथि कब्जा जमाउन सफल भएको थियो। 

नौसेराको युद्धमा पञ्जावी सेनालाई सफल बनाउन बलभद्र कुँवर नेतृत्वको गोर्खाली पल्टनको महत्वपूर्ण भूमिका रह्यो। तर, दुर्भाग्यवश त्यही युद्धमा बलभद्र कुँवरले ज्यान गुमाउन पर्यो।

गण्डकी प्रवाह (अंक ३, २०६७) मा प्रकाशित ‘वीर नेपाली र लाहुरे परम्पराः एक ऐतिहासिक विवेचना’ पुस्तकमा डा. धनबहादुर कुँवरले उल्लेख गरे अनुसार, ३ चैत्र १८७९ मा अफगानिस्तानको नौसेरा (पेशावर) मा लडिरहेका बेला अफगान विद्रोहीहरुले निशाना लगाई हानेको गोलीले छाती छेडेपछि बलभद्र रणभूमिमा ढलेका थिए र तत्काल उनको मृत्यु भएको थियो।  

अंग्रेजसँग लड्ने योजना अनुरुप पञ्जावकेशरी रणजीत सिंहको सेनामा भर्ति भएका बलभद्रलाई यसरी नियतिले अफगानी विद्रोहीहरुसँगको युद्धमा मात्र पुर्याएन, उनीहरुसँग लड्दालड्दै ज्यान गुमाउने स्थितिमा पुर्यायो। ७ वर्षअघि अंग्रेजसँगको युद्धमा हार नमानेका उनी अफगानी विद्रोहीहरुसँग लड्दालड्दै मारिए। 

पूर्व प्राचार्य कुँवरले उल्लेख गरे अनुसार युद्धमोर्चामा गोर्खाली रेजिमेन्टका सेनापति बलभद्रको मृत्यु भएपनि गोर्खाली सेना पछि हटेन। बलभद्रको इज्जत राख्ने गरी उनीहरु युद्धमोर्चामा डटिरहे र पञ्जावी सेनालाई विजयी बनाउन निर्णायक भूमिका खेले।

‘बलभद्रको मृत्युपश्चातपनि गोर्खाली सेनाहरु कत्ति पछि नहटी वीरताका साथ डटेर लडी रहे, अन्त्यमा गोर्खाली बहादुरहरुका सामु अफगान विद्रोहीहरुको केही जोड नलागेपछि पछि हटेर भागाभाग भए,’ कुँवरले पुस्तकमा लेखेका छन्, ‘स्वाभिमानी वीर बलभद्रले ३३–३४ वर्षकै उमेरमा लड्दालड्दै युद्धमा ज्यान गुमाए।’ 

जङ्गी अड्डाले प्रकाशित गरेको ‘नेपालको सैनिक इतिहास’ मा उल्लेख भए अनुसार, सो युद्धमा बलभद्रका अलावा अन्य गोर्खाली सैनिकहरु पनि मारिएका थिए।

युद्धस्थलमा बलभद्रका छोरा
पञ्जावकेशरी रणजीत सिंहले गोर्खाली सेनालाई साह्रै रुचाउने गरेको कुरापनि सैनिक इतिहासमा उल्लेख छ। हुनसक्छ, त्यही कारण उनले गोर्खालीहरुको एउटा छुट्टै पल्टन खडा गर्न बलभद्रलाई अह्राएका थिए। त्यसैको सिको हो, अहिले भारतीय सेना र ब्रिटिस सेनामा रहेका गोर्खालीहरुका छुट्टाछुट्टै पल्टन।   

अफगान विद्रोहीहरुसँग लड्दालड्दै बलभद्रको मृत्यु भएपछि रणजीत सिंहले अत्यन्त गहिरो शोक व्यक्त गरेको र अफगान विद्रोहीहरुसँगको लडाईंमा शिख सेना भन्दा गोर्खाली सेना अब्बल देखिएको मूल्याङ्कन समेत गरेको दावी ‘कुँवर राणाजीहरुको बृहत बंशावली’ ले गरेको छ।

‘गोर्खा रेजिमेन्टका सेनानायक वीर बलभद्र कुँवरको वीरोचित मृत्युबाट पञ्जावकेशरी रणजीतसिंहलाई ठूलो मर्का पर्यो,’ बंशावलीमा भनिएको छ, ‘उनले (रणजीत सिंह) त्यसबेला यस्तो उद्गार व्यक्त गरेका थिए, ‘सम्पूर्ण शिख खाल्सा तालिमे सेना भन्दा सानै भएपनि गोर्खाली पल्टनले मात्र मुसलमानी आक्रमणको सामना गरी मेरो इज्जत राखी विजय गराइदियो।’

बलभद्र कुँवरका पनाति स्व सुब्बा भीमबहादुर कुँवरले तयार पारेको एउटा लिखित अभिलेख प्राचार्य कुँवरले आफ्नो पुस्तकमा समावेश गरेका छन्। त्यसमा बलभद्रको वीरताको सम्मान गर्दै पञ्जावकेशरी रणजीतसिंहले ‘पञ्जावमा आफ्नो भाई छोरा लगायतका सन्तानको हुकुम रहेसम्म लाहोर पुगेका बलभद्र कुँवरका भाई छोरा नातिको कदर गर्दै सम्मानजनक पद दिई राख्नू’ भन्ने आदेश दिएको उल्लेख छ। 

प्राचार्य कुँवरका अनुसार बलभद्रको शहादतको केही वर्षपछि बलभद्रका जेठा छोरा शरणभद्र लाहोर पुगेका थिए। त्यहाँ पुग्नुको उनको उद्देश्य बलभद्रले लडेको नालापानी किल्ला र मृत्यु भएको नौसेराको फाँट हेर्नु थियो। 

उनी बलभद्रको मृत्यु भएको सेरा पुगे वा पुगेनन्, यो कुरा कुँवरले पुस्तकमा उल्लेख गरेका छैनन्। तर, रणजीत सिंहसँग भने उनको भेट भयो। 

कुँवरका भनाईमा, भेटका क्रममा रणजीत सिंहले शरणभद्रलाई लाहोरमै बसी सेनामा भर्ति हुन आग्रह गरेका थिए। सेना भर्ति भई सेवा गरेमा उनलाई एक लाख रुपैयाँ दिने ‘अफर’ पनि उनले गरेका थिए। 

बलभद्रका पनाति स्व सुब्बा भीमबहादुरको लिखत उद्धृत गर्दै कुँवरले भनेका छन्, ‘तर, सो कुरा अस्वीकार गरी शरणभद्र नेपालमै फर्केका थिए।’  

करिव दुई सय वर्षअघि नेपाली सेनानायक बलभद्रको सहसिक लडाइँका कारण उतिबेला अफगान विद्रोहीहरु पराजित भएको मानिन्छ। २० वर्षअघि अमेरिकी आक्रमणका कारण सत्ता गुमाएका तालिवान विद्रोहीहरु अहिले फेरि काबुलको सत्ता कब्जा नजिक पुगेको सन्दर्भमा गोर्खाली फौजले अफगानिस्तानमा लडेको त्यो लडाइँ र बलभद्र कुँवरको सम्झना ताजा भएको छ। 
 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .