ad ad

म्यागेजिन


बीपीले अमेरिकी पत्रकारसँग बोलेको त्यो रमाइलो झुटको अन्तरकथा

बीपीले अमेरिकी पत्रकारसँग बोलेको त्यो रमाइलो झुटको अन्तरकथा

बीपीले भनेजस्तो स्नातक क्षेत्रबाट निर्वाचित हुने चार जना राष्ट्रिय पञ्चायत सदस्यलाई चुनावमा उनको समर्थन थिएन


सीताराम बराल
साउन १२, २०७८ मंगलबार १४:४३,

बीपी कोइराला, पुष्पलाल श्रेष्ठ, राजा महेन्द्र यस्ता सर्वकालिक नेपाली ऐतिहासिक पात्र हुन्, जसबारे जहिले जति लेखे पनि हुन्छ; विशेष दिन कुर्नै पर्दैन। 

तर हामी यी व्यक्तित्वबारे लेख्दा पनि आफूलाई ‘क्यालेन्डर जर्नालिजम्’मा सीमित गरिदिन्छौं; जन्मदिन वा ‘स्मृति दिवस’को सन्दर्भमा मात्र लेख्छौं। 

बीपीको ३९औं स्मृति दिवस (६ साउन २०७८) सेरोफेरो गत हप्ता बीपीको एउटा सनसनीपूर्ण भिडिओ अन्तर्वार्ता राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे। उपचारका लागि २०३४ सालमा अमेरिका पुगेका बीपीसँग अमेरिकी पत्रकारद्वय रबर्ट म्याक्लिनल र जिम लेहररले लिएको अन्तर्वार्ता हो, त्यो।

नेपाली अनुवादमा त्यसका महत्त्वपूर्ण अंशबारे वाग्लेको विश्लेषण सेतोपाटीमा प्रकाशन भएपछि त्यस अन्तर्वार्ताको चर्चा झनै बढेको छ। 

बीपी बेजोड व्यक्तित्वका धनी थिए। अध्ययनको दायरा फराकिलो थियो। साहित्य लेखन मात्र होइन, राजनीतिक बहस र तर्कमा पनि उनलाई जित्न जो कोहीले सक्दैनथ्यो। 

राजा महेन्द्रले समेत बीपीसँग तर्क–बितर्क गर्न सकेनन्। सेनाको मुढेबलमा प्रथम जननिर्वाचित प्रधानमन्त्री उनलाई अपदस्थ गरिदिए; ८/८ वर्ष जेलमा थुन्नुको कारण यही थियो। 

बीपीको तर्कशैली यति बेजोडको थियो कि सामान्य मानिसलाई उनका तर्कमा कति सत्यता छ, कति असत्यता– छुट्ट्याउन मुस्किल पर्थ्यो। 

जस्तो : सशस्त्र संघर्षको असफलता र भारतको कडाइका कारण उनले भारत निर्वासनमा लामो समय बस्नु घातक हुने देखे। तर चलाख बीपीले ‘सोभियत संघ र भारतका कारण नेपाली राष्ट्रियता खतरामा परेको’ तर्क अघि सारे। र, ‘राष्ट्रिय मेलमिलाप’ नीतिका साथ स्वदेश फर्के। 

‘नेपाली राष्ट्रियता खतरामा परेको छ’– चलाखीपूर्वक अघि सारिएको यति मीठो र भावनात्मक कुराको खण्डन कसले गर्ने! यसको खण्डन गरेर कसलाई ‘राष्ट्रघाती’ देखिनु थियो र! 

यस्तै एउटा ‘मीठो झुट’ बीपीले अमेरिकी पत्रकारद्वयसँगको अन्तर्वार्तामा पनि बोलेका छन्। स्नातक क्षेत्रबाट निर्वाचित हुने चार जना राष्ट्रिय पञ्चायत सदस्यका सम्बन्धमा उनले त्यस्तो ‘झुट’ बोलेका हुन्।

जतिबेला अमेरिकी पत्रकारद्वयले यो अन्तर्वार्ता लिँदै थिए, दुईतिहाइसहित बीपी जननिर्वाचित प्रधानमन्त्री बनेको पनि १९ वर्ष बितिसकेको थियो।  

यही सन्दर्भको संकेत गर्दै अन्तर्वार्ताकार म्याक्निलले बीपीसँग सोधेका छन्, ‘अहिले (वि. सं. २०३४) पनि जनता, खासगरी युवा पुस्ताका नेपाली तपाईंका साथमा छन् भन्ने प्रमाण के छ?’  

उत्तरमा बीपीले राष्ट्रिय पञ्चायतको स्नातक क्षेत्रबाट हुने पछिल्लो (२०२८) निर्वाचनको उदाहरण दिएका छन्।

‘स्नातक उत्तीर्ण गरेका मतदाताले मत हाल्ने निर्वाचनमा हामीले समर्थन गरेका चारै जना विजयी भए,’ अन्तर्वार्तामा बीपीले भनेका छन्, ‘तर चुनाव जित्नेबित्तिकै उनीहरूलाई गिरफ्तार गरी जेलमा हालियो।’    

बीपीले दाबी गरेजस्तो स्नातक क्षेत्रबाट विजय हासिल गरेका चार जना उम्मेदवार उनीद्वारा समर्थन-प्राप्त थिएनन्। 

‘नेपाल अधिराज्यको संविधान-२०१९’ ले स्नातक मतदातामार्फत राष्ट्रिय पञ्चायतमा चार जना चुनिने व्यवस्था गरेको थियो। संविधानअनुसार तेस्रोपटक (२५ जेठ २०२८) भएको निर्वाचनमा प्रयागराजसिंह सुवाल (१४३८ मत), रामराजाप्रसाद सिंह (१३५० मत), कृष्णप्रसाद भण्डारी (१२६८) र डा. प्रकाशचन्द्र लोहनी (१०४५ मत) विजयी भएका थिए।   

तीमध्ये रामराजाप्रसाद सिंह निर्वाचनको ‘हिरो’ थिए। उनले अंग्रेजी भाषामा प्रकाशन गरेको ‘लेट द ग्रेट एज बिगिन अ न्यु’ (नेपालीमा– ‘स्वर्ण युगतिर’) शीर्षकको पर्चाले उनलाई चर्चाको शिखरमा पुर्याएको थियो।  

त्यो पर्चामा सिंहले १ पुस २०१७ अघिको संसदीय व्यवस्थालाई ‘स्वर्ण युग’ र त्यसपछिको पञ्चायती व्यवस्थालाई ‘अन्धकार युग’का रूपमा व्याख्या गरेका थिए। र, आफूले विजय प्राप्त गरेपछि नेपाललाई ‘अन्धकार युग’बाट ‘स्वर्ण युग’तिर फर्काउन प्रयास गर्ने प्रतिबद्धता जनाएका थिए।

जनकपुरमा राजा महेन्द्रविरुद्ध बम प्रहार गरेपछि मृत्युदण्डको सजाय पाएका दुर्गानन्द झाको सहादतलाई सिंहले ‘दुर्गानन्द झाले सहादतको बलिबेदीमा चढेर प्राप्त गरेको अमरत्व’ का रूपमा व्याख्या गरेका थिए।  

राजा र पञ्चायती व्यवस्थाविरुद्ध आगो ओकल्दै सिंहले प्रकाशन गरेको त्यो वक्तव्य यति लोकप्रिय भयो कि त्यसका फोटोकपिसमेत हातहाती बिक्री भए। त्यही पर्चाको बलमा रामराजाप्रसाद सिंहले स्नातक निर्वाचनमा विजय हासिल गरे।  

बीपीले अमेरिकी पत्रकारसँग बोलेको त्यो रमाइलो झुटको अन्तरकथा

निश्चय नै, सिंहको जितका लागि नेपाली कांग्रेसका कार्यकर्ता/समर्थक निकै खटेका थिए। तर यसको अर्थ के होइन भने बीपी कोइरालाकै निर्देशनमा उनीहरूले सिंहलाई सहयोग–मतदान–समर्थन गरेका थिए। 

नेपाली कांग्रेसका तत्कालीन दस्तावेज र स्वयं सिंहका अनुभवले पनि बीपीबाट उनले समर्थन प्राप्त गरेका थिए भन्ने कुरा पुष्टि गर्दैनन्।

पटना–प्रवासमा रहेका बेला २०६२ असोज–कात्तिकमा मैले सिंहसँग उनको राजनीतिक जीवनबारे लामो कुराकानी गरेको थिएँ। त्यस क्रममा २०२८ को स्नातक निर्वाचन र त्यो बहुचर्चित पर्चाबारे पनि संवाद भएको थियो। जुन अन्तर्वार्ता सिंहको आत्मकथा ‘गणतन्त्रका लागि संघर्ष’मा समेटिएको छ। 

सिंहका भनाइमा– चुनावी घोषणापत्रका रूपमा पर्चा प्रकाशन भएपछि समर्थनका लागि उनले भाइ लक्ष्मणप्रसाद सिंहलाई बीपीसमक्ष पठाएका थिए।  

‘बीपीले मेरो त कुनै उम्मेदवार छैन भन्नुभएछ,’ सिंहको भनाइ थियो, ‘त्यसपछि लक्ष्मणबाबुले नेपालमा जे भइरहेको छ, त्यसबारे अवगत गराउन आएका हौं, यस (पर्चा) मा सबै कुरा लेखेको छ भन्दै नमस्कार गरेर फर्कनुभएछ।’

खासमा सशस्त्र संघर्षको गोप्य तयारीमा रहेका बीपीलाई राष्ट्रिय पञ्चायतको निर्वाचनबारे कुनै सरोकार थिएन; कसैलाई समर्थन गरेर वा उम्मेदवार बनाएर सशस्त्र संघर्षको तयारीलाई कमजोर पार्न उनी चाहँदैनथे। 

चुनावी प्रचारका सिलसिलामा पूर्व जाँदा सिंह विराटनगरस्थित कोइराला निवास पनि पुगेका थिए। बीपीका कान्छा भाइ गिरिजाप्रसाद कोइराला त्यहीँ थिए; आमा दिव्या कोइराला पनि। 

बीपी जे सोच्थे, खासमा त्यसको कार्यान्वयन गिरिजाप्रसाद कोइरालामार्फत गराउँथे। कोइराला निवास पुगेका सिंहलाई गिरिजाप्रसाद कोइरालाले निर्वाचनमा समर्थनको वचन दिएनन्। सिंहको उम्मेदवारी र पर्चाले तहल्का मच्चाइसक्दा पनि बीपीले गिरिजालाई त्यसबारे कुनै निर्देशन दिएका थिएनन्। 

त्यसैले, गिरिजाप्रसाद कोइरालाले सिंहसँग सोधे, ‘तपाईंले यो पर्चा बीपीको सामुन्ने पुर्याउनुभयो?’

सिंहले भाइ लक्ष्मणप्रसाद सिंहमार्फत बीपीसम्म पर्चा पुर्याएको तर, उनले कुनै ‘रेस्पोन्स’ नगरेको जवाफ दिए। गिरिजाप्रसाद कोइराला बोलेनन्।

बीपी–गिरिजाप्रसादको समर्थन नरहेको संकेत आमा दिव्या कोइरालाले सिंहलाई दिइन्। र, छोराहरूले जे गरे पनि आफ्नो समर्थनचाहिँ सिंहलाई नै रहेको बताइन्।  

‘लौ ! तपाईंले जित्नपर्यो, मेरो आशीर्वाद छ भन्दै गिरिजा बाबुलाई देखाउँदै आमा दिव्याले भन्नुभयो– म यिनीहरूको राजनीति जान्दिनँ। म मेरो राजनीति मात्र जान्दछु,’ रामराजाले आत्मकथामा भनेका छन्, ‘तपाईंले नै जित्नुपर्छ भनेर उहाँ (दिव्या) ले मलाई आशीर्वाद दिनुभयो’ (पृष्ठ ९२)।

आमा दिव्याले सिंहलाई समर्थन गरे पनि विराटनगरका अधिकतर स्नातक मतदाता बीपी–गिरिजाप्रसाद कोइरालाकै प्रभावमा थिए। त्यसैले विराटनगरको मत सिंहले पाउन सकेनन्। विराटनगर क्षेत्रबाट खसेका धेरैजसो भोट शंकरनाथ घिमिरेका पक्षमा परेका थिए, जो सुवर्णशमशेर र सूर्यप्रसाद उपाध्यायनिकट नेपाली कांग्रेसका बौद्धिक नेताका रूपमा चिनिन्थे।

कोइरालाको समर्थन नपाएकाले पूर्वी क्षेत्रबाट सिंहले मत पाउन सकेनन्।

‘जब चुनाव भयो, कोसी पूर्वबाट मलाई जम्मा ४ भोट आयो,’ रामराजाले भनेका छन्, ‘विराटनगरजस्तो जल्दोबल्दो ठाउँ, त्यस्तो ठाउँमा मलाई जम्मा चार भोट आयो।’

रामराजाप्रसाद सिंह

रामराजाको अनुमानमा– आफूले राजतन्त्रको विरोध गरेको, आफ्ना पक्षमा प्रचार गर्दा शंकरनाथ घिमिरेको मतलाई असर पर्ने भएकाले कोइरालाले उनलाई असहयोग गरेका हुन सक्थे। 

‘रामराजाले चुनाव लड्ने होइन, जेल जाने हो। जेल जाने मान्छेलाई जिताउनुको अर्थ छैन भन्दै गिरिजाबाबुले प्रचार गरिदिनुभएछ,’ सिंहले भनेका छन्, ‘चुनावका दिन (२५ जेठ ०२८) २ बजेसम्म उहाँले पूरै यस्तो प्रचार गरिदिनुभएछ। यो घोर राजतन्त्रविरोधी हो, यसले शपथ ग्रहण गर्दैन, जिते पनि छाडेर गइहाल्छ, एक दिन पनि राष्ट्रिय पञ्चायतमा जाँदैन भनेर प्रचार गरिदिनुभएछ।’

रामराजाको यो दाबीले देखाउँछ– बीपीले अमेरिकी पत्रकारद्वयसँग दाबी गरेजस्तो त्यो निर्वाचनमा उनले बीपीको समर्थन प्राप्त गरेका थिएनन्। विजयका लागि उनले प्राप्त गरेका मत अधिकतर काठमाडौं उपत्यकाबाट प्राप्त भएका थिए।

नेपाली कांग्रेसका तत्कालीन दस्तावेज, उम्मेदवारहरूको पृष्ठभूमि आदिले पनि रामराजाप्रसादलगायत निर्वाचित स्नातक उम्मेदवारले बीपीको समर्थन पाएका थिए भन्ने बताउँदैनन्।

निर्वाचितमध्ये सबैभन्दा बढी मत पाएका प्रयागराजसिंह सुवाल नेपाली कांग्रेसका पूर्वकार्यकर्ता अवश्य थिए। उनी २०२४ को निर्वाचनमा पनि स्नातक क्षेत्रबाटै जितेर राष्ट्रिय पञ्चायतमा पुगेका थिए। 

तर त्यो बेला उनी बीपीसँग होइन सुवर्ण शमशेरसँग निकट थिए। बीपी र सुवर्णको धार अलग अलग थियो। बीपी सशस्त्र संघर्षको तयारीमा थिए भने सुवर्ण राष्ट्रिय मेलमिलापको नीतिको पक्षधर थिए। रापंसको त्यही कार्यकालमा सुवाल निर्माण तथा यातायातमन्त्री बने। बीपीको नेतृत्वमा भएको सशस्त्र संघर्षका क्रममा नेपाली कांग्रेसका कार्यकर्ताहरूले २२ वैशाख २०३२ मा काठमाडौंको जैसीदेवलमा उनीविरुद्ध बम हानेका थिए। धन्न ! जोगिए।

तेस्रो बढी मत पाएर राष्ट्रिय पञ्चायतमा निर्वाचित कृष्णप्रसाद भण्डारी (वरिष्ठ अधिवक्ता) त झन् कम्युनिस्ट पार्टीका नेता थिए। १ पुस (०१७) भन्दा अघिको संसदीयकाललाई ‘स्वर्ण युग’ भन्ने सिंहको समर्थनमा समेत नखुलेका बीपीले कम्युनिस्ट पृष्ठभूमिका भण्डारीलाई समर्थन गरे होलान् र!  

चौथो बढी मत पाउने डा. प्रकाशचन्द्र लोहनी (हाल राप्रपा अध्यक्ष) को पनि बीपी र कांग्रेससँग कुनै संलग्नता थिएन। यस्तो स्थितिमा उनले बीपीको समर्थन पाउने कुरै भएन। 

बीपीले अन्तर्वार्तामा भनेजस्तै– स्नातक क्षेत्रबाट निर्वाचित तीन जना राष्ट्रिय पञ्चायत सदस्य (सिंह, भण्डारी र डा. लोहनी) समय क्रममा पक्राउ/जेल परे। तर बीपीले संकेत गरेजस्तो कोही पनि आफूसँग आबद्धताका कारण पक्राउ परेका थिएनन्।  

कम्युनिस्ट राजनीतिमा संलग्न भण्डारी पार्टीका नेता भएकाले पक्राउ परिरहन्थे, छुटिरहन्थे। जेल जानु उनका लागि पानीपधेँरोसरह भइसकेको थियो। 

राष्ट्रिय पञ्चायतको त्यही कार्यकालमा डा. लोहनी पनि पक्राउ परेका थिए; तर पञ्चायतको विरोध गरेकाले होइन, प्रधानमन्त्रीबाट हटाइएपछि असन्तुष्ट सूर्यबहादुर थापाले आयोजना गरेको सभामा गएर भाषण गरेकाले। 

जहाँसम्म सिंहको प्रसंग हो, उनलाई शपथ समारोहकै दिन राष्ट्रिय पञ्चायत भवनबाट गिरफ्तार गरी जेल हालिएको थियो। पछि त उनलाई राष्ट्रिय पञ्चायत सदस्यबाटै निष्कासन गरियो। 

तर अन्तर्वार्तामार्फत बीपीले यस्तो सन्देश दिन खोजेका छन् कि आफ्नै समर्थनका कारण स्नातक क्षेत्रबाट चार जना उम्मेदवारले राष्ट्रिय पञ्चायत सदस्यमा विजय हासिल गरेका हुन् र त्यही कारण उनीहरूलाई पक्राउ गरिएको हो। 

त्यतिबेला प्रकाशित नेपाली कांग्रेसका दस्तावेजले पनि रामराजाप्रसाद सिंहलगायत विजयी चार जनाले बीपीको समर्थन पाएका थिए भन्ने संकेतसम्म गर्दैनन्।  

आफ्ना विचार तल्लो तहसम्म पुर्याउन नेपाली कांग्रेस बीपी समूहले बनारसबाट ‘तरुण’ पत्रिका प्रकाशन गर्थ्यो। जसका सम्पादक थिइन्– शैलजा आचार्य। ‘तरुण’लाई वैचारिक निर्देशन भने बीपीले गर्थे।  

२०२८ को स्नातक निर्वाचनपछि तरुणले ‘रामराजाको विजय’ शीर्षकमा सम्पादकीय (बुलेटिन नं ४, सेप्टेम्बर १९७१) लेख्यो। त्यो अध्ययन गर्ने जो कोहीले सहजै अनुमान गर्न सक्छ– रामराजाको विजयमा बीपीको प्रत्यक्ष भूमिका थिएन।  ​

‘तरुण’ र रामराजाप्रसाद सिंहको विजयपछि प्रकाशित सम्पादकीय

‘रामराजा सिंहलाई हामी बधाई दिन्छौं, स्नातक तह निर्वाचनमा विजयी भएकामा त्यति होइन कि जति वर्तमान निरंकुश शासनको पर्दाफास गर्ने साहसी कदम चालेकामा,’ सम्पादकीयको सुरुवात गर्दै ‘तरुण’ले भनेको छ, ‘तरुणहरूलाई यस्तै साहसी कार्यले हर्षित र प्रेरित हुन्छ।’  

सिंहको विजय त्यही चर्चित घोषणापत्रका कारण भएको उल्लेख गर्दै ‘तरुण’ले अगाडि लेखेको छ, ‘रामराजाको विजयमा ध्यान दिनुपर्ने कुरा के छ भने उनी शुद्ध आफ्नो ‘प्रोग्राम’को आधारमा चुनिएका हुन्। उनको घोषणापत्रले भोट पाएको हो। उनको भोट राष्ट्रिय भोट हो, राजनीतिक भोट हो, व्यवस्थाविरुद्धको भोट हो, प्रजातन्त्रको भोट हो।’

सिंह र भण्डारीले पाएको मत पक्कै पनि व्यवस्थाविरुद्धको मत थियो। तर उनीहरूले पाएको मतलाई आफूप्रतिको समर्थनका रूपमा गरेको दाबीले बीपीलाई हल्का देखाएको छ। 

स्नातक निर्वाचनको ६ वर्षपछि अमेरिका पुगेका बीपीले चारै जना उम्मेदवारलाई आफूले समर्थन गरेकाले विजय हासिल गरेको दाबी गरे पनि सिंहबाहेक बाँकी तीन जनाको नामसमेत ‘तरुण’ले उल्लेख गरेको छैन। 

२०२८ को स्नातक निर्वाचनमा कसैलाई जिताउने/हराउने भूमिकामा नरहे पनि ६ वर्षपछि अमेरिका पुगेर त्यसको ‘जस’ लिनुपर्ने बाध्यता बीपीलाई अमेरिकी पत्रकारद्वयले सोधेका तीखा प्रश्नले सिर्जना गरेको थियो। उनीहरूले प्रश्न गरिदिए, ‘जनता तपाईंकासाथमा छन् भनेर कसरी पत्याउने!’ 

बीपी जनाधारविहीन नेता थिएनन्। तर नेपालमा सबै नेताले दाबी गरेजस्तो जनता मेरा साथमा छन् भन्ने मुढे तर्क अमेरिकामा पनि गर्नु उचित हुँदैनथ्यो। यसका लागि निर्वाचनकै परिणाम प्रस्तुत गर्नु उपयुक्त हुन्थ्यो। तर बीपीसँग १९ वर्षअघि (२०१५) को निर्वाचन परिणामबाहेक जनता आफ्ना पक्षमा छन् भनेर देखाउने प्रमाण थिएन। 

१९ वर्षअघिको मतपरिणाम प्रस्तुत गरेर जनता आफ्ना पक्षमा रहेको दाबी गर्नु झन् हास्यास्पद हुन्थ्यो! 

त्यसैले उनले चलाखीपूर्वक २०२८ को निर्वाचनको सन्दर्भ निकालेर जनता आफ्ना पक्षमा रहेको दाबी गरिदिए, तर त्यो बेला स्नातक निर्वाचन व्यवस्थै संविधानबाट हटाइएको समेत २ वर्ष बितिसकेको थियो। २६ मंसिर २०३२ मा दोस्रो संशोधनमार्फत राजा वीरेन्द्रले स्नातक निर्वाचनको प्रावधान पञ्चायती संविधानबाटै हटाइदिएका थिए।  

बीपीले चलाखीपूर्वक त्यस्तो जवाफ दिए पनि अमेरिकी पत्रकारद्वयले गरेका प्रश्न हेर्दा देखिन्छ– उनीहरू पनि कम चलाख होइनन्। त्यसैले जब ६ वर्षअघिको निर्वाचनको सन्दर्भका साथ बीपीले जनता आफ्ना साथमा रहेको दाबी गरे, त्यसपछि म्याक्निलले सोधे, ‘त्यसो भए सरकारसँगको प्रत्यक्ष प्रतिस्पर्धामा तपाईंहरूसँग सरकार पराजित भइसक्यो, होइन त?’ 

बीपी सोझो जवाफ दिन सक्दैनन्। उनी आफ्नो ‘गलत दाबी’लाई यसरी चलाखीपूर्वक सच्याउन खोज्छन्, ‘आफ्नो मनका कुरा अभिव्यक्त गर्ने अवसर पाएका बेला जनताले प्रजातान्त्रिक अधिकारको माग गर्ने गरेका छन्। मेरो भनाइको तात्पर्य यो हो।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .