म्यागेजिन


बीपीको बार्दलीमा उभिएर त्यो साँझ गिरिजाले भने– सान्दाजु अब रहनुभएन

बीपीको बार्दलीमा उभिएर त्यो साँझ गिरिजाले भने– सान्दाजु अब रहनुभएन

प्रधानमन्त्री हुँदा २०१६ मा बागलुङमा आयोजित सभालाई सम्बोधन गर्दै बीपी कोइराला (तस्बिर संकलनः सीताराम बराल)


सीताराम बराल
काठमाडौँ, साउन ११

राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केका बीपी कोइराला काठमाडौंको चाबहिलस्थित भाइ तारिणीप्रसाद कोइरालाको निवासमा बस्न थालेका थिए। जयबागेश्वरी (चाबहिल) स्थित कोइराला निवासको माथिल्लो तलामा बीपीको कोठा थियो, कोठाबाहिर सानो बार्दली। 

ठीक ३९ वर्षअघि बीपीका कान्छा भाइ गिरिजाप्रसाद कोइराला बीपीको कोठाबाट बार्दलीमा निस्के। लामो बाहुला भएको सेतो सर्ट र खैरो पाइन्ट लगाएका गिरिजाको अनुहार मलिन थियो। तर उनी संयमित थिए।

बीपी भाइ तारिणीकहाँ बस्न थालेदेखि नै त्यहाँ नेपाली कांग्रेसका नेता–कार्यकर्ताको ओइरो लाग्न थालिसकेको थियो। एक हप्तायता घुइँचो बढ्न थालेको थियो। मलिन अनुहारमा बीपीको कोठाबाट निस्केपछि गिरिजाका कुरा सुन्न सबै उत्सुक भए।   

बार्दलीमा उभिएर गिरिजाप्रसादले सम्बोधन गरे। अक्सर छोटो सम्बोधन गर्ने गिरिजाले त्यस दिन अझ छोटो गरे, सम्भवतः जीवनकै सबैभन्दा संक्षिप्त।

उनले यत्ति मात्र भने, ‘सान्दाजु अब रहनुभएन!’    

६ साउन २०३९ को साँझ थियो, त्यो। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री, नेपाली राजनीतिका शिखर पुरुष, ०७ को क्रान्तिका परिकल्पनाकार, ओजस्वी साहित्यकार बीपी कोइरालाको निधन भएको थियो; ६८ वर्षको उमेरमा– फोक्सो र घाँटीको क्यान्सरका कारण। 

बदलिएको दिनचर्या 
बीपीका दुई ‘आत्मकथा’ छन्। तीमध्ये पहिलो ‘आफ्नै कथा’ बीपीको आफ्नै हस्ताक्षर हो, सुन्दरीजल जेलमा छँदा २०२०–२१ तिर लेखिएको। जसमा उनले २००७ अघि नै आफूलाई क्यान्सर भएको उल्लेख गरेका छन्। समयमै उपचार गरेका कारण त्यो फैलिन पाएन।

राष्ट्रिय मेलमिलापको नीतिका साथ १६ पुस २०३३ मा स्वदेश फर्किएपछि क्यान्सर बल्झियो। डा. मृगेन्द्रराज पाण्डेलगायत शाही चिकित्सकले विदेश लगेर उपचार नगर्ने हो भने बीपी धेरै समय नबाँच्ने कुरा राजालाई सुनाए।

नागार्जुन दरबारमा बोलाएर राजा वीरेन्द्रले नै कर गरेपछि बीपी उपचारका लागि अमेरिका पुगे। उनको जीवन केही वर्ष लम्बिन मात्रै सक्यो; क्यान्सर पूरै निको हुन सकेन। त्यसपछि पनि बीपी उपचारका लागि कहिले बम्बई त कहिले ब्याङ्कक गइरहन्थे।

बीपीका अन्तिम दिनहरूमा जयबागेश्वरीस्थित कोइराला निवासमै रहेका पूर्वमन्त्री जयप्रकाश गुप्ताका भनाइमा– बम्बईबाट अन्तिमपटक उपचार गरेर फर्केपछि बीपीको दिनचर्यामा निकै परिवर्तन आउन थालेको थियो।  

त्यसअघि बीपी घामको झुल्कोसँगै आफ्नो कोठाबाट बाहिर निस्कन्थे। उनका लागि एउटा छुट्टै सामान्य कुर्सी भुइँतलाको बरण्डामा थियो। बिहान ८ बज्दा नबज्दै पार्टीका कार्यकर्ता, शुभेच्छुक र पत्रकार बीपीकहाँ पुगिसकेका हुन्थे। बीपी उनीहरूका कुरा सुन्थे, आफ्ना कुरा भन्थे।

सामान्य अवस्थामा रहँदा बीपी बिहानै ४ बजे उठिसकेका हुन्थे। त्यसपछि नुहाईधुवाई गरेर परिवारका सदस्यसँग चिया खाँदै पारिवारिक–राजनीतिक विषयमा कुराकानी गर्थे। त्यसपछिको समय नेता–कार्यकर्ता र शुभेच्छुकलाई दिन्थे।  

आफूलाई भेट्न आएका नेता–कार्यकर्ता र पत्रकारसँग प्रत्येक दिन बीपी केही न केही नयाँ कुरा भनिरहेका हुन्थे। पञ्चायती राजनीतिमा संलग्न पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट, कांग्रेसका पूर्वमहामन्त्री श्रीभद्र शर्माजस्ता नेता पनि जयबागेश्वरी पुगिरहन्थे। 

तर रोगले च्याप्दै लगेपछि त्यो स्थिति रहेन। धेरै मानिससँग भेट्दा क्यान्सर देखिएका फोक्सो र घाँटीमा ‘इन्फेक्सन’ बढ्ला भनेर पूर्ववत् भेटघाट बन्द गरियो। सीमित मानिसले भने बीपीसँग भेटघाट गर्न पाउँथे। त्यस्ता भाग्यमानीमा एक जना थिए– वरिष्ठ अधिवक्ता गणेशराज शर्मा। 

राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किंदा बीपीविरुद्ध विभिन्न मुद्दा थिए। राजनीतिक प्रकृतिका ती संगीन मुद्दा हारेका खण्डमा उनलाई मृत्युदण्डको सजाय हुन सक्थ्यो। वरिष्ठ अधिवक्ता शर्माले बीपीलाई कानुनी सहयोग गरेका थिए।  

बीपीको जीवनी लेखनका लागि मौखिक विवरण रेकर्ड गरिरहेका कारण क्यान्सर अन्तिम अवस्थामा पुग्दासमेत वरिष्ठ अधिवक्ता शर्माले उनीसँग निरन्तर भेट गर्न पाइरहेका थिए। शर्माले नै प्रकाशन गराएका त्यही आत्मवृत्तान्त अहिले बीपीलाई बुझ्ने सबैभन्दा गहकिलो सामाग्री बनेको छ। 

गुप्ताका भनाइमा– निधनभन्दा ५ दिन अघिसम्म निवासमा रहने अन्यले पनि बीपीसँग भेटघाटको अवसर पाएका थिए। तर बीपीको बोली बन्द भएपछि पत्नी सुशीला, छोरा–छोरी, भाइ गिरिजा, सुशील कोइराला, उपचारमा संलग्न चिकित्सक र परिवारका सीमित सदस्यबाहेकलाई बीपीको कोठामा जाने अनुमति थिएन। 

अजिब आत्मबल
क्यान्सरजस्तो रोगले गाले पनि त्यसबाट हुने पीडा बीपीले कहिल्यै देखाएनन्। वरिष्ठ अधिवक्ता शर्माले ‘विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त’को भूमिकामा बीपीको सहन–शक्तिको सजीव वर्णन गरेका छन्।

‘केमोथेरापीको सुई लिनासाथ कडा किसिमले वाकवाकी लाग्ने, दम फुल्ने हुन्थ्यो,’ शर्माले लेखेका छन्, ‘कतिपय मानिसहरू त्यसलाई सहन नसकेर पहिलो सुई लिनासाथ मरेका घटनाहरू उहाँ बम्बईको टाटा क्यान्सर अस्पतालमा छँदै देखेर फर्कनुभएको थियो।’

बीपीलाई आफू लामो समय बाच्दिनँ भन्ने कुरा २०३८ कात्तिकमै थाहा भइसकेको थियो। अघिल्लो दिन केमोथेरापी लिएका बिरामीको पछिल्लो दिन मृत्यु देखेको तथा आफ्नै जीवन लामो समय जाँदैन भन्ने थाहा पाए पनि बीपी मानिससँग कुराकानी गर्दा भने निकै सहज देखिन्थे। मानौं, कुनै स्वास्थ्य समस्यै छैन।

‘केमोथेरापी लिने दिन बिहानैदेखि उहाँ आफ्नो पीडा उद्विग्नतालाई रमाइलो र हँसिलो पाराले ढाक्नुहुन्थ्यो,’ शर्माले ‘आत्मवृत्तान्त’को भूमिकामा भनेका छन्, ‘सुई लिएको दिन इन्तु न चिन्तु भएर पल्टिरहनुहुन्थ्यो, केही खान नसक्ने हुन्थ्यो। भोलिपल्ट हेर्न जाँदा तकियाबाट टाउको उठाउन नसकेकोमा पनि हाँस्नुहुन्थ्यो।’

जीवनको अन्तिम अवस्था आइरहँदासमेत पीडा सहने बीपीको अजीव आत्मबल गुप्ताले पनि नजिकैबाट देखे। 

‘कुराकानीका बेला बीपीलाई आफू बिरामी छु भन्ने नै लाग्दैनथ्यो,’ गुप्ता सम्झन्छन्, ‘घाँटीको क्यान्सर भएकाले डाक्टरहरू धेरै नबोल्न अनुरोध गर्थे। तर बीपी ती डाक्टरहरूलाई आफू बोल्न किन जरुरी छ भनेर ‘कन्भिन्स’ गरिदिनुहुन्थ्यो।’  

‘तकियाबाट टाउको उठाउन नसक्ने अवस्थामा, खोकी र दम बढेर निसासिने स्थितिमा पनि मैले उहाँको मुखबाट ऐय्या, आत्थु वा कहरिएको कुनै शब्द सुनिनँ,’ शर्माले भनेका छन्, ‘उहाँमा यस प्रकारको दुःख खप्न सक्ने इच्छा–शक्ति अन्तिम क्षणसम्म प्रबल रहिरह्यो। यही इच्छा–शक्तिको बलमा उहाँले आफ्ना मृत्युशय्याका प्रत्येक क्षणहरू जनता र मानवताका लागि प्रयोग गर्ने प्रसंगमा यो वृत्तान्त तयार भएको हो।’

मृत्यु सन्निकट रहेका बीपीको अद्भुत आत्मबलको साक्षी बन्ने अवसर काठमाडौंवासीले पाचौं राष्ट्रिय मेलमिलाप दिवस (१६ पुस, २०३८) का दिन पाए। त्यस दिन नेपाली कांग्रेसले खुलामञ्चमा आमसभा गरेको थियो। 

क्यान्सरबाट थलिएका बीपी प्रमुख वक्ता थिए। आमसभास्थल पुग्नुअघि जीर्ण शरीरका बीपी गणेशमान सिंहका साथ जिपमा चढेर सहर घुम्दै, काठमाडौंवासीको अभिनन्दन फर्काउँदै खुलामञ्च पुगेका थिए। जीवनको करिब अन्तिम अवस्थामा रहेका बीपीले काठमाडौंवासीप्रति उस्तै सम्मान प्रकट गरे, अभिनन्दन फर्काए। 

आमसभा र बीपीले गणेशमानका साथ गरेको सहर परिक्रमाको रिपोर्टिङका लागि वरिष्ठ पत्रकार किशोर नेपाल पनि पुगेका थिए। मञ्चको अगाडि रहेका उनले कार्यक्रम अवधिभर बीपीको मुखाकृति हेर्दै टेप रेकर्डरमा उनको सम्बोधन रेकर्ड गरे। खासमा त्यो आमसभा नै बीपीको जीवनको अन्तिम आमसभा थियो।

‘बीपीलाई आफ्नो मृत्यु नजिकै छ भन्ने थाहा भइसकेको थियो,’ वरिष्ठ पत्रकार नेपालले सम्झे, ‘त्यस्तो अवस्थामा पनि उहाँको अनुहारको आभामण्डल चम्किलो थियो। म लामो समय बाच्दिनँ भन्ने चिन्ता उहाँमा कहीँकतै देखिँदैनथ्यो।’

अद्वितीय बिदाइ 
बीपीको बसोबास रहेकाले त्यो बेला नेपाली कांग्रेसको केन्द्र बनेको थियो– चाबहिलस्थित तारिणीप्रसाद कोइरालाको निवास। बीपीको परिवार, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, लक्ष्मण बस्नेतलगायत कोइराला परिवारका सदस्य त्यहीँ बस्थे। 

त्यसबाहेक जयप्रकाश गुप्ता, भीमबहादुर तामाङ, वीरेन्द्र दाहाल, बिरु लामालगायत नेता–कार्यकर्ता पनि कोइराला निवासमै रहन्थे। शैलजा आचार्य नजिकै रहेको घर भाडामा लिएर बस्थिन्। उनका बहिनीज्वाइँ दीलबहादुर घर्ती पनि शैलजासँगै त्यही घरमा बस्थे। चक्रप्रसाद बास्तोला पनि हमेसा कोइराला निवासमै रहन्थे र साँझपख नजिकै रहेको दाजु देवीप्रसाद बास्तोलाको निवासमा फर्कन्थे। 

जब निधन हुनु्भन्दा ५ दिनअघि बीपीको वाक्य नै बन्द भएको समाचार सार्वजनिक भयो, देशभरका नेता–कार्यकर्ता काठमाडौं आउन थाले। बीपीको स्वास्थ्यलाभको कामनाका लागि उपत्यका ओइरिएका कांग्रेस नेता–कार्यकर्ता र शुभेच्छुकले चाबहिल–मित्रपार्कदेखि गौशालासम्मका चियापसल भरिन थाले।  

तर पनि ६ साउन (०३९) को साँझ बीपी अनन्त यात्राका लागि महाप्रस्थान गरे। पारिवारिक सदस्य र शुभेच्छुकले बीपीको पार्थिव शरीरलाई उनी रहेको कोठाबाट भुइँतलाको बरण्डामा ल्याए; भोेलिपल्ट (७ साउन २०३९) दिउँसोसम्म त्यहीँ राखे। हजारौं शुभेच्छुक आएर अन्तिम श्रद्धाञ्जली दिए।  

बीपीको पार्थिव शरीर कोठाबाट भुइँतलाको बरण्डामा ल्याइँदै 

मध्याह्नपछि बीपीको शवयात्रा सुरु भयो। ‘ट्रकको पछिल्तिर ‘क्यारिअर’माथि एउटा सानो खाटमाथि उहाँको पार्थिव शरीर राखिएको थियो,’ गुप्ता सम्झिन्छन्, ‘छोरा प्रकाश, भाइ गिरिजाबाबुलगायत बीपीको पार्थिव शरीरको आडैमा रहनुभएको थियो।’  

जयबागेश्वरीबाट पशुपति आर्यघाट नजिकै भए पनि नेपाली राजनीतिक शीर्ष नायकप्रति काठमाडौंवासीले अन्तिम श्रद्धान्जली प्रकट गरुन् भनेर राजधानीका प्रमुख स्थानहरूमा शवयात्रा गरिएको थियो। ​

जयबागेश्वरीबाट सुरु गरिएको शवयात्रा गौशाला–बत्तीसपुतली–पुरानो बानेश्वर–मैतिदेवी–डिल्लीबजार–पुतलीसडक–न्युरोड–कमलपोखरी पशुपति आर्यघाट पुगेको थियो। शवयात्रामा हजारौं नरनारी सहभागी भएका थिए। काठमाडौंवासीले घरका छतबाट पनि फूलमाला र अबिर चढाएर बीपीप्रति सम्मान प्रकट गरेका थिए।

काठमाडौंवासीमा बीपीप्रति कति उच्च सम्मान रहेछ, बीपीको शवयात्राको दुर्लभ भिडिओबाट पनि अनुभूति गर्न सकिन्छ। पत्रकार सन्तोष खडेरीले मंगलबार (६ साउन) बिहान फेसबुकमार्फत सार्वजनिक गरेको भिडिओमा शवयात्रामा हजारौं नरनारी सहभागी देखिन्छन्। 

बौद्धभिक्षुहरूले परम्पराअनुसार बीपीको मंगल कामना गरेका छन्। स्थानीय नेवार समुदायका महिलाले धूपको सुगन्धसहित उनको बिदाइ गरेका छन्। पञ्चायती निरंकुशताको पर्वाह नगरी बीपीप्रति सम्मान प्रकट गर्न जनसागर सडकमा ओर्लिएको छ; आँसुमा डुबेको छ।

‘त्यसअघि मानिसहरू राजा त्रिभुवन र राजा महेन्द्रको शवयात्रालाई नेपालको सबैभन्दा ठूलो शवयात्रा मान्ने गर्थे,’ गुप्ता भन्छन्, ‘तर त्यस दिन बीपीप्रति श्रद्धा प्रकट गर्न सडकमा निस्केका काठमाडौंवासीहरूले भनिरहेका थिए– तर यसपटक राजा त्रिभुवन र महेन्द्रको भन्दा पनि ठूलो शवयात्रा भयो।’

पूर्वप्रधानमन्त्रीका हैसियतमा समेत पञ्चायती सत्ताले बीपीप्रति कुनै सम्मान प्रदान गरेन। तर नेपाली नागरिकले नेपाली राजनीतिका शीर्ष पुरुषप्रति श्रद्धा प्रकट गर्न कुनै कसर बाँकी राखेनन्। मूल सहर परिक्रमा गरेर शवयात्रा साँझ (७ साउन) पशुपति आर्यघाट पुग्यो। पहिल्यै तयार पारिएको आर्यघाटको चितामा बीपीलाई राखियो। 

‘बीपीको शवलाई जेठा छोरा प्रकाश कोइरालाले दागबत्ती दिनासाथ त्यहाँ एकत्रित जनसमूहले ‘वीर विश्वेश्वर अमर रहून्’ को गगनभेदी नारा लगायो,’ २०७० मा प्रकाशित ‘मेरो समय’ पुस्तकमा वरिष्ठ पत्रकार किशोर नेपालले लेखेका छन्, ‘सरकारले सम्मान नदिए पनि जनताले बीपीलाई ठूलो सम्मान दिएर बिदा गर्यो।’ 

 

साउन ६, २०७८, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी
केशव सावद

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल
समर्पण श्री

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

सम्पादक
बिनु सुवेदी

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .