मधेस


१० दिन ढिलागरी हरिवन नगरपालिकाको बजेट सार्वजनिक, तर बाँडफाँड गर्न बाँकी

१० दिन ढिलागरी हरिवन नगरपालिकाको बजेट सार्वजनिक, तर बाँडफाँड गर्न बाँकी

नेपालखबर
असार २१, २०८० बिहिबार १३:२२, सर्लाही

सर्लाहीको हरिवन नगरपालिकाले १० दिन ढिला गरी नीति, कार्यक्रम र बजेट ल्याएको छ। 

देशभरिका स्थानीय तहले असार १० गते नै नयाँ आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था छ। तर आन्तरिक विवादका कारण केही स्थानीय तहले त्यस दिन बजेट ल्याउन सकेका थिएनन्। 

जनप्रतिनिधिबीच सहमति नहुँदा हरिवन नगरपालिकाले पनि बजेट ल्याउन १० दिन ढिला भएको हो।

हरिवन नगरपालिकामा उपमेयरसहित नेकपा एमालेको बहुमत छ। नगरपालिकाका ११ वडामध्ये पाँचवटामा एमाले, चारवटामा कांग्रेस र दुईवटामा नेकपा एकीकृत समाजवादीबाट वडाध्यक्ष छन्।

नगर प्रमुख (मेयर) भने कुनै पनि वडामा एउटा सदस्य पनि नजितेको नेकपा माओवादी केन्द्रका नेता रमेश बुढाथोकी (कमल) छन्। 

बजेट बाँडफाँडका विषयमा जनप्रतिनिधिबीच सहमति नहुँदा हरिवन नगरपालिकाले समयमै बजेट ल्याउन नसकेको चर्चा छ।

एमालेका जनप्रनिधिले बहुमतको दम्भ देखाएर आफूअनुकूल बजेट विनियोजन गराउन खोजेको आरोप विपक्षीले लगाएका छन्। 

चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गर्ने क्रममा पनि एमालेबाट निर्वाचित जनप्रतिनिधि र मेयर बुढाथोकीबीच विवाद भएको थियो।

समयमै बजेट ल्याउन नसक्ने स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा २ नम्बर घट्ने प्रावधान छ। 

जनप्रनिधिबीचको विवाद र राजनीतिक अहंकारका कारण बजेट नै प्रस्तुत नहुने अवस्था आउन नदिन तत्कालका लागि राजनीतिक सहमति जुटाएर नीति, कार्यक्रम र बजेट नगरसभामा प्रस्तुत गरिएको हो। 

बजेटको अंक सार्वजनिक गरिए पनि बाँडफाँड गर्न भने बाँकी नै छ। नीति कार्यक्रम भने नगरसभाले बुधबार नै पारित गरेको छ।

बुधबार हरिवन नगरपालिकाको सभाहलमा आयोजित नीति, कार्यक्रम र बजेट सार्वजनिक कार्यक्रममा वक्ताहरुले जनप्रनिधिबीचको राजनीतिक ‘इगो’का कारण हरिवनको विकासमा अवरोध पुग्न नहुनेमा जोड दिए। 

कार्यक्रममा मेयर बुढाथोकीले सबै जनप्रतिनिधि एउटै डुंगामा सवार रहेकाले हरिवन नगरपालिका असफल हुँदा सबै असफल हुने बताए। 

‘हामी सबै जनप्रतिनिधि एउटै ड‌ुंगामा सवार छौँ,’ मेयर बुढाथोकीले भने, ‘आपसी सहमति र सहकार्यबाट मात्रै हामी हरिवन नगरपालिकाको निर्दिष्ट लक्ष्यमा पुग्न सक्छौँ। हामीलाई असफल हुने छुट छैन।’

कार्यक्रममा उपमेयर हरिमाया घलानले कार्यपालिकामा एमालेको बहुमत भए पनि आफूहरुलाई त्यसको दम्भ नभएको बताइन्। ‘दलीय राजनीति आफ्नो ठाउँमा छ, हरिवनको समृद्धि र विकासका काममा हामीले सहकार्य गर्नुको विकल्प छैन,’ उनले भनिन्। 

कार्यक्रमका प्रमुख अथिति पूर्वरक्षामन्त्री तथा सर्लाही ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हरि उप्रेतीले नगरसभाले बजेट विनियोजन गर्दा दीर्घकालिन महत्त्वका कामलाई प्राथमिकता दिनुपर्ने बताए। ‘बजेटले उत्पादन वृद्धि र नागरिकको जीवनस्तर माथि उठाउन सहयोग गर्नुपर्छ,’ उनले भने।

कार्यक्रममा प्रदेशसभा सदस्य जवाहरलाल कुशवाहाले बजेटको लक्ष्य किसानको हितमा हुनुपर्नेमा जोड दिए। बागमती नगरपालिकाका मेयर भरत थापाले गरिब, निमुखा, पछाडि पारिएको क्षेत्र र समुदायको हित गर्न नसके बजेट ल्याउनुको अर्थ नहुने बताए।

कार्यक्रममा मेयर बुढाथोकीले आर्थिक वर्ष २०८०/८१ का लागि ६२ करोड ९१ लाख ४७ हजार रुपियाँ बराबरको अनुमानित बजेट पेस गरेका छन्।

जसमा केन्द्रीय सरकारबाट समानीकरण, ससर्त, समपूरक र विशेष अनुदान गरी ४० करोड, राजस्व बाँडफाँडबाट १० करोड ९३ लाख ७६ हजार, घरजग्गा रजिस्ट्रेसन शुल्कबापत तीन करोड, प्रदेश सरकारबाट प्राप्त सवारीसाधन करबाट एक करोड, प्रदेश समानीकरण अनुदान ९६ लाख ९८ हजार, प्रदेश समपूरक अनुदान २० लाख, प्रदेश विशेष अनुदान ३० लाख, आन्तरिक स्रोत चार करोड ५० लाख ७३ हजार र नगर विकास कोषबाट ऋण अनुदान दुई करोड प्राप्त हुने अनुमान गरिएको छ।

बजेट सार्वजनिक कार्यक्रममा मेयर, उपमेयरसहित विभिन्न राजनीतिक दलबाट निर्वाचित वडाध्यक्षले यही असार २५ गतेसम्म बाँडफाँड सकेर बजेट पारित गरिसक्ने प्रतिबद्धता जनाएका छन्। 

हरिवन नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि, वन तथा वातावरण, पर्यटन विकास, सडक पूर्वाधारजस्ता विषयलाई प्राथमिकतामा राखिएको छ। 

स्वास्थ्य संस्थामा पुगेर सन्तान जन्माउने महिलालाई चार हजार रुपैयाँ सुत्केरी खर्च, विपद्‌मा परेका नगरिकलाई घटनास्थलमै राहत, पशुपालक किसानलाई प्रोत्साहनस्वरुप उत्कृष्ट कृषक सम्मानजस्ता विषय नीति कार्यक्रमले समेटेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad