मधेस


मधेसः निर्माण व्यवसायीले पूर्वाधार कार्यालय र कोलनिकामा गरे तालाबन्दी

मधेसः निर्माण व्यवसायीले पूर्वाधार कार्यालय र कोलनिकामा गरे तालाबन्दी

सुभाष कर्ण
असार १७, २०८३ बुधबार १५:३, जनकपुरधाम

सम्पन्न योजनाको भुक्तानी रोकिएको भन्दै धनुषाका निर्माण व्यवसायीहरूले भौतिक पूर्वाधार विकास कार्यालय धनुषा र कोष लेखा तथा नियन्त्रकको कार्यालय मधेस प्रदेश जनकपुरधामको कार्यालयमा तालाबन्दी गरेका छन्।
 
निर्माण व्यवसायी संघ धनुषाको अगुवाइमा निर्माण व्यवसायीहरूले ती कार्यालयहरूमा तालाबन्दी गरेका हुन्। 

आर्थिक वर्षको अन्तिम दिनसम्म पनि सम्पन्न तथा अन्तिम चरणमा पुगेका योजनाहरूको भुक्तानी मधेस सरकारको अर्थ मन्त्रालयले स्वीकृति नलिएको भन्दै रोकेपछि निर्माण व्यवसायीहरू आक्रोशित भएका छन्।
 
निर्माण व्यवसायी संघ धनुषाका पूर्व महासचिव विनोद कर्णले असार मसान्तमा विकास बजेट खर्च गर्ने समयमै भुक्तानी रोकिँदा निर्माण व्यवसायी गम्भीर आर्थिक संकटमा परेको दुःखेसो पोखेका छन्। ३१११२ शीर्षक नम्बरको विभिन्न जातीय मठमन्दिरलगायतका आवासीय निर्माणतर्फको योजनाको रकमको भुक्तानी अर्थ मन्त्रालयले रोकेको हो।
 

कर्णले भने, ‘पहिला ती शीर्षकको केही योजनाको भुक्तानी गरियो। असार मसान्त सकिन दुई साता बाँकी रहेको अवस्थामा फाइल बढ्दै जाँदा स्वीकृति नलिएको भनी भुक्तानी रोकिदियो।’

उनका अनुसार धनुषामा मात्रै यस्ता ४८ वटा योजनाको करिब १४ करोड भुक्तानी रोकिएको हो। प्रदेशभरिमा एक सयभन्दा बढी योजनाको रकम भुक्तानी रोकिएको हुन सक्ने बताए। 

बैंक ग्यारेन्टी, मजदुरको पारिश्रमिक, निर्माण सामग्री आपूर्तिकर्ताको रकम तथा बैंकको ऋण तिर्नुपर्ने अवस्थामा सरकारले भुक्तानी नगर्दा व्यवसायीहरू थप समस्यामा परेको उनको भनाइ छ।
 
यता पूर्वाधार विकास कार्यालय जनकपुरधामका प्रमुख सञ्जीवकुमार साहले निर्माण व्यवसायी तथा उपभोक्ता समितिहरू मिलेर कार्यालयमा तालाबन्दी गरेपछि कार्यालयको काम प्रभावित भएको बताएका छन्।
 
उनले गैरआवासीय भवन निर्माण शीर्षकमा पूर्व स्वीकृति नलिइएको भन्दै कोलेनिकाले त्यो शीर्षकमा भुक्तानी रोक्न आफूहरूलाई पत्र काटेको र अर्थ मन्त्रालयबाट बाधा अडकाउ फुकाउको आदेश लिएर मात्रै भुक्तानी गर्न भनेपछि भुक्तानी रोकिएको जानकारी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad