मधेस


अर्कै मार्बल कम्पनीको ट्रेडमार्क प्रयोग गरेर धनुषामा नक्कली पाइप उत्पादन

अर्कै मार्बल कम्पनीको ट्रेडमार्क प्रयोग गरेर धनुषामा नक्कली पाइप उत्पादन

नेपालखबर
असार १४, २०८३ आइतबार २०:३७, काठमाडौँ

प्रतिष्ठित प्लास्टिक कम्पनीको ट्रेडमार्क प्रयोग गरी धनुषाको एक लोकल ब्रान्डको कम्पनीले नक्कली बोरवेल (प्लास्टिक) पाइप उत्पादन गरी बिक्री गर्दै आएको खुलेको छ।
 
प्राप्त जानकारीअनुसार धनुषाको लक्ष्मीनिया गाउँपालिकास्थित जानकी प्लास्टिक उद्योगले प्रतिष्ठित मार्बल कम्पनीको नाम र ट्रेडमार्क प्रयोग गरी नक्कली बोरवेल पाइप उत्पादन तथा बिक्री गर्दै आएको खुलेको हो।
 
सिराहाबाट ठूलो परिमाणमा मार्बल ब्रान्डको नाम र लोगोअंकीत पाइप बरामद गर्दै एक व्यवसायीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गर्दा अन्य व्यक्ति तथा आपूर्ति सञ्जालको गिरोह खुलासा भएको हो।
 
गोलबजार नगरपालिका–४ स्थित नेहाल आइरन स्टोरमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको विशेष प्रहरी टोलीले छापा मारेर विभिन्न आकारका ६३२ थान बोरवेल पाइप नियन्त्रणमा लिएको थियो। अनुसन्धान गर्दा मार्बल कम्पनीको नाम र लोगो प्रयोग गरी जानकी प्लास्टिक उद्योगले उत्पादन गरी बिक्री गर्दै आएको देखिएको प्रहरीले जनाएको छ।
 

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालका अनुसार स्थानीय बिक्रेता नेहाल आइरन स्टोरका सञ्चालक सिरहा नगरपालिका–२०, लकडीगोठ निवासी ४५ वर्षीय मोहम्मद साबिर खानसहित ११४ एमएम, ११० एमएम र ९० एमएम साइजका पाइप नियन्त्रणमा लिइएको हो। घटनाबारे अनुसन्धान गर्दैजाँदा जानकी प्लास्टिक उद्योगको नाम खुल्न आएको उनले बताए। 

उनका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका व्यवसायी सबीरले मार्बल कम्पनीको नाम र लोगो अंकीत पाइप बिक्री गरेको स्वीकार गरेपछि नियन्त्रणमा लिइएका पाइप कम्पनीका आधिकारिक उत्पादन नभएको कम्पनीका प्रतिनिधिले प्रारम्भिक परीक्षणपछि पुष्टि गरेका थिए। पछि अनुसन्धान गर्दै जाँदा यसको उत्पादक जानकी प्लास्टिक उद्योगले गरेको खुल्न आएको डीएसपी पालले जानकारी दिए।

सबीरविरुद्ध उपभोक्ता ठगी तथा ट्रेडमार्क उल्लंघनसम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। र, घटनामा अन्य संलग्न व्यक्ति तथा पाइप उत्पादन गर्ने उद्योग र वितरण सञ्जालबारे समेत अनुसन्धान तथा खोजी कार्य भइरहेको उनले जानकारी दिए। उनका अनुसार यी अवैध कारोबारमा करिब १० जनालाई अनुसन्धानको दायरामा राखिएको छ। 

करिब तीन वर्षदेखि कम्पनीको नाम र ब्रान्डिङ दुरुपयोग गरी नक्कली पाइप बिक्री हुँदै आएको मार्बल टेक्नो प्लास्टका मार्केटिङ म्यानेजर सुदीप न्यौपानेले आरोप लगाउँदै अनुसन्धानको माग गरेका थिए। 

न्यौपानेले यसअघि पनि सम्बन्धित व्यवसायीलाई मौखिकरूपमा यस्तो गतिविधि नगर्न सचेत गराइएको भए पनि पुनः उही कार्य दोहोरिएको पाइएपछि कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रवक्ता पालले बताए।
 
प्रहरी हिरासतमा रहेका नेहाल आइरन स्टोरका सञ्चालक मोहम्मद साबिर खानले भने आफूले उक्त पाइप धनुषाको लक्ष्मीनिया गाउँपालिकास्थित जानकी प्लास्टिक उद्योगबाट खरिद गरेको दाबी गरेका छन्।
 
यसैबीच प्रहरीले शनिबार साँझ जानकी प्लास्टिक इन्डस्ट्रिजमा छापा मारेको थियो। तर उद्योग परिसरमा रहेको मार्बल ब्राण्डका सबै पाइपहरूलाई रातिनै अन्यत्र सारिएका कारण केही फेला नपरेको हुन सक्ने आशंका गरिएको छ।

जानकी चौकीका इञ्चार्ज सई जितेन्द्रप्रसाद चौधरीले जानकी पाइप इन्डस्ट्रिजमा रहेका सामानहरूलाई यथास्थितिमा राख्न र कुनै सामान बाहिर नलग्न जानकारी गराउन माथिबाट मात्र आदेश आएको बताए। प्रहरीले आइतबार दिउँसो पनि कारखानामा खानतलासी गरेको थियो। 
कम्पनीकी सञ्चालिका अनिता अग्रवाल सपरिवारसहित फरार छिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad