मधेस


झन्डै २६ वर्षपछि ढल्केवरमा बन्ने भयो ट्रमा सेन्टर

झन्डै २६ वर्षपछि ढल्केवरमा बन्ने भयो ट्रमा सेन्टर

नेपालखबर
जेठ १४, २०८३ बिहिबार १९:२०, जनकपुरधाम

झन्डै २६ वर्षपछि धनुषाको मिथिला नगरपालिका ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर बन्ने निश्चित भएको छ। मन्त्रिपरिषद्को निर्णयपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ट्रमा सेन्टर निर्माणका लागि आवश्यक जग्गा स्वीकृत गरेसँगै निर्माण हुने सुनिश्चितता बढेको हो। 

मन्त्रालयले हालै जारी गरेको निर्णयपत्रअनुसार मिथिला नगरपालिका-७, साविक ढल्केवर गाविस वडा नं. २ ‘क’ स्थित कि.नं. १६९ अन्तर्गत रहेको चार बिघा तीन धुर ऐलानी जग्गा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रयोग गर्न स्वीकृति दिइएको हो। 

लामो समयदेखि राजनीतिक विवाद, स्थानीय असहमति तथा जग्गा विवादका कारण रोकिएको योजना अब अघि बढ्ने भएपछि स्थानीयवासी उत्साह देखिएको छ। 

पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने ढल्केवर दुर्घटनाको दृष्टिले अत्यन्त संवेदनशील क्षेत्र मानिन्छ। दैनिकजसो सवारी दुर्घटना हुने यस क्षेत्रमा अत्याधुनिक ट्रमा सेन्टरको आवश्यकता वर्षौंदेखि महसुस हुँदै आए पनि निर्माणस्थलको विषयलाई लिएर स्थानीय राजनीतिक दलबीच विवाद चर्किँदा योजना पटक–पटक अवरुद्ध भएको थियो। 

ट्रमा सेन्टर निर्माणको प्रयास २०५७/०५८ देखिनै हुँदै आएको हो। मिथिला नगरपालिकाका निवर्तमान मेयर हरिनारायण महतो ढल्केवर गाविस अध्यक्ष रहेका बेला तत्कालीन श्री ५ को सरकारसमक्ष ट्रमा सेन्टर स्थापनाको प्रस्ताव सिफारिस गरेको थियो।

सरकारले प्रक्रिया अघि बढाउने तयारी गरिरहेकै बेला स्थानीय निकाय विघटन भएपछि योजना लामो समयसम्म रोकिन पुगेको थियो। 

संघीयता कार्यान्वयनपछि स्थानीय तह पुनः गठन हुँदा महतो मेयर बने। उनले फेरि ट्रमा सेन्टर निर्माण प्रक्रिया अघि बढाएका थिए। 
त्यसका लागि नगरपालिकाले चार फरक स्थानमा जग्गा छुट्याउने प्रयास गरे पनि विवाद उत्पन्न हुँदा काम अघि बढ्न सकेन। 

प्रारम्भिकरूपमा प्रस्ताव गरिएका चारमध्ये एक ठाउँमा नगरपालिकाले पछि १५ शय्याको नगरस्तरीय अस्पताल निर्माण गरेपछि ट्रमा सेन्टरको योजना झन् अन्योलमा परेको थियो।

योजना अलपत्र भइरहेकै बेला संघीय सरकारले आर्थिक वर्ष २०७७/०७८ र २०७८/०७९ मा ५० शय्याको ट्रमा सेन्टर निर्माणका लागि ३/३ करोडको दरले बजेट समेत विनियोजन गरेको थियो। तर जग्गा सुनिश्चित हुन नसक्दा निर्माण प्रक्रिया सुरु हुन नपाउँदै बजेट फ्रिज भएको थियो।

पछिल्लो मन्त्रिपरिषद् निर्णयसँगै अब ढल्केवरमा ट्रमा सेन्टर निर्माणको बाटो खुला भएको छ। मन्त्रालयले जग्गाको निर्णय कार्यान्वयनका लागि भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई जेठ ७ गते पत्राचारसमेत गरिसकेको छ। 

साथै स्वीकृति पाएका जग्गा तोकिएको प्रयोजनबाहेक अन्यत्र प्रयोग गर्न नपाइने, अतिक्रमण हुन नदिनुपर्ने तथा उचित संरक्षण गर्नुपर्ने सर्तसमेत राखिएको छ।

स्थानीयवासीका अनुसार ट्रमा सेन्टर सञ्चालनमा आए पूर्वपश्चिम राजमार्ग क्षेत्रमा हुने सवारी दुर्घटनाका घाइतेले समयमै उपचार पाउने छन्। यसले धनुषा मात्र होइन, मधेस प्रदेशकै स्वास्थ्य सेवामा ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

यो सँगै मिथिला नगरपालिका कार्यपालिकाको कार्यालय निर्माणका लागि १ विघा ७ कट्ठा ८ धुर जग्गा समेत स्वीकृतिसमेत मन्त्रालयले दिएको छ। 

नगरपालिका गत आठ वर्षदेखि पुरानो गाविस भवनमा सञ्चालन हुँदै आएको छ। जग्गा प्राप्त नभएकाले नगरपालिकाले कार्यालय भवन निर्माणका लागि बजेट छुट्याउन सकिरहेको थिएन। 

नगरपालिकाका मेयर महेन्द्र महतोले निकै संघर्षपछि अब ट्रमा सेन्टरसँगै नगरपालिकाको आफ्नो कार्यालय भवन निर्माणको बाटो खुलेको बताए। उनले नगरपालिकाले अब जग्गा पाइसकेपछि आगामी आर्थिक वर्षको बजेट भवन निर्माणका लागि छुट्याउने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad