मधेस प्रदेश मन्त्रिपरिषद् विस्तार भएको छ। १५ बुँदे सहमति पश्चात केही मन्त्री हेरफेर गरी सत्ता गठबन्धनले मन्त्रिपरिषद् विस्तार गरेको हो।
एमालेबाट मुहम्मद समीरलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, शारदादेवी थापालाई श्रम तथा यातायात मन्त्रालय, लखनदास तत्मालाई खेलकुद तथा समाज कल्याण मन्त्रालय र मनोज सिंहलाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिइएको छ।
यस्तै, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट संसदीय दलका नेता समेत रहेका युवराज भट्टराईलाई अर्थमन्त्रालय र नेपाली कांग्रेसबाट नागेन्द्र साहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ। कांग्रेसबाट जंगीलाल राय यादवलाई हटाएर उनको ठाउँमा नागेन्द्र साहलाई मन्त्री बनाइएको हो।
नवनियुक्ति मन्त्रीहरूलाई प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। एमालेका मुहम्मद समिरले भने यसअघि नै विनाविभागीय मन्त्रीको शपथ लिइसकेका थिए।
मन्त्रालय घटाउने सहमति भएपनि पहिलो चरणमै दलहरूले सहमति कार्यान्वयन गरेका छैनन्। सहमतिमा मुख्यमन्त्रीसहित ११ वटा मन्त्रालयलाई झारेर ९ वटा मात्र बनाइने उल्लेख छ। सहमति पत्रको चौथो बुँदामै मन्त्रालय घटाउने र बाँडफाँटको कुरा गरिएको छ।
मुख्यमन्त्रीलाई साझा राख्दै कांग्रेसले तीन, एमालेले तीन र नेकपाले एक मन्त्रालय पाउने सहमति पत्रमा उल्लेख छ।
तर मन्त्रालयको संख्या नघटाईकन एमालेलाई चार, नेकपालाई तीन र कांग्रेसले मुख्यमन्त्रीसहित तीनवटा मन्त्रालय लिएका छन्।
कांग्रेससँग पहिले झैँ मुख्यमन्त्रीसहित तीन मन्त्रालयमा यथावत छन् भने एमाले र नेकपाले थप एक/एक मन्त्रालय पाएका छन्। घटाउने भनिएको मन्त्रालय नै मर्ज नगरी मन्त्रिपरिषद विस्तार गरिएकोप्रत भने प्रतिपक्षी दलहरूले आलोचना गरेका छन्।
यद्यपी मुख्यमन्त्री कृष्णप्रसाद यादवले भने अहिले तत्कालका लागि यसअघिकै अवस्थामा मन्त्रालय बाँडफाँट गरी शपथ ग्रहण गराइएको र चाँडै नै गठबन्धनबीच छलफल गरी मन्त्रालय घटाइने बताए।
Shares

प्रतिक्रिया