एकीकृत जनता समाजवादी पार्टी नेपाल (जसपा) नेपाल संसदीय दलको नेतामा पूर्वमुख्यमन्त्री सरोज यादव चयन भएका छन्। बिहीबार तत्कालीन जसपा नेपाल र लोसपा नेपाल दुवै पक्षको बैठकबाट यादव सर्वसम्मतिले दलको नेता चयन भएका हुन्।
दुवै दलबाट तीन जनाको दाबेदारी रहने कुरा बाहिर आइरहे पनि बैठकमा कसैले दाबेदारी नगर्दा उनी सर्वसम्मत चयन भएको जसपा नेपालका प्रवक्ता मनिष सुमनले जानकारी दिए।
बुधबार र बिहीबार दुई दिनसम्म बसेको बैठकले बिहीबार यादवलाई संसदीय दलको नेतामा चयन गरेको हो। मधेस प्रदेशसभा संसदीय दलको कार्यालयमा बसेको बैठकले निर्णय गरेको प्रवक्ता सुमनले जानकारी दिएका छन्।
जसपा नेपालको १८ र लोसपाका ८ गरी मधेस प्रदेश सभामा हाल संयुक्तरूपमा २६ जना प्रदेश सभा सदस्यसहित मधेस प्रदेशमा सबैभन्दा ठूलो दल बन्न गएको हो।
यसअघि यादव र लोसपा नेपालबाट जितेन्द्र सोनलले आफू दलको नेता भएको भन्दै विवाद गरेपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिन पाएका थिएनन्। सोही विवादका कारण मुख्यमन्त्री यादवको विश्वासको मत लिने मिति जेठ ८ गते शुक्रबारका लागि सारिएको छ।

प्रतिक्रिया