मधेस


जेनजी आन्दोलनमा मधेसका कारागारबाट भागेका ४४९ कैदीबन्दी अझै फरार

जेनजी आन्दोलनमा मधेसका कारागारबाट भागेका ४४९ कैदीबन्दी अझै फरार

सुभाष कर्ण
जेठ १, २०८३ शुक्रबार २०:५८, जनकपुरधाम

जेनजी आन्दोलनका क्रममा मधेस प्रदेशस्थित जिल्लाका कारागार तथा हिरासतबाट फरार भएका कैदीबन्दीहरूमध्ये अझै ४४९ जना पक्राउ पर्न बाँकी रहेको छ। 

मधेस प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार आन्दोलनको क्रममा फरार भएका कुल १ हजार ४५ जना मध्ये ५९६ जनालाई पुनः पक्राउ गरिए पनि ४४९ जना अझै फरार छन्। ठूलो संख्यामा फरार रहनुले सुरक्षा संयन्त्रप्रति गम्भीर प्रश्न उठाएको छ।

सार्वजनिक विवरण अनुसार सबैभन्दा धेरै कैदीबन्दी महोत्तरी कारागारबाट फरार भएका थिए। त्यहाँबाट ५७६ जना कैदीबन्दी भागेकामा हालसम्म ३२५ जनालाई मात्रै पुनः पक्राउ गरिएको छ भने अझै २५१ जना फरार अवस्थामै रहेका छन्। यो संख्या प्रदेशभर फरार रहेका कुल कैदीबन्दीको आधाभन्दा बढी हो।

त्यसपछि रौतहट दोस्रो बढी प्रभावित जिल्ला बनेको छ। रौतहट कारागारबाट २५९ जना फरार भएकामध्ये १४७ जनालाई नियन्त्रणमा लिइएको छ भने ११२ जना अझै कानूनको पहुँचबाहिर नै छन्। सप्तरी कारागारबाट २०५ जना फरार भएकोमा १३० जना पक्राउ परेको छ भने ७५ जना अझै फरार रहेका छन्। 

सिरहामा कारागारबाट १० जना फरार भएकामध्ये ४ जना पक्राउ परिसकेका छन्। त्यहाँ अझै ६ जना फरार छन्। रौतहटमा १४ जना फरार मध्ये एक जना मात्रै पक्राउ परेका छन भने १३ जना अझै फरार नै छ। सर्लाहीमा भने फरारको कुनै कैदीबन्दी फरार नरहेको उल्लेख छ। 

पर्सामा कारागारबाट कैदीबन्दी फरारको विवरण शून्य देखिए पनि बाल सुधार गृहमा छुट्टै घटना देखिएको छ। तथ्यांक अनुसार आन्दोलनका क्रममा पर्सास्थित बाल सुधार गृहबाट ६८ जना बालक फरार भएकोमा हाल २० मात्रै पक्राउ परेका छन भने ४८ जना अझै सम्पर्कविहीन छन्। 

लामो समय बितिसक्दा पनि सयौं कैदीबन्दी पक्राउ नपर्नुले कारागार सुरक्षा, आन्दोलनको व्यवस्थापन र प्रहरी संयन्त्रको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख गोविन्द थपालियाले फरार कैदीबन्दी ५० प्रतिशतभन्दा बढी पक्राउ परिसकेको छ भने अन्य फरार कैदीबन्दीहरुको खोजबीन जारी रहेको बताएका छन्। 

उनले भने, ‘फरार मध्येका अधिकांश कैदीबन्दीहरु भारततिर भागिसकेका छन्। नेपालमा भएकालाई हामीले पक्राउ गरिसकेका छौँ। भारतमा रहेका कैदीबन्दीहरुको पनि हामीले ट्रेकिङ्ग गरिरहेका छौँ, दुवै देशको समन्वयपछि तिनीहरूलाई पनि पक्राउ गरिनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad