रौतहटको गरुडा नगरपालिकाका लेखापाल सत्यनारायण सहनीले एक विवाह समारोहमा बन्दुक पड्काएका छन्।
विवाह समारोहमा उनले बन्दुक पड्काएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
लेखापाल सहनी र उनीसँगै रहेका एक व्यक्तिले बन्दुक पड्काउँदै गरेको दृश्य भिडिओमा देखिन्छ। गरुडा ३ मलाही टोल बस्ने आफ्ना एक नातेदारको छोरीको बिहेको अवसरमा उनले सो बन्दुक पड्काएका हुन्।
लेखापाल सहनीले बन्दुकले ड्रोन क्यामरा फोरेको दृश्यबारे सामाजिक सञ्जालमा निकै टिकाटिप्पणी भइरहेको छ।
गरुडा नगरपालिकाका मेयर कन्थमणि प्रसाद कलवारले सहनीसँग एउटा लाइसेन्स भएको बन्दुक रहेको भन्दै विवाहमा सोही बन्दुक पड्काएको हो वा अर्कै हो, सोबारे थाहा नभएको बताए।
‘विशेष कुरा किन पड्काएको, कसको बिहेमा गएको थियो, कानुनतः कति उचित हो, यसबारे छानकिन गर्ने काम प्रहरी प्रशासनको हो’ उनले भने।
प्रशासनले यसबारे जानकारी लिने काम भइरहेको बताएको छ।
रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले घटनाबारे आफूलाई पनि जानकारी आएको उल्लेख गर्दै सुरक्षा समितिको बैठकमा यो कुरा राख्ने बताए।
यता, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं सूचना अधिकारी डीएसपी विष्णु प्रदीप बस्यालले पनि लेखापालले विवाह समारोहमा बन्दुक पड्काएको भिडिओबारे जानकारी पाएको बताए।
‘गरुडा प्रहरी चौकीबाट यसबारे जानकारी लिइ रहेछु। अहिले हामीलाई सामाजिक सञ्जालको भिडियो बाहेक केही थाहा छैन’ उनले भने, ‘तर गरुडा प्रहरी चौकीका प्रमुखले हामीलाई अहिलेसम्म थप बताउनुभएको छैन। घटनाबारे जानकारी सामाजिक सञ्जालबाट आएको हो।’
डीएसपी बस्यालले अहिले अनुसन्धान भइरहेको र अनुसन्धानपछि मात्र थप भन्न सकिने बताए।
लेखापाल सहनीसँग भने सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।
Shares

प्रतिक्रिया