प्रहरीसँग तस्करको साँठगाँठ प्रकरण अहिले मधेस प्रदेशमा निकै चर्चाको विषय बनेको छ।
प्रदेश प्रहरी कार्यालय मधेसका प्रमुख डीआईजी गोविन्द थपालियाले तस्करहरूसँग महिनाबारी लिँदै आएको भन्ने जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसन्धान विश्लेषण शाखाका वरिष्ठ सई सागर शमशेर जबरा र राजीव महासेठबीच भएको कुराकानीको अडियो बाहिरिएपछि हलचल मच्चिएको छ।
सो अडियो सामाजिक सञ्जाल र विभिन्न मिडियामा बाहिरिएपछि सई जबरालाई निलम्बन प्रक्रिया अघि बढाइएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिमा ‘सई सागर शमसेर जबराले आफ्नै कार्यालय प्रमुख तथा प्रहरी संगठनलाई बदनाम गर्ने उद्देश्यले अमुक व्यापारीलाई फोन गरी बनावटी कथा बनाई मिडिया मार्फत सार्वजनिक गर्न लगाएको’ उल्लेख छ।
प्रहरी संगठनलाई बदनाम गर्ने विरुद्ध कानून बमोजिम निलम्बन प्रक्रिया अघि बढाइसकिएको प्रहरी कार्यालयले जनाएको छ।
मधेस प्रदेश प्रहरी कार्यालयका सहायक प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक भेषराज रिजालद्वारा जारी सो विज्ञप्तिमा उक्त कार्य प्रहरी आचरणविपरीत तथा कानूनविपरीत भएकाले प्रहरी नियमावली २०७१ (संशोधनसहित) बमोजिम उनलाई निलम्बन गर्ने प्रक्रिया बढाई सकिएको र सत्यतथ्य विवरण अनुसन्धानपछि सार्वजनिक गरिने जानकारी दिएका छन्।
यसैबीच नेपालखबरसँग कुरा गर्दै डीआईजी थपलियाले मधेस प्रदेशका केही प्रहरीहरू आपराधिक सोचका भएको आरोप लगाए।
‘वर्षौंदेखि अपराधी, तस्कर र बिचौलियासँग सांठगांठ गरेर नेता र हाकीम सबैलाई नजराना बुझाई खुसी बनाई मधेसमा पटक पटक सरूवा मिलाएर फर्केर आई रजगज गरेर बसेका छन्’ उनले भने, ‘त्यस्ता विवादित र बदनाम प्रहरीलाई मैले शुरूदेखि छानि छानि हटाएको छु। हालसम्म उजुरी परेका आधारमा प्रहरी संगठनलाई बदनाम गर्ने १८७ जना प्रहरीलाई हटाई केहीलाई प्रदेश बाहिर र बाँकीलाई हालको जिम्मेवारीबाट हटाई गण वा अन्यत्र जिल्लाहरूमा पठाएको छु।’
उनले थपे, ‘अहिले यस्ता गलत प्रवृतिका प्रहरीको निद हराम भई, तिलमिलाईरहेका छन्। म उनीहरूको लागि बाधक बनेपछि डीआईजीलाई कसरी हटाउने योजना तहत यसप्रकार कथित अडियो मिडियामार्फत सार्वजनिक गरिएको हो।’
उनले बिचौलिया प्रहरी र पत्रकारलाईसमेत कारबाही गर्ने चेतावनी दिए।
डीआईजी थपालियाले भने, ‘म भन्छु यस्ता बिचौलिया पत्रकार र प्रहरीलाई दह्रो कारबाही नभएसम्म मधेसमा सुशासन र न्याय मिल्दैन। यस्ता दशकौँदेखि खुराफात र मधेसमा शोषण गरेर बसेका अपराधिक मानसिकता भएकाहरूलाई छानि छानी कारबाही हुनु पर्दछ।’
उनले वरिष्ठ सई जबरा आफ्नो घुमुवा बस्न चाहेको तर, आफूले उनको बिगत पृष्ठभूमी बुझेर ईन्कार गरे पछि आफूविरूद्ध कथित अडियो सार्वजनिक गरेको दाबी गरे।
डीआईजी थपालियाले सई राणालाई निलम्बन गरी कारबाही प्रक्रिया अघि बढेको जानकारी पनि दिए।
सार्वजनिक भएको सो अडियोमा सई जबरा र व्यवसायी राजीवबीचको कुराकानीमा जबराले आफू आत्महत्या गर्ने अवस्थामा पुगेका बताएका छन्।
अडियो संवादमा जबरा भन्छन्, ‘तपाईसँग पैसा जयलाल यादवले उठाउने हो। त्यसमा मलाई समेटिएको छ, तपाई नढाँटिकन भन्नुस् डीआईजी सापको नाममा तपाईसँग कति लिएर गएको छ?’
जवाफमा राजीव भन्छन्, ‘मैले ३ र उमेशले डेढ दिएको छ।’
जबरा थप्छन्, ‘अब हेर्नुस् पैसा उनीहरूले उठाउने हो मिडियामा मेरो नाम आउँछ सागरले पैसा उठाएर एसपीसापलाई दिन्छन्। यदि गृहमन्त्रीलाई भन्नुपर्यो भने तपाईं क्लियर भन्नुहोला सागरको यसमा कुनै संलग्नता छैन।’
यसैबीच तस्करसँगको साँठगाँठ रहेको आरोपमा वरिष्ठ सई गोपाल थापा मगर र सई जयलाल यादवलाई प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) तानिएको बुझिएको छ।
लामो समयदेखि ‘घुमुवा’ भूमिकामा सक्रिय रहँदै विभिन्न जिल्लामा ‘लाइन’ सञ्चालन र आर्थिक संकलनमा संलग्न रहेको आरोप लाग्दै आएपछि उनीहरूलाई हेडक्वार्टर तानिएको स्रोतको दाबी छ।
Shares

प्रतिक्रिया