पर्सा जिल्लाको वीरगन्जस्थित मधेस विश्वविद्यालयका कर्मचारी मोहम्मद राजु राउत गद्दीलाई एक छात्रालाई अनैतिक सम्बन्ध राख्न दबाब दिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
प्रहरी श्रोतका अनुसार, आरोपित गद्दीले पीडित छात्रालाई अनौतिक सम्बन्ध बनाउन प्रस्ताव स्वीकार गरेमा परीक्षा सहयोग गर्ने मानसिक दबाव दिँदै आइरहेका थिए। उनले अस्वीकार गरेपछि परीक्षामा अंक घटाउने लगायतका धम्की दिँएको प्रहरीको आरोप छ। गद्दी छैटौं तहका कर्मचारी हुन्।
पीडित छात्राले चैत १४ गते जिल्ला प्रशासन कार्यालय, पर्सामा गद्दी विरुद्ध उजुरी दर्ता गराएकी थिइन्। उजुरी दर्ता भएपछि गद्दी फरार थिए। पर्सा प्रहरीले खोजतलासका क्रममा उनलाई नियन्त्रणमा लिएको हो।
पर्सा प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले अभियुक्तमाथि अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिए।
उनका अनुसार प्रारम्भिक अनुसन्धानमा आरोपितले सामाजिक सञ्जाल र फोनमार्फत पीडितमाथि लगातार दबाब सिर्जना गरेका थिए, जसले विद्यार्थीको शैक्षिक र मानसिक सुरक्षामा गम्भीर असर पार्ने जोखिम उत्पन्न गरेको देखाएको छ।
प्रहरीले एउटी छात्रा र कलेजको समेत इज्जत र प्रतिष्ठाको सवाल रहेकोले अनुसन्धान प्रक्रियामा रहेको र थप भन्न नमिल्ने स्पष्ट पारेको छ।
Shares

प्रतिक्रिया