फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मदिरा बिक्री-वितरण प्रतिबन्ध लगाइएका बेला महोत्तरीमा ठुलो परिमाणमा मदिरा बरामद भएको छ।
जिल्लाको भंगहा नगरपालिका-५ ढकिया टोलस्थित एक इँटाभट्टामा लुकाइछिपाइ राखिएको मदिरा प्रहरीले विशेष सूचनाका आधारमा बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टका अनुसार भट्टाभित्र गोप्य रूपमा कार्टुनमा प्याक गरी राखिएको अवस्थामा विभिन्न ब्रान्डका मदिरा प्रहरीले बरामद गरिएको हो।
प्रहरीका अनुसार बरामद मदिरामा अर्ना बियर ३ कार्टुन, कर्णाली गोल्ड ७ कार्टुन, ब्रिक्स वाइन ३ कार्टुन र ब्ल्याक ओके १७ बोतल छन्।
मतदानको ठिक अघिल्लो दिन ठुलो मात्रामा मदिरा भेटिनुलाई प्रहरीले शंकास्पद रूपमा हेरेको छ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले निर्वाचनलाई सभ्य, सुव्यवस्थित, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले फागुन १४ देखि जिल्लाभर मदिरा बिक्री-वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाएको थियो।
Shares

प्रतिक्रिया