प्रतिनिधि सभा निर्वाचनको मुखमा मधेस प्रदेशको दक्षिणी भेगस्थित रौतहट जिल्लाको सदरमुकाम गौर अशान्त भएको छ।
यही फागुन ७ गते राति गौर नगरपालिका-६, सवगढामा मस्जिदनजिक बिहेको बाजा बजाएको निहुँमा दुई सम्प्रदायबिच झडप भएपछि उक्त क्षेत्रमा सामाजिक सद्भाव खलबलिएको हो।
त्यसयता त्यहाँ तोडफोड र आगजनी नरोकिएपछि स्थानीय प्रशासनले शनिबार दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाएको छ।
गत बिहीबार राति बौधिमाई नगरपालिका-९ सरमुजवाबाट सत्यनारायण साहकी छोरीको विवाहको जन्ती गौर नगरपालिका-६ सवगढातर्फ जाने क्रममा मस्जिदनजिक बाजा बजाएको भन्दै मुस्लिम समुदायले विरोध गरेपछि हिन्दु समुदायका जन्तीसँग झडप भएको हो। झडपमा दुवै पक्षका गरी ६ जना घाइते भएका छन्।
बिहीबार रातिको झडपमा सवगढाकी ४५ वर्षीया सदिया खातुन, ४१ वर्षीय भाग्यनारायण साह, २० वर्षीय रवि साह, २० वर्षीय धरमवीर साह, ४० वर्षीय किरीत साह र ४२ वर्षीय गजेन्द्र साह घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रवक्ता विष्णु प्रदीप बस्यालका अनुसार सबैको टाउको वा खुट्टामा चोट लागेको छ।
स्थानीय प्रशासनको पहलमा शुक्रबार साँझ दुई पक्षबिच ६ बुँदे सहमति गरिए पनि फेरि शनिबार बिहानदेखि ढुंगा हानाहान भएपछि गौर नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु लगाउनुपरेको हो।
त्यस दिन दुई पक्षबिच सामाजिक सद्भाव कायम गर्ने, संयमता अपनाउने र आउँदो २१ गते हुने निर्वाचन सफल पार्ने सहमति भए पनि पालना हुन नसकेको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए।
जिल्ला प्रहरी प्रवक्ता बस्यालका अनुसार सहमतिपश्चात् गौरको अवस्था सामान्य भइसकेको थियो। तर शनिबार बिहानै प्रहरीले केही व्यक्ति नियन्त्रणमा लिएपछि चार/पाँच सय जनाको भिड जम्मा भई पुनः झडप सुरु भएको थियो।
स्थिति नियन्त्रण बाहिर जान थालेपछि नेपाल प्रहरीका एसपी सीताराम रिजाल र सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारीको कमान्डमा सुरक्षाकर्मी परिचालन गरिएको थियो। यस क्रममा दर्जनौँ राउन्ड हवाई फायर र ४० राउन्ड अश्रुग्यास प्रहार गर्नु परेको थियो। घटनामा दुई प्रहरीसहित ८ जना घाइते भएको जिल्ला प्रहरी प्रवक्ता बस्यालले बताए।
यस क्रममा केही धार्मिक स्थलमा तोडफोड, ५ वटा मोटरसाइकल, २ वटा स्कुटर, १ वटा स्कार्पियो गाडी र एउटा ई-रिक्सामा आगजनी भएको प्रहरीले जनाएको छ। क्षतिको विस्तृत विवरण संकलन गर्ने क्रम जारी रहेको उनले बताए।
कर्फ्यु क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासमेत परिचालन गरिएको छ।
अहिलेसम्म २३ जना पक्राउ
घटना अनुसन्धानका क्रममा प्रहरीले अहिलेसम्म २३ जनालाई नियन्त्रणमा लिएको छ। जसमा राजनीतिक दलका नेता तथा स्थानीय जनप्रतिनिधिसमेत छन्।
प्रहरीले दंगा भड्काएको आरोपमा जनमत पार्टीका नेता शेख जमसेद र गौर वडा नम्बर ६ का अध्यक्ष अवधबिहारी तेलीलाई पनि नियन्त्रणमा लिएको हो।
उनीहरूसहित २३ जनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पटकपटक साम्प्रदायिक झडप
रौतहट जिल्लामा दुई समुदायबिच झडप भएको यो पहिलोपटक होइन।
धार्मिक आस्थाका निहुँमा यसअघि पनि जिल्लाका विभिन्न स्थानमा पटकपटक विवाद र हानाहान भएका छन्।
विगतमा गरुडामा शव जलाउने विषयमा, राजपुरमा धार्मिक कार्यक्रममा, इशनाथ नगरपालिका र परोहा क्षेत्रमा मूर्ति विसर्जनजस्ता विषयमा पटकपटक दुई सम्प्रदायबिच झडप भएका छन्।
गत माघ १२ गते मात्र रौतहटको परोहा नगरपालिका-९, रामपुर टोलमा सरस्वतीको मूर्ति विसर्जन गर्ने क्रममा झडप भएको थियो।
त्यसबेला पनि अवस्था नियन्त्रणमा लिन प्रहरीले दर्जनौँ राउन्ड हवाई फायर र आश्रुग्यास फायर गर्नुपरेको थियो। यस क्रममा पनि मानिस घाइते तथा सवारीसाधनमा तोडफोड भएका थिए।
यस्तै २०८० फागुन ५ गते रौतहटको ईशनाथ नगरपालिका-७ घिउरा टोलमा सरस्वती देवीको मूर्ति सेलाउने विषयमा झडप भएको थियो। त्यतिबेला पनि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु लगाउनुपरेको थियो।
घिउरा गाउँका बासिन्दाले सरस्वती पूजा गरेर नजिकैको पोखरीमा मूर्ति सेलाउन लाँदै गर्दा डिजे बाजा बजाएको भन्दै अर्को पक्षले अवरोध गरेको थियो। त्यसबेला कम्तीमा ६ जना घाइते भएका थिए।
२०७६ भदौ २६ गते रौतहटको राजपुर नगरपालिका ६ कुडियामा मुस्लिम समुदायले दाहा मनाउने क्रममा दुई पक्षबिच झडप भएको थियो। अवस्था नियन्त्रणमा लिन प्रहरीले ६ राउन्ड हवाई फायर गरेको थियो। कुडियामा छठ पूजा गर्न बनाइएको सिरिसोता भत्काइदिएपछि दुई समुदायबिच झडप भएको थियो।
२०७५ असोज १० गते रौतहटको गरुडा नगरपालिकामा शव जलाउने विषयमा दुई समूहबिच झडप हुँदा ५ प्रहरीसहित १७ जना घाइते भएका थिए। गरुडा नगरपालिका ९ रघुनाथपुरको श्रीपुरमा शव जलाउने विषयमा भएको विवाद झडपमा परिणत भएको थियो। झण्डै दुई घण्टासम्म भएको झडपमा दुवैतर्फका गरी १२ जना भन्दा बढी घाइते भएका थिए। प्रहरीतर्फ पनि पाँच जना घाइते भएका थिए।
सीमावर्ती खुला आवतजावत, तीव्र राजनीतिक प्रतिस्पर्धा, चुनावी माहोल र सामाजिक सञ्जालमार्फत फैलिने अपुष्ट सूचनाले पनि रौतहटमा सामाजिक सद्भाव बिथोलिने गरेको छ।
कतिपय अवस्थामा स्थानीय नेतृत्वले उक्साएको आरोप पनि लाग्ने गरेको छ।
सुरक्षा कडा पारेर सामाजिक द्वन्द्वलाई तत्काल केही मत्थर पार्न सकिए पनि दीर्घकालीन समाधानको आधार भने आपसी सद्भाव, संवाद र न्याय हुन्।
रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र यादव आपसी असम्झदारीका कारण यस्ता घटना दोहोरिइरहेको बताउँछन्।
उनले नेपालखबरसँग भने, ‘राजनीतिक भन्दा पनि समाजमा रहेका केही उच्छृंखल व्यक्तिहरूको उक्साहटमा दुई समुदायबिच झडप हुने अवस्था दोहोरिइरहेको हो। यसमा त प्रशासनले के गर्न सक्छ र! समाजका अगुवा तथा स्थानीय नेताहरूले अग्रसरता लिई सद्भाव र भाइचारको माहोल बनाए मात्र विवाद अन्त्य हुनेछ।’
साम्प्रदायिक हिंसा दोहोर्याइरहने कि संवाद र सहिष्णुतामार्फत सामाजिक सद्भाव कायम गर्ने- स्थानीय नागरिक समाज, धार्मिक अगुवा, राजनीतिक नेता र राज्य संयन्त्र सबैका लागि अग्निपरीक्षा बनेको छ।
Shares

प्रतिक्रिया