मधेस


मधेसमा दलित छात्राका लागि उच्चशिक्षा छात्रवृति

मधेसमा दलित छात्राका लागि उच्चशिक्षा छात्रवृति

सुभाष कर्ण
फागुन १, २०८२ शुक्रबार १७:३०, जनकपुरधाम

दलित, विपन्न, मुस्लिम तथा जेहेन्दार परिवारका उच्च शिक्षामा अध्ययनरत छात्राहरूका लागि मधेस सरकारले छात्रवृत्ति आह्वान गरेको छ। 

मधेस प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालयले छात्रवृत्ति कार्यक्रम सार्वजनिक गरेको हो।

आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत चार समूहका छात्राहरूलाई छात्रवृत्ति प्रदान गर्न ३० दिने सूचना जारी गरिएको हो।

प्रदेशभित्र स्थायी बसोबास रहेका र स्नातक वा सोभन्दा माथिल्लो तहमा अध्ययनरत छात्राहरूले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र अर्थात् २०८२ फागुन २६ गतेसम्म आवेदन दिन सक्ने सूचना जारी गरिएको निर्देशनालयका निमित्त निर्देशक महेन्द्र महतोले जनाएको छ। 

निर्देशनालयको वेबसाइटबाट विद्यार्थी स्वयं वा अभिभावकमार्फत आवेदन फाराम डाउनलोड गरी तोकिएको ढाँचामा आवेदन दर्ता गर्न सकिने व्यवस्था गरिएको छ। 

प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले पिछडिएका समुदायको छोरीहरूलाई अघि बढाउन यस्तो छात्रवृति ल्याइएको बताइन्। 

यो छात्रवृतिले दलित, विपन्न, मुस्लिम र जेहेन्दार परिवारका छात्रालाई उच्च शिक्षा हासिल गर्न आत्मबल बढाउनुका साथै ठूलो सहयोग पुर्याउने उनको विश्वास छ।

छात्रवृत्ति प्राप्त गर्न जेहेन्दार छात्राको हकमा कम्तीमा २.८ सीजीपीए/जीपीए वा प्रथम श्रेणी अनिवार्य गरिएको छ भने दलित, विपन्न र मुस्लिम समूहका छात्राहरूका लागि न्यूनतम १.६ सीजीपीए/जीपीए आवश्यक पर्नेछ।

आवेदक छात्रा मधेस प्रदेशमा जन्मिएको हुनुपर्ने र सामुदायिक माध्यमिक विद्यालयबाट कक्षा १२ वा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी सामुदायिक वा सरकारी क्याम्पस/विश्वविद्यालयमा स्नातक वा सोभन्दा माथिल्लो तहमा अध्ययनरत हुनुपर्ने प्रमुख सर्त राखिएको महतोले जानकारी दिए।

आवेदन फारामसँगै अध्ययन गरेको विद्यालय सामुदायिक भएको प्रमाण स्थानीय तहको शिक्षा शाखा वा शिक्षा विकास तथा समन्वय इकाइबाट प्रमाणित गराएको पत्र माग गरिएको सूचनामा उल्लेख छ। 

दलित र मुस्लिम छात्राका लागि सम्बन्धित आयोग वा जिल्ला प्रशासन कार्यालयको सिफारिस र विपन्न समूहका लागि सम्बन्धित पालिका वा वडा कार्यालयको सिफारिस अनिवार्य पनि गरिएको छ।

निर्देशनालयका अनुसार साधारण धारतर्फ अध्ययनरत छात्राले वार्षिक २५ हजार रुपैयाँ र प्राविधिक धारतर्फ अध्ययनरत छात्राले वार्षिक ३५ हजार रुपैयाँ छात्रवृत्ति पाउनेछन्।

शिक्षा विकास निर्देशनालयले प्रदेशका सबै शिक्षा विकास तथा समन्वय इकाइहरूलाई आवेदन फाराम संकलन तथा समन्वयमा सहयोग गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad