मधेस


मातृका यादव भन्छन्ः बालेन शाह चुनावी मधेसी हुन्, वास्तविक होइनन्

मातृका यादव भन्छन्ः बालेन शाह चुनावी मधेसी हुन्, वास्तविक होइनन्

सुभाष कर्ण
माघ २०, २०८२ मंगलबार १७:२६, जनकपुरधाम

धनुषा १ बाट आसन्न प्रतिनिधि सभाका उम्मेदवार एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता मातृका यादवले आउँदो निर्वाचनमा ‘देशी विदेशी प्रतिक्रियावादी’ शक्तिहरूको हस्तक्षेप हुन सक्ने बताएका छन्। 

चुनावी प्रचार प्रसारको क्रममा रहेका नेता यादवले धनुषाको भठिहनमा नेपालखबरसँग कुरा गर्दै जेनजी आन्दोलनमा देश खरानी बनाउने शक्तिहरूले निर्वाचनलाई स्वतन्त्र र धाँधलीरहीत हुन नदिने दाबी गरे।

यादवले भने, ‘भदौ २३ गतेको आन्दोलन जुन जायज मागका लागि भयो। त्यो त सही, राज्यले गरेको दमन गलत हो। तर भदौ २४ गते आक्रोशित भीडमा जेनजीको नाममा घुसपैठ भई जुन रुपले देशलाई आगो लगाएर खरानी बनाए, त्यो चाहिँ निकै नै गलत हो।’ 

उनले थपे, ‘देशलाई खरानी बनाउनेहरू अहिले जुन रुपमा नयाँ दल भनेर परिवर्तनको नाममा हावा चलाएको छ, तिनीहरूलाई जिताउन देशलाई खरानी बनाउनमा सहयोग पुर्‍याउने देशी विदेशी शक्तिहरू निर्वाचनमा पनि कब्जा लिएर प्रभाव पार्ने भन्ने शंका गर्ने ठाउँ धेरै छन्। तर जनता त्यसमा सजग हुन जरुरी छ।’ 

उनले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरू अहिले नयाँ दलको नाममा रास्वपामा प्रवेश गरिरहेको भन्दै उनीहरूले फेरि वितण्डा मच्चाउन सक्नेतर्फ संकेत गरे। भदौ २४ गतेको जेनजी आन्दोलनमा प्रहरीको भूमिका हेर्दा निर्वाचनमा प्रहरीले सुरक्षा दिनसक्नेमा आशंका समेत व्यक्त गरे।

‘देशमा विध्वंश मच्चाउनेले निर्वाचनको क्रममा प्रहरी प्रशासनलाई प्रभावमा पारेर बुथ कब्जा, मत छाप्ने लगायतका क्रियाकलाप गर्न सक्नेछन्’ उनले भने, ‘त्यसलाई रोक्न सजग छौँ र जनतासमेत त्यस्ताबाट सचेत हुन जरुरी छ।’ 

अहिलेको निर्वाचनलाई नेता यादवले प्रतिक्रियावादी शक्ति र देश बनाउने, संघीयता तथा गणतन्त्रवादीहरूबीचको प्रतिस्पर्धाको रुपमा लिएको बताए। 

‘तर कसको जीत वा हार हुन्छ भन्ने त्यसको निर्णय चाहिँ जनताको मतले नै निर्णय गर्नेछ। आउँदो समयमा देश कस्तो बनाउने हो, कसको हातमा दिने हो बारे, जनताले त्यसको निर्णय गर्नेछन्, उनले भने, ‘जनताले प्रतिक्रियावादी शक्तिहरूलाई परास्त गर्ने भन्ने सही निर्णय लिनेछन् भन्नेमा विश्वस्त छु।’ 

मधेसमा त मधेसीकै छोरा बालेन शाहलाई प्रधानमन्त्री बनाउने होड नै चलेको छ, यस्तोमा आफूलाई संघीयताका पक्षधर भन्ने दलहरूलाई प्रभाव पार्दैन? भन्ने प्रश्नमा नेता यादवले भने, ‘बालेनलाई प्रधानमन्त्री बनाउने कुरासम्म त ठिकै छ। तर उनी चाहिँ मधेसी होइनन्। मधेसीको कोखबाट जन्म लिँदैमा मधेसी हुन्छ र? त्यस्तो कुरा होइन।’ 

उनले थपे, ‘मधेसी हुन त मधेसीको विचार बोक्नुपर्छ, मधेसी भाषा, संस्कृति, पहिरन र आत्मसम्मान हुनुपर्ने हो। बालेनले त आफूलाई कहिले मधेसी बुझेकै छैनन्। निर्वाचनमा आएर आफू मधेसीको छोरा हुँ भनेर नारा दिन थालेका छन्। जबकि उनी काठमाडौँको मेयरमा जित्दा त नेवारी भाषामा शपथ ग्रहण गरेका छन्।’

नेता यादवले बालेन शाहले हजारौँ मधेसीलाई फुटपाथ र सडक विस्तार गर्ने नाममा बेघर बनाएको आरोप लगाए। कयौँको सम्पति र धनमाल लुटेर कंगाल बनाएर काठमाडौबाट लखेटेको उनको भनाई थियो। 

उनले भने, ‘यस्तो संस्कार र व्यवहार मधेसीको हुँदै होइन। त्यो वास्तविक मधेसी होइन निर्वाचनमुखी मधेसी हो।’

उनले रास्वपाका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा खेपीरहेका व्यक्तिको हातमा सत्ता पुगे देश कता जान्छ? भनी प्रश्न पनि गरे। 

‘जुन व्यक्ति हजारौँ जनताको अर्बौं रुपैयाँ सहकारीको नाममा ठगी गरेका छन्। जो नक्कली नागरिकता काण्ड र सम्पत्ति शुद्धीकरणमा फँसेका छन्। जनताको सम्पत्ति लुटेर आफ्नो महल बनाउने रास्वपाका अध्यक्ष अहिले निर्वाचनको बेलामा पनि प्रचार प्रसार गर्नुको सट्टा अदालतमा तारिख र धरौटी बुझाउनमा व्यस्त छन्’ यदवले भने, ‘यस्ता मान्छेलाई जिताए देश कता जान्छ? जनताले सोच्नुपर्ने बेला आएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad