मधेस


वीरगन्जमा कर्फ्यु समय फेरि थप, अब साँझ ६ बजेसम्म

वीरगन्जमा कर्फ्यु समय फेरि थप, अब साँझ ६ बजेसम्म

नेपालखबर
पुस २२, २०८२ मंगलबार १४:०, काठमाडौँ

पर्साको वीरगन्जमा कर्फ्यु समय आज (मंगलबार) साँझ ६ बजेसम्मका लागि बढाइएको छ। 

यसअघि दिउँसो १ बजेसम्ममा लागि कर्फ्यु थपेको जिल्ला प्रशासन कार्यालय पर्साले यसलाई फेरि साँझ ६ बजेसम्मका लागि लम्ब्याएको हो।

कर्फ्यु उल्लंघन गरिए सुरक्षाकर्मीले गोली हान्न सक्ने भएकाले अत्यावश्यकबाहेक घरबाट ननिस्कन वीरगन्जवासीलाई पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सुझाव दिएका छन्।

प्रमुख जिल्ला अधिकारी दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०८२।०९।२२ गते दिउँसो १:०० बजेसम्म जारी भएको कर्फ्यु आदेश पछिल्लो सुरक्षा वस्तुस्थितिलाई मध्यनजर गरी आज मिति २०८२।०९।२२ गते साँझ ६:०० बजेसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका क्षेत्रभित्रका देहायका चार किल्ला तोकी सो सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेशलाई निरन्तरता दिइएको छ।’

देहाय-
१. पूर्व : बसपार्क, नगवा, इनर्वा

२. पश्चिम : सिर्सिया नदी

३. उत्तर : गण्डक चोक

४. दक्षिण : शंकराचार्य गेट

चेतवानी दिँदै विज्ञप्तिमा अगाडि भनिएको छ, ‘कर्फ्युको बेलामा सुरक्षाकर्मीले देख्नेबित्तिकै गोली हान्न सक्ने भएकाले अत्यावश्यकबाहेक घरबाहिर ननिस्किन र निस्किनु पर्दा नजिकको सुरक्षाकर्मीसँग समन्वय गरी वा १०० नम्बरमा फोन गरी बाहिर निस्कन हुन अनुरोध छ। साथै कर्फ्यु आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरू, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मीका सवारीसाधनहरू, सञ्चारकर्मीहरू, त्रिभुवन विश्वविद्यालयको पूर्वनिर्धारित परीक्षाका परिक्षार्थी एवं परीक्षा केन्द्रमा खटिने कर्मचारी, पर्यटक सवारीसाधनहरू, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारीसाधनहरू र हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवगमनमा सुरक्षाकर्मीहरूबाट सहजीकरण हुनेछ।’

दुई धार्मिक समुदायबीच जारी विवादले हिंसात्मक रूप लिन सक्ने जोखिम देखेपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको हो।

धार्मिक र सामाजिक विषयमा गत आइतबारदेखि दुई पक्ष प्रदर्शनमा उत्रिँदा वीरगन्ज अशान्त छ।

सम्भावित झडप र क्षति रोक्न स्थानीय प्रशासनले वीरगन्जमा बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गर्दै कर्फ्यु लगाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad